काठमाडौँ । रातोपाटी डटकमको प्रस्तुति ‘प्रथम नेपाली महिला’ शृङ्खलाको १८ औँ एपिसोड पुण्यप्रभा ढुङ्गानाका सम्बन्धमा छ । पुण्यप्रभा ढुंगाना ‘यथा नाम तथा गुण’ भएकी व्यक्तित्वको नाम हो । ‘अखिल नेपाल महिला सङ्घ’ की जन्मदातृ तथा संस्थापक अध्यक्ष हुन् उनी ।
पुण्यप्रभा खरी, हक्की, निर्भीक तथा अद्भुत उत्साहकी प्रतीक थिइन् । वि.सं. १९९७ सालदेखि राजनीतिमा अभिरुचि राखी २००३ सालदेखि २०४६ सालसम्म अनवरत महिला हक, हितका दिशामा सक्रिय रहिन् उनी ।
नारी जागरण र नारी हक, हितका निम्ति सतत प्रयत्नशील पुण्यप्रभा आम नेपाली नारीको उत्थानका निम्ति सदैव चिन्तित रहन्थिन् । जीवनकालमै पनि उनले पहुँचका भरमा व्यक्तिगत लाभ उठाएको उदाहरण दिने ठाउँ छैन ।
बरु सधैँ चाकरी र चुक्लीबाजहरूले गर्दा उनले अनावश्यक चिन्ता र हैरानीमा बिताउनुपरेका दिनहरू परिवारमा अझै ताजै छ । स्पष्टवक्ता पुण्यप्रभाले कहिल्यै अगाडि मीठो बोलेर पछाडि विष छर्न जानिनन् ।
यसैले गर्दा पनि उनको हुनुपर्ने जति सम्मान नभएको हो कि उनका स्वभाव जान्नेहरू त्यसै भन्छन् । १०४ वर्षे जहानिया राणाशासनको विरोधमा सशक्त नारीस्वर बनेकी पुण्यप्रभा वि.सं. २००३ सालदेखि प्रजातन्त्र र नारी उत्थानका निम्ति समर्पित भएकी हुन् ।
नारी शिक्षामा जोड दिने पुण्यप्रभा शिक्षालाई नारीको सम्पत्ति मान्दथिन् । वि.सं. २००३ सालमा उनले ‘आदर्श महिला सङ्गठन’ का नाममा गोप्य तवरबाट कार्यक्रम अगाडि बढाएकी थिइन् ।
२००४ सालमा पहिलो पटक भएको नगर पञ्चायतको निर्वाचनमा पुरुषलाई मात्रै मताधिकार रहेको थियो । यसको विरोध गर्दै, महिलाका हकमा पनि मताधिकार हुनुपर्ने माग राख्न श्री ३ पद्मशमशेरकहाँ एक महिलाप्रमण्डल पुगेको थियो ।
यस प्रमण्डलमा पुण्यप्रभाको पनि सक्रिय सहभागिता थियो । वि.सं. १९९७ सालको ‘शहीद काण्ड’ पछि उनको मनमा विद्रोहको भावना सल्कन थालेको हो ।
सातसालको क्रान्तिमा उनी निकै सक्रिय भइन् । हातमा झन्डा लिई ‘प्रजातन्त्र जिन्दावाद’ भन्दै उनले ‘कफ्र्यु’ तोडेका घटना जनमानसमा पछिसम्मै उत्साहको कारक बनेको थियो ।
राणाशासनको विरोध गरेबापत २००५ ताका उनी श्रीमान् सहित चारभञ्ज्याङ (काठमाडौँ) बाट निर्वासनमा पनि परिन् । राणाशासनको अन्त्य नहुँदै उनले वि.सं. २००७ मा ‘अखिल नेपाल महिला सङ्घ’ स्थापना गरेकी हुन् ।
ठमेलस्थित पिता लेखनाथ पौड्यालको घरमा खडा गरिएको यो सङ्घ केही समय त्यौड टोलमा घर भाडामा लिएर चलाइएको थियो । त्यसपछि त्रिदेवी मार्गमा सञ्चालन गरियो ।
अखिल नेपाल महिला सङ्घकी जन्मदातृ तथा संस्थापक अध्यक्ष पुण्यप्रभा हुन् । यसमा माधवी अधिकारी, मनकान्छी रानी, मित्रुविन्दा शाह, नानी छोरी प्रधान, सुश्री मञ्जु, सुश्री उर्मिला, सुश्री सुशीला सत्याल, रेवन्तकुमारी आचार्य (नेपाल प्रजा परिषद्का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री टङ्कप्रसाद आचार्यकी पत्नी) आदि सम्बद्ध रहेको उल्लेख पाइन्छ ।
यो सङ्घ २०१७ सालसम्म सक्रिय रह्यो ।
पुण्यप्रभाले विभिन्न क्षेत्रमा महिला सहभागिताका लागि सङ्घर्ष गरेकी छिन् । भनिन्छ, वि.सं. २००८ सालमा उनकै सत्प्रयासको फलस्वरूप प्रहरी सेवामा महिला सहभागिता हुन थालेको हो ।
‘अखिल नेपाल महिला सङ्घ’ को पहिलो अध्यक्ष हुन्– पुण्यप्रभा ।राजा त्रिभुवनबाट सल्लाहकार सभा गठन हुँदा उनी त्यसको सदस्य मनोनीत भएकी थिइन् ।
वि.सं. २००९ सालदेखि २०१५ सम्म उनी सल्लाहकार सभाको सदस्य रहिन् । विरोधी पक्षको प्रवक्ताका रूपमा पनि उनले भूमिका निर्वाह गरेकी थिइन् ।
२००९ सालमा उनले ‘राजबन्दी अधिकार सुरक्षा समिति’ को सक्रिय सदस्यको जिम्मेबारी पनि वहन गरिन् । २०११ तथा २०१४ सालको नेपाली काँगे्रसको ‘सत्याग्रह’ आन्दोलनमा पुण्यप्रभा क्रियाशील रहेकी थिइन् ।
पछिल्लो ‘सत्याग्रह’ मा पानीको फोहराको तोडले गर्दा उनी थला समेत परिन् । वि.सं. २०१६ सालदेखि नेपालमा ‘अन्तर्राष्ट्रिय नारी दिवस’ मनाउन थालिएको हो ।
नारी दिवसमा कर्मचारी महिलालाई विदा दिनुपर्ने माग उनले नै अगाडि सारेकी हुन् । उनको माग सुनुवाइ भयो, जुन अहिलेसम्म जारी छ ।
सत्र सालमा सबै सङ्गठन विघटन गरिएको थियो । परिवर्तित परिप्रेक्ष्यमा ‘नेपाल महिला सङ्गठनको तयारी समिति’ को सदस्य पनि उनी भइन् ।
२०२३ सालमा ‘निर्देशन परिषद्’ को सदस्य हुँदै सचिवको कार्यभार सह्मालिन् । सोही साल, ‘नेपाल महिला सङ्गठन’ को कोषाध्यक्ष भएकी पुण्यप्रभा २०२८ सालमा त्यसको निर्वाचित अध्यक्ष भएकी हुन् ।
सन् १९७५ (वि.सं. २०३१) मा अन्तर्राष्ट्रिय नारी वर्ष आयोजना गरिंदा उनले नेपालको अध्यक्षका रूपमा आफ्नो कार्यकुशलता प्रदर्शन गरेकी थिइन् । रेडक्रस सोसाइटीकी केन्द्रीय सदस्य रहेकी थिइन् उनी ।
२०४६ मा ‘जाँचबुझ समिति’ को सदस्यमा पनि मनोनीत भइन् । यसबीच, उनले महिला साक्षरता, कानुनी शिक्षा, महिला सीप विकास तथा परिवार नियोजनतर्फ समेत अनेक काम गरिन् ।
पुण्यप्रभा सहरिया सम्पन्न महिलालाई ग्रामीण दुःखी महिलाको सेवा र उत्थानमा लाग्न उत्प्रेरणा जगाउने काम गर्थिन् । महिला हक, हितका दिशामा २०४६ सालसम्मै उनको क्रियाशीलता रह्यो ।
त्यसपछि, स्वास्थ्यको प्रतिकूलताले उनलाई अगाडि बढ्न दिएन । २०३४ सालमा चावहिल वडाको वडाध्यक्ष भएकी थिइन्– पुण्यप्रभा ।
समाज सेवामा विश्वविख्यात मदर टेरेसासँग उनको अत्यन्त राम्रो सम्बन्ध थियो । मदर टेरेसा नेपाल आउँदा उनकै घरमा बस्नुले पनि सम्बन्धको प्रगाढता छर्लङ्ग्याएको छ ।
काठमाडौंमा ‘पशुपति क्याम्पस’ को स्थापना र सञ्चालनमा पनि उनले बिर्सनै नसकिने योगदान गरेकी छिन् । केही समय क्याम्पसको अध्यक्षता समेत ग्रहण गरेकी पुण्यप्रभा यसका हरेक गतिविधिमा सरिक हुने गर्थिन् ।
‘प्रतिभा’ र ‘महिला बोल्छिन्’ पत्रिकाको प्रकाशन, सम्पादनमा लागेकी पुण्यप्रभाले नारी जागरणका निम्ति विभिन्न प्रयास अघि बढाएकी थिइन् । ‘अखिल नेपाल महिला सङ्घ’ द्वारा २००९ भदौ १ गते ‘प्रतिभा’ पत्रिकाको प्रकाशन थालिएको हो ।
आर्थिक अभावका कारण यो पत्रिका एक वर्षभन्दा बढी छापिन सकेन । ‘महिला बोल्छिन्’ पत्रिका चाहिं २०२३ सालमा प्रकाशित भयो ।
यस पत्रिकामा उनी प्रधान सम्पादक थिइन् । संविधानमै महिलाका हक, हित प्रत्याभूत गराउन पुण्यप्रभाले ठूलो काम गरेकी छिन् । ‘नेपाल अधिराज्यको संविधान– २०१५’ निर्माण भइरहेको बेलामा नारी हितका निम्ति उनले बढाएको सक्रियता अविस्मरणीय छ । उनकै नेतृत्वमा संविधान सुधार आयोगमा टोली गई तत्कालीन संविधान सुधार आयोगका अध्यक्ष भगवतीप्रसाद सिंहलाई माग प्रस्तुत गरिएको थियो । राजदरबारमा समेत गई प्रस्ताव दर्ता गरिएको स्मरण गर्दै कमल राणाको भनाइ छ– ‘ती सबै माग संविधानमा समावेश गरिंदा हाम्रो उत्साह निकै बढ्यो ।’
महासभामा प्रथम नेपाली उपाध्यक्ष हुने श्रेय हासिल गरेकी कमल राणाका अनुसार ‘२०१३ सालमा ‘संयुक्त नारी समिति’ स्थापना गरिएको थियो । यसमा सर्वसम्मत रूपमा अध्यक्ष बनेकी थिइन्– पुण्यप्रभा ।
कोषाध्यक्षमा रेवन्तकुमारी आचार्य र सचिवमा कमल राणा थिइन् । ‘पुण्यप्रभाकै नेतृत्वमा हामीले तन, मन र धन लगाएर महिलाको हक, हितका लागि काम गरेको’ स्मरण कमल राणाको छ ।
नेपाली महिलाको प्रतिनिधित्व गर्दै पुण्यप्रभाले विभिन्न मुलुकमा पुगी नारी उत्थानका लागि वकालत गरेकी थिइन् । २०१३ सालदेखि उनले पटक, पटक अन्तर्राष्ट्रिय मञ्चमा पुगी नारी हितका निम्ति आवाज बुलन्द पारेकी थिइन् ।
चीन, उत्तर कोरिया, भारत, तत्कालीन सोभियत सङ्घ (रुस), फिनल्यान्ड, अस्टे«लिया आदि देशमा उनी पुगेकी हुन् । नारी हितका लागि सदैव अग्रसर पुण्यप्रभा २०४६ सालदेखि अस्वस्थ हुँदै गइन् ।
उनी कुनै राजनीतिक दलसँग पनि आबद्ध भइनन् । स्वास्थ्य अनुकूल रहेन, पक्षाघात आदि समस्या भए ।
अस्वस्थता बढ्दै गयो र पछिल्ला ६/७ वर्ष उनी थलै परिन् । १९८१ सालको भाद्र द्वितीया तिथिका दिन ठमेल, काठमाडौँमा जन्मिएकी पुण्यप्रभाकी माता सत्यवती पौडेल र पिता कविशिरोमणि लेखनाथ पौड्याल हुन् ।
२०५३ साउन २७ गते उनले पार्थिव जीवनलीला अन्त्य गरेकी हुन् । उनको ११ वर्षको उमेरमा चाबहिलका बुद्धिनाथ ढुङ्गानासित विवाह भएको हो ।
उनका छोरा बद्रीविनोद ढुङ्गाना हुन् । पुण्यप्रभाको अर्को उल्लेख्य पक्ष साहित्य हो ।
कविशिरोमणि लेखनाथ पौड्यालकी छोरी पुण्यप्रभा राम्रा कविता रचना गर्थिन् । कवितामा उनले पदक समेत पाएकी छिन् ।
बाबुका कारण, वरिष्ठ साहित्यकारहरूसित उनको गहिरो सम्बन्ध थियो । उनका सम्बन्धमा २०५४ सालमा ‘जागरूक महिला समूह’ द्वारा ‘श्रद्धाञ्जली स्मारिका’ प्रकाशन गरिएको छ ।
उक्त स्मारिकाको सङ्कलन तथा सम्पादन कार्य कुन्तीदेवी भट्टराईबाट भएको छ । भाषणले मात्रै महिला जागरण नहुने धारणाकी पक्की भएकीले नै उनी बारम्बार देशका कुनाकन्दरामा पुगिरहन्थिन् । उनले नारी शिक्षा, व्यावसायिक सीप र राजनीतिक चेतनालाई महिला विकासका निम्ति ठुलो अस्त्र मानेकी थिइन् ।
उनले प्रजातन्त्र, मानव अधिकार, नारीको हक, हित र कल्याणका दिशामा गरेका योगदानहरू कसैले सम्झे पनि, नसम्झे पनि प्रतिफलित हुँदै गइरहेका छन् । उनले नारी हक, हितका क्षेत्रमा गरेको योगदान देख्ने, सुन्ने र जान्ने अझै जीवित रहेका छन् । जो मुक्तकण्ठले पुण्यप्रभादेवीका देनको सुस्मरण गर्न रत्ती अनकनाउँदैनन् ।
प्रतिक्रिया