आइतबार, १४ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
आयात/निर्यात

दोब्बरले बढ्यो लसुन आयात, जान्छ कहाँ ?

आइतबार, १४ वैशाख २०८२, १२ : ००
आइतबार, १४ वैशाख २०८२

काठमाडौँ । फेरि पनि लसुन आयात दोब्बर बढेको छ । गत पुसमा आयात अस्वाभाविक बढेको भन्दै आलोचना भएपछि चीनबाट सामान आयात हुने भन्सारका क्वारेन्टाइनमा कडाइ गरिएको थियो । 

क्वारेन्टाइनमा लसुन रोकिएसँगै माघ र फागुनमा आयात ह्वात्तै घटेको थियो । माघ र फागुनको तुलनामा चैतमा आयात दोब्बर विभागको तथ्यांकमा देखिएको छ । 

माघमा ७ करोड ९९ लाख ५६ हजार रुपैयाँको ६ लाख १० हजार २८० किलो  लसुन आयात भएको थियो । फागुनमा पनि ६ करोड २५ लाख ४६ हजार रुपैयाँको ४ लाख ८५ हजार ७०१ किलो लसुन आयात भएको थियो । 

तर माघ र फागुनको तुलनामा चैतमा लसुन आयात दोब्बरले बढेको विभागको तथ्यांकमा उल्लेख छ । चैतमा १२ करोड २८ लाख ६१ हजार रुपैयाँको ९ लाख ६४ हजार ३३५ किलो लसुन आयात भएको छ । 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव तर्कराज भट्ट पनि लसुन आयात बढिरहेको बताउँछन् । तर पछिल्लो समय भन्सार क्वारेन्टाइनमा गुणस्तर परीक्षण सँगै कढाइ गरेपछि केही लसुन रोकिएको उनको भनाइ छ । 

‘आयात बढेको देखिन्छ । पछिल्लो समय भन्सार क्वारेन्टाइनले गुणस्तरमा प्रश्न उठाएर कडाइ गरेको थियो । एक–दुई पटक रोकेको पनि थियो,’ भट्ट भन्छन्, ‘धेरै आयात हुँदा कता गयो भन्नु स्वाभाविक हो, अहिले आयातमा रोक लगाइएको छैन । तर अनौपचारिक व्यापारलाई प्रोत्साहन भने गर्नु हुँदैन ।’

तर लसुन आयात रोक्न सरकारी निकायबाट पहल भएको देखिँदैन । अघिल्लो वर्ष १ अर्ब बराबर आयात हुने लसुन यो वर्षको ९ महिनामा साढे ६ अर्ब पुगिसकेको छ । 

पछिल्लो समय भारतले चीनबाट आयात हुने वस्तु रोक लगाएसँगै नेपाल हुँदै भारतमा निकासी हुन सक्ने उनको भनाइ छ । 

‘यस्ता वस्तु भारतमा रोक लगाएका वेला वस्तु तेस्रो मुलुक हुँदै निर्यात हुन्छ भने यसरी अनौपचारिक रूपमा व्यापार हुनबाट रोक्नुपर्छ । सम्बन्धित निकायलाई बलियो बनाएर यसरी अस्वाभाविक रोक लगाउनुपर्छ,’ उनले भने ।  

स्वदेशलाई आवश्यक वस्तु ल्याउने हो तर अवैध रूपमा निर्यात हुने गरी आयात हुन दिन नहुने उनको भनाइ छ ।

‘यसलाई रोक्न कृषि मन्त्रालय, वाणिज्य मन्त्रालय, भन्सार क्वारेन्टाइन बसेर छलफल गर्नु पर्नेछ,’ उनले थपे, ‘यो विषयमा छलफल पनि भइरहेको होला ।’ 

तर लसुन आयात रोक्न सरकारी निकायबाट पहल भएको देखिँदैन । अघिल्लो वर्ष १ अर्ब बराबर आयात हुने लसुन यो वर्षको ९ महिनामा साढे ६ अर्ब पुगिसकेको छ । 

  • अघिल्लो वर्षको आयात मूल्य बराबर यो वर्ष राजस्व संकलन 

चालु आर्थिक वर्षको चैत मसान्तसम्म (९ महिना) मा ६ अर्ब ४५ करोड ८ लाख ३९ हजार रुपैयाँको ४ करोड ९० लाख ११ हजार ९२३ किलो लसुन आयात भएको छ । 

उक्त परिमाणमा लसुन आयात हुँदा १ अर्ब ६६ करोड ४४ लाख ६१ हजार रुपैयाँ बराबर राजस्व संकलन भएको विभागको तथ्यांकमा उल्लेख छ । 

तर निर्यात भने न्यून परिमाणमा भएको छ । यो अवधिमा ३ लाख ८३ हजार रुपैयाँको ९२० किलो लसुन निर्यात भएको छ । 

अघिल्लो वर्ष यसै अवधिमा चालु वर्षमा लसुन आयात हुँदा संकलन भएको राजस्व बराबर मूल्यको लसुन आयात भएको थियो । अघिल्लो वर्ष १ अर्ब ६४ करोड ९६ लाख २८ हजार रुपैयाँ बराबरको १ करोड २६ लाख ८२ हजार ४७७ किलो लसुन आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । सो परिमाणमा लसुन आयात हुँदा ४२ करोड ५७ लाख ६० हजार रुपैयाँ राजस्व संकलन भएको थियो । 

त्यसपछि अस्वाभाविक रूपमा लसुन आयात बढेको भन्दै आलोचना हुन थालेपछि आयात सामान्य घटेको थियो । 

चैतसम्म आयात भएको लसुनमध्ये ६ अर्ब ३९ करोड ६९ लाख ६७ हजार रुपैयाँको ४ करोड ८५ लाख ५१ हजार ३६७ किलो लसुन चीनबाट आयात भएको छ । यस्तै ५ करोड ३८ लाख ७२ हजार रुपैयाँको लसुन भारतबाट आयात भएको देखिन्छ । 

यति ठुलो परिमाणमा लसुन भित्रिनु अस्वाभाविक भएको सरकारी अधिकारीहरू बताउँछन् । अस्वाभाविक आयात बढ्नुमा भन्सार विभागका अधिकारी पनि भारततर्फ चोरी निकासी भएको हुन सक्ने बताउँछन् । 

गत साउन र भदौमा राजस्व अनुसन्धान विभाग र नेपाल प्रहरीले बरामद ठुलो परिमाणमा भारततर्फ अवैध रूपमा निकासी हुनै लागेको लसुन बरामद गरेका थिए जसबाट पनि भारतर्फ लसुन तस्करी हुँदै आएको पुष्टि भएको थियो ।  

  • सबैभन्दा धेरै आयात मंसिरमा 

२०८१ साउनदेखि लसुन आयात अस्वाभाविक रूपमा बढेको थियो । फेरि माघ र फागुनमा ह्वात्तै घटेको लसुन चैतमा दोब्बरले आयात बढेको देखिन्छ । साउनमा ४९ करोड ५५ लाख ९५ हजार रुपैयाँको ३७ लाख ४४ हजार ३०० किलो लसुन आयात भएको थियो । भदौमा ह्वात्तै दोब्बरले बढेर १ अर्ब ३ करोड २ लाख ९३ हजार रुपैयाँको ७७ लाख ३६ हजार २५० किलो लसुन आयात भयो । 

यस्तै असोजमा ७८ करोड ८१ लाख १५ हजार रुपैयाँको ५९ लाख ९८ हजार ३७० किलो आयात भयो । कात्तिकमा ८२ करोड ३१ लाख ४० हजार ६३ लाख ६७ हजार ४८० किलो आयात भएको थियो । 

मंसिरमा २ अर्ब २२ करोड ४५ लाख ८६ हजार रुपैयाँको १ करोड ६८ लाख ११ हजार ४७२ किलो लसुन आयात भएको देखिन्छ । फेरि पुसमा ८२ करोड ३७ लाख ४६ हजार रुपैयाँको ६२ लाख ९३ हजार ७३५ किलो लसुन आयात भयो । करिब ६ महिनाको अवधिमा ६ अर्ब बराबरको लसुन आयात भयो । 

त्यसपछि अस्वाभाविक रूपमा लसुन आयात बढेको भन्दै आलोचना हुन थालेपछि आयात सामान्य घटेको थियो । 

माघमा ७ करोड ९९ लाख ५६ हजार रुपैयाँको ६१०२८० किलो  लसुन आयात भयो । फागुन पनि घटेर ६ करोड २५ लाख ४६ हजार रुपैयाँको ४८५७०१ किलो लसुन आयात भएको थियो । फागुनको तुलनामा चैत महिनामा फेरी दोब्बरले लसुन आयात बढेको विभागको तथ्यांकमा उल्लेख छ । चैतमा १२ करोड २८ लाख ६१ हजार रुपैयाँको ९६४३३५ किलो लसुन आयात भएको छ । 

कुन  महिना कति आयो? 

ll

स्रोतः भन्सार विभाग

  • स्वदेशी उत्पादनले नधान्दा आयात

तरकारीमा मसलादेखि औषधिका रूपमा समेत लसुन प्रयोग हुँदै आएको छ । स्वदेशी उत्पादन अपर्याप्त हुने भएकाले आयात गर्नुपर्ने अवस्था भएको सरकारी अधिकारीहरू बताउने गर्छन् । 

नेपालमा वार्षिक रूपमा करिब ९ हजार हेक्टर क्षेत्रफलमा ७२ हजार मेट्रिक टन लसुन खेती हुँदै आएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार २०७९/०८० मा ९ हजार ५ सय ७० हेक्टर क्षेत्रफलमा लसुन खेती गरिएको थियो । सो क्षेत्रफलबाट ७३ हजार ५ सय ६७ सय मेट्रिक टन लसुन उत्पादन भएको उल्लेख छ ।

यस्तै ०७८/७९ मा ९ हजार ९ सय ४३ क्षेत्रफलमा लसुन खेती हुँदा ७४ हजार ७ सय ६३ मेट्रिक टन उत्पादन भएको थियो । यसैगरी ०७७/७८ मा ९ हजार ७ सय ८४ हेक्टर क्षेत्रफलमा ७२ हजार ४ सय ९० मेट्रिक टन उत्पादन भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

पछिल्लो ५ वर्षको तथ्यांक हेर्ने हो भने बर्सेनि लसुन आयात बढ्दै गएको देखिन्छ ।  ०७६/७७ मा ३१ करोड ५३ लाख रुपैयाँ बराबरको ३१ लाख १२ हजार ६२६ किलो लसुन आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । २०७७/७८ मा पनि आयात बढेको छ । उक्त वर्ष १ अर्ब ५ करोड ९६ लाख रुपैयाँको १ करोड ६० हजार  ७०० किलो लसुन आयात भएको थियो । 

यस्तै ०७७/७८ देखि ०७९/८० सम्म लगातार १ अर्ब रुपैयाँ बराबरको लसुन आयात भएको देखिन्छ । त्यसयता दोब्बरले आयात बढेको तथ्यांकले देखाउँछ । अघिल्ला तीन वर्षको तुलनामा दोब्बरले आयात बढेर ०८०/८१ मा दुई अर्बभन्दा बढीको लसुन आयात भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना घिमिरे
कल्पना घिमिरे
लेखकबाट थप