‘रक्सी चोर को ?’ भन्दै संसद्मा जुहारी

काठमाडौँ । शुक्रबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले चैत १५ गते भएको तीनकुने घटनाका बेला कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटबाट सत्तारुढ दलका सहमहामन्त्रीले रक्सीका बोतल चोरे भन्ने अभिव्यक्ति दिएका थिए । उनले भटभटेनीमा रक्सी चोर्नेमा सत्तारुढ दलका सहमहामन्त्रीका छोरा रहेकाले प्रहरीले पक्राउ गरेर तत्काल छाडेको प्रमाण आफूहरूसँग भएको बताएका थिए ।
प्रहरीले सुरुमा उनलाई पक्राउ गरे पनि पछि सहमहामन्त्रीको छोरा भएको पाइएपछि तत्काल छोडेको प्रमाण पनि आफूहरूसँग रहेको लिङ्देनको दाबी थियो ।
उनले नेताको नाम नखुलाए पनि मिडियामा रक्सी चोर्ने कांग्रेस सहमहामन्त्री महेन्द्र यादवका छोरा भएको भन्दै समाचारहरू प्रकाशित भएका थिए । यादव र उनका छोराले यस दाबीलाई अस्वीकार गरेका छन् ।
लिङ्देनको सो भनाइले आइतबारको प्रतिनिधिसभा बैठक तातिएको थियो । बैठकमा नेपाली कांग्रेस र राप्रपा सांसदले यो विषय जोडतोडका साथ उठाएका छन् ।
आजको बैठक सुरु हुने बित्तिकै आकस्मिक समयमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले गत चैत १५ गते तीनकुनेमा भएको घटनाका क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटबाट रक्सीको बोतल चोर्ने कुन सहमहामन्त्रीको छोरा हो त्यो प्रमाणित गर्न राप्रपा अध्यक्ष लिङ्देनलाई चेतावनी दिए । कांग्रेसका कुन सहमहामन्त्रीका कुन छोराले रक्सीको बोतल चोरेका हुन् त्यो प्रमाणित गर्नुपर्ने उनको भनाइ थियो ।
उनले भने, ‘कुन चाहिँ सहमहामन्त्रीको कुन चाहिँ छोराले रक्सीको बोतल बोकेर हिँड्नुभएको हो, त्यो प्रमाण पेस गर्नुपर्छ । होइन भन्ने उहाँको भनाइ रेकर्डबाट हटाउनुपर्छ ।’
उनले लिङ्देनले दलको नाम नकिटे पनि सहमहामन्त्री भन्ने पद नेपाली कांग्रेसमा मात्रै रहेकाले त्यो आरोप कांग्रेसमाथि लगाइएको बताएका थिए ।
राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले त्यसको जवाफ आजको बैठकको विशेष समयमा दिएका थिए । शाहीले आफ्नो पार्टीका अध्यक्षले रक्सी चोरेको विषय उडाए पनि कुन पार्टीका नेताको छोरा हुन् भन्ने नखुलाएको बताए । ‘हाम्रो पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सत्तारुढ दलका सहमहामन्त्रीका छोराले भाटभटेनीमा रक्सी चोरे, भन्नुभयो, कसले चोरे भन्नुभएको छैन,’ शाहीले भने ।
उनले एउटा कथन भन्दै आफै चोरेको प्रमाणित गर्ने कुरा सत्तारुढ दलको सांसदबाट आएको बताए । ‘पहिला पहिला एउटा कथन थियो, चोरलाई खुट्टा काट भनेपछि चोरले आफ्नो खुट्टा लुकाउँथ्यो रे, आज संसद्मा त्यही भयो,’ शाहीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक र सञ्चारकर्मीमाथिको दमन निन्दनीय छ : माओवादी केन्द्र
-
शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले दमन गर्यो : क्रान्तिकारी कम्युनिस्ट पार्टी
-
तीन अर्ब सन्ताउन्न करोड बराबरको चिया निर्यात
-
भोजपुर गोल्डकप : भोजपुरलाई हराउँदै भारतको जर्जियन क्लब विजयी
-
पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राडा थापा
-
‘बौद्धदर्शनको प्रसारमा योगदान गर्ने व्यक्तित्वबारे अनुसन्धान गरिने’