गभर्नर नियुक्तिमा फेरिएको ओलीको अडान

काठमाडौँ । पाँच वर्षअघि अर्थात् २०७६ चैतमा नेपाल राष्ट्र बैंकमा गभर्नर चिरञ्जीवी नेपालको कार्यकाल सकिँदै थियो । सो समयमा राष्ट्र बैंकका पहिलो वरीयताका डेपुटी गभर्नर थिए, चिन्तामणि शिवाकोटी । जो हाल राष्ट्र बैंककै सञ्चालक समितिका सदस्यसमेत छन् ।
गभर्नर नियुक्तिको पूर्वसन्ध्यामा शिवाकोटीको माहोल निकै राम्रो मानिएको थियो । कारण, उनले प्रकाशन गरेको पुस्तक, सार्वजनिक गरेको गीत र प्रधानमन्त्री ओलीको अभिव्यक्ति ।
गभर्नर नियुक्त हुनु दुई साताअघि शिवाकोटीले ‘मुलुक आर्थिक समृद्धिको यात्रामा’ नामक पुस्तक ल्याएका थिए । यसमा ओलीले लिएको विकास मोडेलको प्रशंसा गरिएको थियो ।
उक्त पुस्तकसँगै शिवाकोटीले नै लेखेका ‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने बोलको गीतसमेत रिलिज गरिएको थियो । गभर्नर नियुक्तिको मुखमा शिवाकोटीले गरेको यो विमोचनले सहजै अनुमान लगाउन सकिन्थ्यो, उनी ओलीलाई फकाउन खोज्दैछन् ।
तर, माहोल बन्ने कारण यति मात्रै भने बनेन । शिवाकोटीको पुस्तक र गीतको उद्घाटनको माहोल र ओलीको आश्वासनले उनको माहोल बलियो बनेको थियो ।
उक्त पुस्तक र गीतको विमोचन प्रधानमन्त्री निवासभित्रको हलमा गरिएको थियो । कोभिडको समय र भीआईपी सुरक्षा प्रबन्धबिच सयौँलाई प्रधानमन्त्री निवासभित्र प्रवेश दिएर कार्यक्रम गराउनु सानो कुरा थिएन । यस्तोमा शिवाकोटीले आफ्नो शक्ति प्रदर्शन गरिसकेका थिए ।
त्यसमा ओलीको अभिव्यक्तिले साथ थप्यो । पुस्तक र गीतको विमोचनसँगै मन्तव्यमा ओलीले शिवाकोटीको निकै प्रशंसा गरेका थिए । ओलीले त्यतिवेला शिवाकोटीलाई भनेका थिए– ‘उहाँको भविष्य राम्रो छ ।’
ओलीको यस्तो अभिव्यक्तिले त्यसवेला शिवाकोटीको अर्को प्रतिस्पर्धी नै छैनन् भन्नेजस्तो माहोल बन्यो । तर, नतिजा फरक भयो । ओलीले शिवाकोटीको प्रशंसा त गरे, तर उनैलाई नियुक्ति गर्नुपर्छ भनेर अडानचाहिँ लिएनन् । त्यतिवेला अर्थमन्त्री युवराज खतिवडाको जोडबलमा महाप्रसाद अधिकारीलाई गभर्नर बनाएको चर्चा चलेको थियो ।
ओलीले गभर्नर नबनाएपछि बिच्किएका शिवाकोटी डेपुटी गभर्नरको कार्यकाल सकिएपछि एमालेबाट फुटेर गएको एकीकृत समाजवादी पार्टीको सिफारिसमा राष्ट्र बैंकको विज्ञ सञ्चालक नियुक्त भए.।
०००
पाँच वर्षपछि अहिले राष्ट्र बैंक अर्को गभर्नर नियुक्तिको पर्खाइमा छ । अहिले पनि गभर्नर नियुक्ति गर्ने पोजिसनमा ओली नै छन् । पाँच वर्ष कार्यकाल हुने गभर्नरको दुई पटकसम्म नियुक्ति गर्ने अवसर जोकोहीलाई विरलै हुन्छ, जुन ओलीले पाएका छन् ।
यसपटकको माहोल अघिल्लो पटकसँग मिल्दोजुल्दो देखिन्छ । अहिले गभर्नरको चर्चामा रहेकी डा. नीलम ढुंगाना शिवाकोटीजस्तै कामु गभर्नरका रूपमा छिन् । दुवै उम्मेदवारबिच ओलीको सदाशयतासमेत देखिन्छ । केही दिनअघि ओलीले एउटा सार्वजनिक कार्यक्रममै नीलमप्रति सकारात्मक रहेको संकेत गरेका थिए । भनेका थिए, ‘देशले म हुँदा नै राष्ट्रपतिमा महिला पायो, महिला प्रधानन्यायाधीश म हुँदा नै भयो । मुख्यमन्त्री, मुख्यसचिवमा महिला नेतृत्व म हुँदा नै स्थापित भएको रहेछ ।’
अरू सबै कुरा समान हुँदा पनि नीलमको पक्षमा ओलीको अडान भने फेरिएको देखिन्छ । त्यतिवेला आफ्नै पार्टीभित्रको प्रतिस्पर्धा र विवादमा समेत शिवाकोटीको पक्षमा अडान लिन नकसेका ओली अहिले नीलमको पक्षमा खुलेरै लागेको देखिन्छ ।
- को हुन् नीलम ?
डा. नीलम ढुंगाना राष्ट्र बैंकको वरिष्ठतम् डेपुटी गभर्नर हुन्, महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि उनी अहिले कायममुकायम गभर्नरको भूमिकामा छिन् । उनी राष्ट्र बैंकको इतिहासमा पहिलो महिला डेपुटी गभर्नरसमेत हुन् ।
चार वर्षअघि डेपुटी गभर्नर नियुक्त हुँदा नीलम कार्यकारी निर्देशकको वरीयताको तेस्रो नम्बरमा थिइन् । तर ‘पहिलो महिला डेपुटी गभर्नर’ बनेर इतिहास लेखाउने उनको नारा त्यतिवेला बिकेको थियो । उनी पहिलो वरीयतामा डेपुटी गभर्नर बन्न सफल भएकी थिइन् ।
नीलमको स्थायी घर झापा हो । झापाली हुनुको नाताले पनि उनलाई फेभर गरेको भन्ने चर्चा छ । त्यति मात्रै नभएर प्रधानमन्त्री ओलीपत्नी राधिका शाक्यकी पूर्वसहकर्मी भएको र आर्थिक सल्लाहकार डा. युवराज खतिवडासमेत उनको पक्षमा भएकोले उनीप्रति सत्ता साझेदार दल एमाले सकारात्मक रहेको चर्चा हुने गरेको छ ।
तर नीलमले भने अघिल्लो कार्यकालकै नारालाई परिस्कृत गरेर ‘प्रोभोक’ गर्दै आएकी छिन् । बरु मौद्रिक क्षेत्रको सर्वोच्च निकायमा रहेर समेत महिला पुग्न र काम गर्न सक्छन् भन्ने प्रमाणित गर्न आफू गभर्नर बन्नुपर्ने उनको दाबी छ । शैक्षिक योग्यता, राष्ट्र बैंकको विभिन्न तहमा रहँदा गरेको काम र डेपुटी गभर्नरको भूमिकामा रहँदा राष्ट्र बैंकमा भएका कामले आफ्नो क्षमताको स्वतः मूल्यांकन हुने उनले बताउँदै आएकी छन् । कर्जा सूचना केन्द्रको अध्यक्ष, सार्क फाइनान्स पेमेन्ट काउन्सिलको सदस्य र विश्व बैंकको वैकल्पिक सञ्चालकका रूपमा खेलेको भूमिकाले अन्तर्राष्ट्रियस्तरको वित्तीय कूटनीति र नीतिगत विशेषज्ञतालाई प्रमाणित गर्ने उनले बताउँदै आएकी छिन् ।
- नीलमको ‘फेभर’मा कसरी फर्कियो माहोल ?
गभर्नरका लागि दर्जन बढी नाम मिडियामा सार्वजनिक भएका थिए । तर, अहिले त्यो रेसमा सीमित व्यक्ति मात्रै छन् । बाँकीले मैदान छाडिसकेको भन्ने चर्चा थियो । नीलमको नाम भने चर्चामै थियो ।
तर केही दिनअघि सत्तारुढ दलका दुई नेताहरू बसेर डा. गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति भएको चर्चापछि नीलमको नामसमेत धकेलिएको थियो । तर भट्टको योग्यताको विषय लिएर अदालतमा पूरक निवेदन दायर भएपछि माहोल फर्किएको थियो ।
उक्त निवेदनमा युवराज खतिवडा कार्यकारी हुँदा गभर्नर बनाउन नहुने भन्ने राय महान्यायाधिवक्ता कार्यालयले दिएको भन्दै बहालवाला कार्यकारी निर्देशक गभर्नरको नियुक्त हुन नसक्ने दाबी गरिएको छ ।
भलै अहिलेसम्म उक्त निवेदन मिसिलमा मात्रै छ, यसले दर्ता हुने कि नहुने भन्ने टुंगो छैन ।
यद्यपि यो घटनापछि माहोल फेरि नीलमकै पक्षमा फर्किएको बताइन्छ । यसका पछाडि तीन वटा कारण रहेका विश्लेषकहरू बताउँछन् ।
पहिलो, डेपुटी गभर्नर भएकोले नीलमको योग्यतामा प्रश्न छैन । किनभने राष्ट्र बैंकको डेपुटी गभर्नर हुनु नै गभर्नरको नियुक्तिको पर्याप्त योग्यता हो । राष्ट्र बैंक ऐनको दफा १५ (३) मा गभर्नर नियुक्तिका लागि सिफारिस गर्दा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानुन क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरू तथा डेपुटी गभर्नरमध्येबाट तीन जनाको नामावली नेपाल सरकार, मन्त्रिपरिषद्मा सिफारिस गर्ने’ भन्ने व्यवस्था छ । अर्थात् डेपुटी गभर्नर हुनु आफैँमा गभर्नरको योग्यता हो, त्यसैले उनको योग्यतामा कानुनी विवाद हुने देखिँदैन ।
दोस्रो भनेको सिफारिसको सहजता हो । राष्ट्र बैंक ऐनले गभर्नर नियुक्ति सिफारिस समितिले कम्तीमा एक जना डेपुटी गभर्नरको सिफारिस अनिवार्य गर्नुपर्ने व्यवस्था गरेको छ । यो अवस्थामा छनोट समितिका सदस्यले नीलमको नाम सिफारिसबाटै रोक्नसक्ने अवस्था देखिँदैन ।
नीलमको पक्षमा माहोल फर्किनुको तेस्रो कारण, उनीप्रति प्रधानमन्त्री ओली सकारात्मक हुनु मानिन्छ । छनोट समितिले पठाएको नाममध्ये मन्त्रिपरिषद्ले एक जनालाई नियुक्त गर्नसक्ने अवस्था देखिन्छ ।
प्रधानमन्त्रीय प्रणालीमा मन्त्रिपरिषद्को निर्णय प्रधानमन्त्रीको विवेकका आधारमा तय हुने र नीलमप्रति प्रधानमन्त्री ओली सकारात्मक देखिएकाले पनि गभर्नर नियुक्तिको गुमिसकेको माहोल उनकै वरिपरि फर्किएको बताइन्छ ।
अन्तरपार्टी राजनीतिक प्रतिस्पर्धामा प्रधानमन्त्री ओलीले कति जोखिम र अडान लिन्छन् भन्ने कुराले उनको भविष्य निर्धारण हुने सरोकारवालाहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीके र रेशमको एकता : मिलनमाथि नै आशंका, कतिञ्जेल टिक्ला ?
-
विद्युत आपूर्तिको अवस्था तथा औद्योगिक ग्राहकहरुको विद्युत कटौती विषयमा छलफल
-
घुसपैठ गरेको आरोपमा शिक्षकहरूले कुटे स्कुलका कार्यालय सहयोगी
-
आकस्मिक बाहेकका सेवा बन्द गरेर चिकित्सकहरू निरन्तर आन्दोलनमा
-
नेप्सेमा ३.५८ अङ्कको वृद्धि, बढ्यो कारोबार
-
सुदूरपश्चिमको मानव विकास सूचकांकमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छ : परराष्ट्रमन्त्री