शनिबार, १३ वैशाख २०८२
ताजा लोकप्रिय

अछाम साँफेबगर हाटबजारमा आगलागी, ३ करोडभन्दा बढीको क्षति

शनिबार, १३ वैशाख २०८२, १७ : ११
शनिबार, १३ वैशाख २०८२

कैलाली । अछामको साँफेबगर नगरपालिका–३ स्थित हाटबजारमा शनिबार बिहान भीषण आगलागी हुँदा ३ करोड ८६ लाख ६५ हजार रुपैयाँभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। आगलागीमा परी १० वटा पसल पूर्ण रूपमा जलेर नष्ट भएका छन्।

आगलागीबाट प्रभावित पसलहरूमा गंगा कुँवरको ‘कालभैरव एण्ड सन्स जनरल स्टोर’, प्रेम खड्काको ‘शुभेच्छा मम सेन्टर’, भीम कुँवरको ‘रोड साइड रेस्टुरेन्ट’, दीपक सुनारको ‘कालभैरव सुनचाँदी पसल’, ज्ञानेन्द्र कुँवरको ‘डाग ग्यालरी’, टीका कुँवरको ‘टीका फेन्सी एण्ड ब्युटी पार्लर’, सुरेश कुँवरको ‘शीतल नास्ता पसल’, किशोर भाटको मदिरा पसल, मक्र कुँवरको ‘रिभर साइड नास्ता पसल’ र सुमन कुँवरको ‘राज्यश्वरी कृषि तथा पशुपन्छी फर्म’ रहेका छन्।

नेपाल बैंकमा जडान गरिएको साइरन बज्नासाथ स्थानीय व्यापारी र बासिन्दाहरूले आगलागीको जानकारी पाएर आगो नियन्त्रण प्रयासमा जुटेका थिए। स्थानीय व्यापारी भीम कुँवरका अनुसार साइरन नबजेको भए आगो झनै फैलिन सक्थ्यो। प्रारम्भिक अनुसन्धानअनुसार आगलागीको कारण शुभेच्छा मम सेन्टरमा भएको विद्युत् सर्ट रहेको प्रहरीले जनाएको छ।

आगो नियन्त्रणका क्रममा गीता कठायतको पक्की घर भत्काइएको थियो। उनको घर भत्काएपछि अन्य पसलहरूमा आगो फैलिनबाट रोकिएको  जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए।

यसअघि पनि गत चैत २६ गते बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजारमा भीषण आगलागी हुँदा ८ करोड रुपैयाँभन्दा बढीको क्षति भएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप