आइतबार, १४ वैशाख २०८२
ताजा लोकप्रिय

नेपाल सधैँ आतङ्कवादको विपक्षमा छ – परराष्ट्रमन्त्री डा राणा

शनिबार, १३ वैशाख २०८२, १८ : १२
शनिबार, १३ वैशाख २०८२

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल सदैव आतङ्कवादको विपक्षमा रहेको र जुनसुकै प्रकृतिको आतङ्कवादको कडा शब्दमा निन्दा गर्ने बताएकी छन् । 

भारत, काश्मीरको पहलगाममा भएको आतङ्ककारी हमलामा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्न नेपालस्थित भारतीय दूतावासको सभामा उनले नेपाल सधैँ आतङ्कवादको विरुद्धमा र शान्तिको पक्षमा रहेको स्पष्ट पारिन् । 

मन्त्री डा राणाले भनिन्, 'नेपालले आतङ्कवादको सबै स्वरुप र अभिव्यक्तिहरूको कडा निन्दा गर्दछ । नेपाल जहाँ, जहिले र जुनसुकै उद्देश्यका लागि गरिने आतङ्कवादी क्रियाकलापको सदैव विपक्षमा उभिन्छ ।' 

आतङ्कवादका विषयमा व्यवहार गर्दा कहिल्यै दोहोरो मापदण्ड अपनाउन नहुने उनले बताइन् । नेपाल आफ्नो भूमि कुनै पनि आतङ्कवादी समूहले कुनै पनि कारण र कुनै पनि देश तथा जनताविरुद्ध प्रयोग गर्न नसकोस् भन्ने पक्षमा दृढतापूर्वक प्रतिबद्ध रहेको उनले स्पष्ट पारिन् । यसैले काश्मीरको पहलगाममा भएको आतङ्कवादी हमलाको पनि नेपालले कडा शब्दमा निन्दा र भर्त्सना गरेको मन्त्री डा राणाले बताइन् । 

यस दुःखको घडीमा भारत सरकार र भारतीय जनताको पक्षमा नेपाल उभिएको र आतङ्कवादविरुद्धको लडाइँमा भारतसँग काँधमा काँध मिलाएको पनि उनले बताइन् ।

नेपाल र भारतबीच गहिरो सम्बन्ध रहेको स्मरण गर्दै मन्त्री डा राणाले यो सम्बन्ध केवल कूटनीतिको विषय मात्र नभएर सदियौँदेखिको साझा इतिहास, संस्कृति र सहकार्य पनि हो भनिन् । 

मन्त्री डा रााणाले पहलगाम त्रासदीको सिकार भएका नेपाली युवा सुदीप न्यौपानेको शव र अन्य प्रभावितहरूलाई नेपाल ल्याउन सहयोग गरेकामा भारत सरकारलाई धन्यवाद पनि दिइन् । त्यस अवसरमा उनले उक्त आतङ्कवादी हमलामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकमा रहेका परिवारजनमा समवेदना प्रकट गरिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप