‘एक्सेलेरेट एक्सन’ : महिला कलाकारको उद्घोष

ललितपुरस्थित ‘क्लासिक आर्ट ग्यालरी’मा गत १ मार्चदेखि ‘एक्सेलेरेट एक्सन’ नामक सामूहिक कला प्रदर्शनी सुरु भएको थियो । नेपाल र मलेसियाका गरी २० महिला कलाकारका ५१ वटा कलाकृति प्रदर्शन गरिएको यस प्रदर्शनी भर्खरै अप्रिल २०) सकियो ।
क्लासिक ग्यालरीले हरेक वर्ष ‘इन्टरनेसनल ओमन डे’को छेको पारेर महिला कलाकार मात्रै सहभागिता हुने गरी प्रदर्शनी कार्यक्रम आयोजना गर्छ । यसपालि प्रदर्शनीमा नेपालबाट सरिता डंगोल, संगी श्रेष्ठ, ज्यास्मिन राजभण्डारी, सुनिता महर्जन, रुकमिनी श्रेष्ठ, मुना भडेल, सन्ध्या सिलवाल, सोनी राई, शर्मिला देवी तामाङ, सारा टुनिच कोइँच, सुजना बिके, सोफिया महर्जन, जुनु खनाल शर्मा, रश्मी अमात्य, रोनिशा श्रेष्ठ र सुमित्रा बराल सहभागी थिए । यस्तै मलेसियाबाट सिला खो टिङ लिङ, एन्जेलिना बोङ, सेन यिङ सिम र योङ ली युनले भाग लिएका थिए ।
प्रदर्शनीमा सहभागी केही अलि पुराना र केही नवयुवा कलाकारका कलागत प्रवृत्ति अलग–अलग छन् । अहिलेका नवयुवा कलाकार ‘कन्सेप्ट’मा काम गर्न रुचाउँछन्, विषयवस्तु पनि फरक लिने गर्छन् । कन्सेप्टमा काम गर्दा थोरै विषयवस्तुमाथि केन्द्रीभूत हुने गरिन्छ, संयोजनको ढाँचा पनि फरक हुन्छ । जस कारण कलाहरू भिन्दै रूप वा स्वरूपमा दृश्यावलोकन हुने गर्छन् । भावकलाई अनुभूत हुने यही फरकपना नै हो ।
- कलाबारे चर्चा
ठाउँ विशेषको कलागत संस्कृति, कला शिक्षाको प्रक्रिया आदिले गर्दा पनि मलेसिया र नेपालका कलाकृति सर्वथा अलग–अलग रूपमा देखिन्छन् । यी दुई देशमा समुदाय, संस्कृति र संस्कारमा फरक–फरक छन् । यसैको प्रभावमा बन्ने गरेको कला पनि स्वभावतः फरक नै हुने भए । यद्यपि ग्लोबलाइजेसनको प्रभावले गर्दा विश्वभर नै कलागत अंकन पद्धति भने एकै–एकै जस्तो हुन्छ । यसर्थ यी दुवै राष्ट्रका कलाकारको कला एकै प्रवृत्तिमा देखापरेका छन् । एकैजस्तो देखिनुको कारण पश्चिमा कला प्रवृत्ति पनि हो । तथापि पश्चिमा कला प्रवृत्तिलाई आ–आफ्नै शैलीमा प्रयोग गर्न सकिन्छ । यसो हुँदा यी कला केही फरक परेकै छन् । कलालाई जीवन वा समाजसँग जोड्नुपर्छ भन्ने कुरामा दुवै राष्ट्रका कलाकार एकमतजस्ता देखिन्छन् ।
मलेसियाकी कलाकार सिलाले मिक्स मिडियामा ‘टपेस्ट्री अफ लाइफ’ नामक चित्र बनाएकी छन् । जहाँ प्राकृतिक रुख स्वैरकाल्पनिक रूपमा विभिन्न रङहरूले तीव्र चहकिलो बनेको देखिन्छ; कतै डिजाइन गरेको जस्तो पनि देखिन्छ । यस कलाको हरेकजसो अवयव मान्छेको जिन्दगीझैँ बटारिएर घुम्रिएका जस्ता हाँगाबिँगासँगको तादात्म्यतामा सिर्जना भएको देखिन्छ । अनेकानेक बुट्टाहरू समेटिएर यो कला ‘डेकोरेटिभ फर्म’मा बनेको छ । चित्रपटमा उनका भावना पनि छचल्किएको देख्न सकिन्छ । उनी मूलतः अमूर्त अभिव्यञ्जनावादी कलाकार हुन् । यसर्थ उनका कलाहरू अभिव्यञ्जनात्मक अमूर्ततामा घुलमिल भएर देखापरेका छन् । यो शैलीमा काम गर्ने कलाकार भावमूलक आकारलाई ल्याउने गर्छन् । अनि अमूर्ततालाई पनि ब्युँताउने कोसिसमा रहन्छन् । कलाको भाषामा यसलाई ‘फिगरेटिभ एब्स्ट्राक्सन’ भन्ने चलन छ । यस्ता कलाहरूमा रेखाहरूले मात्र होइन, गतिपूर्ण देखिने रङहरूले पनि भावहरू व्यक्त गर्न सक्छन् । यसरी हेर्दा सिलाले आफ्नै भावनात्मक यात्रालाई प्रकृतिसँग जोड्न खोजेकी छन् । आफूभित्रको आफूलाई प्रतीकात्मक विम्बद्वारा उजागर गर्नु उनको थप अभीष्ट देखिन्छ ।
नेपालकी रोनिशाले थोरै अलग्ग संयोजनका साथ चित्र बनाउन पुगेकी छन् । ‘निटिङ इमोसन’ नामको यो उनको चित्रमा वस्त्र बुन्दै गरेकी महिलाको टाउको बिरालोको जस्तै बनाइएको छ । फेन्टासीको अंश लुकेको उनको चित्रमा भावनात्मक बुनाइ तह–तह मिलेर बसेका देखिन्छन् । अलिकति सपनाका कथा अनि प्रतीकात्मक विम्बहरूको मिश्रणको संयोजन उनको चित्रमा देखिन्छ ।
जुनुले यसपल्ट सेरामिक्सको सुराई (सुराही) बनाएकी छन् । ‘ओमन इमोसन’ नामक उनको काममा महिलाको मुखाकृति सग्लो गरी समावेश भएको देखिन्छ । हस्तकला, उपयोगी सजावटका लागि बनेका वस्तुजस्ता देखिए पनि कहीँ न कहीँ महिलाको भावनालाई यसले गहिरो गरी समातेको देखिन्छ । महिला स्वयं उपयोगी वस्तु भएजस्तो, सजाउने वस्तु भएजस्तो पारामा उनको कला देखापरेको छ । समाजले महिलालाई हेर्ने दृष्टिकोणको प्रतिविम्ब देखिँदा पनि अर्को अर्थमा जेन्डरको मुद्दा पनि यसले समातेको देखिन्छ ।
यसपल्ट सुनिताको काम नितान्त अलग्ग रूपमा देखापरेको छ । ‘कर्टेन अफ चेन्ज’ नामक उनको यो कला ‘स्टेन्सिल’मा कालो मसीको माध्यमबाट तयार गरिएको छ । देखिँदा चित्रपटको थोरै भागमा तीनवटा स–साना झ्याल देखिन्छन् । बाँकी चित्रपट सर्वाङ्गमा खालि छ । अलि अचम्मको संयोजनमा देखापरे पनि झ्यालढोकाभित्रै रहेको महिलाको जिन्दगीलाई यसले उदाङ्ग पारेको छ ।
मलेसियाकी कलाकार सिलाले मिक्स मिडियामा ‘टपेस्ट्री अफ लाइफ’ नामक चित्र बनाएकी छन् । जहाँ प्राकृतिक रुख स्वैरकाल्पनिक रूपमा विभिन्न रङहरूले तीव्र चहकिलो बनेको देखिन्छ; कतै डिजाइन गरेको जस्तो पनि देखिन्छ । यस कलाको हरेकजसो अवयव मान्छेको जिन्दगीझैँ बटारिएर घुम्रिएका जस्ता हाँगाबिँगासँगको तादात्म्यतामा सिर्जना भएको देखिन्छ ।
सरिता आफ्नै पुरानो सिरियल ‘खुर्सानी’कै काममा देखापरेकी छिन् । जसमा अहिले हाम्रै मौलिक वास्तुकला जोडेकी छन् । जीवनको अभिन्न अंग बनेको रातो–खुर्सानी गतका केही वर्षदेखि उनको मनपर्ने विषय बन्दै आएको छ ।
‘ओडिसी अफ चिल्ली’ नामक यो चित्रमा हाम्रो परम्परागत वास्तुकला, यसमा पनि विशेष गरी इँटामा उनको बढी ध्यान गएको देखिन्छ । झट्ट देखिँदा पुरानो भत्कँदै गरेको घरको अग्रभाग, ढोका र लत्रङ्ग झुन्डेका खुर्सानी देखिन्छन् । घरको भित्तातिर प्लास्टर उप्केर इँटाहरू भताभुङ्ग देखिन्छन् । यसैमा दुई चिज जोडिएको देखिन्छ— १) प्रकृतिको विनाश, २) मानव र समाजसँगको नातालाई गरिएको बेवास्ता । प्राचीन मौलिक वास्तुकलालाई याद गरिदिन पनि उनको कलागत आग्रह देखिन्छ ।
सोफियाले लखनखेल बजारलाई नाटकीय ढंगबाट प्रस्तुत गर्न पुगेकी छन् । लिनेन क्लोथमा स्टिच कोलाज आफैँमा कलाका लागि नौलो माध्यम हो । झट्ट हेर्दा अमूर्तझैँ देखिने यो उनको कलामा पसलअगाडि फुटपाथमा बसेर एउटा महिला केही बेच्दै छन् । ती महिला एक फुटपाथे पसलेजस्तो लाग्छिन् । घरको मूलढोका बन्द छ । घरका झ्यालहरू भने कारकुर रेखाहरूमा दृश्यावलोकन हुन्छन् । अनेकानेक रेखाहरूले भावकलाई केही अलमल पनि बनाउँछन् । तथापि गहिरिएर हेर्दा भने साधारण दृश्यचित्रको एउटा रूप देखिन्छ । अमूर्तताभित्र देखापरेको मूर्त रूप उनको कलागत विशेषता हो । नितान्त आफ्नै व्यक्तिगत कुराहरू, सामूहिक अनुभव र सम्झनाहरू आदि–इत्यादिलाई गाँसेर समग्रमा उनको कला बनेको देखिन्छ । यो आजको अनौठो कलागत संरचना पनि हो । जहाँ प्रविधिगत–माध्यमले कलालाई बढी मात्रामा थिचेको देखिन्छ ।
मलेसियाको पेनाङमा जन्मेकी सेन यिङले फ्री ह्यान्ड स्टाइल चाइनिज ब्रस पेटिङ अनि क्यालिग्राफी आर्टमा चीनको बेइजिङमा शिक्षा लिएकी हुन् । यसो हुँदा पनि रेखाहरूलाई ब्रसले खेलाउन उनी खप्पिस देखिन्छिन् । उनले आफ्नो चित्रको नाम ‘लङ्गेभिटी’ राखेकी छन् । जहाँ रुखको हाँगामा दुईवटा सारस कुतूहल मुद्रामा बसेका देखिन्छन् । हल्का पातलो पारदर्शी रङहरू, स्वस्फूर्त तुलिकाघातको प्रहारले बनेको आकृतिमूलक चित्र त्यसै पनि मनमोहक देखिन्छ । शून्यतामा कतै रुखका हाँगा अचानक देखापरेजस्तो भएर लोभलाग्दा दृश्य बन्नु यस्ता कलाको विशेषता हुने गर्छ । यसैमा कलाकारको बडो गजबको कमाल देखिन्छ । चाइनिज परम्परागत चित्रको यही नै विशेषता पनि हो ।
संगी यसपल्ट पनि आफ्नै कलागत सिग्नेचरका साथ देखापरेकी थिइन् । महिलाको अनुहारलाई ज्यामितीय फर्ममा बनाउनु उनको खास आफ्नै शैली छ । विशेष गरेर ‘जेन्डर’को इस्युलाई लिएर काम गर्ने उनका कलाले राइट् एङ्गल सेप भर्टिकल रूपमा अंकन भई चित्रपटलाई ढाक्दा अचम्मको कलागत संरचना देखिन्छ । ‘एक्जिस्टेन्स’ नामक यसपल्टको चित्र पनि यसै सिरिजको थप पाइलोका रूपमा देखापरेको छ । ६ वटा स–साना (एक फुट बाई एक फुट) चित्रका साथ उनी सहभागी भएकी थिइन् । पहँेलो पृष्ठभूमिमा किसिम–किसिमका महिलाका मुखाकृति उनका कलामा देखिन्छन् । ओठ र टिका नितान्त गाढा रातो देखिन्छन् । यसले महिलाको पहिचानलाई सजिलै चिनाइदिन्छ । रश्मि कान सुन्दिनन् । तापनि उनको दिल सोह्रै ठुलो छ । विपन्न, हेपिएको वर्गमा उनको चासो र चिन्ता छ । यसकारण पनि यसैको प्रतिविम्ब उनको कलामा देखिन्छ । अनगिन्ती घन्टीहरू, पचासौँ चराहरूको पृष्ठभूमिमा अजङ्गको घण्ट बनाउनु उनको खास कलागत विशेषता हो । यसैमा प्वाँखहरूको प्रतीकात्मक विम्बबाट समायोजन भई देखापर्नुले चित्रमा थप सौन्दर्यता देखापरेको छ ।
सुजना पन्छीको चित्र लिएर उपस्थित भएकी थिइन् । जसलाई स्वतन्त्रताको विम्बको रूपमा हेर्न सकिन्छ । यस्तै रुकमिनीले इचिङ माध्यमबाट ‘आमा’ नामक चित्र बनाएकी छन् । जहाँ महिलाले गरुङ्गो दाउराको भारीसहित बच्चा बोकेको मार्मिक दृश्य देखिन्छ । महिलाको अनुहार नै नदेखिने मुखाकृति छ । महिलाको समाजमा केही पहिचान छैन भन्ने प्रतीकात्मक विम्ब पनि हो यो । बच्चाको स्याहार–सुसारदेखि आय–आर्जनकोे व्यवस्था गर्दै गर्दा पनि महिलाको आफ्नै पहिचानमा चाहिँ खडेरी किन छ ? उनको प्रश्न पनि छ ।
मुुनाका चित्रमा महिला–पुरुषको प्रेमाभाव झल्कन्छ । प्रेमाभावलाई दर्शाउन चित्रमा हातका औँलाहरू आएका छन् । यथार्थ रूपमा बनाइएका हातका यी औँलाहरूमा कोमल अनुभूतिको स्पर्श अनुभव हुन्छ । जहाँ गहिरो माया, सहारा र ढाडस सलबलाएर बेरिएका देखिन्छन् । औँलाहरूको बिचको स्पर्श नै उनको कलाको केन्द्रबिन्दु पनि हो । ‘इन्ट्विन्ड फेट्स’ नामक उनको चित्रमा यमानको पन्जामुनि एक अलग्ग खण्ड पनि देखिन्छ । जहाँ साँढे, चरा, पुतली र फूलहरूको मनोरम वातावरण झलमल देखिन्छ ।
शर्मिलाको ‘गोल्डेन लाइफ अफ ट्रंक’ एउटा डिजाइन भाँती दृश्यावलोकन हुन्छ । गाढा खैरो सपाट पृष्ठभूमिमाथि रेखाहरू अदबका साथ घुमाउरोमा बाँधिएका देखिन्छन् । प्राकृतिक टेक्चरका सुन्दर मुखाकृति देखिन्छन् । यसैमाथि खाइलाग्दो चरा बसिदिँदा अझ सौन्दर्यले ढकमक देखिन्छ यो चित्र । यसले भावकलाई अर्कै दुनियाँमा पुर्याउँछ । जसले भ्रमपूर्ण संसारको अद्भुत दिग्दर्शन पनि दिन्छ ।
सुमित्राको सेरामिक मूर्तिले एकापसमा बाँधिएका अनेकानेक चाहना र रहरहरूलाई प्रतिनिधित्व गरिरहेको देखिन्छ । उनको ‘इन्टिमेसन’ नामको चित्र ‘फिगरेटिभ एब्स्ट्राक्स फर्म’मा देखापरेको छ । जहाँ आत्मीयताको गहिरो प्रतिबद्धता गाँसिएर दृश्यावलोकन हुन्छ । कुनै गन्तव्यका लागि हिँडिरहेका पनि देखिन्छन् ।
ज्यासमिनले आफ्नो चित्रको नाम थोरै अनौठो राखेकी छन्, ‘उड–एप्पल, सन एन्ड मेन’ । प्रत्यक्ष रूपमा सबै काम महिलाबाटै सम्पन्न हुँदाहुँदै पनि पुरुषप्रधान समाजमा हुने गरेको भाष्यमाथि व्यंग्यात्मक झटारो उनले गरेकी छन् । उनले संस्कारगत गाथालाई मार्मिक ढंगबाट प्रस्तुत गरेकी छन् । उनको चित्रमा स–साना लघुकथाहरू चित्रात्मक रूपमा प्रस्तुत भएको देखिन्छ । परम्परागत क्रियाकलापलाई यथार्थ आकृतिहरूद्वारा समायोजन गरी पूर्वीय संस्कृतिलाई चित्रपटमा उतार्नु नै उनको मुख्य विशेषता देखिन्छ । हरेक क्रियाकलापलाई धर्म, अनि देवदेवीसँग जोड्नु पनि उनको ध्येय रहेको देखिन्छ ।
सन्ध्याले आध्यात्मिक चिन्तन, मृत्युपछिको अलौकिक संसारको परिकल्पना गरेकी छन् । अनि अप आर्टको सिर्जना गर्न पुग्छिन् । ‘बोन्डेज’ नामक उनको चित्र भावकलाई अनन्त गहिराइमा पुर्याउन उद्यत छ । यस चित्रमा क्युबिक फर्मका अनेक चक्रहरू, ताराहरू विभिन्न आकार र सेपमा देखिन्छन् । आँखा तिर्मिराउने यो उनको यस चित्रले भित्री अन्तर्आत्मामा चियाउनका लागि आग्रह गरिरहेको देखिन्छ ।
साराले जनजाति महिलाको घरभित्र गरिने दैनिकीलाई सडकमा उभ्याउने कोसिस गरेकी छन् । घरबाहिर घर खोज्दैको प्रसङ्गलाई उप्काउन खोजेकी छन् । उनको कलाको नाम छ, ‘फाइन्डिङ अ होम अवे फ्रम होम’
सोनीको ‘रिभरेन्स’ नामक काममा सानो गमलामा अजङ्गको प्लान्ट राखिएको छ, अर्थात् यसले सौन्दर्यतालाई अङ्गाल्न पुगेको देखिन्छ । मूलतः जेनरेसन ग्यापको अवधारणामा काम गर्ने उनको पहिचान छ । उनी माध्यमकै रूपमा पनि टेक्स्टाइल, र धागोमा बढी मात्रामा प्रयोग गर्छिन् । पुर्खा, परम्परा र सांस्कृतिक पहिचानमाथि उनको चासो र चिन्ता देखिन्छ । यी र यस्तै अवयव उनका कलामा प्रतिविम्बित भएका देखिन्छन् ।
एन्जेलिना चित्रकार मात्र होइनन्, कवि पनि हुन् । यसर्थ उनका चित्रमा भाव अत्यधिक रूपमा बगेको देखिन्छ । उनका कविताहरू ६ वटा भाषामा रूपान्तरित भइसकेका छन् । ‘म्याग्रोभ द नर्चर’ नामक उनको चित्रमा उर्लंदो नदीलाई भावनात्मक भेलका रुपमा ल्याइएको छ, यसमाथि यमानको रुखका अनगिन्ती जराले स्पर्श गरेको देखिन्छ ।
योङ ली युन मलेसियन हुन्, चीनको जलरंगी परम्परागत चित्रमा उनी प्रशिक्षित छन् । रङ प्रवाह अनि रेखाहरूमा उनको गहिरो पकड देखिन्छ । मूलतः उनी बढीजसो जलरङ अनि इन्कमा काम गर्छिन् । ‘इनोसेन्स अफ पिस’ नामक चित्रमा मन्दिरको प्राङ्गणमा अवस्थित परेवाको झुन्ड र बच्चाबच्चीले दाना छर्दै गरेको दृश्य छ । यसरी चित्रमा स्वच्छ वातावरण आएको छ । जीवन्त दृश्यचित्रमा स्वैरकाल्पनिक रूपहरूले वास गरेको जस्तो देखिने उनको चित्रमा जलरंगी प्रवाहले मनोरम दृश्य सिर्जना भएका छन् ।
(मल्ल कलाकार र कला समीक्षक हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : बालुवाटारमा ओली-देउवाबीच भेटवार्तादेखि भाटभटेनी लुटपाट काण्डले राजेन्द्र लिङ्देनको पुत्ला दहनसम्म
-
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
-
काभ्रेमा सात खानीक्रसर उद्योग बन्द
-
श्रीमानको किरिया बसेकी महिलाको मृत्यु
-
नेपाल प्रहरी बन्यो च्याम्पियन
-
दुर्घटना न्यूनीकरणको सन्देश फैलाउन ‘बिस्तारै स्कुटर चलाउने’ प्रतियोगिता