आइतबार, १४ वैशाख २०८२
ताजा लोकप्रिय
स्वर्णलक्ष्मी सहकारी घोटाला प्रकरण

सांसद माया राईविरुद्ध पूरक अनुसन्धान, आज म्याद थप गरिँदै

आइतबार, १४ वैशाख २०८२, १० : ५५
आइतबार, १४ वैशाख २०८२

काठमाडौँ । प्रतिनिधिसभा सदस्य माया राईविरुद्ध प्रहरीले पूरक अनुसन्धान गर्ने भएको छ । नेपाली कांग्रेसबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेकी राई शनिवार साँझ बुढानीलकण्ठ–१० कपनबाट पक्राउ परेकी थिइन् ।

उनी कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेको रकम अपचलनमा संलग्न भएको आरोप छ । उनीविरुद्ध ठगी र सङ्गठित अपराध मुद्दामा पूरक अनुसन्धान गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए । उनले भने, ‘आज अदालतबाट म्याद लिएर पूरक अनुसन्धान अघि बढाउँछौँ ।’

भोजपुर घर भएकी राई नेपाली कांग्रेसको केन्द्रीय समिति सदस्य पनि हुन् । उनले सुरुमा स्वर्णलक्ष्मीको सदस्य र पछि सहसचिव भएर काम गरेकी थिइन् । 

स्वर्णलक्ष्मीको रकम अपचलनमा संलग्न रास्वपा सभापति रवि लामिछाने सहित ३९ जनालाई प्रतिवादी बनाएर प्रहरीले यसअघि नै जिल्ला अदालतमा मुद्दा दायर गरिसकेको छ । प्रहरीले २०८१ पुस २१ मा सङ्गठित रूपमा ठगी गरेको कसुरमा पहिलो पटक अभियोगपत्र दायर गरेको थियो ।

राईविरुद्ध पनि ठगी र सङ्गठित अपराध मुद्दामा म्याद लिएर बयान लिइने एसपी बोहराले जानकारी दिए । उनले भने, ‘म्याद थप गरेपछि बयान लिने र थप प्रमाण सङ्कलन गरेर पूरक अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गर्छौँ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप