नेपालको क्रिकेटसँग जोडिन पाउँदा निकै उत्साहित छु : नवनियुक्त प्रशिक्षक स्टुअर्ट ल
_kIz9AFH5lK.jpg)
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक स्टुअर्ट लले नेपालको क्रिकेटसँग जोडिन पाउँदा निकै उत्साहित भएको बताएका छन् । शनिबार मुलपानी क्रिकेट मैदानमा सञ्चारकर्मीसँगको अन्तक्रियामा उनले नेपाली युवा खेलाडीको प्रतिभा देखेर आफुले नेपालको प्रशिक्षकका लागि आवेदन दिएको उल्लेख गर्दै नेपालको क्रिकेटसँग जोडिन पाउन निकै उत्साहित भएको बताएका हुन् ।
उनले सबैको मुख्य लक्ष्य नेपाललाई फेरि विश्वकपमा पुर्याउनु भएको र त्यसमा ध्यान केन्द्रीत गर्ने उल्लेख गरे । नेपालमा व्यावसायिक क्रिकेट संरचना र अभ्यास सुविधा निकै राम्रो देखिएको उनले बताए । उनले अहिले क्रिकेट टीममा व्यापक परिवर्तन भन्दा पनि खेलाडीलाई दिनुपर्ने भूमिकामा स्पष्टता देखिएको जिकिर गरे ।
त्यस्तै नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले अहिले नै प्रशिक्षकलाई धेरै बोझ दिने भन्दा पनि एकदिवसीय मान्यतामा ध्यान केन्द्रीत गर्नुपर्ने बताए । नयाँ प्रशिक्षकसँग रहेर नेपाली टीमले राम्रो नजिता निकाल्ने उनले बताए ।
खड्काले नेपाली क्रिकेटमा राम्रो जग बसाल्नका लागि क्रिकेट संघ लागिपरेको धारणा राखे । नवनियुक्त प्रशिक्षक स्टुअर्ट लले शनिबारबाटै जिम्मेवारी सम्हाल्दै राष्ट्रिय क्रिकेट टोलीसंग प्रशिक्षणमा समेत सहभागी भएका छन् । नेपाली टोली आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग–२ शृंखलाको तयारीमा रहेको छ ।