आइतबार, १४ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
ऊर्जा

नेपाल–भारत ऊर्जा व्यापार : भारतीय बजार नेपालमा आइपुग्यो, नेपालसँग छैन उत्पादन

प्रसारण लाइनमा नयाँ आयाम
आइतबार, १४ वैशाख २०८२, ०६ : ३२
आइतबार, १४ वैशाख २०८२

काठमाडौँ । नेपालमा उत्पादित विद्युत्ले नेपालको ऊर्जा मागलाई धान्न सकेको छैन । नेपालमा झन्डै एक दशकअघि लोडसेडिङ हुन छाडे पनि पछिल्लो समय औद्योगिक क्षेत्रमा अघोषित लोडसेडिङको मार खेप्नु परेको छ । उक्त विषय प्राधिकरणले समेत स्वीकार गरेको छ ।

वर्षाको समयमा विद्युत् निर्यात गर्ने अवस्थामा नेपाल भए पनि खुक्खायाममा भारतबाट विद्युत् आयात गरेर देशको ऊर्जा मागलाई धान्नुपर्ने अवस्था छ ।

गर्मीयाम सुरु भएसँगै भारतमा अत्याधिक विद्युत् मागका कारण नेपालतर्फ मागअनुसार नदिएको प्राधिकरणले नै जानकारी दिएको छ । नेपालले विद्युत् किन्न खोज्दा पनि नपाउने अवस्था छ ।

यो वर्ष आएको बाढीका कारण ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना प्रभावित हुँदा प्राधिकरणलाई थप समस्या भएको छ । उक्त आयोजनालाई ‘पीक आवर’को माग भरथेग गर्न सक्ने क्षमता भएको ठानिन्छ । तर यतिखेर उक्त आयोजनाको उत्पादनले पनि माग धान्न सकेको छैन ।

नेपालका धेरैजसो जलविद्युत् आयोजनाहरू नदीको जलप्रवाहमा आधारित रहेकाले सुक्खा याममा उत्पादन उल्लेख्य रूपमा घट्ने हुँदा माग धान्न आयातमा भर पर्नुपर्ने अवस्था छ ।

दैनिक मुख्य माग हुने समयमा भारतबाट बिजुली आयात हुने अवस्था नरहेकाले माग सन्तुलन गर्न ठुला उद्योगहरूमा बिजुली कटौती हुने गरेको प्राधिकरणले सूचनामार्फत जनाएको छ । नेपालमा उत्पादन भएको विद्युत्ले पिक आवरमा अपुग हुँदा अहिले भारतबाट बिहान ५ बजेदेखि बेलुका ६ बजेसम्म १२ घण्टामात्रै विद्युत् आपूर्ति भइरहेको छ ।

नेपालका धेरैजसो जलविद्युत् आयोजनाहरू नदीको जलप्रवाहमा आधारित रहेकाले सुक्खा याममा उत्पादन उल्लेख्य रूपमा घट्ने हुँदा माग धान्न आयातमा भर पर्नुपर्ने अवस्था छ । तर नेपालको ठुलो सम्भावना भएको क्षेत्र भनेकै ऊर्जा हो । ठुला जलाशय युक्त आयोजनाहरू बन्न नसक्दा अहिले पनि ऊर्जा सङ्कट खेप्नुपरेको अवस्था छ ।

नेपालमा जलविद्युत् जडान क्षमता झन्डै ३ हजार ४०३ मेगावाट पुगेको छ तर विगतमा जस्तै यो वर्ष हिउँदमा कुल क्षमताको करिब एकतिहाइ मात्र विद्युत् उत्पादन भइरहेको प्राधिकरणले जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार सुक्खा मौसममा नदीनालाको बहाव कम भएकाले जलाशय र सौर्य ऊर्जासहित आन्तरिक उत्पादन औसत १ हजार १७५ मेगावाट छ । हालको उच्च माग (पिक लोड) २ हजार ७७मेगावाट र सो समयमा अधिकतम उत्पादन १ हजार ५९३ मेगावाट छ ।

नपुग विद्युत् भारतबाट आयात गरी आपूर्ति गर्ने गरिएको छ । नेपालले छिमेकी मुलुक भारतबाट बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म १३२ केभी लाइन मार्फत अधिकतम ३५० मेगावाट विद्युत् आपूर्ति गर्ने अनुमति पाएकोमा हाल मैनैया सम्पतिया लाइनबाट बिहान २ बजे देखि ६ बजे र बेलुका ६ देखि ७ बजेगरी जम्मा ५० मेगावाट मात्र विद्युत् आपूर्ति भइरहेको छ ।

भारतले १० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापारको सम्झौता अनुसार प्रसारण लाइन विस्तारमा चासो देखाउन थालेको छ ।

सम्झौता अनुसार पनि भारतबाट विद्युत् निर्यात गर्न पाइरहेको छैन । प्राधिकरणले मागको तुलनामा अत्यन्तै कममात्र विद्युत् आयात गरिरहेको प्राधिकरणले जनाएको छ । नेपालले भारतको प्रतिस्पर्धी विद्युत् बजारबाट करिब १४०० मेगावाटसम्म विद्युत् किन सक्ने अनुमति भए पनि अत्यन्तै कम विद्युत् आपूर्ति भएको छ ।

उत्पादित विद्युत्ले मुलुकभित्रै माग धान्न नसक्ने अवस्था रहेको बेलामा नेपालको ऊर्जा बजार बढ्न थालेको छ । छिमेकी देश भारत मुख्य बजार भए पनि तेस्रो मुलुक बंगलादेशमा समेत विद्युत् निर्यात गर्ने बाटो खोलिएको छ । तर नेपालमा पर्याप्त विद्युत् उत्पादन हुन सकेको छैन ।

नेपालको ऊर्जा व्यापारको लागि नेपाल र भारतबिच २०८० पुस १९ मा ऊर्जा सचिवस्तरमा विद्युत् व्यापार सम्झौता भएको छ । उक्त सम्झौता अनुसार १० वर्षमा १० हजार मेगावाट विद्युत् नेपालले भारतमा निर्यात गर्ने समझदारी भइसकेको छ ।

  • प्रसारण लाइनमा नयाँ आयाम

भारतले १० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापारको सम्झौता अनुसार प्रसारण लाइन विस्तारमा चासो देखाउन थालेको छ । भारतलाई विद्युत् आवश्यकता भएकाले आयातको लागि प्रसारण लाइन निर्माणमा नेपालसँग समझदारी गरेर अघि बढेको छ ।

भारतीय ऊर्जा र आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टरको नेपाल भ्रमणका अवसरमा दुई ४०० केभी प्रसारण लाइन इनरुवा–पूर्णिया र दोधरा–बरेली निर्माण कम्पनी स्थापना गर्न संयुक्त लगानी गर्ने विषयमा हस्ताक्षर भएको भएको छ ।

२०८१ माघ ३० मा नयाँ दिल्लीमा नेपाल–भारत सचिवस्तरीय संयुक्त निर्देशक समितिको १२औँ बैठकले ४०० केभीको इनरुवा–न्यू पूर्णिया र दोधरा–बरेली प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापना सम्बन्धी काम गर्ने सहमति गरेको थियो । उक्त सहमति अनुसार नेपाल विद्युत् प्राधिकरण र भारतको पावर ग्रिड अफ इन्डिया लिमिटेडबिच संयुक्त लगानी सम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सूचना अधिकारी राजु मानन्धरले दुई ४०० केभी प्रसारण लाइन इनरुवा–पूर्णिया र दोधरा–बरेली निर्माण गर्ने विषयमा हस्ताक्षर भएको बताए । उनले भारतसँगको विद्युत् व्यापारको क्षमता अभिवृद्धिको लागि पहिलो काम भएको बताए ।

सूचना अधिकारी महर्जनले अहिले ढल्केवर मुजफ्फरपुर प्रसारणलाइन मात्रै सञ्चालनमा रहेको भन्दै त्यसबाट १ हजार मेगावाट प्रसारण हुने बताए । उनले भारतीय ऊर्जा र आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टरको नेपाल भ्रमणका अवसरमा दुई वटा प्रसारणलाइन निर्माणका लागि भएको हस्ताक्षर १० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापारको तयारी भएको प्रस्ट पारे ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले भारतसँग कम्पनी बनाएर दुई वटा ४०० केभीको प्रसारणलाइन बनाउने समझदारी महत्त्वपूर्ण रहेको बताए ।

अध्यक्ष कार्कीले ४०० केभी दुई वटा प्रसारणलाइन बनाउँदा ६ हजार केभीको प्रसारण लाइन बन्ने अवस्था देखिएको उल्लेख गरे । उनले एमसीसी अन्तर्गतको ४ हजार केभी प्रसारण लाइन तयार गरी १० हजार मेगावाट विद्युत् खरिदको लागि भारतले तयारी गरेको देखिएको बताए ।

उनले भने, ‘भारतले नेपालसँग १० हजार मेगावाट विद्युत् खरिद गर्ने सम्झौता अनुसार तयार गर्दैछ । तर नेपालले गर्न सक्ने कि नसक्ने भन्ने छ । भारतका ऊर्जामन्त्रीको भ्रमणमा कम्पनी खोल्ने हस्ताक्षर भएको छ । कम्पनी खोल्ना साथ उनीहरूले काम गर्छन् ।’

नेपाल र भारतबिच हालसम्म एउटा मात्रै ४०० केभीको ढल्केवर–मुजफ्फरपुर प्रसारण लाइन सञ्चालनमा छ । दुई देशबिच ऊर्जा आयात–निर्यात बढ्दै जाँदा थप ठुला क्षमताका प्रसारण लाइन निर्माण बढाउँदै जानुपर्नेमा दुवै देश सहमत छन् ।

परराष्ट्रविद् अरुणकुमार सुवेदीले चार ठाउँबाट दुई देशबिच प्रसारण लाइन खोलेरमात्रै १० हजार मेगावाट विद्युत् निर्यात गर्न सम्भव नहुने बताए । अन्य ठाउँमा पनि प्रसारण लाइन खोल्नुपर्ने उनको भनाइ छ ।

उनले ४०० केभीलाई मल्टीसर्किट पनि बनाउनुपर्ने बताए । उनले जलविद्युतको बजारले नेपालको उत्पादनमा चासो दिन थालेको भन्दै ऊर्जा व्यापारका लागि अन्तर्राष्ट्रिय बजार तयार रहेको र चासो राखेको देखिएको जिकिर गरे ।

भारतसँग प्रसारणलाइन बनाउन एक महिनाभित्रै सम्झौतामा हस्ताक्षर भएर काम अघि बढ्ने तयारी रहेको मन्त्रालयले जनाएको छ । दुवै प्रसारण लाइन निर्माणका लागि नेपाल र भारत दुवैतर्फ नेपाल विद्युत् प्राधिकरण र पावर ग्रिड अफ इन्डिया लिमिटेडको संयुक्त लगानीको कम्पनी स्थापना गर्ने र ती कम्पनीमा ५१–४९ प्रतिशतका दरले सेयर स्वामित्व राख्ने निर्णय भएको थियो ।

त्यसअनुसार नेपालतर्फ स्थापना हुने कम्पनीमा प्राधिकरणको ५१ प्रतिशत सेयर हुनेछ भने भारतीय कम्पनीको ४९ प्रतिशत हुनेछ । त्यस्तै भारततर्फको कम्पनीमा पावर ग्रिड कम्पनी अफ इन्डियाको ५१ प्रतिशत र प्राधिकरणको ४९ प्रतिशत सेयर हुनेछ ।

नेपाल र भारतबिच हालसम्म एउटा मात्रै ४०० केभीको ढल्केवर–मुजफ्फरपुर प्रसारण लाइन सञ्चालनमा छ । दुई देशबिच ऊर्जा आयात–निर्यात बढ्दै जाँदा थप ठुला क्षमताका प्रसारण लाइन निर्माण बढाउँदै जानुपर्नेमा दुवै देश सहमत छन् । ४०० केभी प्रसारण लाइन मार्फत २ हजार मेगावाटसम्म विद्युत् आयात निर्यात गर्न सकिन्छ ।

त्यसैगरी नेपाल–भारत दुवैतर्फको प्रसारण लाइन सम्पूर्ण रूपमा विद्युत् प्राधिकरणले नै प्रयोग गर्ने गरी सहमति भएको छ । यो प्रसारण लाइन प्रयोग र भाडा (ह्विलिङ चार्ज) विद्युत् प्राधिकरणले नै तिर्ने गरी २५ वर्षको कार्यान्वयन तथा प्रसारण सेवा सम्झौता (आईटीएसए) हुने भएको हो ।

प्रसारण लाइनमध्ये इनरुवा–न्यू पूर्णियाको लम्बाइ नेपालतर्फ अनुमानित २५ र भारततर्फ १ सय किलोमिटर छ भने दोधारा–बरेली प्रसारण लाइनको नेपालतर्फ अनुमानित ३५ र भारततर्फ १ सय ५० किलोमिटर छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अनिष मिजार
अनिष मिजार
लेखकबाट थप