आइतबार, १४ वैशाख २०८२
ताजा लोकप्रिय
कथा

सुरक्षा

शनिबार, १३ वैशाख २०८२, २० : ००
शनिबार, १३ वैशाख २०८२

उमेरमै विधवा भएकी हुन् उनी । तर एकल प्रयासले नै सुखमय संसार निर्माण गरेकी थिइन् । छोरालाई राम्रोसँग पढाइ–लेखाइ, राम्रो अफिसमा माथिल्लो दर्जामा जागिर खान सक्ने बनाएकी थिइन् । सँगै काम गर्ने सहकर्मीसँग प्रेम बसेपछि छोराको इच्छा मुताबिक उनले धुमधामसँग बिहे पनि गरिदिइन् । उनी जातभातमा विश्वास गर्दिनथिन् । जातभात आदिबाट मुक्त हुनुपर्छ भन्ने उनले नातेदारहरूको विरोधका बाबजुद पनि आफ्नो छोराले रोजेकै केटीलाई बुहारीको रूपमा घर भित्र्याएकी थिइन् । जातभात नमिलाई विधवा आमाले आफ्नो इच्छा मुताबिक गरी भनेर आफन्तहरू निकै रिसाएका थिए । 

‘जिन्दगी बिताउने त उनीहरूले नै हो । आफूले रोजेको मान्छे पाउँदा उनीहरू खुसी हुन्छन्, त्यसमा मैले किन बाधा पार्नु ?’ उनको तर्क हुन्थ्यो । 

‘यस्तो असल र राम्रो जागिरे केटाले जातकै र जस्तो भन्यो उस्तै केटी पाउँथ्यो । हामीले त सुशील र पढालेखा छोरीहरू पनि ख्याल गरिसकेका थियौँ ।’ गुनासाका पोकाहरू खोलिरहन्थे आफन्त । उनले भने एक कानले सुन्थिन् र अर्काे कानले उडाइदिन्थिन् । 

उनका लागि छोराको खुसी नै सर्वाेपरि थियो । आमाछोराबिच अगाध माया थियो । पुरानो घर बहालमा दिएर उनीहरू हाउजिङको नयाँघरमा सरेका थिए । छोराबुहारी दुवैको कमाइ राम्रो भएकाले घरको किस्ता पनि समयभित्र तिरिसकेका थिए । छोराबुहारी दुवै काममा जान्थे, सानी नातिनी उनका लागि समय कटाउने रमाइलो बहाना थिइन् । जीवन सङ्लो र शान्त हिउँदे नदीजस्तै सललल बगिरहेको थियो ।

त्यस दिनको छोराको बोलीले उनलाई एक्कासि झस्कायो । उसले भनेको यति थियो, ‘आमा हामी अफिसमा जान्छौँ । हजुरकी बुहारी भरे आफैँले ड्राइभ गरेर फर्किन्छिन् । तर म चाहिँ फर्किन्न ?’

छोराको मुखबाट फुत्केको वाक्यले उनलाई किन झस्कायो ? आफैँलाई थाहा छैन । तर उनीभित्र अनौठो बिरानोपन सलबलाउन थाल्यो । छोराले अरू बेला पनि यसै गरी भनेरै जान्थ्यो । हरेक सानातिना कुरा सेयर गर्ने उसको बानी आमालाई खुब मन पथ्र्यो । बीस वर्षमा त उनी विधवा भइसकेकी थिइन् । अठार वर्षमै पहिलो सन्तानको सुखभोग मिलेको थियो । एक मात्र खुसी भन्नु त्यही छोरो थियो । दुःखका बिच पनि बेस्सरी माया दिएर हुर्काको छोरो । त्यही भएर छोराले बोलेको हरेक कुराले उनका लागि विशेष अर्थ राख्थे । 

ऊ त मेरो अलि विशेष साथी हो । उसले मलाई प्रेम गर्छ आमा र म पनि प्रेम गर्छु । तर अन्यथा नलिनु होला । म हजुर र हजुरकी नातिनीप्रतिको माया र कर्तव्यपालनमा केही कमी हुन दिन्नँ । कि मैले आफ्नो कर्तव्य गरेकी छैन र आमा ?

‘कस्तो अपशकुनको कुरा गरेको छोरा ?’

छोराले पनि आमाको मुखमा हेर्दै हाँसेर, ‘हरे, हाम्री आमै पनि अचम्मैकी छिन् । मैले के त्यस्तो अपशकुन शब्द बोलेँ र ?’

‘कुन्नि त के बोल्यौँ ? फेरि त्यही अपशकुन शब्द दोहोर्‍याउन्न म ।’

‘ए, बुहारी मात्रै फर्कन्छे । छोरो फर्कन्न भनेर झस्कनुभएको हो आमा ? मैले जिन्दगीभर फर्किन्न भनेझैँ गरेर मलिनो अनुहार बनाउनुभयो त आमाले !’

छोराले यसो भन्दा मुख थुन्न पुगेकी थिइन् उनले । अफिसको कामले एक–दुई दिनका लागि अफिसकै गाडीमा काठमाडौँबाहिर जान लागेको कुरा बुझाएपछि उनी सामान्य भइन् । 

आमाको खुट्टामा ढोग्दै नातिनीसँग राम्रोसँग बस्नु है आमा, म पर्सि मात्रै फर्किन्छु भनी छोरीलाई चुमेर बिदा भएको थियो ऊ । सबै कुरा ठिक हुँदा पनि आमाको मन थिरमा रहेन दिनभर । किन ? उनैलाई थाहा थिएन । खालि छटपटीजस्तो केही सलबल भइरह्यो उनीभित्र । 

बुहारी समयमै घर पसिन् । फ्रेस भएर किचनतिर छिर्न लागेकी मात्र थिइन्, उनको मोबाइल बज्यो । त्यस कलले बोकी ल्याएको थियो अप्रत्याशित खबर । त्यही खबरले एकपटक फेरि विगत बल्झाइदियो आमाको । एउटै नियतिको डोरीले कसिए दुई महिला । सासु र बुहारीको जीवन एउटै भयो । 

कार दुर्घटनामा परी छोरा बितेको खबरले त्यस घरमा सन्नाटा छायो । 

आज शनिबार । 

बुहारी भान्सामा उनलाई नै मनपर्ने खाना बनाउन लागेकी छिन् । शनिबार जहिलेसुकै भान्सामा बुहारी आफैँ पस्छिन् । उनैलाई मन पर्ने तरकारी पकाउने सोचमा हुन्छिन् र खुबै ध्यान पनि दिन्छिन् । बुहारीको हात मात्रै मीठो नभई माया समेत राखेर पकाउँछिन् । छोराको अभावबाहेक छोरा गएदेखि आजपर्यन्त उनलाई कुनै पनि कुरामा कमी हुन दिएकी छैनन् । उनको माइतमा पनि आमाबाबु दुवै खसिसके । दाजुभाइ त छन् । दाजुभाइ, भाउजू, बुहारीको त उखानै छ— ‘आमाबाबु पूरा माइती, दाजुभाइ आधा माइती र भदाभदै छैन माइती ।’ बुहारीलाई पनि सासुआमा र छोरीको साथ पाए केही चाहिन्न । उनले बुहारीको मात्रै नभई छोराको कर्तव्यसम्म पूरै निभाएकी छिन् । त्यसैले छोरीलाई भन्दा बढी माया गर्छिन् उनी बुहारीलाई ।

आज उनको मन अलिक बिथोलिएको छ । 

टोलछिमेकले अनेक कुरा गर्छन् आजकल । बुहारीका बारेमा आफन्तले कुरा सुनाएर हैरान पारेका छन् । उनलाई खास फरक नपरे पनि एकतमासको कुराले मनमा उथलपुथल उम्रेको छ । अचेल त्यही पिरलोले उनको मन अँधेरिँदै छ । मनभित्र कुनै गहिरो चिन्ताले डेरा जमाएको छ ।

२० वर्षमा विधवा भएकी । के मेरो इच्छा थिएन होला बुहारी ? के मेरो सपनाहरू थिएनन् ? लोग्नेमान्छेले बनाएको दुनियाँमा हामी स्वास्नीमान्छेको लागि स्वतन्त्रता एक हदसम्म मात्रै ठिक हुन्छ । मैले जे भोगेँ, तिमीले भोग्न नपरोस् भन्ने चाहन्छु । तरुनी उमेरमै लोग्ने गुमाउनु पीडा कस्तो हुन्छ भन्ने मैले बुझेकी छु ।

खाना पाकेपछि डानइनिङमा राम्रोसँग सजाइन् बुहारीले । 

‘नातिनी र हजुरआमाको ग्रह पनि कति मिलेको ? दुवैलाई दुवै भए भो, म पनि चाहिन्न हगि ?’

‘नाइँ म अहिले नखाने मामु । मलाई भोक लागेको छैन । बरु कार्टुन हेरेर बस्छु नि मामु । म पछि खान्छु ।’ आमा देख्नेबित्तिकैको छोरीको घुक्र्याई । 

‘हुन्न–हुन्न नानु, मैले मेरी छोरी र आमाका लागि भनेर मन पर्ने खाना बनाएकी छु । अनि झन् नखाने भन्ने ।’

टीभी बन्द गर्दै छोरीलाई मायाले मुसारिन् । छोरी पनि आमाको घाँटीमा मालाझैँ झुन्डिदै लाडे पल्टिएर आमालाई चुम्न थालिन् । आमाछोरीबिचको मायालाई मायालु आँखाले हेरिन् उनले र खाना खानका लागि हात धुन गइन् । 

‘मलाई त्यति खान मन छैन बुहारी अलिकति मात्रै पस्क । खासै भोक पनि लागेको छैन ।’

‘किन नि भोक नलागेको ? बिहान पनि केही खानुभएको छैन, एक कप चिया बाहेक ! नास्ता नखाने बरू खाना नै खाने भन्ने ? अनि मैले झन् हजुरलाई जे जे मनपर्छ त्यही पकाएकी छु ? होइन अचेल हजुरले निन्याउरो मुख लगाएको देख्छु जतिखेर पनि ! हजुरलाई सन्चो छैन कि क्या हो ?’

‘होइन सन्चै छु ।’

‘मुखले सन्चै छु भनेर के गर्नु ? अनुहार चालढाल सबैले सन्चो नभएको कुरा देखाको छ । हजुर यस्तो त हुनुहुन्थेन । यो दुई–चार दिनदेखि मैले नोटिस गरेकी छु । खाना खाउँ पहिला, अनि दिउँसो नानी सुतेपछि हामी कुरा गरौँला ।’ 

बुहारीको मन राख्नकै लागि मात्रै जुठो हालिन् र उठेर चुठ्न गइन् ।

‘अब म यी काम सकेर आउँछु । अनि सासुबुहारी मजाले कुरा गरौँला ।’

केही नभनी नातिनीलाई बोकिन् र लगिन् सुताउन । केहीबेरपछि नातिनी निदाइन् । आज त अलि सबेरै उठेकी, चकचक बढी गरेर थाकेकी थिई होली । फुसुक्क निदाई । नातिनीलाई सजिलो गरी सुताइन् र नातिनीलाई निधारमा चुमिन् अनि पुनः डाइनिङमा आइन् ।

त्यतिन्जेल बुहारी पनि सबै काम सकेर टावेलले हात पुछ्दै बस्न आइन् डाइनिङ मै ।

‘ल आमा आज हजुरको मनमा जे जे छ सबै भन्नुस् । हजुर उदास हुनुको कारण के ? सबै सबै खुलस्त भन्नुस् !’

‘मैले मेरो जीवनमा जे भोगेँ, तिमीले भोग्नु नपरोस् भन्ने चाहन्छु । किनभने मैले तिमीलाई मेरी छोरीलाई भन्दा बढी माया गर्छु तर यो दुनियाँ त्यस्तो छैन बुहारी ।’

‘दुनियाँसँग मेरो के लेनादेना ? मेरो दुनियाँ भनेको हजुर र हजुरकी प्राण प्यारी नातिनी मात्रै हुन् ।’

मनभित्र उकुसमुमुस भएकाले रोक्न खोज्दाखोज्दै फुस्किहाल्यो, ‘तिम्रो अफिसको नयाँ साथी नि ?’

थोरै तरङ्गित भइन् बुहारी । तर सम्हालिँदै कुरो अघि बढाइन् ।

‘ए, ऊ त मेरो अलि विशेष साथी हो । उसले मलाई प्रेम गर्छ आमा र म पनि प्रेम गर्छु । तर अन्यथा नलिनु होला । म हजुर र हजुरकी नातिनीप्रतिको माया र कर्तव्यपालनमा केही कमी हुन दिन्नँ । कि मैले आफ्नो कर्तव्य गरेकी छैन र आमा ?’

एक लहर केही बिरानोपन फैलिन्छ सासुको अनुहारमा । फेरि एकै छिनमा बिलाइजान्छ ।

‘छौ बुहारी छौ । अझै बढी गरेकी छौ तर कुरा तिमी र मबिचको नभई यो समाजको हो । तिमी मेरो कुरा किन बुझ्दिनौ बुहारी ? यो टोल, समाज अनि इष्टमित्रले तिम्रो चरित्रलाई लिएर नाना थरी कुरा काट्छन् । त्यसरी कुरा काटेको सुनेपछि मेरो मन छियाछिया हुन्छ ।’

‘जसले हजुरलाई कान भर्न आउँछन् नि आमा, ती सबैको नजर नकारात्मक छ मप्रति । उनीहरू मौका छोपेर म नजिक आउन खोज्छन् । सके छुन पनि चाहन्छन् । टाढाको के कुरा आमा ? यिनै नाता कुटुम्बभित्रैकाले गिद्धे आँखा लाउँछन् । अनि उनीहरूले चाहेको नहुँदा अर्थात् उनीहरूले मनमानी छुन नपाउँदा यसरी मेरो कुरा काट्छन् ।’

‘हो, त्यसैले त अब तिमीले यसलाई गम्भीर भएर सोच्नुपर्छ । तिमी प्रेममा छौ भने बरु विवाह गर उसैसँग । तिमीलाई मबाट केही छेकबार हुन्न । टाढाका सँग त तिमी लडौली पनि तर हामी नजिकैकाबाट तिमीले आफूलाई बचाउँछौ कसरी ? तिम्रोअगाडि सिङ्गै जिन्दगी बाँकी छ । मेरा सासुससुराले त मेरो पुनः विवाहका लागि सोच्दा पनि पाप लाग्ने हिसाबले लिने हुँदा गरिदिने सवाल पनि भएन तर तिम्रो लागि त म छु नि । यो दुनियाँ यस्तो छ बुहारी, एकल महिलालाई यहाँ सुखले बाँच्न दिइँदैन । यहाँ जताततै गिद्धहरू झुम्मिरहेका हुन्छन् । तिमीलाई ठुँगी–ठुँगी मार्छन् । छोरीको जस्तै गरी म तिम्रो बिहे धुमधामले गरिदिन्छु ।’

बुहारी अवाक् हुन्छिन् । सन्नाटा छरिन्छ, उनीहरूबिच केही क्षण । सासुको आफूप्रतिको यो हदको माया उनले सायद कल्पेकी थिइनन् । अघिल्लो पुस्ताकी सासुभित्रको चेतनाले उनी कायल भएकी छिन् तर उनको सोचाइ फरक छ । 

‘मलाई बिहे नै गर्नु छैन आमा ।’

‘मैले तिम्रै भलाइका लागि भन्दै छु । मैले जे भोगे त्यही कुरा तिमीले भोग्न नपरोस् भन्ने चाहन्छु । तिमी अफिसका केटा साथीहरूसँग हिँडेको देखेपछि तिम्रो अनेक कुरा काट्छन् । म सुन्न सक्दिनँ बुहारी । त्यसले मलाई कति चिन्ता लाग्छ र कति पीडा हुन्छ तिमीले अनुमान लगाउन सक्तैनौँ ?’

‘हेर्नुस् आमा, मेरा पनि केही भावनात्मक र जैविक आवश्यकता हुन्छन् । साथीभाइको साथ र माया गर्ने मान्छेको आवश्यकता त पर्छ नै । हामी दुईबिच आपसी समझदारीमा हामीले विवाह नगरी साथ दिने योजना बनाएका छौँ । त्यसमा तपाईंको नातागोता भनाउँदाहरू, टोलछिमेकीहरूले के भन्छन् ? त्यो सोचेर टाउको दुखाउनु हुन्न । खासमा हजुरलाई जसजसले यस्तो कुरा सुनाउँछन् नि आमा, तिनीहरू नै आफ्नो वासना पूर्ति गर्न चाहन्छन् । हामीजस्तो एकल महिलाका लागि साथमा उभिने मान्छे पाउन गाह्रो हुन्छ तर हामीलाई वासनाका सिकार बनाउनका लागि भने हजारौँ लाइनमा हुन्छन् ।’

‘म त झन् २० वर्षमा विधवा भएकी । के मेरो इच्छा थिएन होला बुहारी ? के मेरो सपनाहरू थिएनन् ? लोग्नेमान्छेले बनाएको दुनियाँमा हामी स्वास्नीमान्छेको लागि स्वतन्त्रता एक हदसम्म मात्रै ठिक हुन्छ । मैले जे भोगेँ, तिमीले भोग्न नपरोस् भन्ने चाहन्छु । तरुनी उमेरमै लोग्ने गुमाउनु पीडा कस्तो हुन्छ भन्ने मैले बुझेकी छु । तर मैले कहिल्यै आफ्नो मर्यादा नाघिनँ । मैले घर–परिवारमा आँच आउने काम कहिल्यै गरिनँ । अहिले आएर तिम्रो बारेमा अनापसनाप कुरा गर्छन् । जब तिम्रो चरित्रको बारेमा छिमेकी र नातेदारले कुरा गर्छन्, तब मलाई एकदमै दुःख लाग्छ । जब तिमीहरू एक–अर्कालाई साँच्चै माया गर्छौ भने यसरी नहिँड । बरु विवाह गर । अरूले कुरा काट्ने बाटो नराख । विवाह गरेपछि तिमी सुरक्षित हुन्छ्यौ । हामीलाई रहनु त छ फेरि पनि यही समाजमै आखिर ।’

‘सुरक्षाको कुरा नि आमा, महिलालाई सुरक्षित रहन पुरुषकै सहारा लिनुपर्छ भन्ने म मान्दिनँ । रह्यो समाजको कुरा, मैले हजुरलाई अघि नै भनिहालेँ, एकल महिलालाई जहिलेसुकै यौनहिंसा गर्न छुट छ भनेर सोच्छ यो समाज । चाहे विधवा होस्, वा डोभोर्सी वा एकल आमा । एकल महिलाप्रति सहानुभूति होइन वासनाको आँखाले हेर्छन् सबै । उनीहरूले एकल महिलालाई त सजिलै प्राप्त गर्न सकिने वस्तु भनेर सोच्छन् आमा । तर म त्यसो हुन दिनेछैन । म आफ्नो र यो परिवारको देखभाल आफैँ गर्छु । सम्बन्धमा रहे पनि विवाह भने कदापि गर्दिनँ आमा ।’

‘त्यो त हो । तिमी आँटी छौँ । तिमीले माया पनि मलाई आफ्नो आमाभन्दा बढी गछ्र्याै । व्यक्तिगत रूपमा म पनि चाहन्नँ तिमी विवाह गरेर मदेखि टाढा होउ भन्ने तर लामो जीवनमा के होला भन्ने पीर लाग्छ ।’

‘यहाँ महिला र पुरुषका लागि लगाएको छुट्टाछुट्टै साँध र सिमाना म भत्काउन चाहन्छु आमा । म हजुरको छोरा र बुहारी दुवैको कर्तव्य पूरा गर्न चाहन्छु । म सम्बन्धमा रहे पनि विवाह गरेर भाग्ने पक्षमा छैन । हजुर स्वयं महिला भएका कारणले हजुरलाई थाहै छ त, हामीलाई जुन केटा भेटे पनि आफ्नो वासनाको ज्वाला मेटौँ भन्ने हुन्छ त आमा ? आफ्नो मनले रुचेकाले बाहेक अन्यको स्पर्श हामीलाई मन पर्छ त आमा ? तपाईं आफैँ भन्नुस् । लोग्नेमान्छे र स्वास्नीमान्छेमा यस्ता धेरै फरक छन् । उनीहरूलाई मात्रै स्वास्नीमान्छे भए पुग्ने ? प्रिय र अप्रिय स्पर्श भन्ने नै नहुने तिनका खातामा । हामीलाई भने बेस्सरी फरक पार्ने । हजुरको छोराको निधनपछि नजिकका आफन्तको व्यवहारले निकै हैरान परेकी थिएँ । यसैबिच मेरै अफिसको सहकर्मी आफ्नो वासनाका लागि नभई मेरा लागि अनि मेरै पक्षमा उभिन थाले । बिस्तारै हामीबिच गाढा सम्बन्ध कायम भएकाले सबैलाई जलन भएको हो । त्यसैले हजुरको कान यसरी भरेर हामी दुई आमाछोरी जस्ता सासु–बुहारीबिच फाटो ल्याउने प्रयत्न गर्दै छन् । मान्छेको जात अर्काको घरमा आगो झोँसेर हात सेकाउन आउँछन् । तपाईं बलियो हुनुस् । मेरो साथमा सतिसाल भएर उभिनुस् । मलाई फिक्री भनेकै तपाईं र तपाईंकी नातिनीको हो । मेरा लागि यी दुईभन्दा महत्त्वपूर्ण व्यक्ति संसारमै छैनन् कोही ।’

यतिखेर उनको मन रुवाझैँ हलुका भएको छ । आफूले बोल्न नसकेको कुरा आज बुहारीले बोलिदिँदा उनी मख्ख परेकी छन् । फेरि पनि मनभरि छन् कही प्रश्न अझै— किन हाम्रो समाज महिलालाई सुरक्षा दिनुपर्छ भनिबस्छ ? कतै महिलाको सुरक्षाको नाममा आफ्नै सुरक्षाको जोहोमा लागेको त हैन समाज ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

उषा शेरचन
उषा शेरचन
लेखकबाट थप