‘छोरीले साहित्यिक कृति पढ्नुलाई ठुलै पापजस्तो ठानिन्थ्यो’

साहित्यकार उषा शेरचनले २०३४/३५ सालतिर पीएन क्याम्पसमा पढ्थिन् । उनका मामाका छोरा विनोद गौचनले पनि त्यहीँ पढ्थे । उनै विनोद गौचन, जसले पछि ‘जति माया लाए पनि, जति कसम खाए पनि’, तगारोमा रुमाल राखी’ जस्ता कालजयी गीत लेखेर अस्ताए ।
उषाले विनोदलाई भनिन्, ‘मलाई भक्तबहादुर श्रेष्ठसँग चिनजान गराइदेउ न ।
भक्तबहादुर श्रेष्ठ, त्यतिबेलासम्म सरुभक्त भइसकेका थिएनन् । त्यतिबेला भक्तबहादुर श्रेष्ठ र मुकुन्दशरण उपाध्यायले कविता महोत्सव पदक पाएका थिए ।
एक दिन कलेजको चमेनागृहको बाहिरी पेटीमा विद्यार्थी बसिरहेका थिए । उषालाई अझै याद छ, त्यतिबेला त्यस पेटीमा गुन्द्रुक ओछ्याइएको समेत थियो । त्यहीँ विनोदले भक्तसँग परिचय गराइदिए ।
‘हेर्दाखेरि नै वियोगमा परेको जस्तो, उदासी बोकेका आँखा, कपाल झ्याप्प पालेका थिए सरुभक्तले । हामी एउटै तहका विद्यार्थी रहेछौँ भन्ने थाहा पाएर खुसी पनि लाग्यो,’ उषा भन्छिन्, ‘त्यहाँ अर्जुनजंग शाही, प्रकट पङ्गेनी लगायतसँग पनि परिचय भयो । त्यसपछि साहित्यिक समूहहरू बने । म पनि साहित्यिक गतिविधिमा संलग्न हुन थालेँ ।’
उषाको डायरीभरि कविता हुन्थे । एकपटक विनोदले उनको डायरीबाट जिन्दगी शीर्षकको कविता गोरखापत्र पठाइदिए, जुन कविता २०४५ सालमा गोरखापत्रमा प्रकाशित भयो । यसरी उनी नेपाली साहित्यिक आकाशमा उदाइन् ।
सुरुदेखि नै उषाले कविता सँगसँगै कथा पनि लेख्थिन् तर कलेज पढ्दाताका लेखेको कथाको पाण्डुलिपि हरायो । तर आफूले बच्चा बेलादेखि नै संगत गरेका वा देखेका पात्रले आफूलाई कथा वा उपन्यास लेख्नका लागि बेला–बेला झकझकाइरहने उनी बताउँछिन् ।
साहित्यकार उषा शेरचन (जन्म :२०१२ भदौ ६) का हालसम्म ६ वटा कृति प्रकाशित छन् । बच्चैदेखि संवेदनशील स्वभावकी उषाले जानी नजानी ७–८ कक्षादेखि नै कविता कोर्न थालेकी थिइन्, जुन पायो त्यही कापीमा लेख्थिन् तर समय क्रमसँगै बिर्सन्थिन् । त्यसरी लेखेका कविता पछि संग्रहको रूपमा छपाउनुपर्छ भन्ने सोच उनीमा पलाइसकेको थिएन । यद्यपि साहित्यका पुस्तक पढ्नमा उनले औधि रुचि राख्थिन् ।
साहित्यिक कृतिलाई त्यतिबेलाको पोखरेली समाजले अहिलेको लागुऔषधजस्तै ठान्थ्यो । पढ्नै दिइन्नथ्यो,’ स्कुले जीवनमा लुकिछिपी साहित्य पढेको उनी सम्झन्छिन्, ‘तर ती दुई साथीले मलाई साहित्यका पुस्तक पढ्न दिन्थे । त्यसरी पाएको किताब पनि बिरालोले गु लुकाएर जसरी लुकाएर राख्नुपर्थ्यो ।’
उनको पिताका जिजुबुबा पुख्र्यौली थलो मुस्ताङबाट बसाइँ सरेर पोखरा झरेका थिए, जग्गा प्रशस्तै थियो । त्यसैले धनशमशेर बडाहाकिमले बिर्ता दिँदा समेत लिएनन् । उनका पिता सामान लिन पटना गइरहन्थे । देखेका राम्रा सामान छोराछोरीका लागि ल्याइदिन्थे । फुन्टेन पेन, जुत्ता, पाउजुजस्ता सामान उनका लागि रहरका रहेनन् ।
उनका हजुरबुबा भीमबहादुर भट्टचन असाध्यै सिर्जनशील व्यक्ति थिए । शृङ्गार, फेसनदेखि पाक् र चित्रकलासम्ममा पोख्त । ‘हजुरबुवाका हस्तलिखित केही किताब अझैसम्म माइती घरमा छन् । परिवारमा सबैजना सिर्जनात्मक स्वभावको भएकाले आफ्नो जिनमै त्यो गुण सर्यो कि !’ उषा आफ्नो पृष्ठभूमि सुनाउँछिन् ।
उषाको बाल्यकाल पोखरामा सुखपूर्वक नै बित्यो, यद्यपि छोरी भएर गर्नुपर्ने दुःख छँदै थिए । उनी हुर्केको पोखराको तत्कालीन समाज निकै परम्परावादी र पितृसत्तात्मक थियो । छोरीलाई कसैले विद्यालय पठाउँदैनथे । उषाका दिदीहरूको पालादेखि मात्र छोरीहरू फाट्टफुट्ट पढ्न जान थाले । उषाको पालादेखि भने समाजमा छोरीहरूलाई पढ्न पठाउनेहरू बढ्न थाले । ‘तर छोरीले साहित्यिक कृति पढ्नुलाई ठुलै पापजस्तो ठानिन्थ्यो । साहित्यिक कृतिलाई त्यतिबेलाको पोखरेली समाजले अहिलेको लागुऔषधजस्तै ठान्थ्यो । पढ्नै दिइन्नथ्यो,’ स्कुले जीवनमा लुकिछिपी साहित्य पढेको उनी सम्झन्छिन्, ‘मेरी एउटी साथी थिइन्, त्यतिबेला पोखरामा चलेको फिल्म हलको मालिककी छोरी, शारदा गुवा । उनको घरको सामुन्ने अर्की साथी इन्दिरा बाटाजु बस्थिन् । यी दुवैले मलाई साहित्यका पुस्तक पढ्न दिन्थे । खै कताबाट ल्याउँथे ! आफूले पढिसकेपछि मलाई पनि पढ्नका लागि दिन्थे । त्यसरी पाएको किताब बिरालोले गु लुकाएर जसरी लुकाएर राख्नुपर्थ्यो ।’
राति घरमा सबैजना सुतिसकेपछि मात्रै उनले टुकी बालेर साहित्य पढ्थिन् । त्यतिबेला उनका दाइले साझा प्रकाशन र सूचना केन्द्रबाट किताब ल्याउँथे । ती पुस्तक पनि उषाले लुकी–लुकी पढ्थिन् । यसरी नै साहित्यप्रति उनको दिल बस्न पुग्यो ।
स्कुल पढ्दासम्म कोर्स बाहेकका पुस्तक पढ्ने समय निकाल्न उनलाई मुस्किल हुन्थ्यो । त्यतिबेला पोखरामा घरघरमा पानी जाँदैनथ्यो । पानी लिन पँधेरा जानुपर्थ्यो । कपडा धुन त सातामा एकपटक टाढा पोकन्डी भन्ने ठाउँसम्म पुग्नुपर्थ्यो । यी सबै काम गरेर, आमालाई घरधन्दाको काममा सघाएर र भाइबैनीलाई हेरेपछि मात्रै लेखपढका लागि समय निकाल्नुपर्थ्यो । ‘बिहान ३–४ बजे उठिसक्नुपर्थ्यो, त्यसैले साँझमा छिटै खाना खाइन्थ्यो,’ उषा आफ्नो बाल्यकाल सम्झन्छिन्, ‘पँधेरामा पानी लिनेको लाइन लाग्थ्यो । बिहानै आमाले गाग्री ठोक्दै छोरीहरूलाई उठाउनुहुन्थ्यो । बिहान उठेर दैलो नपोती केही काम गर्न पाइँदैनथ्यो । दिदी–बहिनी मिलेर घरको लिपपोत गरेपछि पानी लिन जान्थ्यौँ । बिहान पूजा गर्नुअघि नुहाएर कपडा फेर्ने, चुरा लाउनैपर्ने उर्दी हुन्थ्यो आमाको । बिहानै आधा दिनको काम भ्याएर स्कुल जान्थ्यौँ ।’
उषाले आफूसँग भएका कविताको हस्तलिखित पाण्डुलिपि दिइन्, यो सन् १९९० को कुरा थियो । उषा दुई वर्ष अमेरिका बसिन् । उनी त्यतै हुँदा यता कविता कृति ‘नजन्मिएको आस्था’ बजारमा आयो ।
२०२७ सालमा उषाले एसएलसी दिइन् । त्यतिबेलासम्म उषाका धेरैजसो साथीको बिहे भइसकेको थियो । छिटै बिहे गर्ने सोच उषाको थिएन । उनी अझै अगाडि पढ्न चाहिन्थन् । एसएलसीपछि उनी पढ्न भनेर काठमाडौँ आइन् । ‘त्यो जमानाका बाउआमाले छोरीलाई सहजै घरबाट टाढा सहरमा बसेर पढ्न किन पठाउँथे र ? यसका लागि मैले आमासँग निकै झगडा गर्नुपरेको थियो,’ उषा भन्छिन्, ‘२०२८ मा काठमाडौँको आरआर कलेजमा आईएमा भर्ना भएँ, आईए पास गरेपछि बीए पढ्न पोखरा नै गएँ ।’
बीए उत्तीर्ण गरेपछि केही समय उनले यति ट्राभलमा जागिर समेत खाइन् । २५ वर्षको उमेर (२०३८ साल) मा उनको बिहे भयो, आफ्नै फुपुको छोरासँग । बिहेपछि भने पतिको अनुरोधमा उनले यो जागिर छाडिन् । अनि पुनः काठमाडौँ बस्न थालिन् । आफ्नो समयका साथी–सर्कलमा सबैभन्दा ढिलो बिहे गर्नेमा पर्छिन् उषा ।
००
विशेषतः पोखरामा पढ्दा उनले साहित्यिक माहोल पाएकी थिइन् । त्यतिबेला उनले थुप्रै फुटकर कविता लेखेकी थिइन् । मधुपर्क लगायत त्यो ताकाका चल्तीका साहित्यिक पत्रिकामा उनको कविता छापिन्थे । २०३५/३६ सालतिर पोखरामा उषाले नाटक समेत खेलिन् ।
कृति भने निकाल्न भने केही ढिला भयो । ३६ वर्षको उमेर (२०४८ साल) मा उनको कवितासंग्रह प्रकाशित भयो । यो संग्रह पनि कसैको स्नेहका कारण निस्केको थियो ।
प्रज्ञा प्रतिष्ठानमा कार्यरत नेपाली वाद्यविज्ञ रामशरण दर्नालले उषालाई बहिनी मान्थे । उषा पहिलोचोटि पारिवारिक भेटघाटका लागि अमेरिका जाँदै थिइन्, त्यतिबेलैको भेटमा रामशरणले भने, ‘बहिनी, तपाईंले कति राम्रा कविता लेख्नुभएको छ, कविता संग्रहका लागि पाण्डुलिपि छाडेर जानु न । छपाइदिन एकेडेमीले पहल गरिदिन्छ ।’
उषाले आफूसँग भएका कविताको हस्तलिखित पाण्डुलिपि दिइन्, यो सन् १९९० को कुरा थियो । उषा दुई वर्ष अमेरिका बसिन् । उनी त्यतै हुँदा यता कविता कृति ‘नजन्मिएको आस्था’ बजारमा आयो ।
‘जीवनको यो संघारमा गर्ने चिज अरु पनि धेरै छन् । कैयौँ रहर पूरा गर्न बाँकी छ, तर अब मलाई लेख्न पुग्यो,’ केही गम्भीर भएर उनले भनिन् ।
‘साहित्यिक लेखनमा श्रीमान्बाट खासै प्रेरणा हुँदैनथ्यो र रोक्न पनि हुँदैनथ्यो । हामी दुवैको भिन्न रुचि थियो— म साहित्यिक कार्यक्रममा जान रुचाउँथेँ, उहाँ सामाजिक–सांस्कृतिक कार्यक्रममा,’ उनी भन्छिन्, ‘म अलि जर्बजस्त स्वभावकी थिएँ । आफूले चाहेको कार्यक्रममा गएरै छाड्थेँ । छोराछोरी जन्मिएपछि भने साहित्यिक कार्यक्रम जान कम भयो । तर लेख्न छाडिनँ ।’
पहिलो कृतिपछि सात–आठ वर्षको अन्तरालमा उनका कृतिहरू आइरहे— ‘अक्षरहरूको शिविरबाट’ (मुक्तकसङ्ग्रह, २०५६ ), ‘सर्वकालीन पीडा र जागृतिको शङ्खघोष’ (कवितासङ्ग्रह, २०६३), ‘तेस्रो रङ्ग’ (कथा सङ्ग्रह, २०७०), आधि (उपन्यास, २०७६), ‘बेग्लै म’ (कथा सङ्ग्रह, २०८१) । यस्तै केही गीति एल्बम पनि प्रकाशित छन्— ‘अभीप्सा’ (२०५८), ‘सञ्चयन’, (२०५९), ‘मेरो माटो मेरो गीत’ (२०६०), ‘संवेदन’ (२०६७), ‘आकाश छुने रहर’ (२०६७) ।
छोराछोरी हुर्काउँदा पनि उनले फुर्सद मिलेसम्म लेख्ने–पढ्ने गर्थिन् । छोराछोरी हुर्केपछि श्रीमान्ले भने— घरमा त्यत्तिकै बस्नुभन्दा बरु साहित्यिक कार्यक्रममा जाउ । त्यसपछि उनी साहित्यिक गतिविधिमा पुनः सक्रिय हुन थालिन् । पद्मावती सिंहको पहलमा २०५४ सालमा साहित्यिक संस्था ‘गुञ्जन’को स्थापना भएको थियो । १२ वर्ष उषा गुञ्जनको संस्थापक महासचिव भएर बसिन् ।
यो बिचमा पुरस्कार र प्रेरणा पनि उनले पाइरहिन्— व्यथित काव्य पुरस्कार, (२०४३), लोकप्रिया पुरस्कार (२०५७), पारिजात राष्ट्रिय प्रतिभा पुरस्कार (२०५७), व्यथित–काव्य वनिता पुरस्कार (२०६९), योगेश्वर कला साहित्य पुरस्कार (२०७०), नातिकाजी सङ्गीत पुरस्कार (२०७२), वासु–शशि स्मृति पुरस्कार (२०७२), वानीरा पुरस्कार (२०७८), स्थापनाको पहिलो भूपी काव्य पुरस्कार (२०७९), राष्ट्रिय मुक्तक पुरस्कार (२०८०), विश्व–ज्योति काव्य सम्मान (२०८१) रत्नश्री–सुवर्ण–पदक (२०४०), कविता महोत्सव पदक (२०४५) आदि ।
००
एक साताअघिको भेटमा अन्त्यतिर मैले उनलाई सोधेकी थिएँ— अबका दिनमा तपाईंको योजना के छ दिदी ?
‘जीवनको यो संघारमा गर्ने चिज अरु पनि धेरै छन् । कैयौँ रहर पूरा गर्न बाँकी छ, तर अब मलाई लेख्न पुग्यो,’ केही गम्भीर भएर उनले भनिन्, ‘कुनै दिन पात्रले आफूलाई झकझकाए भने लेख्छु पनि कि ! सबै नियतिमा भर पर्छ बहिनी ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : बालुवाटारमा ओली-देउवाबीच भेटवार्तादेखि भाटभटेनी लुटपाट काण्डले राजेन्द्र लिङ्देनको पुत्ला दहनसम्म
-
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
-
काभ्रेमा सात खानीक्रसर उद्योग बन्द
-
श्रीमानको किरिया बसेकी महिलाको मृत्यु
-
नेपाल प्रहरी बन्यो च्याम्पियन
-
दुर्घटना न्यूनीकरणको सन्देश फैलाउन ‘बिस्तारै स्कुटर चलाउने’ प्रतियोगिता