५ गोलको थ्रिलरमा रियललाई हराउँदै बार्सालाई कोपा डेल रे

सेभिया । निकै रोमाञ्चक खेलमा चिरप्रतिद्वन्द्वी रियल मड्रिडलाई हराउँदै बार्सिलोनाले कोपा डेल रेको उपाधि जित्न सफल भएको छ । शनिबार राति भएको खेलमा बार्सा ३–२ गोल अन्तरले विजयी बनेको हो ।
निर्धारित समयको खेल २–२ को बराबरीमा टुंगिएपछि खेल पेनाल्टीतर्फ अघि बढिरहेको थियो । अतिरिक्त समयको ११६ औँ मिनेटमा जुल्स कोउन्डेले गरेको शानदार गोल खेलमा निर्णायक बन्यो ।
यसअघि, नियमित समयको पहिलो हाफमा बार्सिलोनाले उत्कृष्ट प्रदर्शन गरेको थियो । पेड्रीले २८ औँ मिनेटमा बार्सालाई अग्रता दिलाए । तर, दोस्रो हाफमा किलियान एम्बाप्पे मैदानमा प्रवेश गरेपछि रियलले ७ मिनेटको अन्तरमा दुई गोल गर्न सफल भयो ।
७० औँ मिनेटमा एम्बाप्पेले बराबरी गोल फर्काए भने ७७ औँ मिनेटमा औरेलियन टुअमानीले गोल गर्दै रियललाई अग्रता दिलाए । तर, सो अग्रता लामो समय भने टिक्न सकेन । ८४ औँ मिनेटमा फरान टोरेसले बराबरी गोल फर्काएका थिए ।
निर्धारित समयमा नतिजा नआएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । खेलको अन्त्यतिर भएको विवादमा एन्टोनियो रुडिगर र लुकास भाजक्वेजले रातो कार्ड खाँदै मैदान छाड्न परेको थियो ।