शनिबार, १३ वैशाख २०८२
ताजा लोकप्रिय
रातोपाटी साताको कविता

कृष्ण प्रधानका तीन कविता

शनिबार, १३ वैशाख २०८२, १६ : ००
शनिबार, १३ वैशाख २०८२
  • कवि परिचय 

जन्म : २०१२ साल जेठ ४ । जन्म स्थान : यासोक, पाँचथर । शिक्षा : एमए (अर्थशास्त्र), बीएल । 

प्रकाशित कृति : १) मौन पहाड (कविता संग्रह, २०४९), २) आत्मवाद (चिन्तन काव्य, २०५२), ३) समकालीन समालोचना (समालोचना, २०५३), ४) म भग्नावशेष बूढो : भीमसेन थापाको दरबार (कविता–काव्य, २०५४), ५) सूर्यस्नान (कविता संग्रह, २०५५), ६) पानीका जलक्रीडा (शृङ्खलाबद्ध कविता, २०५७), ७) हनोइदेखि हो–चि–मिन्ह सिटिसम्म (नियात्रा, २०६१), ८) साढे सातदेखि अढैयाको शनिसम्म (स्वगत निबन्ध, २०६३), ९) विचार वृक्ष वाटिका (श्रृङ्खलाबद्ध कविता, २०६६), १०) तासको घर र पहाडको सपना (कविता संग्रह, २०६८), ११) कविताको मलामी (कविता संग्रह, २०७२), १२) सूर्यग्रहण (कविता सङ्ग्रह, २०७३), १३) स्वर्ग ( कविता सङ्ग्रह, २०७४), १४) रंंगहरुको पहाड (कवितासंग्रह, २०७६), १५) अग्नियात्रा (लामो कविता, २०७७), १६) हराएको गाउँको द्यौता (कविता संग्रह, २०७८) ।

आर्थिक तथा विविध विषयका पुस्तक : १) नेपालमा बाणिज्य बैंकिङ्गः उपलब्धि तथा चुनौती ( २०४८), २) नेपालमा ग्रामीण बैंकिङ्ग वित्तीय प्रणाली (सहलेखन, २०५३), ३) डेभलप्मेन्ट एन्ड नेपाल राष्ट्र बैंक (अंग्रेजी भाषामा, सन् २००५), ४) भोटु वंशावलीको कैरन (खोजमूलक वंशावलिक इतिहास, सहलेखन, २०६७) । 

सेवा : नेपाल राष्ट्र बैंकमा अधिकृत स्तरमा करिब २९ वर्ष सेवा, कार्यकारी निर्देशक (विशिष्ट श्रेणीमा) ७ वर्ष सेवा ।
पुरस्कार : १) प्रज्ञा प्रतिष्ठानको कविता महोत्सव (२०४९) को स्वर्ण पदक, २) राष्ट्रिय प्रतिभा पुरस्कार (२०५७), ३) स्रष्टा पुरस्कार,  सन् १९९७ (सिक्किम, भारत), ४) हरिकला–गुणाकर दायित्व रचना पुरस्कार (२०७४), ५) प्रतिभा पुरस्कार, २०७५ ( पूर्वाञ्चल साहित्य प्रतिष्ठान, विराटनगर) ।

१) ओर्ल ओर्ल रहरहरू, सपनाबाट ओर्ल

ओर्लओर्ल मनहरू 
सहरबाट ओर्ल,
ओर्लओर्लदृष्टिहरू 
महलबाट ओर्ल,
ओर्लओर्ल रहरहरू
सपनाबाट ओर्ल
मनहरू मझेरीमा टुकी बल्दै छन् 
ओर्लओर्ल सहरहरू
गामबेँसीतिर ओर्ल ।
झुपडीमा ध्रुवताराहरू बोलाउँदै छन्
ओर्लओर्ल प्रकाशहरू
अँध्यारोतिर ओर्ल ।
खडेरीमा खेतहरू रुझ्दै छन्
ओर्लओर्ल कुर्सीका दृष्टिहरू
बाँझोतिर ओर्ल ।

ओर्लओर्ल पहाडहरू
बेसीतिर ओर्ल
ओर्लओर्ल बेँसीहरू
पहाडतिर पनि ओर्ल,
अस्थिपञ्जरमा पहाड बाँच्दै छ
ओर्लओर्ल मांसपेशीहरू
नागीतिर ओर्ल ।

ओर्लओर्ल कुर्सीका पहाडहरू
पहाडतिर ओर्ल
‘दार्चुलामा’ अतिसारको पैह्रो गएको छ ।
ओर्लओर्ल वैद्यहरू
राजधानीबाट ओर्ल,
‘पाँचथर’मा अनिकाल झरेको छ
ओर्लओर्ल आँखाका नानीहरू 
सिंहदरबारबाट ओर्ल,
सपनाका कुरा गर्नेहरू पनि थुप्रै भए 
सपनाका महलबाट हेर्नेहरू पनि थुप्रै भए 
सपना ओढेर ‘स्वर्ग’ खोज्नेहरू पनि थुप्रै भए, 
तर सपनाबाट ओर्लनेहरू कोही भएनन् 
ओर्लओर्ल रहरहरू अब
सपनाबाट ओर्ल ।
ओर्लओर्ल विचारहरू
च्याँठबाट ओर्ल ।
ओर्लओर्ल मनहरू
विपनामा ओर्ल,
ओर्लओर्ल जाँगरहरू
आलस्यबाट ओर्ल । 
कतै जाडो छ भने 
घाम ओर्ल,
कतै मरुभूमि जाँगर छ भने
वर्षा ओर्ल/पानी ओर्ल,
ओर्लओर्ल कुर्सीका पहाडहरू 
मधेसतिर ओर्ल/हाडतिर ओर्ल ।

ओर्लओर्ल मनहरू 
मुटुतिर ओर्ल,
ओर्लओर्ल दृष्टिहरू 
ढुकढुकीतिर ओर्ल
ओर्लओर्ल रहरहरू
सपनाबाट ओर्ल
दिवास्वप्नबाट ओर्ल ।
ओर्लओर्ल रहरहरू
मान्छेका मनतिर पनि ओर्ल
मान्छे हुनुतिर ओर्ल ।
ओर्ल,
अब सपनाहरूबाट ओर्ल ।

२) प्रवेशनिषिद्ध गोलार्धमा

जाँदै थियौँ,
जाँदाजाँदै नदीले छेक्यो ।
कुनै पुल थिएन,
बाढी आएको थियो
पर्खियौँ
कुर्दाकुर्दै पानी सुक्यो नदीको
पार गर्‍यौँ ।

त्यहाँ पनि बस्न मन थिएन
अघि बढ्यौँ,
फेरि त्यहाँ भयङ्कर हिउँ पयो
पहाडहरू सेताम्मे भए
हिउँले हातगोडा चल्न सकेनन्
पर्खियौँ;
अर्काे साल आयो
हिउँ पग्लियो
फेरि अघि बढ्यौँ ।

त्यहाँ पनि बस्न मन भएन
अझै अघि जानु थियो
बढ्यौँ,
तर त्यहाँबाट उता बढेको भए
तलतिर खसिने डर पलायो
टेबुलको पल्लो कुनामा पुगेर 
अलमलिएको कमिलोझैँ
हामी अघि बढ्न सकेनौँ,
त्यसै दिनदेखि हामी अलमलिइरहेछौँ !

३) विचार

उज्यालो हुँ 
रातले ननाप्नू
मेरा दिनहरू 
आकाश हुँ
नखोज्नू फैलावट
भूगोलमा
चेतना हुँ
नछाम्नु मलाई
खोँगीमा ।

हिँडाइ हुँ
नरोक्नु पैताला
थकानमा
गतिमा गति हुँ
हिलो नछ्याप्नु
उठानमा
सृष्टि हुँ 
कैद नगर्नु
मेरो रचना ।

आकाशको सीमा छैन
क्षितिजले
ननाप्नु दृष्टि 
विचार हुँ
कैद नगर्नु
पर्खालले
म आँधीमा
आँधी हुँ
गतिमा गति ।
०००

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण प्रधान
कृष्ण प्रधान
लेखकबाट थप