शनिबार, १३ वैशाख २०८२
ताजा लोकप्रिय
वास्तु

भाडाको घरमा बस्दा वास्तुबारे के–के ख्याल गर्नुपर्छ ?

शनिबार, १३ वैशाख २०८२, १४ : ००
शनिबार, १३ वैशाख २०८२

घर भनेको केवल भौतिक संरचना मात्र होइन, जीवनशैलीको सन्देश बोकेको स्थान हो । चाहे त्यो आफ्नै घर होस् वा अरुको घरमा लिइएको डेरा । दुवै हाम्रो दैनन्दिन जीवनका आधारभूत निवास हुन् । तर धेरैजसो डेरामा बस्नेहरू सोच्छन्, ‘यो त आफ्नो घर होइन, वास्तु मिलाउनुपर्ने के आवश्यकता ?’ यही सोच जीवनमा नकारात्मक प्रभाव ल्याउने कारण बन्न सक्छ । सहरीकरण र आर्थिक दबाबले गर्दा धेरै व्यक्तिलाई आफ्नै घर बनाउन कठिन छ । जसले गर्दा अर्काको घरमा डेरा लिएर बस्नुपर्छ ।

डेरा भन्नेबित्तिकै सानो कोठा, सीमित स्वतन्त्रता, अरुको बनाएको संरचना भन्ने अनुभूति आउन सक्छ तर समयको धेरै हिस्सा त्यही डेरामा बितिरहेको हुन्छ । सुत्ने, खाने, पढ्ने, ध्यान गर्ने, सोच्ने, योजना बनाउने र कार्यान्वयनमा लागि पर्ने यी सबै क्रियाकलाप त्यहीँबाट हुन्छन् । त्यसैले त्यो स्थान पनि ऊर्जामय, सन्तुलित र सकारात्मक हुन आवश्यक छ । जुन घरमा या डेरामा बसिन्छ त्यहीँबाट जीवन अघि बढिरहेको हुन्छ । आफ्नो जीवन कस्तो गतिमा चल्दै छ भन्ने कुराको प्रतिविम्ब हो आफ्नो निवास, चाहे त्यो डेरा होस् या घर । सही वास्तुले मात्र जीवनलाई सकारात्मक गति दिई सन्तुलनमा ल्याउने काम गर्छ ।

आजको द्रूत गतिमा बदलिँदो समाजमा डेरा बस्नेहरू युवा, विद्यार्थी, जागिरे र व्यवसायीको ठुलो हिस्सा हुन् । उनीहरूको जीवनमाथि प्रत्यक्ष असर पार्ने स्थानको ऊर्जाबारे चेतना फैलाउनु जरुरी छ । किनकि डेरा सानो हुन्छ तर त्यसले जीवनको महत्त्व कम गर्दैन । त्यसैले सानो स्थानमा पनि ठुला चेतनासाथ बाँच्ने कलालाई अँगाल्न आवश्यक छ । जीवन जहाँ बितिरहेको छ, त्यसलाई वास्तुसम्मत बनाउन हामी सबै सचेत हुनुपर्छ । वास्तु विज्ञानले डेरामा बस्नेहरूका लागि सहज वास्तु निरीक्षण, अवलोकन र सुधारका उपाय प्रदान गर्दै आएको छ ।

डेरामा कोठा सानो हुन्छ । यही सानो ठाउँमै पनि अग्निको स्थान गलत भयो भने त्यसले जीवनमा नकारात्मक असर पार्न थाल्छ । शौचालय ब्रह्मस्थान (घरको मध्य भाग) नजिक भयो वा शयनकक्ष दक्षिण–पश्चिममा नभई उत्तरपूर्वमा भयो भने जीवनमा मानसिक अशान्ति, अस्थिरता, रोग वा आर्थिक समस्या आउन सक्छन् । यसमा केवल सचेतनाको जरुरी छ । त्यसैले भाडामा बस्नेहरूले आफ्ना लागि भाडाको घर खोज्दै गर्दा वास्तुका न्यूनतम सिद्धान्तहरू अपनाउने हो भने जीवनमा सकारात्मकता ल्याउन सकिन्छ ।

घर या डेरा खोज्दै हुनुहुन्छ भने डेरामा घामको किरण प्रवेश गर्छ गर्दैन, अवलोक गर्नुपर्छ । वायुको अवस्था के छ ? हावा सन्तुलित या आवागमनमा बाधा नहोस् भनी ध्यान दिनुपर्छ । पानी निकासको व्यवस्था उचित भए/नभएको ख्याल राख्नुपर्छ । प्रकाश या अग्नि, जल, वायु  यी सबैको समस्या वास्तु दोषका संकेत हुन् । यस्ता साना कुराहरूले दीर्घकालीन रूपमा मानसिक र शारीरिक असर पार्दछ । जसलाई सामान्य वास्तु सुधारले ठुलो प्रतिफल दिएको हुन्छ ।

डेरा आफ्नो घर नभएकाले संरचना परिवर्तन गर्न सकिँदैन भन्ने धारणा गलत होइन तर वास्तुशास्त्रमा यस्ता अवस्थाका लागि पनि वैकल्पिक समाधान छन् । वास्तु पिरामिड, यन्त्र, रङ, दिशानुकूल साजसज्जा, हर्बल प्लान्ट्स र ध्यान अभ्यास, हवना आदिबाट वास्तु शुद्ध शुभ बनाउन सकिन्छ ।

त्यसका लागि सर्वप्रथम आफ्नो डेराको उत्तर–पूर्व दिशा सफा र खुला राख्नुहोस् । यसले मानसिक स्पष्टता र ध्यान केन्द्रित गर्न सहयोग गर्छ । शयनकक्ष दक्षिणपश्चिम वा दक्षिण दिशामा हुने गरी व्यवस्था गर्न सकिन्छ । यसो गर्दा जीवनमा स्थिरता आउँछ । ढोकाअगाडि वास्तु रक्षायन्त्र वा स्वस्तिक चिह्न राख्दा नकारात्मक ऊर्जाको प्रवेशलाई रोक्छ । नुनपानीले नियमित रूपमा पुछ्ने गर्दा पनि नकारात्मक ऊर्जा हटाउन सहयोग पुग्छ ।

तपाईं आफैँ पनि आफ्नो डेरामा वास्तुदोष छ वा छैन आफैँ थाहा पाउन सक्नुहुन्छ । ती सबैले थाहा पाउने केही वास्तु दोषका लक्षण यस प्रकार छन् । जहाँ ब्रह्मस्थानमा शौचालय वा स्टोर बनाइएको छ; पूर्व वा उत्तर दिशाबाट प्रकाश र हावा प्रवेश गर्दैन; शयनकक्ष आग्नेय वा ईशान कोणमा छ; ढोकाबाट सिधै ओछ्यान देखिन्छ; किचन र शौचालय नजिक–नजिक छ; ईशानकोणमा भान्सा र शौचालय छ भने त्यहाँ वास्तुदोष छ । यी सानाजस्ता देखिने तर असरदार दोषहरूले मनोविज्ञान, पाचन प्रणाली, निद्रा, एकाग्रता तथा धनसम्बन्धी समस्या ल्याउन सक्छन् । जसको उपचार गरी वास्तुदोष निवारण गर्नु अनिवार्य हुन्छ ।

(लेखक वास्तु विज्ञान प्रालिका सञ्चालक तथा दक्षिण एसियाली ज्योतिष महासंघका महासचिव हुन् ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भरतमणि ज्ञवाली
भरतमणि ज्ञवाली
लेखकबाट थप