आइतबार, १४ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

१३ बुँदे घोषणापत्र जारी गर्दै खानेपानी महासंघको गोष्ठी सकियो

आइतबार, १४ वैशाख २०८२, ११ : १७
आइतबार, १४ वैशाख २०८२

दाङ । दाङको तुलसीपुरमा दुई दिनसम्म चलेको राष्ट्रिय महासंघको गोष्ठी १३ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ ।  ‘खानेपानी आयोजना सञ्चालन, व्यवस्थापन तथा गुणस्तर’ सम्बन्धी दाङका खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाहरूको गोष्ठी शनिवार सकिएको हो । 

राष्ट्रिय खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालको आयोजनामा भएको कार्यशाला गोष्ठीले  खानेपानी संस्था तथा आयोजनाहरूको विवरण अद्यावधिक गरी पारदर्शिता कायम गर्ने, मिटर प्रणालीसहितको पूर्ण पाइप प्रणाली र गुणस्तरीय पानी वितरण सुनिश्चित गर्ने, मौलिक हकको प्रत्याभूति गर्न करमुक्त आयोजनाको माग र सरकारी सहयोगमा प्रविधि मैत्री परियोजनाको निर्माण गने, शुद्ध पानीको जनचेतना अभिवृद्धि र आवश्यक स्थानमा पानी प्रशोधन केन्द्रको निर्माण गर्ने, नदी उत्खनन रोक्न र मुहान संरक्षणका लागि वृक्षारोपण र वातावरणीय सन्तुलन कायम गर्ने पहल गर्ने,  जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न दिगो समाधान र जलवायु न्यायका लागि अपिल गर्ने, साना आयोजना मर्जर गरेर व्यवस्थापनमा दक्षता ल्याउने रणनीति बनाउने घोषणापत्रमा उल्लेख गरिएको छ ।

 “जनताको पानी, सरकारको लगानी” भन्ने नारालाई कार्यान्वयन गर्नुपर्ने पनि घोषणा पत्रमा उल्लेख छ । 

शुक्रवार र शनिवार दाङको तुलसीपुरमा गोष्ठी भएको हो । गोष्ठीमा तीनै तहका सरकारका प्रतिनिधि, जिल्लाका उपभोक्ता समितिका पदाधिकारीहरू, सरोकारवालाहरूको सहभागिता रहेको थियो । गोष्ठीमा जिल्ला स्थित उपभोक्ता समितिका प्रतिनिधिहरुले खानेपानीको समस्याहरू राखेका थिए । त्यस क्रममा खानेपानीको मुहान सुक्दै गएको, खानेपानीको योजनामा उपभोक्ताले पनि लगानी गर्नुपर्ने, विद्युत् महसुलमा छुट नभएको, करमा छुट नभएको जस्ता गुनासो गरेका थिए । 

यस्ता कुरालाई सम्बोधन गर्न तथा विषय उठान गर्न सहज होस्, भनी यस्तो कार्यक्रम आयोजना गरिएको महासंघका अध्यक्ष खेमराज वलीले बताए ।  साथै उनले खानेपानी संस्थाबाट विद्युत् महसुल, करको छुट नगरेमा आन्दोलन समेत गरिने बताए । राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले उक्त कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै खानेपानी उपभोक्ता संस्थाहरूको सन्दर्भमा देखिएका समस्यालाई राष्ट्रिय सभामा जोडतोडले उठाएको भन्दै समाधानका लागि पहल पनि गरिरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप