रिमालको ‘आमाको सपना’मा ‘त्यो’ आउनुको तात्पर्य

गोपालप्रसाद रिमाल नेपाली साहित्यका युग कवि हुन् । युग परिवर्तनको स्वरलाई उनले ‘आमाको सपना’ कविताबाट प्रकट गरेका छन् । नेपाली जनमानसमा नवीन हलचल र सचेतना ल्याउन यो कविता उद्यत छ, यही नै यस कविताको सौन्दर्य हो ।
प्रगतिवादी विश्व चेतनालाई आधुनिक नेपाली साहित्यमा प्रवेश गराउने कवि प्रतिभा हुन् रिमाल । नेपाली जनमानसलाई परम्परागत मनोदशाबाट परिवर्तित र परिमार्जित मनोदशामा बदल्ने उनको कवित्व नेपाली युग चेतनाको साक्ष्य हो । त्यसअघि भएका परिवर्तनको प्रयासलाई कवितामार्फत स्थापित गर्ने युगीन अभिव्यक्ति हुन् उनको यो र यस्तै अरु प्रगतिवादी कविताहरू । अतः उनलाई युग परिवर्तनका सचेत प्रगतिवादी नेपाली कविका रूपमा प्रसिद्धि प्राप्त छ ।
आमा, त्यो आउँछ र ?
हो बा, त्यो आउँछ ।
त्यो बिहानको सूर्यझैँ उज्यालो छर्दै आउँछ ।
त्यसको कम्मरमा झुन्डिएको, शीतजस्तै टल्कने
तिमी एक हतियार देख्तैछौ,
त्यसैले ऊ अधर्मसित लड्नेछ ।
त्यो आउँदा तिमी पहिले त सपना हो कि भनेर
छामछुम गर्नेछौ तर त्यो हिउँ र आगोभन्दा पनि
बढ्ता छोइने भएर आउँछ ।
हो र आमा ?
हो, तिमी जन्मँदा तिम्रो कलिलो अनुहारमा
त्यसकै छाया देख्ने आशा गरेकी थिएँ,
तिम्रो हिस्सी परेको हँसाइमा त्यसको सुन्दर छवि,
तिम्रो तोते बोलीमा त्यसकै मधुर ध्वनि,
तर त्यो मीठो गीतले तिमीलाई
आफ्नो बाँसुरी बनाएनछ !
त्यो तिमी नै हौला भन्ने
मेरो यौवनभरिको सपना थियो !
(रिमाल, आमाको सपना) ।
यो कविता न्यून मात्रामा अभिधाको अर्थमा उपस्थित छ भने लक्षणा र व्यञ्जनाका माध्यमबाट यसले सुनौलो भविष्यलाई संकेत गरेको छ । कवितामा रहेको ‘त्यो’ शब्दले मनको आशाको उद्घोषलाई लाक्षणिक रूपमा प्रकट गरेको छ । मनको आशा भनेको आम परिवर्तनकामीले चाहेको परिवर्तन हो । यस कविताले परिवर्तनको अभीष्टलाई अभिव्यक्त गर्छ । कविको परिवर्तनको सपना, जुन सपना गणतन्त्र र त्योभन्दा माथिल्लो जनतन्त्रवादसम्म हो, त्यसको व्यङ्ग्य अर्थ व्यञ्जनार्थीका रूपमा यस कवितामा भाव प्रकट भएका छन् । ‘त्यो’ र ‘त्यो’ आउनुको तात्पर्य गणतन्त्र हो र त्यस्तो राजनीतिक परिवर्तनको सङ्केत हो ।
यो कविता गद्य शिल्पको कसीमा रचिएको छ । सम्बोधन शैली, प्रश्नोत्तरको संवादात्मक शैली र चरित्रहरूको अभिनयलाई यस कवितामा कलात्मक ढङ्गले प्रयोग गरिएको छ । लक्षणापरक शीर्षक प्रयोग र पात्रको प्रयोगको ‘न्यारेटर’सहित कथ्य प्रधानका साथै अभिनयमुखी शैलीमा यो कविता प्रस्तुत भएको छ ।
परम्परागत रूढि शैली र सोच्ने तरिकामा परिवर्तन ल्याउने कवित्व नै यस कवितामा निहित साहित्यिक, दार्शनिक सामथ्र्य हो । यहाँ ‘आमा’ भनेको नेपाल हो, नेपाली धर्ती हो । सारा नेपालीको खुसीको आह्वान गरिएको सम्बोधनात्मक शिल्प संरचनाको रूपमा यो कविता रचिएको छ ।
समय चेतनाका रूपमा यो कविता तत्कालीन सत्ताको फासीवादविरुद्ध वा निरङ्कुशतन्त्रको विरुद्ध लक्षित छ । त्यस युगको विरोध मात्र नगरी नयाँ परिवर्तनको आशा जगाउने चेतना निर्माणको समय बोध गर्ने र जनताको राजनीतिक परिवर्तनको भित्री अभीष्ट पक्रेर रचिएको युगसन्धियुक्त कविता हो यो ।
यस कविताले क्रान्तिमा लाग्नका निम्ति आम जनमानसलाई हौसला दिएको छ । आज क्रान्ति हुन नसके पनि एक दिन एक युगमा अवश्य त्यो क्रान्तिको सपना साकार हुने क्रान्तिकारी, आशावादी र जीवनवादी विचारको प्रस्तुतीकरणले यस कवितालाई सधैँ सान्दर्भिक बनाएको छ । आजको परिवर्तन र हिजोको परिवर्तनको रूप फरक छ । तर भित्री आशय, समृद्धि र सम्पन्न हुन नसकेका सपनाहरू भने मानवीय भावनाका रूपमा उस्तै छन् । क्रान्ति आज पनि बाँकी छ, अधुरो छ र त्यसले ल्याउने विकासको उज्यालोको पर्खाइ आज पनि तीव्र रूपमा गढेर रहेको छ । यसलाई ध्वन्यात्मक रूपमा यस कविताले समेटेको छ ।
परिवर्तनको वैचारिकता प्रकट गरी आम जनताको सपनालाई सिद्ध गर्ने मार्गदर्शन निर्माण गर्नु यस कविताको दर्शन हो । यथास्थितिको विरोधसँगै नवीन परिवेश, पद्धति र वैचारिक धरातलको स्वागत गर्ने उत्कट चाहना अघि सार्नु यस कविताको सन्देश हो । जनसाधारणलाई खुसी पार्ने सपनाको घर बोध गराई सो घरको जग मनोवैज्ञानिक, सांस्कृतिक, राजनीतिक र सामाजिक रूपमा स्थापना गर्ने मार्गदर्शनको अनुकूल वातावरण निर्माण गर्न यो कविता उद्यत छ । त्यसकारण यो सार्वकालीन आयु भएको युग चेतनाबोधक र गहिरो भाव सम्प्रेषण गर्ने सामथ्र्य भएको कविता हो ।
रिमाल आधुनिक चेतनाका कवि हुन् । नेपाली साहित्यको माध्यमिककालीन अवस्था यस्तो थियो कि त्यतिबेलाका अधिकांश सिर्जना उपदेश, धार्मिक नीति, मनोविलास तथा ज्यादै अश्लील शृङ्गार रसले मण्डित देखिन्थे । त्यस अवस्थाबाट आधुनिक, सामाजिक, सांस्कृतिक, राजनीतिक परिवर्तनको चेतनामा रूपान्तरण गर्ने वैचारिकता नै ‘आमाको सपना’ कविताको सौन्दर्यशास्त्र हो । नेपाली कविता माध्यमिककालबाट बिस्तारै आधुनिकतातर्फ बामे सर्न थालेको समयलाई गोपालप्रसाद रिमालको यस कविताले हिँड्न सक्ने र दौडिन सक्ने बनाएको छ, गतिशील चेतना भर्ने काम गरेको छ । आधुनिकता भनेको मानिसले आवश्यकता बोध गरी त्यसको प्राप्तिका लागि संघर्ष गर्नु वा त्यस्तो चेतना विकास गर्नु पनि हो । यो चेतना बोकेको कविता नै आमाको सपनाको रचनाकारिता हो । यही नै यस कविताको क्रान्ति चेतना हो । नेपाली कवितालाई पूर्णतः आधुनिकता प्रदान गर्ने कोसेढुङ्गो यही कविता हो । यसलाई युगीन स्वरको प्रतिनिधि र युग आह्वान गर्ने शक्ति भएको कविता पनि मान्नु उचित हुन्छ । यो कविता नेपाली साहित्यको आधुनिक कविता कालको बलियो निर्माण पनि हो । यसले कविता विधा र मानवीय चेतना दुवै क्षेत्रमा आधुनिकता ल्याएको छ ।
आमाको सपना कवितामा प्रश्नोत्तर शैलीको प्रयोग सरल, सहज, काव्यात्मक र सुन्दर स्वरूपमा गरिएको छ । अन्ततः संवादलाई यसको संरचनात्मक गठनको वैशिष्ट्य बनाइएको छ । ‘आमा, त्यो आउँछ र ?’ भनी प्रश्नलाई पाठकका मनमा तीव्र जिज्ञासा निर्माणका निम्ति प्रयोग गरिएको छ । ‘आमा’, ‘त्यो’, ‘आउँछ र ?’ जस्ता शब्दावलीमा प्रश्नसँगै कुतूहल निर्माण गर्नु र त्यसपछि आमाले ‘हो, त्यो आउँछ’ भन्नुले सकारात्मक र रहस्यमय भाव जगाउँछन् । संवादात्मक शिल्प सौन्दर्य यस कवितामा आएको छ । यसको अत्यन्त सघन पक्ष भनेको आन्तरिक चेतनाको गठन हो । नेपालीमा छरिएको चेतनालाई यस कविताले गठन गरेको छ । त्यो आउने कुरा परिवर्तनको मनोभूमिको आगमनलाई सुनिश्चित गर्ने वैचारिकता हो । ‘त्यो’ आउने कुराको पक्षमा लामो समयदेखि मानिसहरू प्रतीक्षारत रहेको र अब त्यो आउन लागेको उद्घोषले यस कवितालाई सशक्त बनाएको छ । त्यो भनेकै मानिसहरूको उन्नतिको अभिलाषा हो । विकास र समृद्धिको अमूर्त रूपमा रहेको मूर्छित सपना पिनामा साकार भएर त्यो आउने कुरामा अडेको छ । त्यो शब्दले बोकेको ध्वन्यार्थ र लक्ष्यार्थ नै यस कविताको बलियो अभिव्यक्ति हो ।
परम्परागत रूढि शैली र सोच्ने तरिकामा परिवर्तन ल्याउने कवित्व नै यस कवितामा निहित साहित्यिक, दार्शनिक सामथ्र्य हो । यहाँ ‘आमा’ भनेको नेपाल हो, नेपाली धर्ती हो । सारा नेपालीको खुसीको आह्वान गरिएको सम्बोधनात्मक शिल्प संरचनाको रूपमा यो कविता रचिएको छ । नेपालीको आम चाहना जुन मुखरित हुन सकिरहेको थिएन, त्यसलाई नै ‘त्यो आउँछ’ भनेर आशावादी स्वरको अभिव्यक्ति प्रकट गरिएको छ । त्यही चाहना ध्वन्यात्मक रूपमा उद्घोष गर्नु नै यस कविताको सौन्दर्य चिन्तन हो । यसको काव्यात्मक सार पनि यही हो । कवितामा रूप पक्षभन्दा आन्तरिक अन्तर्वस्तु तत्त्वप्रधान हुन्छ भन्ने विचारलाई यस कविताले आत्मसात् गरेको छ । आमाको सपना कविताको शीर्षक आफैँ ध्वनिमय छ र कवित्वपनले ओजपूर्ण छ । यो कविता कालजयी र विश्व मानव चेतनामा निहित परिवर्तनको नवीन स्वरूपलाई कविताको गद्य शिल्पको सुगठनमा आबद्ध छ । सरलतामा सघनता र समय बदल्ने सान्दर्भिक चेतनाको बीजारोपण गर्ने जागरणमुखी, आशावादी, उत्प्रेरणामूलक रचनाकारिता नै यस कविताको सार हो ।
००
आमाको सपना
- गोपालप्रसाद रिमाल
आमा, त्यो आउँछ र ?
‘‘हो बा, त्यो आउँछ ।
त्यो बिहानको सूर्यझैँ उज्यालो छर्दै आउँछ ।
त्यसको कम्मरमा झुण्डिएको, शीतजस्तै टल्कने
तिमी एक हतियार देख्तैछौ,
त्यसैले ऊ अधर्मसित लड्नेछ ।
त्यो आउँदा तिमी पहिले त सपना हो कि भनेर
छामछुम गर्नेछौ तर त्यो हिउँ र आगोभन्दा पनि बढ्ता छोइने भएर आउँछ ।’’
हो र आमा ?
‘‘हो तिमी जन्मँदा, तिम्रो कलिलो अनुहारमा
त्यसकै छाया देख्ने आशा गरेकी थिएँ,
तिम्रो हिस्सी परेको हँसाइमा त्यसको सुन्दर छवि,
तिम्रो तोते बोलीमा त्यसैको मधुर ध्वनि,
तर त्यो मीठो गीतले तिमीलाई
आफ्नो बाँसुरी बनाएनछ ! त्यो तिमी नै हौला भन्ने
मेरो यौवनभरिको सपना थियो !
जेहोस्, त्यो आउँछ,
म आमा हुँ, सारा सृजन–शक्तिको मुख भएर
म भन्न सक्तछु,
त्यो आउँछ,
मैले यो कुनै अल्छी सपना देखेको होइन !
त्यो आएपछि तिमी यसरी
मेरो काखमा आएर घोप्टिने छैनौ,
सत्य कुरालाई तिमी यसरी
चुम्बकिएर कथा सुनेझैँ सुन्ने छैनौ,
तिमी त्यल्लाई आफैँ नै देख्न सक्ने, सहन सक्ने र
ग्रहण गर्न सक्ने हुनेछौ,
मैले यसरी धैर्य दिनुको सट्टा तिमी संग्राममा जाँदा
लाख सम्झाएर पनि नमान्ने आमाको मनलाई
सान्त्वना दिँदै बिदा हुनेछौ
मैले यसरी रोगीलाई झैँ तिम्रो कपाल
मुसारिरहनुपर्ने छैन ।
हेरौला त्यो हुरी भएर आउनेछ
तिमी पात भएर पछ्याउनेछौ !
उहिले त्यो जीवन–लोकबाट झरेर जूनजस्तै पोखिँदा
सारा जडता सगबगाएको थियो बा,
त्यो आउनेछ, तिमी उठ्नेछौ ।’’
त्यो आउँछ कि आमा,
मधुर उषाले चराहरूको कण्ठलाई जस्तै
त्यो आउने आशाले मेरो हृदयलाई कुतकुत्याइसक्यो आमा !
‘‘हो, त्यो आउँछ
त्यो बिहानको सूर्यझैँ उज्यालो छर्दै आउँछ ।
अब म उठें गएँ ।’’
‘‘तर त्यो तिमी नै हौला भन्ने
मेरो यौवनभरिको सपना थियो ।’’
(‘कालजयी कविता’ स्तम्भमा हामीले पुराना कवितामाथि समीक्षा गर्नेछौँ— प्रधानसम्पादक ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : सांसदलाई ओलीको उपदेशदेखि पहलगाम हमलाको नेपालमा विरोधसम्म
-
देवकोटा साहित्य पुरस्कारबाट खतिवडा र विरही सम्मानित
-
तमोर नदीमा बगेर एक व्यक्ति बेपत्ता
-
जनसम्पर्क समिति विश्व सञ्जालको क्षेत्रीय पदाधिकारीहरुको घोषणा, कहाँ को ?
-
पोप फ्रान्सिसको अन्त्येष्टि सम्पन्न, तस्बिरहरू
-
प्रभसिमरन र प्रियांशको विस्फोटक ब्याटिङ, म्याक्सवेल फेरि फ्लप