५२ वर्षपछि नेतृत्वविहीन अवस्थामा वार्षिकोत्सव मनाउँदै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ७० औँ वार्षिकोत्सव मनाउँदै छ । २०१३ साल वैशाख १४ गते स्थापना भएको राष्ट्र बैंक ६९ वर्ष पूरा गरी आजदेखि ७० वर्षमा प्रवेश गरेको हो ।
यो अवसरमा राष्ट्र बैंकले विशेष कार्यक्रम गरी मनाउँदैछ । तर, यसपटकको वार्षिकोत्सवमा राष्ट्र बैंक नेतृत्वविहीन अवस्थामा छ । गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल यही चैत २३ गतेदेखि सकिएसँगै अहिले राष्ट्र बैंक अन्तरिम नेतृत्वको भरमा चलिरहेको छ ।
राष्ट्र बैंकले नेतृत्वविहीन अवस्थामा वार्षिकोत्सव मनाउन लागेको यो दोस्रोपटक हो । ७० वर्षको इतिहासमा पछिल्लोपटक ५२ वर्षघअघि राष्ट्र बैंकले नेतृत्वविना नै वार्षिकोत्सव मनाएको थियो ।
सबैभन्दा पहिलोपटक २०३० सालमा वार्षिकोत्सव मनाउँदा राष्ट्र बैंक नेतृत्वविहीन अवस्थामा थियो । गभर्नर डा. यादव पन्तको कार्यकाल सकिएपछि त्यतिवेला ११ दिनका लागि नेतृत्व खाली भएको थियो । सोही समयमा वार्षिकोत्सव पर्न जाँदा उत्सव नेतृत्वविहीन भएको हो ।
२०६६ सालमा राष्ट्र बैंक नेतृत्वविहीन भएको थियो । गभर्नर विजयनाथ भट्टराईविरुद्ध अदालतमा मुद्दा दायर भई निलम्बन परेको समयमा समेत राष्ट्र बैंक नेतृत्वविहीन रूपमा वार्षिकोत्सव मनाउनु परेन । त्यतिबेला सरकारले दीपेन्द्र बहादुर क्षेत्रीलाई गभर्नर नियुक्त गरेको थियो ।
अहिले सरकारले राष्ट्र बैंकको नेतृत्व छनोट गर्न नसक्दा नेतृत्वविहीनतामै आधार दशकभन्दा लामो समयपछि नेतृत्वविहीन अवस्थामा वार्षिकोत्सव मनाउनुपर्ने अवस्था सिर्जना भएको हो ।
अहिलेसम्म राष्ट्र बैंकमा १७ जना गभर्नर भएका छन् । १८ औँ गभर्नर छनोटको प्रक्रिया अहिले अवरुद्ध भएर बसेको छ । यो अवधिसम्म दीपेन्द्र बहादुर क्षेत्रीले ६ महिना, दीपेन्द्रपुरुष ढकालले साढे आठ महिना, तिलक रावलले २ पटक गरी साढे ४ वर्ष, भेषबहादुर थापाले करिब ११ महिना तथा विजयनाथ भट्टराईले पनि दुई पटक गरी साढे ४ वर्षसम्म राष्ट्र बैंकको नेतृत्व सम्हालेका थिए ।
बाँकी गभर्नरहरूले भने तोकिएको पाँच वर्ष नै कार्यभार सम्हालेका थिए । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सरकारले गरेको कारबाहीपछि केही समय उनी पनि नेतृत्वबाट विमुख भएका थिए । अदालतको आदेशपछि उनी पुनर्बहाली भएका हुन् ।
- कुन समयमा कति समय नेतृत्वविहीन भयो राष्ट्र बैंक ?
राष्ट्र बैंक ऐनले केन्द्रीय बैंक कहिल्यै पनि नेतृत्वविहीन हुन नहुने परिकल्पना गरेको छ । यसका लागि पुरानो नेतृत्वको कार्यकाल सकिनुभन्दा एक महिना अघि नै नेतृत्व चयन गरिसक्नुपर्ने व्यवस्था छ । तर, अधिकांश समयमा यो व्यवस्था पालना भएको पाइँदैन । सोही कारण नेतृत्व परिवर्तनको समयमा राष्ट्र बैंक नेतृत्वविहीन हुने गरेको हो ।
२०२४ साउनमा तत्कालीन गभर्नर भेषबहादुर थापाले राजीनामा दिएपछि राष्ट्र बैंक करिब ९ महिना नेतृत्वविहीन भएको थियो । त्यसपछि यादव पन्त गभर्नर बनेका थिए । पन्तले छाडेपछि कुलशेखर शर्मा नियुक्ति हुँदा ११ दिन राष्ट्र बैंक रिक्त थियो ।
त्यस्तै शर्माको कार्यकाल सकिएपछि ६ महिनासम्म राष्ट्र बैंकले नेतृत्व पाएन । २०३६ असारमा कल्याणविक्रम अधिकारी गभर्नर नियुक्त भएका थिए । अधिकारीको कार्यकाल सकिएपछि करिब साढे ३ महिना राष्ट्र बैंकले नयाँ नेतृत्व पाएन । पछि गणेशबहादुर थापा नियुक्त भए । थापाको कार्यकाल सकिएपछि पनि डेढ महिना केन्द्रीय बैंकले नेतृत्व पाएको थिएन ।
थापापछि हरिशंकर त्रिपाठी नयाँ गभर्नर बने । तर राष्ट्र बैंकमा साढे ४ महिनापछि मात्रै सतेन्द्रप्यारा श्रेष्ठले जिम्मेवारी पाएका थिए । त्रिपाठीपछि भने राष्ट्र बैंकको नेतृत्व १४ दिन खाली बस्नुपरेको थियो । उनको उत्तराधिकारीका रूपमा तिलक रावल तत्कालै नियुक्त भएका थिए ।
रावललाई बर्खास्त गरेर दीपेन्द्रपुरुष ढकाललाई राष्ट्र बैंकको नेतृत्व सुम्पिएको थियो । तर, सर्वोच्च अदालतले पुनर्बहाली गरिदिएपछि रावल पुनः नेतृत्वमा आएका थिए । मुद्दा मामिलाको लफडा भए पनि योबिचमा राष्ट्र बैंक नेतृत्वविहीन भएन ।
उनीपछि आएका विजयनाथ भट्टराईको अवस्था पनि त्यस्तै भयो । विजयनाथ भट्टराईलाई विभिन्न मुद्दा लगाएर हटाएर राष्ट्र बैंकमा दीपेन्द्रबहादुर क्षेत्रीलाई नियुक्त गरिएको थियो । तर, पछि अदालतले पुनर्बहाली गरिदिएपछि भट्टराई राष्ट्र बैंक फर्किएका थिए ।
भट्टराईपछि युवराज खतिवडा गभर्नरमा नियुक्त भएका थिए । योबिचमा करिब २ महिना राष्ट्र बैंक नेतृत्वविहीन भएको थियो । खतिवडाको उत्तराधिकारीको रूपमा आएका चिरञ्जीवी नेपालले भने कुनै ग्याप नराखी राष्ट्र बैंकको जिम्मेवारी पाएको देखिन्छ ।
२०७६ चैत ५ गते चिरञ्जीवी नेपालको कार्यकाल सकियो । १९ दिनपछि सरकारले महाप्रसाद अधिकारीलाई नयाँ गभर्नर नियुक्त गरेको थियो । उनको कार्यकाल गत चैत २३ गते सकिएको छ ।
योबिचमा राष्ट्र बैंक नेतृत्वहीन भएको तीन साता भएको छ । गभर्नर छनोटका लागि सिफारिस समिति गठन भए पनि अहिलेसम्म बैठक बस्न सकेको छैन । यो अवस्थामा राष्ट्र बैंकले नयाँ नेतृत्व पाउन अझै कति कुर्नुपर्ने हो निश्चित छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संक्रमणकालीन न्याय : अध्यक्षका लागि ८ र सदस्यका लागि २४ जना सर्ट लिस्टमा
-
मुम्बईको जितमा बुमराहको रेकर्ड
-
आईपीएल : मुम्बईको लगातार पाँचौँ जित, उक्लियो दोस्रो स्थानमा
-
पलेँटी साँझमा एकल सुनिइन् संगीता प्रधान
-
निर्माण व्यवसायीसँग भएका सम्झौता आगामी आर्थिक वर्षको बजेटमा सम्बोधन हुनुपर्छ : अध्यक्ष सिंह
-
भारतीय नागरिकलाई पाँच वर्षपछि कैलास यात्रा खुला