आइतबार, १४ वैशाख २०८२
ताजा लोकप्रिय

‘आमा’ साक्षात् भगवान्

आइतबार, १४ वैशाख २०८२, ११ : ०३
आइतबार, १४ वैशाख २०८२

आज माता दिवस । सम्पूर्ण माताहरूमा प्रणाम । आज सामाजिक सञ्जालभरि आमाका विषयमा स्टाटस, फोटो, स्टिकर, ह्यासट्याग, शुभकामना आएका छन् । मेरो स्क्रिन शून्य छ, किनभने मसँग आमा हुनुहुन्न । 

म एक टुहुरो हुँ । मेरो बाल्यकाल आमाको सान्निध्यविना बित्यो । आमाको न्यानो काखमा लुटपुटिने सौभाग्य मैले पाउन सकिनँ । आज पनि त्यो रिक्तता बोकेर बाँचिरहेको छु । ‘आमा’ शब्दको ध्वनि आज पनि मेरो हृदयमा गुञ्जिन्छ तर सम्झन खोज्दा अनुहार बिर्सिएको छु, न त कतै अनुहार–चित्र छ ।

घाँस–दाउरा, मेलापात, चुल्हो–चौकाले असिन–पसिनबाट उत्पन्न कपडाको आत्मीय गन्ध; उहाँको छेउमा सुतेको त्यो न्यानोपन र काखको त्यो धड्कनका स्मृतिहरू अहिले पनि मेरै रगतमा बगिरहेका छन् तर म आमाको अनुहार समेत स्मृतिमा ल्याउन सकिरहेको छैन । 

आज मातातीर्थ औँसीको अवसर पारेर समाजले आमालाई सम्झने गरेको छ; केवल सामाजिक सञ्जालका पोस्ट, स्टाटस अनि फोटोमार्फत । 

यी स्टाटस, फोटा र पोस्टहरू देख्दा सोध्न मन लागिरहेको छ— साँच्चै भन्नुस् त, के आमाको माया यति सस्तो छ ? उहाँको पूजा फोटोको फ्रेमसम्म सीमित छ ? सजीव माताको सम्मान निर्जीव चित्रमार्फत कसरी सम्भव छ ?

म देख्छु, कतिपय मानिसले आमासँग सेल्फी खिच्छन् र गुगल स्टोरबाट निकालेर पोस्ट गर्छन् अनि ‘कमेन्ट’ गनेर बस्छन् । हरेक साँझ घरमा आमाको आवाज सुन्न नपरोस् भनी टीभीको आवाज बढाउँछन् । व्यस्त भएको बहाना गरेर आमासँग दश मिनेट कुरा गर्दैनन् । 

आजको दिन कतिपयले महँगो सामान किनेर आमालाई उपहार दिन्छन् तर आमाको टाउको दुखिरहेको छ कि भनेर सोध्ने फुर्सद छैन उनीहरूलाई । अझ कतिपयले पठाओबाट आमालाई उपहार पठाएको पनि देखियो । विडम्बना भन्नुपर्छ, कतिपय सन्तानका फेसबुक वालहरूमा आमा ‘देवी’ हुन्छिन्, तिनकै व्यावहारिक जीवनमा आमा घरको कामदार जस्ती मात्रै हुन्छिन् ।

पूर्वीय शास्त्रहरूमा ‘मातुर्विना न धर्मोऽस्ति, न पुण्यं न तपो न च । माता सर्वं प्रदात्री च, स्वर्गदात्री हि केवलम् ।’ अर्थात् आमाबिना न धर्म हुन्छ, न पुण्य, न तप । उहाँ नै सबै दिने देवी हुनुहुन्छ भनी उल्लेख छ तर समाजको यथार्थ अर्कै छ । 

गाउँमा एक्ली आमालाई बेवास्ता गर्दै सहर ल्याउन हिच्किचाउने छोरा, कहिल्यै माइतीमा आएर ‘कस्तो छ आमा ?’ भनेर सोध्न नभ्याउने छोरी र नजिक नआउने नातिनातिनीहरू । जसले गर्दा मनमा कुम्सिएका भावनाहरू कुम्स्याएरै जिउन बाध्य छन् आमाहरू । आमा, जसले हाम्रो पहिलो शब्द बोल्न सिकाइन्, आज त्यही आमा कुनै शब्द नबोली भित्रभित्रै रोइरहेकी छन् । उनले बोल्न सिकाएको बोली आज उनीसँगै बोल्दैनन् । जसको काखलाई संसार मानेर हुर्किएको बिर्सिएर त्यही काखलाई बोझका रूपमा लिँदै वृद्धाश्रम खोज्दै हिँड्न थालेका छन् । 

र म... !

म त त्यो अभागी हुँ, जसको आमाको कुनै तस्बिर पनि छैन, कुनै स्मृति पनि छैन, जुन देखाएर समाजसँग ‘म पनि थिएँ आमा काखमा’ भनी देखाउन सकुँ । आज जसको जीवनमा आमा हुनुहुन्छ, तपाईं साँच्चै भाग्यमानी हुनुहुन्छ । तर यो भाग्यको मूल्य सेल्फीमा होइन, तपाईंको व्यवहारमा झल्किनुपर्छ । म त त्यो भाग्यहीन हुँ, जसको आमाले सानोमै संसारबाट बिदा लिनुभयो । 

सजीव त हुनुहुन्न नै निर्जिव मुहार चित्र समेत छैन मसँग । दसैँ आउँछ— टीकाको थाल छ तर टीका र आशीर्वाद दिने आमाको सम्झनासम्म छैन । तिहार आउँछ— दियो बलेको छ तर मामाहरूसँग टिका लगाएको कुनै क्षण छैन । मन्दिरमा पुग्दा मातृशक्तिको आरती देख्छु, त्यतिबेला आफ्नी आमाको अनुहार सम्झन नसक्दा मन भारी हुन्छ । आमाको भएको भए भन्ने लागेर होला, मन भारी हुन्छ, भक्कानिन्छ । लाग्छ ! मेरो जीवनभरको अभाव यही हो । 

म अभागी ठान्छु आफूलाई । एक दिन पनि त्यो ‘आमा’ भन्ने न्यानो शब्दले जीवन्त रूपमा मैले आमालाई बोलाउन पाइनँ । ‘आमा ! तपाईं भोकाउनुभयो खाना खानुहोस् । तपाईं थाक्नुभयो होला, आराम गर्नुहोस् । तपाईंलाई माया गर्छु, आमा ।’ यी शब्दहरू मेरो कण्ठमै अड्किएका छन् ।

तपाईंहरूको जीवनमा जसको आमा हुनुहुन्छ, तपाईंहरू भाग्यशाली हुनुहुन्छ । यस्ता भाग्यमानीले उहाँहरूलाई पोस्टमार्फत होइन, मुटुमार्फत सम्मान गर्नुहोस् । उहाँको हात समाउनुहोस् । उहाँसँग ‘बात’ मार्नुहोस् । मनका कुरा सुनिदिनुहोस् । आमासँग समय बिताउनुहोस् । आमाका आँखामै हेरेर भन्नुहोस् न, ‘तपाईंविना म अधुरो छु ।’

जीवनभर तपाईंका लागि जिउनु भएकी ती आमालाई तपाईंको समयले खुसी दिन्छ । तपाईंको स्पर्शले ऊर्जा दिन्छ । तपाईंको बोलीले उहाँको आत्मामा उज्यालो फर्किन्छ, त्यो उज्यालो जसले तपाईंलाई मानिस बनायो तर तपाईं प्रस्तुति भौतिक नभई अभौतिकतामा सीमित देखिन्छ । 

पठाओ गरेका उपहार, मिठाईका बट्टा र फेसबुकका स्टाटसले आमालाई सन्तोष दिन सक्दैन । किनकि एउटा मालाले कहिल्यै पुग्दैन । एक सेल्फी कहिल्यै पर्याप्त हुँदैन । आमाले सामाजिक सञ्जालमा ‘यसो भनेको छ’ भन्ने खबर सुन्न त सक्नुहोला, मनन गर्न सक्नुहुन्न । 

आज आमा साक्षात् हुनुहुन्छ भने तस्बिर कहिल्यै पर्याप्त हुँदैन । स्टाटसले कहिल्यै सम्मान प्रकट गर्न सक्दैन । मिठाईको डब्बाले कहिल्यै मातृत्वको ऋण चुक्ता गर्न सक्दैन । उहाँ सजीव हुनुहुन्छ भने साक्षात् भगवान् हुनुहुन्छ, तपाईंसँगै हुनुहुन्छ । उहाँलाई त तपाईंको साथ चाहिएको हो । तपाईंको शिरमै हात राखेर आशीर्वाद दिन मन छ । आज उहाँको शब्द, स्पर्श र दृश्य साक्षात् छ, जो साक्षात् भगवान् हुन् । 

आजबाट सामाजिक सञ्जालमा पोस्ट गरेर आमालाई सम्मान गर्ने परिपाटीभन्दा जीवनमै उहाँलाई माया र साथ दिने संस्कृति सुरु गरौँ । नत्र भोलि तपाईंको स्टाटस खालि हुन सक्छ, मेरोजस्तै । त्यो अवस्था नआउँदै भनी हालौँ, ‘तिमी छौ र म छु आमा ।’

(लेखक वास्तुविज्ञानका सञ्चालक तथा दक्षिण एसियाली ज्योतिष महासंघका महासचिव हुन् ।)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भरतमणि ज्ञवाली
भरतमणि ज्ञवाली
लेखकबाट थप