प्लेअफ चरणमा पुग्न संघर्षरत मुम्बई र लखनउ आपसमा भिड्दै

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करणमा आइतबार दुई वटा खेल हुँदैछन् । पहिलो खेल मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्ट्सबिच खेलिने छ । दोस्रो खेल दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंगलुरुबिच हुनेछ ।
मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्ट्सबिचको खेल वानखेड स्टेडियममा नेपाली समय अनुसार आइतबार दिउँसो ३: ४५ बजे सुरु हुनेछ । आईपीएलको जारी संस्करणमा यी दुवै टोलीले आफ्नो १०औँ खेल खेल्न लागेका हुन् ।
जारी सिजनको आईपीएल उत्तरार्धतर्फ अघि बढिरहँदा मुम्बई र लखनउ दुवै प्रतियोगिताको प्लेअफ चरणमा पुग्न संघर्षरत छन् । आईपीएलको जारी संस्करणमा यी दुवै टोली दोस्रो पटक आपसमा भिड्न लागेका हुन् । यसअघि खेलिएको खेलमा लखनउले मुम्बईलाई १२ रनले हराएको थियो ।
मुम्बई इन्डियन्सले हालसम्म पाँच पटक आईपीएलको उपाधि जितेको छ । मुम्बईले सन् २०१३ मा पहिलो पटक उपाधि जितेको थियो । फाइनलमा मुम्बईले चेन्नई सुपर किङ्सलाई २३ रनले पराजित गरेको थियो । सन् २०१५ मा मुम्बईले दोस्रोपटक उपाधि जितेको थियो । फाइनलमा मुम्बईले चेन्नईलाई नै ४१ रनले हराएको थियो ।
त्यसपछि मुम्बई इन्डियन्सले सन् २०१७ मा उपाधि जितेको थियो । उक्त संस्करणको फाइनलमा मुम्बईले राइजिङ पुणे सुपरजायन्ट्सलाई एक रनले पराजित गरेको थियो । आईपीएलको इतिहासमा यो सबैभन्दा कम रनअन्तरको जित पनि हो ।
मुम्बईले सन् २०१९ मा चौथो पटक उपाधि उचालेको थियो । उक्त संस्करणको फाइनलमा पनि मुम्बईले चेन्नईलाई एक रनले नै हराएको थियो । मुम्बईले अन्तिम पटक सन् २०२० मा उपाधि जितेको थियो । मुम्बईले फाइनलमा दिल्ली क्यापिटल्सलाई पाँच विकेटले हराएको थियो ।
लखनउ सुपर जायन्ट्सले भने हालसम्म आईपीएलको उपाधि चुम्न सकेको छैन । सन् २०२२ देखिमात्र लखनउले आईपीएलमा सहभागिता जनाउन थालेको हो । लखनउ दुई पटक आईपीएलको प्लेअफ चरणमा पुगेको छ । यो नै लखनउको सबैभन्दा ठुलो उपलब्धि हो । लखनउ सन् २०२२ र सन् २०२३ को संस्करणमा प्लेअफ चरणसम्म पुगेको थियो ।
- दुबैको अवस्था उस्तै
जारी सिजनको आईपीएलमा लखनउ सुपर जायन्ट्स र मुम्बई इन्डियन्सले हालसम्म नौ–नौ खेल खेलिसकेका छन् । यी दुवै टोली प्ले–अफ चरणमा पुग्न सँघर्षरत देखिन्छन् । त्यसैले आइतबारको खेलमा यी दुवै टोली एक अर्कालाई हराउँदै अगाडि बढ्ने सम्भावना बलियो बनाउन चाहन्छन् ।
मुम्बईले यसअघि खेलिएको नौमध्ये पाँच खेलमा जित र चार खेलमा हारको नतिजा निकालेको छ । मुम्बई १० अंकसहित तालिकाको पाँचौँ स्थानमा छ । लखनउले पनि अघिल्ला नौमध्ये पाँच खेलमा जित र चार खेलमा हारको नतिजा निकालेको छ । लखनउ १० अंकसहित छैटौँ स्थानमा आसीन छ ।
- हेड टु हेडमा लखनउ अगाडि
आईपीएलमा हालसम्म लखनउ सुपर जायन्ट्स र मुम्बई इन्डियन्सबिच कुल सात खेल खेलिएको छ । त्यसमा लखनउ बलियो देखिन्छ । लखनउले ६ खेलमा मुम्बईलाई हराएको छ ।
मुम्बईले भने एक खेलमा मात्र लखनउलाई हराउन सकेको छ । वानखेड स्टेडियममा यी दुई टोलीबिच दुई खेल खेलिएको छ । दुवै खेलमा लखनउले मुम्बईलाई हराएको छ ।
- लयमा छन् मुम्बईका सूर्यकुमार
जारी सिजनको आईपीएलमा मुम्बई इन्डियन्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान सूर्यकुमार यादव हुन् । उनले नौ खेलमा कुल तीन सय ७३ रन बनाइसकेका छन् । पूर्वकप्तान रोहित शर्मा लयमा फर्किनु मुम्बईका लागि अर्को खुसीको कुरा हो ।
रोहितले पछिल्ला दुवै खेलमा अर्धशतक बनाएका छन् । मुम्बईका लागि सर्वाधिक विकेट लिने बलर कप्तान हार्दिक पाण्ड्या हुन् । उनले हालसम्म टोलीका लागि कुल १२ विकेट लिइसकेका छन् ।
- लखनउको सर्वाधिक रन पुरनको नाममा
आईपीएलको १८औँ संस्करणमा लखनउ सुपर जायन्ट्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान निकोलस पुरन हुन् । उनले हालसम्म नौ खेलमा कुल तीन सय ७७ रन बनाइसकेका छन् । उनी निकै लयमा देखिएका छन् ।
जारी आईपीएलमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा उनी तेस्रो स्थानमा आसीन छन् । उनले हालसम्म चारवटा अर्धशतक पनि प्रहार गरेका छन् । लखनउका लागि सर्वाधिक विकेट लिने बलर शार्दुल ठाकुर हुन् । उनले नौ खेलमा १२ विकेट लिएका छन् ।
- ब्याट्सम्यानलाई साथ दिने पिच
लखनउ सुपर जायन्ट्स र मुम्बई इन्डियन्सबिच आइतबारको खेल हुने वानखेड स्टेडियमको पिच ब्याट्सम्यानका लागि निकै उपयुक्त मानिन्छ । यो पिचले तिब्रगतिका बलरलाई पनि केही सहयोग पर्याउने गरेको छ ।
वानखेड स्टेडियममा हालसम्म आईपीएलको कुल एक सय २० खेल खेलिएको छ । त्यसमध्ये ५५ खेलमा पहिले ब्याटिङ गर्ने टोली विजयी भएका छन् । ६५ खेलमा जवाफी ब्याटिङ गर्ने टोलीले सफलता हात पारेका छन् ।
वानखेड स्टेडियमा हालसम्म खेलिएको आईपीएलमा बनेको उच्च स्कोर भने एक विकेट गुमाएर दुई सय ३५ रन हो । उक्त स्कोर सन् २०१५ को आईपीएलमा मुम्बई इन्डियन्सविरुद्ध रोयल च्यालेन्जर्स बेंगलुरुले बनाएको थियो ।
- मौसम सफा रहनेछ
मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्ट्सबिच खेल हुने दिन आइतबार मुम्बईको मौसम सफा रहने बताइएको छ । वर्षाको सम्भावना नरहेको त्यहाँको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तापक्रम २६ देखि ३५ डिग्री सेल्सियसको बिचमा रहनेछ ।
- सम्भावित टोली
मुम्बई इन्डियन्स : हार्दिक पाण्ड्या (कप्तान), रायन रिकेल्टन (विकेटकिपर), सूर्यकुमार यादव, तिलक बर्मा, नमन धीर, विल ज्याक्स, मिचेल सान्टनर, दीपक चाहर, ट्रेन्ट बोल्ट, जसप्रित बुमराह, विग्नेश पुथुर र रोहित शर्मा ।
लखनउ सुपर जायन्ट्स : ऋषभ पन्त (कप्तान तथा विकेटकिपर), मिचेल मार्श, ऐडन मारक्रम, निकोलस पुरन, डेभिड मिल्लर, अब्दुल समाद, शार्दुल ठाकुर, दिग्वेश राठी, रवी बिश्नोई, आवेश खान र प्रिन्स यादव ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौँडाबाट खैरो हिरोइन सहित ३ जना पक्राउ
-
आजको शिक्षक आन्दोलनमा भएको मुठभेड नियोजितजस्तो देखियो – एमाले महासचिव
-
मातातीर्थ औँसीको अवसर पारेर स्मिता दाहालले ल्याइन् ‘आमा’ गीत
-
लगानी बोर्डको सङ्गठन संरचना खाका स्वीकृत
-
राष्ट्र बैंकको वार्षिकोत्सवमा ‘एक थान’ गभर्नरको खोजी, सहभागी भएनन् यी प्रत्यासी
-
हवाई सेवा विधेयकमाथि प्रारम्भिक स्वीकृति, मन्त्री पाण्डे भन्छन्, ‘क्यान टुक्र्याउन मात्रै विधेयक ल्याएको होइन’