‘कसैलाई पीडा नहोस् भनेर मेरी आमाले रोग लुकाएर पाल्नुभयो’

‘आमा’ संघर्षको एउटा किताब हो । घाम, पानी, गर्मी, जाडो केही नभनी आफ्नो सन्तानका लागि संघर्ष गर्ने त्यो एक मात्र व्यक्ति आमा हुन् ।
‘आमा’को स्थान बराबर हाम्रो जीवनमा कसैको हुँदैन । ‘आमा’ एउटा यस्तो शब्द हो । जुन उच्चारणमै न्यानोपन, आत्मीयता महसुस हुन्छ र सम्मान जागेर आउँछ । ‘आमा’को विषयमा जति नै शब्द खर्चिए पनि कमपर्छ । ‘आमा’ जननी हुन् । त्यसैले उहाँलाई मातृभूमिसँग तुलना गरिन्छ । ‘आमा’ बाहेकको निस्वार्थ प्रेम, सायदै कसैले देला ।
२०४७ साल कार्त्तिक ९ गते मेरो जीवनको सबैभन्दा कालो दिन हो । त्यो दिन म सादै बिर्सन सक्छु होला । त्यो दिन मबाट मेरी आमा खोसिएकी थिइन् । म जीवनभरका लागि ‘आमा’विनाको टुहुरो भएँ ।
म त्यो छोरी, जसले एउटै घरमा रहे पनि आमाको अन्तिम क्षणमा मुख देख्न पाइनँ । त्यो समय मेरो टेस्ट परीक्षा (कक्षा १० को परीक्षा) चलिरहेको थियो । त्यो दिनको बारसमेत याद छ, शुक्रबार । गणित विषयको परीक्षा थियो । आमा बिहानको ४ बजे बित्नुभएछ । परीक्षा भएकाले कसैले मलाई भनेनन् । परीक्षा सकेर ४ बजेपछि घर पुग्दा मात्र आमा बितेको थाहा पाएँ ।
त्यतिवेला अन्त्येष्टिसमेत भइसकेको रहेछ । खबर सुनेपछि म त मूर्च्छा परेछु । होस आएपछि धेरै रोएँ । उहाँको जुठो बारेर बसेँ । आइतबार फेरि घरका नजिकका आफन्तले सरलाई भनेर परीक्षा दिन लगाउनुभयो । मलाई अलग्गै राखेर परीक्षा दिन लगाएको कहाँ बिर्सन्छु र !
मेरी आमा पाठेघरसम्बन्धी रोगले बित्नुभएको थियो । उहाँ पहिल्यैदेखि बिमारी हुनुहुँदो रहेछ । हामीसँग लुकाएर बस्नुभएको रहेछ ।
अन्तिम समय न मैले आमाको मुख देख्न पाएँ, न अन्त्येष्टि हेर्न पाएँ । त्यसैले होला आमा हुनुहुन्न भन्ने अहिले पनि लाग्दैन । मेरो नजिकै हुनुहुन्छ जस्तो पो लाग्छ ।
आमाको सम्झना नआएको त्यस्तो कुनै ठाउँ छैन । जीवनमा जब गाह्रो पर्छ, धेरै संघर्ष खेप्नुपर्छ । त्यो समय आमाको धेरै याद आउँछ । त्यसो त सुखमा पनि आमा सम्झन्छु । आमा भएको भए कति सुख दिन्थेँ होला भन्ने लाग्छ ।
हामी चार दिदीबहिनी र एक भाइ । हामीलाई हुर्काउन उहाँले कति धेरै दुःख गर्नुभयो होला । यो सोच्दा, मेरो आँखा रसाउँछ । आमालाई सुख दिन सकिनँ, पाइनँ भन्ने कुराले भित्रभित्र भक्कानो फुट्छ ।
- दयालु मेरी आमा
मेरी आमा धेरै पढेलेखेके थिइनन् । तर उहाँमा चेत थियो । त्यसैले जहिले पनि हामीलाई ठुलो मान्छे बनोस्, पहुँच हुने ठाउँमा पुगोस्, सबैले चिनुन्, सबैले मानुन्, आफूले गरेजस्तो संघर्ष गर्न नपरोस् भनेर सोच्नुहुन्थ्यो । हामी सबैलाई हाकिम हुनू भन्नुहुन्थ्यो ।
मेरी आमा निकै दयालु हुनुहुथ्यो । हुलाकमा उहाँको जागिर थियो । तलब बुझेर घर फर्किँदा बाटोमा भेटिएका दुखी, गरिबलाई बाँडेर सक्नुहुन्थ्यो । घरमा अभाव, गाह्रो अवस्था थियो । तैपनि उहाँले भेटेका दुखीलाई सहयोग गर्नुहुन्थ्यो । घरमा गाई पनि थियो । सित्तैमा गाईको दूध खान लाइन लाग्थ्यो ।
मेरी आमा खोटाङबाट विराटनगर झर्नुभएको हो । विराटनगरमा हाम्रो घरमा धेरै नै दुःख थियो । हाम्रो परिवार हुने खाने थिएन । मैले सुनेको उहाँले मिठोमसिनो पनि खाना पाउनु भएन रे ।
सानोमा आमासँग झगडा पनि गर्थेँ । आमा केही भन्नु हुँदैन थियो । अहिले पो किन झगडा गरेछु भन्ने लाग्छ । त्यो समय म नाच्न रुचाउँथेँ । आमा दिनु हुँदैन थियो, पढ् पढ् मात्र भन्नु हुन्थ्यो । त्यसोभन्दा रिस उठ्थ्यो र झगडा गर्थेँ । अहिले पो किन त्यसो गरेछु, जस्तो लाग्छ ।
आमाको महत्त्व पहिलेभन्दा अहिले आएर थाहा भयो । आमाले पढ् पढ् भनेको किन रहेछ बुझेँ । गल्ती गरे पिट्नुहुन्थ्यो । त्यो समय माया गर्नु हुँदैन जस्तो नि लाग्थ्यो । बुबाले पिटेको थाहा छैन । अहिले बल्ल थाहा भयो सही बाटो देखाउन त्यसो गर्नुभएको रहेछ ।
आमाको अभाव जीवनमा कसैले पनि पूरा गर्न सक्दो रहेनछु । आमाको मृत्युपछि हाम्रो घर लथालिङ्ग भयो । सबै घर व्यवहार आमाले हेरेकाले बुबालाई केही थाहा थिएन । बुबाले कमाएर दिनुहुन्थ्यो । बाहिर, भित्र सबैको बोझ आमामा थियो । आमा बितेपछि हाम्रो घरमा ब्रह्माण्ड खसेजस्तो भयो । घरपरिवार र मैले धेरै संघर्ष गर्नुपर्यो ।
मेरी आमा खोटाङबाट विराटनगर झर्नुभएको हो । विराटनगरमा हाम्रो घरमा धेरै नै दुःख थियो । हाम्रो परिवार हुने खाने थिएन । मैले सुनेको उहाँले मिठोमसिनो पनि खाना पाउनु भएन रे । सबैभन्दा ठुलो कुरो कसैलाई दुःख, पीडा नहोस् भनेर उहाँले आफ्नो रोग लुकाएर पाल्नुभयो ।
आफूलाई सञ्चो नभएको, गाह्रो भएको कहिल्यै महसुस गराउनुभएन । आफू सकिएर हामीलाई तातो दिनुभयो । त्यो कुरा मनमा खेल्दा नरोएको क्षण छैन ।
आमा तीज सकिएपछि बित्नु भएको थियो । उहाँमा तीज अगाडिदेखि नै ज्वरो आएको रहेछ । तीज नरमाइलो हुन्छ भनेर रोग लुकाउँदा आफै ढल्नुभयो । रोग नलुकाएर, वेलैमा उपचार गर्न पाएको भए मेरी आमा बाँच्थिन् । म अहिले पनि आमा भन्न पाउँथेँ ।
- ती व्यक्तिमा आमा देख्छु
म कलाकार हुँ । हामी कलाकारका रियल र रिल गरेर दुई जीवन हुन्छ । दुई जीवनमा दुईथरी आमा पनि । रियलको आमा, जसले मलाई जन्मदिएर हुर्काए । अब कहिल्यै पाउन सक्दिनँ । तर पनि छिन् भन्ने लागिरहन्छ ।
मेरो विचारमा आमा खोजेर पाइने रहेछ । आमाबुबालाई छोरा, छोरीले कुटेको, खान नदिएको, घरबाट निकालेको, वृद्धाश्रममा छोडेर भागेको, मारेको समाचार मिडियामा सुन्छु ।
रिलका आमा अभिनय यात्राको क्रममा मेरी आमाको भूमिका निर्वाह गर्ने कलाकार । ती लक्ष्मी गिरी, बसुन्धरा भुसाल, रमा थपलिया दिदीहरू हुन् ।
ती सबैमा पर्दाबाहेक पनि म आफ्नो आमा फिल गर्छु । उहाँहरू सबैमा आमा देख्छु । उहाँहरू सबैमा मेरो उत्तिकै सम्मान छ ।
मेरो विचारमा आमा खोजेर पाइने रहेछ । आमाबुबालाई छोरा, छोरीले कुटेको, खान नदिएको, घरबाट निकालेको, वृद्धाश्रममा छोडेर भागेको, मारेको समाचार मिडियामा सुन्छु ।
ती समाचार सुन्दा आमाको महत्त्व किन नबुझेको होलाजस्तो लाग्छ । आमाको महत्त्व वेलैमा बुझौँ, आमाको मुख हेर्ने औँसीमा मात्र होइन ।
(कलाकार तथा निर्देशक दीपाश्री निरौलासँग रातोपाटीका कुबेर गिरीले गरेको कुराकानीमा आधारित)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनआरएनएको महाधिवेशन सार्न माग गर्दै दायर गरिएको रिटमा कारण देखाऊ आदेश (आदेशसहित)
-
जनताले अपेक्षा गरेको भ्रष्टाचार नियन्त्रण हुन सकेन : उपाध्यक्ष भुसाल
-
दुई खेलाडीको उत्कृष्ट अर्धशतक, मुम्बईले लखनऊलाई दियो २१६ रनको लक्ष्य
-
विद्युत् प्राधिकरण भन्छ- लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ
-
जनमतका कोषाध्यक्ष यादवको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी
-
बाढीसम्बन्धी पूर्व सूचना दिन तालगाउँमा साइरन जडान