बीपीपथमा शेखर

नेपाली कांग्रेसको वैचारिक आधार बीपी कोइरालाको प्रजातान्त्रिक समाजवाद हो, जसले तत्कालीन समाजलाई परिवर्तनका लागि नयाँ मार्गदर्शन गरेको थियो । नेपाली कांग्रेसको अगुवाइमा बीपी कोइरालाले स्वतन्त्रता र सम्पन्नताका लागि समाज रूपान्तरको अभियानको थालनी गरेका थिए । बीपीको प्रजातान्त्रिक समाजवादले एकात्मक राज्य प्रणालीलाई संघीय समावेशी राज्यमा रूपान्तरण सम्भव भएको हो । निरंकुशताले जकडिएको नेपालीलाई परिवेशलाई आधुनिक लोकतान्त्रिक व्यवस्थासम्म ल्याइपुर्याएको छ । नेपाल हाल जुन अवस्थामा रहेको छ, राज्यले जुन प्रणाली अवलम्बन गरिरहेको छ वा नेपाल र नेपालीको अवस्था जहाँ जुन अवस्थामा छ, त्यो साँच्चै बीपीवाद उपलब्धि मान्न सकिन्छ ।
अब प्रश्न उठ्छ, के बीपीको परिकल्पना अनुसार कांग्रेस चलेको छ ? नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्दा प्रजातान्त्रिक समाजवादमा पुग्ने गरी नीति तथा कार्यक्रम तय गरेको छ ? नेपाली कांग्रेस वैचारिक रूपमा स्पष्ट छ ? नेपाली कांग्रेसको नेतृत्वको आचरण साँच्चिकै प्रजातान्त्रिक वा सर्वस्वीकार्य रहेको छ ? यी र यस्तै प्रश्न तथा सरोकारका विषय आम कांग्रेसीको मनमा उब्जिरहेका छन् । लोकतन्त्रप्रति आस्थावान् आम नेपालीको मनमा पनि यस्तै शंका–उपशंका रहेका छन् । प्रश्न र शंकाको घेराभित्र उभिएको नेपाली कांग्रेसको भविष्यमाथिको बहस सर्वत्र चलिरहेको छ ।
कांग्रेसमा बीपीले स्थापना गरेको सामूहिक समावेशी नेतृत्व अहिले आएर कुन अवस्थामा पुगेको छ ? नेतृत्वमा रहेकाहरूको आचरण तथा व्यवहारमा समावेशिता रहेको छ कि छैन ? अझ वैचारिक रूपमा समावेशिता झल्कन्छ कि झल्कँदैन भन्ने प्रश्नको उत्तर दिन वा पाउन कठिन छ । पार्टीले अवलम्बन गरेको नीतिले नेपाली समाजमा पूर्ण समानता ल्याउने कुरा सोचनीय बन्दै आएको छ । यो पार्टीभित्र र बाहिर पेचिलो बहसको विषय बनेको छ । नेपाली समाजको बदलिँदो संरचना र बनोटलाई नेपाली कांग्रेसले हेर्ने दृष्टिकोणमा अलमलता रहेको देखिन्छ । किसान, मजदुर, दलित, महिला, जनजाति वा आमनेपालीको उत्थान हुने र सम्मानित जीवन जिउनका लागि नेपाली कांग्रेसको विचारले कतिसम्म काम गरिरहेको छ । सही दिशामा छ कि वैचारिक विचलनमा रहेको छ । यसको मापन हुन जरुरी छ । कांग्रेसले आफूले नेतृत्व गरेको अवधिको राजनीतिक अडिट गर्न सक्नुपर्छ । आधुनिक समाजको मापदण्डमा रहेर खुला स्वतन्त्र समीक्षा गर्न सक्नुपर्छ । जसले पार्टीको भावी जीवनलाई मार्गदर्शन गर्छ ।
अहिले कांग्रेसमा १५औँ महाधिवेशनको रौनक छाएको छ । पार्टी जीवनका विविध आयामका बारेमा फरक–फरक दृष्टिकोणबाट बहस भइरहेको छ । पार्टीको भावी नेतृत्व कस्तो हुने, पार्टीले कस्तो विचार अवलम्बन गर्ने र पार्टीलाई कसरी खुला र पहुँचयोग्य बनाउने लगायत विषयमा चर्चा–विमर्श भइरहेका छन् । कांग्रेसलाई २१औँ शताब्दीको जीवन्त पार्टी बनाउनमा कस्तो र कसको नेतृत्व आवश्यक छ ? यो प्रश्न यतिखेर ज्वलन्त सरोकारको विषय बनेको छ । आमकांग्रेसीले अबको पार्टी नेतृत्वप्रति सबैभन्दा बढी चासो राखेका छन् । चियापसल र गाउँ–चौतारीमा पनि गरम बहस हुन थालेका छन् ।
सात दशकपछि पार्टी नेतृत्वमा बीपी कोइरालाले भनेझैँ सुकिला–मुकिलाको दबादबा देखिएको छ । पार्टी सिद्धान्त, त्याग, समर्पण, विचारभन्दा पनि पैसा, आफन्तवाद र शक्तिवालाको प्रभावमा फस्दै गएको छ । विगतमा भएका निर्वाचनमा कसले पार्टीको टिकट पाए । वा कस्तालाई पार्टीले टिकट दियो । त्यहीँबाट स्पष्ट हुन्छ, पार्टीको मूल्यांकन प्रणाली कति पारदर्शी छ भन्ने । पार्टीको १४औँ महाधिवेशनमा को कसरी निर्वाचित भए ? जित्नका लागि के के विधि अपनाइए ? त्यो जगजाहेरै छ । आरक्षणका नाममा समाजलाई नै लज्जित हुने गरी छनोट गरियो । आरक्षण प्रणालीको उपहास गरेर आफ्नालाई आरक्षण कोटामा सुनिश्चितता गरियो । जुन सर्वत्र आलोचनाको विषय बन्यो । यसले वर्तमान नेतृत्वप्रति अझ बढी अविश्वास र आशंका जगायो ।
शेखर कोइरालाले पार्टीभित्रको कमी–कमजोरीदेखि लोकतान्त्रिक प्रणालीका खराब पक्षलाई उजागार गरी समाधानका लागि विचारहरू प्रवाह गरिरहेका छन् । पार्टीभित्र उनले निरन्तर वैचारिक बहस गरिरहेका छन्, बहस चलाइरहेका छन् र पार्टीको लक्ष्य उन्मुख विचारलाई मूर्त रूप दिन अगुवाइ गरिरहेका छन् ।
पार्टीभित्र यी र यावत् समस्या छन् । ठुल्ठुला चुनौती छन् । सँगसँगै अवसर र सकारात्मक परिवर्तनको सम्भावना पनि उत्तिकै छ तर त्यसका लागि इच्छाशक्ति, उच्च नैतिकता, साधारणपन र भरोसायोग्य व्यक्तित्व आवश्यक पर्छ । पार्टी नेतृत्व गर्नेका लागि वैचारिक स्पष्टता अनिवार्य हो । पार्टीको विगतलाई हेरेर निराशा मात्र भएर पनि हुँदैन । भविष्यप्रति आशावादी हुनु पनि उत्तिकै आवश्यक छ । पार्टी जीवनमा अनेक आरोह–अवरोह आइरहन्छ । कठिन समयमा पार्टी नेतृत्व गरी पार्टीलाई जीवन्त र चलायमान बनाउन सक्नु नै नेतृत्वको सफलता हो । पार्टीको १५औँ महाधिवेशनबाट यस्तै नेतृत्व खोजी हुनेछ ।
कांग्रेसभित्र पार्टीलाई नेतृत्व गर्न सक्नै कैयौँ नेता छन् । लामो इतिहास भएका, पार्टीमा लामो समयदेखि योगदान दिएका वा वैचारिक स्पष्टता भएका नेताको कमी छैन तर पार्टी इतिहासको कठिन मोडमा छ । पार्टीहरूप्रति नै आममानिसको अविश्वास बढिरहेको छ । संघीय लोकतान्त्रिक प्रणालीमाथि प्रश्न उठिरहेका छन् । यस्तो कठिन अवस्थामा परिपक्व र समन्वयकारी नेतृत्व आवश्यक पर्छ । कांग्रेसका नेतामध्ये सक्षम नेतृत्व, सरल बोली, समन्वयकारी व्यवहार, स्पष्ट विचार र साधारण जीवनशैलीका आधारमा डा. शेखर कोइरालालाई सबैभन्दा बढी भरोसायोग्य नेता मान्न सकिन्छ । उनले पार्टीभित्रको कमी–कमजोरीदेखि लोकतान्त्रिक प्रणालीका खराब पक्षलाई उजागार गरी समाधानका लागि विचारहरू प्रवाह गरिरहेका छन् । पार्टीभित्र उनले निरन्तर वैचारिक बहस गरिरहेका छन्, बहस चलाइरहेका छन् र पार्टीको लक्ष्य उन्मुख विचारलाई मूर्त रूप दिन अगुवाइ गरिरहेका छन् ।
अहिले पार्टीमा तडकभडक दखाउने होड चलिरहेको छ । जीवशैली होस् या शक्ति प्रदर्शन । लोकप्रिय बन्न होडबाजी चलिरहेको छ तर शेखर कोइराला अनुशासित, सालीन र साधारण जीवनशैली अवलम्बन गरिरहेका देखिन्छन्, जसले आमनेपालीमा आशा जगाएको छ । नेता भन्नेबित्तिकै नकारात्मक सोच रहेको नेपाली समाजमा शेखर कोइरालाले आशालाग्दा नेताको रूपमा आफ्नो छवि बनाइरहेका छन् । नेपाली कांग्रेसकै कैयौँ नेताको जीवनशैली निकै महँगो र उत्ताउलो देखिन्छ । हिजोका अञ्चलाधीशजस्ता लाग्ने नेताहरू देखेर आमजनता निराश भएका छन् । यस्तो बेलामा नेपाली जनताको आवश्यकता अनुसार साधारण जीवनशैली अपनाउन सक्ने नेतृत्व आवश्यक छ । त्यो नेपालीपन भएको, नेपाली समाजको आवश्यकता बुझ्ने र सरल जीवनशैली भएको नेता हुन्, शेखर कोइराला । उनले पार्टीको नेतृत्व गरेमा आम बुझाइमा परिर्वतन आउनेछ, सबैमा आशाको सञ्चार प्रवाह हुनेछ । फेरि नेता भनेका हामीजस्तै हुन् भन्ने भावनाको विकास हुनेछ ।
कांग्रेस मात्र होइन, नेपाली समाज पनि कठिन मोडमा अभिएको छ । जात, धर्म, भाषा, समुदाय तथा भूगोलका नाममा विभाजित छ समाज । पार्टीभित्र पनि अतिवाद विचार भएकाहरूले द्वन्द्व बढाइरहेका छन् । आफ्नो लोकप्रियताका लागि सस्ता र विकाउ कुरा गर्नेहरूको संख्या बढिरहेको छ । समन्वयकारिताको अभाव देखिन्छ । पार्टीभित्र होस् या बाहिर, समन्वयकारी भूमिका खेल्न सक्ने नेतामा शेखर कोइराला अग्रपंक्तिका मानिन्छन् । शेखर कोइराला सन्तुलित विचार, समन्वयकारी भूमिका, सत्य बोली र सामूहिकतामा विश्वास राख्ने नेता हुन् । उनले आलोचनाका बाबजुद पनि आफ्नो समन्वयकारी भूमिका बढाउँदै गइरहेका छन् । उनले बारम्बार पार्टीभित्रको अन्यायको अन्तः गरी सबैलाई न्याय दिने प्रतिबद्धता दोहोर्याउँदै आइरहेका छन् । सबैलाई न्यायको सुनिश्चिता गरिनु भनेको वैचारिक स्पष्टता हो, पार्टीभित्र सत्य–तथ्यमा आधारित प्रणालीप्रतिको विश्वास हो ।
कांग्रेसको १५औँ महाधिवेशन समयमै विधि–विधान अनुसार सम्पन्न गर्न दबाब बढाइरहेका शेखर कोइराला बीपीपथमा अघि बढिरहेका देखिन्छन् । सालीन ढंगले आफ्नो विचार राख्ने शेखर कोइरालाको अर्को गुण हो । पार्टीभित्रका मनोनयन तथा सरकार निर्माणको प्रक्रियामा असहमति राख्दै आएका शेखर कोइरालाले कहिले पनि चर्को स्वर गरेनन् । आफ्नो तर्क शान्त र सालीन ढंगले राख्दै आए । जसले पार्टीभित्र उनको कद उँचो बनायो, पार्टीका कार्यकर्ताको विश्वास बढ्यो । पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित वर्तमान नेतृत्वलाई उनले पूर्ण सहयोग गर्दै आए । तर पनि पार्टी नेतृत्वले पार्टीभित्र एकता कायम राख्न सकेन । उल्टै शेखर कोइरालालाई किनारा पार्ने काम गरियो । यद्यपि शेखर कोइराला न उत्तजित भए न त निराशा; झन् सक्रिय र वैचारिक बहसलाई प्राथमिकता दिँदै देश दौडाहामा निस्के । नेता तथा कार्यकर्तासँग भेटघाट बढाएर आफूलाई अब्बल र योग्य नेताका रूपमा स्थापित गर्न सफल भए ।
अब कांग्रेसलाई साँच्चै आमकांग्रेसीको साझा पार्टी बनाउने हो भने शेखर कोइरालाको नेतृत्व आवश्यक भइसकेको छ । सबैलाई मिलाउन सक्ने, पार्टीभित्र एकता कायम गर्नका लागि पनि शेखर कोइरालालाई अगाडि बढाउन सक्नुपर्छ । पार्टीभन्दा बाहिरकालाई विश्वासमा लिन सक्ने र देशलाई निकासा दिन पनि पार्टीका परिपक्व नेता शेखर कोइरालालाई नेतृत्वमा चयन गर्न चुक्नु हुँदैन । बिचौलिया तथा पैसावालको कब्जामा फस्दै गएको पार्टी साँच्चै आमकार्यकर्ताको पार्टीको रूपमा स्थापित गर्नका लागि पनि शेखर कोइराला योग्यपत्र हुन् । कठिन र गाह्रो समयमा कांग्रेसलाई एक नम्बर पार्टी बनाउन पनि शेखर कोइराला सक्षम र योग्य साबित हुनेछन् । यसकारण सानातिना घटना–परिघटना, वैचारिक असहमति तथा समूहगत मनमुटावलाई थाती राखेर सबल र सक्षम नेपाली कांग्रेस बनाउन शेखर कोइरालालाई चयन गर्नु अहिलेको एक मात्र आवश्यकता हो ।
(प्रस्तुत विचार लेखकका निजी हुन् । –प्रधानसम्पादक)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस सह-महामन्त्रीका छोरालाई नियन्त्रणमा लिइएको भन्ने समाचारमा सत्यता छैन : प्रहरी
-
भ्यान इनारमा खस्दा १० जनाको मृत्यु
-
कास्कीमा चट्याङ लागेर २ जनाको मृत्यु
-
तीनकुने घटना : राज्यविरुद्ध कसुरमा २४ जनालाई थप सात दिन म्याद थप
-
घाइते पत्रकार कार्कीको निःशुल्क उपचार गरी दोषीमाथि कारबाही गरियोस् – प्रेस सेन्टर
-
पारिवारिक दुस्मनीमा बालकको हत्या : टिकटक बनाउन बोलाए, गोली हानेर मारे