शनिबार, १३ वैशाख २०८२
ताजा लोकप्रिय

वर–पिपलको छायामा बसेर...

शनिबार, १३ वैशाख २०८२, १७ : ४१
शनिबार, १३ वैशाख २०८२

वर र पिपलसँग मेरो शिक्षा, शिक्षण र दुःखसुख जोडिएका छन् । मेरो जीवनका प्रारम्भिक वर्षहरू वर र पिपलसँगै बितेका थिए । मैले वरपिपलको चौतारीबाटै शिक्षारम्भ गरेको थिएँ भने शिक्षण पेसा पनि चौतारीबाटै सुरु भएको थियो । 

वर र पिपल एकै ठाउँमा सँगै जोडिएको मात्रै देखेको छु मैले । किन अलग–अलग ठाउँमा नरोपिएका होलान् । यसका पछाडि केही कारण पक्कै हुन सक्छन् । वर र पिपलबारे थप जानकारी जुटाउनका लागि मैले तीन जनाको सहयोग लिएँ । वन्यजीव र पर्यावरणीय अध्ययनमा गहिरो रुचि भएका कृष्ण ओस्ती, पूर्वीय दार्शनिक दृष्टिकोणबाट यो विषयमा दक्खल राख्ने मोदनाथ खनाल र ज्योतिष मीनप्रसाद भट्टराईले मलाई यसबारे जानकारी दिएर सघाए । 

यस लेखमा वरपिपलको ती पक्षको चर्चा गर्दै छु जसको सामाजिक, सांस्कृतिक र धार्मिक दृष्टिले महत्त्व छ । 

मेरो जीवन र चौतारीको आत्मीय सम्बन्ध

बाल्यकालमा हामीले गाउँका चौतारामा बसेर थकाइ मार्थ्यों, साथीभाइदेखि वृद्ध–वृद्धासँग छलफल गर्थ्यौँ । बुढापाकाका अनुभव र जीवनका कथा हाम्रो शिक्षा र संस्कारको स्रोत बनेका थिए । हामी जसरी चञ्चलता र उत्साहका साथ ती रुखहरूका छायामुनि बस्थ्यौँ, त्यहीँबाट हाम्रो जीवनका पाठहरू थालनी भएको थियो भन्ने लाग्छ । चौताराका वरपिपल हाम्रो गाउँको सांस्कृतिक जीवनसँग समेत जोडिएका थिए ।

मेरो गाउँको टाकुरोबाट बेसीतिर जाने बाटोमा रातमाटे भन्ने ठाउँ छ, जहाँको चौतारीमा वर र पिपलका विशाल रुख थिए, अहिले पनि छ तर रुग्ण अवस्थामा । त्यो ठुलो चौतारो हामी गाउँ र बेसी गर्दाको विश्राम स्थल थियो । त्यो एक चौतारी मात्र थिएन, सङ्गमस्थल थियो । गाउँबेसी गर्नेको भेटघाट हुन्थ्यो त्यहाँ । सञ्चोबिसन्चो सोधिन्थ्यो । आफ्ना दैनिकीका अनुभवहरू साटासाट गरिन्थ्यो, कहिलेकाहीँ गीत–भजन समेत चल्थ्यो त्यहाँ । 

यस्तै अर्काे चौतारी बुङकोट र घैरुङको टाकुरोमा थियो। त्यस चौतारीबाट एकतर्फ बुङकोट र अर्कातर्फ घैरुङ देखिन्थ्यो । बाल्यकालमा दिदीलाई भेट्न मकैसिङ जाँदा यही चौतारी विश्रामस्थल बन्थ्यो, त्यहाँ बसेर खाजा खान्थ्यौँ । त्यो फिर्फिरे चौतारी, चौतारी मात्रै होइन बाल्यकालका साहसिक यात्राहरूको मौन साक्षी पनि थियो । गणेश र मनास्लु हिमालको चिसो हावा फिरिफिरी चल्ने र अझै गर्मीको समयमा उकालो चढी त्यहाँ पुगेर बस्दा मनमोहक र मनै पलुकित हुन्थ्यो । त्यहीँ मैले गाउँका बुढापाकाको अनुभव, गीत, कथा सुन्ने सौभाग्य पाएको थिएँ । त्यो चौतारी रुखहरूको केवल सियाँल मात्र थिएन, अनुभव वा सुखदुःख साट्ने थलो समेत थियो । 

यस्तै अर्को चौतारी थियो, ताराखसे चौतारी l ताराखसे अहिलेको भीमसेन थापा गाउँपालिकामा पर्छ। त्यो चौतारी अहिले छैन तर बसेर पढेको सम्झना छ । मैले प्रारम्भिक शिक्षा त्यसैको छायामा बसेर लिएको थिएँ । 

त्यस्तै अर्को चौतारी थियो, जहाँबाट मैले शिक्षा पेसा सुरु गरेको थिएँ । अहिलेको भीमसेन थापा गाउँपालिकामा पर्ने घ्याम्पेसाल चौतारीबाट मेरो शिक्षण सुरु भएको थियो । वर र पिपलको चौतारीबाट मेरो शिक्षारम्भ मात्रै भएन, शिक्षणारम्भ समेत भयो । यस कारण पनि यी चौतारीहरु मेरो स्मृति रहेका छन् । 

वर र पिपल केवल रूख होइनन्, यी नेपालका हरेक गाउँ, हरेक संस्कार र हरेक स्मृतिको पर्याय हुन् । पिपलको पातको कम्पनमा पुराण गुञ्जिन्छ भनिन्छ । वरको जरामा पुर्खाको आत्मा सुतेका हुन्छन् भनिन्छ । यी रूखहरूलाई चौतारी चिनेर हुर्काउने गरिन्छ, जसले विश्राम दिन्छ, संरक्षण दिन्छ र कहिलेकाहीँ आत्मसमीक्षा पनि ।

धार्मिक र सांस्कृतिक आयाम

सिद्धार्थ गौतम स्वयंले बोधगयामा पिपलको रुखमुनि बुद्धत्व ज्ञान प्राप्त गर्नुभयो । त्यही कारण आज पनि पिपललाई ‘बोधिवृक्ष’ भनिन्छ । यस वृक्षलाई आत्मज्ञान, ध्यान र शान्तिको प्रतीक पनि मानिन्छ । पिपलको रुखमा ध्यान र तपस्या गर्ने प्रथा अझै जारी छ । यस रुखसँग जोडिएका धार्मिक र सांस्कृतिक विधिहरू समाजमा अझै प्रचलित छन् ।

हिन्दु धर्ममा पिपल र वर दुवैलाई देववृक्षका रूपमा मानिन्छ । धेरैजसो चौतारामा वर र पिपल हुन्छन् तर कतिपय चौतारामा वर र पिपलसँगै समीको रुख पनि रोपिएको हुन्छ l वरलाई ब्रह्मा, पिपललाई विष्णु र समीलाई शिवका वासस्थल वा प्रतीक मानिन्छ र पूजा गरिन्छ । 

‘मूलतो ब्रह्मरूपाय मध्यतो विष्णुरूपिणे, अग्रतः शिवरूपाय अश्वत्थाय नमो नमः।’

यो श्लोकले पिपलमा ब्रह्मा, विष्णु र शिवको सन्निवेश देखाउँछ । यही कारणले चौतारी बनाउँदा यी रुख रोप्ने परम्परा छ । यस पारम्परिक धार्मिक मान्यताका कारण पनि पिपल र वरका रुखलाई हामी पूजा र सम्मानका साथ हेर्छौं । तिज, बडादसैँ र एकादशीजस्ता चाडपर्वमा महिलाहरूले यस रूख वरिपरि घुमेर पूजा गर्छन् । बुढीआमाहरुले पिपललाई फन्का डोरी बाँधेको हामी धेरैले देखेका हौँला । यसरी जीवन, परिवार र सन्तानको कल्याणको कामना गरिन्छ । 

वर–पिपलको छायामा गाउँलेहरू भेला हुन्छन्; छलफल गर्छन् । विचार र अनुभवदेखि लोककथाहरु साटासाट गर्छन् । यसो हुँदा सामाजिक सम्बन्ध बलियो बन्न पुग्छ । 

आयुर्वेद र जीवनोपयोगी गुण

वरको बोक्रा मधुमेह, गिजा सुन्निएको, रगत रोक्न उपयोगी छ भनिन्छ । पिपलको बोक्रा, पात र फलहरूलाई चर्मरोग, दाँत दुखाइ, कानको समस्या र पखाला नियन्त्रणमा प्रयोग गरिन्छ । समी पनि औषधीय गुणले भरिपूर्ण छ भनिन्छ । यसको उपयोगले मानिसको स्वास्थ्यलाई लाभ पुग्नेछ भन्ने विश्वास आयुर्वेदका चिकित्सकको छ ।

पुर्खाले रोपे, हामीले मास्दै छौँ 

अक्सिजनको मात्रा अधिक दिने भएकाले वर, पिपल र समीलाई पर्यावरणीय दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिन्छ । वर, पिपल र समी दीर्घायु भएका रूखहरू हुन् । तिनीहरूको जराले माटो सम्हाल्छ, पातहरूले छाया मात्रै दिँदैन वायुलाई शुद्ध गर्छ ।
००
वरपिपललाई हिजो हाम्रा पुर्खाले रोपेका थिए, आजभोलि हामीले मास्दै छौँ, विकासको नाममा । वरपिपलको कथालाई मैले मेरो पीएचडीको थेसिसमा समेत उल्लेख गरेको थिएँ । मेरा सुपरभाइजर डा. साइमन, प्राट–आड्म्सलाई छाप परेछ र उहाँले मलाई केही लेख्न समेत सुझाउनुभएको थियो । 

वरपिपललाई जोगाउन हामी लाग्नुपरेको छ । हामीले यसको कथा र महत्त्व बालबालिकालाई सुनाउनुपर्छ । वरपिपल केवल रुख होइनन्, ती हामीलाई जोड्ने मूल जरा हुन् । यिनीहरु हाम्रो संस्कार, शिक्षा, सम्बन्ध र जीवन दर्शनसँग कतै न कतै जोडिएका छन् ।

 

(दुल्लभ मावि, रेडन कलेजका पूर्वप्राचार्य, नेल्टाका पूर्वअध्यक्ष तथा नेपाल शिक्षक संघका पूर्वकेन्द्रीय वरिष्ठ उपाध्यक्ष डा. भट्ट कोवेन्ट्री विश्वविद्यालय ग्रुप, बेलायतमा प्राध्यापन गर्छन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. चण्डिका भट्ट
डा. चण्डिका भट्ट
लेखकबाट थप