आइतबार, १४ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कस्तो छ यो साताको राशिफल ?

आइतबार, १४ वैशाख २०८२, ०९ : ५३
आइतबार, १४ वैशाख २०८२

वैशाख १४ गते आइतबारदेखि वैशाख २० गते शनिबारसम्मको साप्ताहिक राशिफल

  • मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

समय राम्रो रहेकोले सानातिना समस्या देखिए पनि लगनशील भएर लाग्नाले सफलताको शिखर चुम्ने ग्रहयोग रहेको छ । प्रविधिको प्रयोग गरी पढाइ लेखाइमा सुधार गर्न सकिने हुनाले अरूभन्दा अगाडी बढ्न सकिनेछ । दाजुभाइले तपाईँको काममा सहयोग गर्ने हुनाले ठुला तथा उपलब्धिमूलक काम गर्न सकिनेछ । मानव निर्मित तथा भौतिक साधनहरू प्राप्तिको योग रहेको छ । व्यापार, शेयर बजार तथा उद्योगमा लगानी गरी आम्दानीका स्रोतहरू फराकिला पार्न सकिनेछ । धार्मिक तथा मनोरञ्जनात्मक यात्राको तय हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । अध्ययन वा कामको सिलसिलामा लामो दूरीको यात्राको तय हुनेछ ।

  • वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

सोमबारसम्मको समय मध्यम रहेकोले स्वास्थ्य सम्बन्धी सामान्य समस्या देखा पर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अल्छी गर्ने बानिले कामहरू बिग्रन सक्छ । अनावश्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय व्यतीत गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । मंगलबारबाट समय राम्रो रहेकोले भौतिक बस्तुको प्रयोग गर्न पाइने तथा राम्रा पहिरनमा सजिएर अरूको मन लोभ्याउन सकिनेछ । तपाईँबाट राम्रा काम हुने हुनाले परिवार तथा साथीभाइहरू खुसी हुनेछन् । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहनेछ । नौलो प्रकृतिको काम गरेर आम्दानीका स्रोत बढाउन सकिनेछ भने व्यापार, सेयर बजार तथा उद्योगको लगानीबाट पछिसम्म लाभ मिल्नेछ । पारिवारिक जमघट वा घर परिवारमा आफन्तसँगै रहेर मिष्टान्न भोजन लिने अवसर मिल्ने हुनाले सबै खुसी रहनेछन् ।

  • मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

साताको सुरु र अन्तको सम्म राम्रो रहेकोले राजनीति तथा कल्याणकारी कामबाट समाजमा नाम तथा दाम दुवै कमाउन सकिनेछ । व्यापार तथा सेयर बजारबाट आम्दानी हुने हुँदा आर्थिक अवस्था सुदृढ हुनेछ । पढाइ लेखाइमा अरूभन्दा एक कदम अगाडी बढी नतिजा हात पार्न सकिनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिनेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । सुन्दर पहिरनमा सजिएर अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । प्राकृतिक स्रोत साधन तथा पैतृक धनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । मंगलबार र बुधबारको समय मध्यम रहेकोले काम गर्दा सावधानी अपनाउनुहोला खराब व्यक्तिको विश्वास गर्नाले जरिवाना तिर्नुपर्नेछ । घर भित्रकै मानिसहरूबाट धोका हुने सम्भावना रहेकोले सचेत रहनुहोला । स्वास्थ्य सम्बन्धी सामान्य समस्या देखा पर्न सक्ने तथा उपचार खर्च बढ्ने ग्रहयोग रहेको छ ।

  • कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

भौतिक सम्पत्तिहरू जुट्नेछन् भने उपहार प्राप्त हुने योग रहेको छ  । नयाँ कामहरू गरेर आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । दाजुभाइ वा अग्रजहरूको सुझाव तथा सल्लाह मानेर अगाडी बढ्दा सफलता पाउन सकिनेछ । विद्यामा राम्रो प्रगति हुने हुँदा पढाइ लेखाइमा मन जानेछ । बौद्धिकता प्रयोग गरी समाजमा राम्रा काम गरेर देखाउन सकिनेछ भने आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । सरकारी सम्पत्ति तथा पैतृक सम्पत्ति हात लागी हुने प्रशस्त सम्भावना रहेको छ । वित्तीय क्षेत्र वा सेयर बजारमा लगानी गरी पछिसम्म नाफा कमाउन सकिनेछ । साताको अन्त अर्थात् बिहीबारबाट समय मध्यम रहेकोले कल्पना तथा भावनामा बग्नाले काम गर्न मन लाग्ने छैन । परिवार तथा आफन्तहरूले गलत आरोप लगाउन सक्छन् ध्यान दिनुहोला ।

  • सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

सोमबारसम्मको समय मध्यम रहेकोले समयमा घर परिवार तथा आफन्तसँग मनमुटाब सिर्जना हुनेछ । बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउने योग रहेको छ । मंगलबारबाट सामाजिक तथा राजनीतिक क्षेत्रमा रुचि बढ्नेछ । समाजमा मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । सेयर बजार तथा उद्योगको लगानीबाट फाइदा हुने योग रहेको छ । आत्मीय मित्र तथा आफन्तका साथ रमाइलो यात्राको सम्भावना देखिन्छ । काम गर्ने जोस, जाँगर र आत्मबल बढ्नेछ । न्यायिक काममा भएको उल्झन बिस्तारै हराउँदै जानेछ । मौसमको अनुकूलताले कृषि तथा पशुपालनमा गरिएको लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । शुभ तथा माङ्गलिक सभा समारोहमा सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

  • कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

बुधबारसम्मको समय मध्यम रहेकोले काम बिग्रने तथा मान सम्मानमा आघात पुग्न सक्छ ध्यान दिनुहोला । व्यापार व्यवसायमा मन्दी आउनेछ । पढाइ लेखाइ तपाईँ आफ्नै कारणले बिग्रनेछ । धर्म तथा अध्यात्मतिर चासो रहे पनि गलत व्यक्तिहरूले प्रयोग गर्न सक्छन् ध्यान दिनुहोला । यात्रा गर्दा विशेष ख्याल गर्नुहोला समस्या आउन सक्छ । नोकरी तथा कार्यक्षेत्रमा काम गर्दा ध्यान नदिए आर्थिक अपचलनको मुद्दा लाग्न सक्छ । बिहीबारबाट समय राम्रो रहेकोले सकारात्मक सोचको विकास हुनेछ भने नयाँ प्रविधिको प्रयोग गरी समय अनुसार अपडेट होइनेछ । कामको खोजीमा हुनेहरूले नयाँ काम पाउने तथा गरिरहनेहरू बढुवा हुन सक्ने योग रहेको छ । प्रेममा नजिक हुने समय रहेको छ भने घर परिवारमा सबैको सल्लाह सुझाव पाइने हुनाले मन प्रसन्न रहनेछ ।

  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

साताको सुरु र अन्तको समय राम्रो रहेकोले उद्योग, सेयर बजार तथा व्यापारमा लगानी गर्ने अवसर आउनेछ भने बहुमूल्य धातु सङ्ग्रह गर्न सकिनेछ । शुभ चिन्तकहरूको सहयोग तथा सद्भाव पाइने हुनाले समयमा नै कामहरू सम्पन्न हुनेछन् । भौतिक सम्पत्ति तथा विलासी वस्तुको प्रयोग मार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । बन्धु बान्धवहरूको सहयोग तथा समर्थन पाइने हुनाले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । मंगलबार र बुधबारको समय मध्यम रहेकोले कामहरू समयमा सम्पन्न नहुने हुँदा दुख पाउने समय रहेको छ भने आर्थिक व्यवस्थापन गर्न नजान्दा घरायसी समस्याहरू सुल्झाउन असजिलो हुनेछ । सवारी साधनको प्रयोग गर्दा, यात्रा गर्दा वा खानपानमा सहभागी हुँदा ध्यान दिनु जरुरी देखिन्छ ।

  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

अध्ययन अध्यापनमा अरूलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ नयाँ काम गर्ने जोस जाँगर बढेर आउनेछ । रमाइलो यात्राको तय हुने तथा मिष्टान्न भोजन ग्रहण गर्न सकिनेछ । व्यापार, उद्योग तथा वित्तीय क्षेत्रको लगानीबाट नाफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अघि बढ्न सकिनेछ भने माया प्रेम गर्नेहरूले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यतीत गर्दा खुसी भएको महसुस गर्नेछन् । व्यापारकै सिलसिलामा यात्रा हुने योग रहेको छ । साताको अन्त अर्थात् बिहीबारबाट समय मध्यम रहेकोले यात्रा स्थगित गर्नु नै राम्रो रहनेछ । सवारी साधनको प्रयोग गर्दा वा यात्रा गर्दा ध्यान दिनुहोला ।

  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

सोमबारसम्मको समय मध्यम रहेकोले सन्तान तथा परिवारले तपाईँको काममा खासै सहयोग गर्ने छैनन् । तपाईँको आलोचना गर्नेहरू बढ्ने ग्रहयोग रहेको छ । सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउने हुँदा दैनिक काम गर्न असजिलो महसुस हुनेछ । मंगलबारबाट आर्थिक पक्ष बलियो रहने हुनाले जीवन शैली विलासी रहनेछ ।  नयाँ काम गरी आम्दानी बढाउन सकिनेछ भने भौतिक सम्पत्ति तथा स्थायी सम्पत्ति जोड्न सकिनेछ । माया प्रेममा नजिक हुने तथा आफन्त तथा प्रियजन भेटिने हुँदा मन प्रसन्न रहनेछ । परिवारसँगै बसेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्ने हुनाले मन खुसी रहनेछ । मुद्दा मामिला तथा न्यायिक निर्णयहरू तपाईँकै पक्षमा फैसला हुने समय रहेको छ । पुराना ऋण तथा समस्याहरू हल भएर जानेछ । मामा तथा मावली पक्षको  सहयोगले राम्रा काम गर्न सकिनेछ ।  

  • मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

साताको सुरु र अन्तको समय राम्रो रहेकोले छोटो दूरीको अफिसियल यात्राको योग रहेको छ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा हात पार्न सकिनेछ  । नयाँ काम पाउने वा नोकरीमा बढुवा तथा स्थानान्तरणको बलियो सम्भावना रहेको छ । निर्माण सामाग्री, खाद्यान्न, पहिरन, सवारी साधन तथा गरगहनाको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । आफन्त तथा कुटुम्बसँगको सम्बन्ध थप बलियो हुनेछ । प्रणय  सम्बन्धमा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । ऋण, रोग र शत्रुबाट छुटकारा पाइनेछ । मंगलबार र बुधबारको समय मध्यम रहेकोले विभिन्न समस्याको फेस गर्नु पर्दा मानसिक तनाव बढ्नेछ भने खुलेर काम गर्ने वातावरण नहुँदा आर्थिक क्षेत्र धराशायी हुन सक्छ सचेत रहनुहोला । खानपानमा ध्यान दिनुहोला सामान्य पेट सम्बन्धी समस्या आउन सक्छ ।

  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

साताको सुरु र अन्तको समय राम्रो रहेकोले छोटो दूरीको रमाइलो यात्राको तय हुनेछ भने लामो समयदेखि भेट नभएका मित्र, आफन्त तथा घरपरिवारमा मानिससँग भेट हुँदा मन प्रसन्न रहनेछ । खाद्यान्न, गरगहना तथा निर्माण सामाग्रीको व्यापारबाट मनग्गे धन लाभ हुनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ भने जीवन साथीको सहयोगले नयाँ काम गर्न सकिनेछ । बैक तथा वित्तीय क्षेत्र वा शेयर बजारमा गरिने लगानीबाट आम्दानी हुनेछ । न्यायिक निर्णयहरू तपाईँको पक्षमा फैसला  हुनेछन् । मंगलबार र बुधबारको समय मध्यम रहेकोले सन्तान तथा परिवारले तपाईँको काममा खासै सहयोग गर्ने छैनन् भने तपाईँको आलोचना गर्नेहरू बढ्ने योग रहेको छ । घर परिवारमा आफन्त तथा पति पत्नी बिच मनमुटाब बढ्नेछ । प्रतिस्पर्धीहरूको अवरोधले आउन तथा हुनै लागेको फाइदाको काम टरेर जानेछ ।

  • मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

सोमबारसम्मको समय मध्यम रहेकोले विगतका निर्णयले काम बिग्रन सक्छ भने बोल्दा ख्याल नगर्नाले समस्या उत्पन्न हुनेछ । मान्यजनको सुझावप्रति विश्वास नलाग्न सक्छ। काम बिग्रने डरले पनि सताइरहनेछ। खनिज पदार्थ तथा अन्य भौतिक सम्पत्तिको व्यापारमा घाटा हुन सक्छ ध्यान दिनुहोला । मंगलबारबाट दाजुभाइ तथा छिमेकीहरू सँगको सम्बन्धमा सुधार भएर जानेछ । पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ । उद्योग  तथा सेयर बजारमा लगानी बढाई भने जस्तो रुपैयाँ पैसा कमाउन सकिनेछ । पढाइ लेखाइमा सोचेजस्तै प्रगति हुने हुनाले एक कदम अगाडी बढी अग्रगामी छलाङ मार्न सकिनेछ । व्यापार गर्ने सिलसिलामा यात्रा गर्ने अवसर जुर्नेछ भने यात्राका क्रममा बौद्धिक मानिसहरू सँग भेटघाट हुने हुनाले मन प्रसन्न रहनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

ज्योतिषी दुर्गा प्रसाद भण्डारी ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा भण्डारी
दुर्गा भण्डारी
लेखकबाट थप