शिक्षकको आन्दोलन, विद्यार्थीको भविष्य र सरकारको अकर्मण्यता

नयाँ वर्षसँगै सुरु हुने नयाँ शैक्षिक सत्रबाट नयाँ उमङ्ग, आशा र सपनासहित विद्यार्थी विद्यालयमा हुनुपर्ने हो, तर यतिबेला विद्यालय कहिले खुल्छ भन्ने अन्योल र चिन्तामा छन् उनीहरू । आज राज्यप्रति विद्यार्थी र युवा वर्गको अविश्वास र आक्रोश बढ्दै गएको छ, यस्तो बेला विद्यालय नै बन्द हुनुले राज्यप्रति उनीहरुको अविश्वास थप बढ्ने देखिन्छ ।
यतिखेर देशका सबै शिक्षक राजधानीकेन्द्रित आन्दोलनमा छन् । सिंहदरबारअगाडि गएर शिक्षकले घोँक्रो सुक्ने गरी चिच्याउँदा समेत सरकारले सुनेको छैन । शिक्षकको आन्दोलनमा रमितेजस्तो बनेको सरकारले विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको देखिन्छ । प्रधानमन्त्री केपी शर्मा ओली जिम्मेवारविहीन भई आन्दोलनरत शिक्षकलाई खिसिट्युरी गरिरहेका छन् । शिक्षक भने आफ्ना पेसागत हकहितको ग्यारेन्टी र संविधान अनुसारको नयाँ शिक्षा ऐन जारी नभएसम्म विद्यालयमा नफर्कने हठमा छन् । सरकार र शिक्षकका लडाइँको मारमा लाखौँ विद्यार्थीको भविष्य पिल्सिएको छ ।
संसारमै शिक्षक र शिक्षण भनेका सबैभन्दा गर्विला र सम्मानित पात्र र पेसा हुन् । पूर्वका दर्शन र शास्त्रमा शिक्षकलाई परमात्मासँग दाँजिएको छ । शास्त्रहरूमा शिक्षकलाई गुरु भनिएको छ । शास्त्रमा लेखिएको छ—
गुरुब्र्रह्मा गुरुविष्णुः गुरुदेव महेश्वर ।
गुरुस्साक्षात् परब्रह्म तस्मै श्री गुरुवे नमः ।
अर्थात् गुरु भनेका ब्रह्मा, विष्णु महेश्वर र परमात्मा हुन् ।
समाजको सबैभन्दा उच्च दर्जाको व्यक्तिका रूपमा गुरुलाई हेरिएको छ । पूर्वका वेद, उपनिषद्, पुराणमा गुरु र शिष्यका बारेमा व्यापक चर्चा गरिएको पाइन्छ । नेपालको शिक्षा प्रणाली पनि गुरु–शिष्य प्रणाली वा परम्पराबाट विकास भएको हो ।
पश्चिमी दार्शनिक अरस्तुले त शिक्षकहरू बालबालिकालाई जन्माउने बाबुआमाभन्दा सम्मानित हुन्छन् र उनीहरूले कसरी बाँच्ने भन्ने कला सिकाउँछन् भनेका छन् । पूर्व–पश्चिम जताततै प्राचीनकालदेखि अहिलेसम्म शिक्षकलाई अत्यन्तै सम्मानित र एउटा आदर्शवान् पात्रका रूपमा चिनिँदै आएको छ । समाजका उदाहरणीय, सचेत, आदर्श र निर्णायक वर्गका रूपमा शिक्षकलाई मानिन्छ ।
समाज कस्तो बनाउने भन्ने महत्त्वपूर्ण भूमिका शिक्षकको हातमा रहेको हुन्छ । शिक्षकको भूमिका केवल औपचारिक रूपमा विद्यालयभित्र मात्र नभएर समाजका हरेक क्षेत्रमा हुन्छ । शिक्षक जहिले र जहाँ पनि आदर्श पात्रका रूपमा स्थापित हुन्छन् । समाजले मान्ने एउटा विश्वासिलो पात्रमध्ये शिक्षक पनि एक हो ।
शिक्षण पेसा अरु पेसाभन्दा अत्यन्तै जिम्मेवार, मर्यादित र सम्मानित पेसा पनि हो । समाज र राष्ट्रका लागि कस्ता किसिमका नागरिक र जनशक्ति उत्पादन गर्ने भन्ने शिक्षकको हातमा हुन्छ । कुनै व्यक्तिमा रहेका उसका रुचि, स्वभाव, व्यवहार आदिजस्ता मनोविज्ञानको अध्ययन गरेर एउटा सक्षम र दक्ष नागरिक तयार गर्ने सीप शिक्षकमा हुनुपर्छ । समाजमा सबै किसिमका नागरिक तयार गर्ने श्रेय शिक्षककै हो ।
शिक्षकका दायित्व र जिम्मेवारी अथाह छन् । डाक्टर, पाइलट, वैज्ञानिक, व्यवसायी, व्यापारी, उद्योगी आदि सबैले मान्ने पद भनेको शिक्षक नै हो । त्यसैले शिक्षण पेसा सबैको अत्यन्तै मर्यादित र सम्मानित पेसा हुन पुगेको छ । शिक्षण पेसा भनेको सबैभन्दा उत्कृष्ट पेसा पनि हो ।
आजको दिनमा शिक्षणजस्तो मर्यादित पेसा अँगालेका शिक्षक आफ्नो पेसागत हकहितका लागि भनेर विभिन्न माग राखी महिनौँ विद्यालय बन्द गरी आन्दोलनमा उत्रिनु देशका लागि राम्रो सङ्केत र सन्देश होइन । नेपालमा शिक्षकका हकहित र शिक्षण पेसा र शैक्षिक विकासका लागि थुप्रै आन्दोलन गरिएको लामो इतिहास रहेको छ । सरकारले आफ्ना माग नसुनेकै कारण धेरैपटक नेपालका शिक्षक चक र डस्टर हातमा लिएर सडकमा आएका छन् ।
नेपालमा शिक्षकहरूको संगठित आन्दोलनको इतिहास २०३६ सालदेखि सुरु भएको देखिन्छ । २०३६ जेठ २ गते मकवानपुर जिल्लाको भुटनदेवी माध्यमिक विद्यालयबाट शिक्षकहरूले संगठित आन्दोलन सुरुवात गरेका थिए । सोही वर्ष जेठ ३१ गतेदेखि शिक्षकहरूको काठमाडौँमा गठित अन्तर्जिल्ला सङ्घर्ष समितिले १० महिने आन्दोलनबाट आफ्ना माग पूरा गरेको थियो । यसै गरी २०३८ सालको १०४ दिनको शैक्षिक हडताल, २०४१ सालको ६ महिना लामो असहयोग आन्दोलन, २०४६ को आन्दोलन, २०५५ को आन्दोलन, २०६२/६३ को आन्दोलन, त्यस्तै २०७३ र २०७६ आन्दोलन आदि शिक्षकका महत्त्वपूर्ण ऐतिहासिक आन्दोलन हुन् ।
अहिले चलिरहेको आन्दोलन भने २०७५ देखि निरन्तर चलेको आन्दोलन हो । सरकारले शिक्षकसँग पटकपटक सम्झौता गरेर कार्यान्वयन नगरेका कारण आज शिक्षक बाध्य भएर चैत २० देखि काठमाडौँकेन्द्रित आन्दोलनमा छन् । नेपालमा धेरैपटक व्यवस्था परिवर्तन भए तर पञ्चायती व्यवस्थामा बनेको शिक्षा ऐन २०२८ अनुसार आजको शिक्षा प्रणाली र शैक्षिक संरचना चल्नुपरेको छ । यस्तो ऐनबाट देशले कस्तो शैक्षिक अवस्था र कस्तो गुणस्तर शिक्षा पाएको होला ? सजिलै अनुमान गर्न सकिन्छ ।
राजनीतिक अस्थिरताका कारण सरकार पटकपटक परिवर्तन हुँदा शिक्षकका सहमतिलाई कार्यान्वयन नगरिएको देखिन्छ । अघिल्लो सरकारले गरेका सम्झौता पछिल्लो सरकारले कार्यान्वयनको प्रक्रियामै लैजाँदैन । शिक्षकहरूले पटकपटक दबाब दिँदा पनि सरकार मौन भएर सम्झौतालाई कार्यान्वयन नगरेकै कारण आजको अवस्था आइलागेको देखिन्छ ।
आफू प्रतिपक्षमा हुँदा दलहरूले शिक्षकलाई उराल्ने र उकास्ने अनि सत्तापक्षमा हुँदा सुन्दै नसुन्ने द्वैध प्रवृत्तिले गर्दा शिक्षकका माग सम्बोधन हुन नसकेका हुन् । सरकारको अकर्मण्यताकै कारण आज शिक्षक सडकमा आन्दोलन गरिरहेका छन् । महिना दिनसम्म विद्यालय बन्द हुँदाको सामाजिक, आर्थिक, बौद्धिक र मानसिक क्षतिप्रति सरकार कति पनि गम्भीर र चिन्तित देखिँदैन । देशका प्रधानमन्त्री यसमा संवेदनशील नबनी उल्टै उखान–टुक्का भन्दै आफ्ना कार्यकर्तालाई रनभुल्लमा पारिरहेका छन् ।
शिक्षकहरू अहिलेको नयाँ व्यवस्था अनुसारको नयाँ शिक्षा ऐन चाहेका छन् । उनीहरूका करिब २० वटा माग रहेका छन् । अस्थायी प्रकृतिका शिक्षकलाई व्यवस्थापन गर्नुपर्ने, विद्यालयमा कर्मचारी व्यवस्थापन गरिनुपर्ने, बालविकास शिक्षालाई विद्यालयभित्र ल्याउनुपर्ने, हरेक दश वर्षमा शिक्षकको बढुवा गरिनुपर्ने, संस्थागत विद्यालयका शिक्षकलाई सामुदायिक विद्यालयका शिक्षकसरह सेवा–सुविधा दिनुपर्ने आदिजस्ता माग रहेका छन् । शिक्षकका अनुसार उनीहरू केवल आफ्ना पेसाको हकहितका लागि मात्र नभएर देशको शैक्षिक संरचनाको आमूल परिवर्तनका लागि आन्दोलनमा उत्रिएको बताएका छन् ।
शिक्षकको पेसालाई मर्यादित र सम्मानित भनिए पनि आजका नेपालका शिक्षकको कार्यशैली र परिणामप्रति थुप्रै शंका र प्रश्न उठेका छन् । शिक्षकहरू विद्यार्थीलाई गुणात्मक शिक्षा प्रदान गर्न नसकेको, समाज र राष्ट्रप्रति जवाफदेही तथा जिम्मेवारी बन्न नसकेको, दलका झोले बनेको लगायन आरोप छन् । शिक्षक भनेको जहिले पनि विद्यार्थीजस्तै हुनुपर्छ । ऊ जहिले पनि अध्ययन, अनुसन्धान र खोजमा लागिरहनुपर्छ । समय अनुकूल शिक्षकले शैक्षणिक सीपमा परिवर्तन गर्दै जानुपर्छ । प्रधानमन्त्रीले ५२ प्रतिशत विद्यार्थी फेल गराउने भन्दा शिक्षकले अपमानित महसुस गरी लाचार बन्ने होइन, शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराएर शिक्षक हुनुको गर्वलाई अझै उचाइमा पुर्याउनुपर्छ । यद्यपि शतप्रतिशत विद्यार्थी उत्तीर्ण गर्न केवल शिक्षकले मात्र मिहिनेत र प्रयास गरेर पुग्दैन । यसमा विद्यार्थी, अभिभावक, समाज र सरकारको महत्त्वपूर्ण भूमिका र सहयोग चाहिन्छ ।सामुदायिक विद्यालयका शिक्षकले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमै पढाएर आमअभिभावकको विश्वास जित्न सक्नुपर्छ । शिक्षकले आफैँले पढाउने विद्यालयप्रति अविश्वास गरी आफ्ना छोराछोरीलाई सहरका महँगा र सुविधासम्पन्न निजी विद्यालयमा पढाउनाले पनि सरकारी विद्यालयप्रतिको गुणस्तर र विश्वास घटेको देखिन्छ ।
आजका नेपालका शिक्षक राजनीतिक दलको दलदलबाट मुक्त हुन सकेका छैनन् । लोकतन्त्रमा विचारको स्वतन्त्रता भएको हुनाले आफ्नो आस्था जुनसुकै दलमा भए पनि शिक्षकहरू दलको झोले र टिके बन्नु हुँदैन । शिक्षक देशको बन्नुपर्छ । जबसम्म नेपालमा शिक्षकहरू दलका कार्यकर्ताबाट अलग हुँदैनन्, तबसम्म शिक्षामा गुणात्मक परिवर्तन हुन सक्दैन र आममानिसमा शिक्षकलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन हुँदैन । शिक्षकहरू दलप्रति होइन पेसाप्रति प्रतिबद्ध हुनुपर्छ । शिक्षकहरू विषयवस्तु र शैक्षणिक क्रियाकलापप्रति अध्यावधिक हुन नसक्नु नै उनीहरूको आजको प्रमुख कमजोरी हो ।
नयाँ–नयाँ प्रविधि र आविष्कारको विकास हुँदै विश्व आज एआईको युगमा पुगेको छ, तर हाम्रा विद्यालयमा शिक्षक दलको टिका लगाएर उही पुरानै र परम्परित चक, डस्टर र कालोपाटीमा सीमित हुन पुगेका छन् । यो तरिकाले शिक्षक र शिक्षण पेसा सम्मानित हुन सक्दैन, विश्वमा प्रतिस्पर्धी र गुणात्मक विद्यार्थी पनि उत्पादन गर्न सकिँदैन । शिक्षक र विद्यार्थीले समयानुकूलको नयाँ प्रविधिमा आधारित रहेर पाठ्यक्रम, पाठ्यपुस्तक र पाठ्य सामग्रीको प्रयोग गर्नुपर्छ । राज्यले केवल शिक्षकलाई मात्र दोष दिएर उम्कन पाइँदैन, विद्यालयहरू प्रविधिमैत्री बनाउनुपर्छ र शिक्षकलाई समय–समयमा तालिम दिइरहनुपर्छ । राज्यले शिक्षकले उठाएका जायज मागलाई विलम्ब नगरी सम्बोधन गरी पेसागत सुरक्षालाई ग्यारेन्टी गर्नुपर्छ ।
अघिल्लो सरकारले गरेका सम्झौता पछिल्लो सरकारले कार्यान्वयनको प्रक्रियामै लैजाँदैन । शिक्षकहरूले पटकपटक दबाब दिँदा पनि सरकार मौन भएर सम्झौतालाई कार्यान्वयन नगरेकै कारण आजको अवस्था आइलागेको देखिन्छ ।
शिक्षकले पनि अब मेरै गोरुका बाह्रै टक्का भनेझैँ अस्थिर सरकारको कमजोरीको फाइदा उठाई देशको शैक्षिक अवस्थालाई महिनौँ ठप्प पार्नु हुँदैन, विद्यार्थीको भविष्यप्रति संवेदनशील हुनुपर्छ । विद्यार्थीले समयमा नतिजा नपाउँदा र परीक्षा दिन नपाउँदा आर्थिक क्षति र मानसिक पीडा बेहोर्नुपर्ने हुन्छ । राज्य जिम्मेवार भएन भनेर शिक्षकहरू पनि गैरजिम्मेवार हुनुहुँदैन ।
शिक्षकका कतिपय माग संविधानसँग बाँझिने किसिमका छन् । नेपालको संविधान अनुसार नेपाल संघीयताको कार्यान्वयनमा गइसकेको अवस्थामा शिक्षकहरू स्थानीय सरकारको अधीनमा बस्दैनौँ भन्नुले शिक्षकहरू संघीयताप्रति विरोधी त हैनन् भन्ने प्रश्न उठेको छ । शिक्षकले विद्यालय बन्द गरेर आफ्ना माग पूरा गर्न देशलाई कति आर्थिक व्ययभार पर्छ र त्यसको स्रोत के हुन सक्छ भन्नेमा संवेदनशील नभएको पनि देखिन्छ ।
शिक्षकको आन्दोलनका कारण देशभरका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ९ सम्मका विद्यार्थी नतिजा र पढाइको प्रतीक्षामा छन् भने कक्षा १२ का विद्यार्थी परीक्षा पुनः हुने हो कि होइन भन्ने दोधार र अन्योलमा छन् । यसले देशका युवा वर्गमा थप असन्तुष्टि, आशंका र अविश्वास पैदा हुने देखिन्छ । विद्यार्थीका लागि एक सेकेन्डको समय पनि कति महत्त्वपूर्ण हुन्छ भन्ने सरकारले पटक्कै बुझ्न नसकेको देखिन्छ । विद्यार्थीको भविष्यमाथि सरकार खेलबाड गरिरहेको देखिन्छ । शिक्षकका उचित मागलाई समयमै सम्बोधन गर्न नसक्नु, विद्यार्थीले वर्षभरि पढेर र परीक्षा दिएर नतिजा पाउन नसक्नु र समयमा परीक्षा दिलाउन नसक्नु सरकारको नालायकीपन हुन्छ । विद्यार्थी र अभिभावकलाई राज्य पनि छ भन्ने अनुभूति दिने हो भने सरकारले तुरुन्तै शिक्षकलाई वार्तामा बोलाई उनीहरूका जायज माग र सम्झौतालाई कार्यान्वयनको बाटोमा लैजानुपर्छ । शिक्षकहरू पनि केही लचिलो बनी समाजप्रति जवाफदेही बनेर विद्यार्थीको भविष्यप्रति संवेदनशील बनी सरकारसँग वार्तामा बस्नुपर्छ र शैक्षिक हडताललाई अन्त्य गर्नुपर्छ ।
नेपाल अहिले एउटै कुरामा मात्र नभएर धेरै कुरामा फसेको छ र फसाइएको छ । लोकतन्त्रका नाममा दलतन्त्र र दलतन्त्रमा पनि तीन तन्त्रका कारण देशले लामो समयसम्म विकास र निकास पाउन सकेको छैन । यस्तो अवस्थामा शिक्षक दलमुक्त भई शैक्षणिक क्रियाकलापबाट पनि भ्रष्टाचारमा चुर्लुम्म डुबेको देशलाई उतार्नुपर्ने देखिन्छ । अब शिक्षक विद्यालय बन्द गरेर होइन, विद्यालय खोलेर देशको शैक्षिक समृद्धि र गुणस्तरीय शिक्षाका लागि जिम्मेवार बनेर लाग्नुपर्छ । शिक्षकहरूले दलको झोला बोकेर होइन, दललाई ज्ञान, बुद्धि र आदर्शका झोला बोकाइ हिँडाल्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले दमन गर्यो : क्रान्तिकारी कम्युनिस्ट पार्टी
-
तीन अर्ब सन्ताउन्न करोड बराबरको चिया निर्यात
-
भोजपुर गोल्डकप : भोजपुरलाई हराउँदै भारतको जर्जियन क्लब विजयी
-
पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राडा थापा
-
‘बौद्धदर्शनको प्रसारमा योगदान गर्ने व्यक्तित्वबारे अनुसन्धान गरिने’
-
१० बजे १० समाचार : देउवाको साथ पाएपछि गर्जिए ओली, आमाको मुख हेर्ने दिन आमाकै कसम खाए रवीन्द्र मिश्रले