शनिबार, १३ वैशाख २०८२
ताजा लोकप्रिय
नियात्रा

कमलबजारमा ‘हवैजहाज’ त उड्यो, चलेन बिजुलीपङ्खा

कर्णालीले घेरेको तुर्माखाँदले पाएन पानीको लाभ, बनेन जङ्गलघाटको बाटो
शनिबार, १३ वैशाख २०८२, १३ : ३०
शनिबार, १३ वैशाख २०८२

अछामको सदरमुकाम मङ्गलसेनबाट हामी पूर्व–दक्षिण दिशामा अगाडि बढिरहेका थियौँ । हाम्रो गन्तव्य तुर्माखाँद थियो । पूर्वी अछामको कुनामा रहेको यो क्षेत्र निकै फरक रहेको पाएँ मैले । तुर्माखाँद कर्णाली प्रदेशको सुर्खेत र दैलेख जिल्लासँग सीमा जोडिएको पालिका हो । अछाममा तमाखुलाई तम्मु र पहाडमाथिको स्थानलाई खाँद भन्ने गरिन्छ । यी दुई शब्दको योगले तुर्माखाँद नामकरण भएको जनश्रुति छ । 

त्यसै दिन अर्थात् २०७६ जेठ १० गते तुर्माखाँद पुग्नुपर्ने हाम्रो निर्धारित कार्यक्रम थियो । किनकि त्यसको भोलिपल्ट (२०७६ जेठ ११) देखि तुर्माखाँदमा आधारभूत पत्रकारिता तालिम सञ्चालन गर्नुपर्ने थियो । 

हामीले जेठ ९ गते धनगढीबाट यात्रा प्रारम्भ गरेका थियौँ । हामी (म, पत्रकारहरू— मनमोहन स्वार, कैलालीका गणेश चौधरी र डोटीका डिलबहादुर सिंह) ले ९ गते मङ्गलसेनमा रात बिताएका थियौँ । 

मलाई अछाम र डोटीको सिमाना चौखुट्टेपछि मङ्गलसेनसम्मको अछामले भन्दा पूर्वी अछामले केही फरक, केही अलग र केही नयाँ अनुभूति गराइरहेको थियो । साँफेको फाँटलाई अपवाद मान्ने हो भने यो (पूर्वी–दक्षिणी) क्षेत्रमा निकै बढी फाँटयुक्त देखेँ मैले । 

धनगढीबाट यात्रा सुरु गर्नुअघि मलाई लागिरहेको थियो— पूर्वी–दक्षिणी अछाम तुलनात्मक रूपमा विकट होला तर त्यसो होइन रहेछ । यसबारे मैले अछामका मनमोहनजीसँग जिज्ञासा राखेँ । उहाँको उत्तर थियो— त्यसो होइन नि ! अहिले तपाईंले यहाँ पक्की सडक देखिरहनुभएको छ; यातायातका प्रशस्त साधन देखिरहनुभएको छ; सडकका छेउछाउमा पक्की घर, प्रत्येक घरमा बिजुली र साना बजार देखिरहनुभएको छ; त्यसैले तपाईंलाई यो क्षेत्र सुगम लागेको हुन सक्छ तर यो क्षेत्र सधैँ यस्तै थिएन नि ! 

मैले जिज्ञासा थपेँ— हो र ! विकटै थियो ?

मनमोहनजीले भने— अछामको यो क्षेत्र कर्णाली नदीसँग जोडिन्छ । जहाँबाट अगाडि बढे पनि पुगिने भनेको कर्णालीको तीरमै हो । अहिले त कर्णालीको सेरोफेरो विकटै मानिन्छ भने कल्पना गर्नुस् त विगत कस्तो थियो होला ? 

उनले मतिरै प्रश्न सोझ्याए ।

मनमोहनजीले वरपरको भूगोलबारे जानकारी दिइरहेका थिए । पञ्चदेवल विनायक हुँदै अगाडि बढ्दा विष्टवाडापछि अछामको सीमा छिचोलिन्छ र कर्णाली नदी तरेर दैलेखको राकमनजिक कर्णाली राजमार्गमा जोडिन्छ । अहिले त कर्णालीमा पुल बनिसकेको छ । अब दैलेख र सुर्खेत जान कोहलपुरबाट उकालो लाग्नुपर्ने बाध्यता छैन । 

उनी भन्दै थिए— अर्को बाटो कमलबजार हुँदै तुर्माखाँदको बाटो अगाडि बढ्नुभयो भने तुर्माखाँदबाट १० किलोमिटरको दूरीमा जङ्गलघाट पुगिन्छ र त्यहाँ कर्णालीसँग भेट हुन्छ तर यो बाटो तुलनात्मक रूपमा विकट मानिन्छ । 

स्थानीयहरूका अनुसार कैलालीको चिसापानी–जङ्गलघाट–तुर्माखाँद–मङ्गलसेन पक्की सडक बन्ने भन्ने कुरा निकै अघिको हो । टेन्डरको सूचना जारी हुने र सकार्ने कुरा भएको थियो तर निर्माणकार्य सुरु हुन सकेन । उनीहरू भन्छन्— यो सडक बन्ने हो भने अछामका साथै डोटी र बाजुरालाई कैलाली, बर्दिया र बाँकेसँग जोड्न सकिन्थ्यो । 

  • गीतमा गैटाड (गैरिटाड)

मैले अघि मनमोहनजीले भनेको सम्झेँ । एकछिन उनको कुरा गमे र मनमनै स्विकारेँ— हो नि, देख्नेलाई मात्र यथार्थबारे के थाहा हुन्छ ? पीडा र व्यथा त भोग्नेलाई न थाहा हुन्छ । साँच्चै मैले जीवनमा पहिलोपटक यो क्षेत्र टेकिरहेको थिएँ, घुमिरहेको थिएँ । म घुम्न न आएको हो । जीवन बिताउँदाका व्यवहार त फरक हुन्छन् । मैले वर्तमानको चिल्लो सडकमा गाडीको आरामदायी यात्रा भोगिरहेको थिएँ, यहाँको सत्य मनमोहनजीहरूलाई नै थाहा हुने कुरा हो । धनगढीमा लामो समय व्यतीत गरे पनि अछामसँग बालापनको सङ्गत त निश्चय पनि उनको स्मृतिमा शेष छ । मैले उनका कुरा अस्वीकार गर्नुपर्ने कुनै कारण थिएन । 

गाडीको झ्यालबाट हेर्दा कमलबजार आइसकेको रहेछ । देखेँ— रित्तो विमानस्थलको छेवैमा रहेको बिजुली पङ्खा हावाको वेगले घुमिरहेको थियो । अहिले यो चल्दैन अर्थात् यसबाट विद्युत् उत्पादन हुँदैन ।

हाम्रो यात्रा निरन्तर जारी थियो । मनमोहनजीको गृहजिल्ला त हो तर उनी पनि यो भूगोलमा निकै पछि आएका थिए । अर्थात् यो भूगोलको धेरै यथार्थ यिनको विस्मृतिमा गइसकेको थियो सायद । कतिपय ठाउँका बाटाबारे स्पष्ट जानकारी यिनले पनि दिन सकेका थिएनन् । हामीलाई समयको अलि चाप नै थियो । सोही दिन तुर्माखाँद पुग्नुपर्ने बाध्यताका कारण पनि बाटोको दृश्यावलोकनमा हामीले धेरै बढी समय खर्चिन सक्ने अवस्था थिएन । अवलोकनको विषयलाई हामीले पछिका लागि भनेर पन्छाएर यात्रा जारी राख्यौँ । 

मङ्गलसेनबाट करिब सात–आठ किलोमिटरको यात्रापछि गैरिटाड भन्ने स्थान आउँछ । सम्म फाँट परेको यो ठाउँमा सानो बजार छ । स्थान हेर्दा उब्जाउ भूमि होला भन्ने अनुमान सहजै गर्न सकिन्थ्यो । यो स्थानमा पहिले ठुलो मेला लाग्थ्यो रे । मेलालाई स्थानीय भाषामा राम पनि भन्दा रहेछन् । यो स्थानको परिचय र पहिचान गीतमार्फत गरिएको छ । मैले स्थानीय पत्रकार सुशील भण्डारीले सुनाएको स्थानीय भाषामा गाइने दुई पंक्ति सम्झिए :

दिउँसै आउने, दिउँसै जाने गैटाड राम क्या छ ?

नभनी नहुने क्या छ, भनेर काम क्या छ ?

यो गीतले गैरिटार वा गैटाडको राम्रै परिचय दिन्छ । 

  • झुक्किएरै पुगियो पञ्चदेवल र विनायक

गैरिटाडबाट करिब नौ किलोमिटर अगाडि पुगेपछि प्रसिद्ध कमलबजार आउँछ । हामी जानुपर्ने त कमलबजार थियो तर पक्की सडकमा सोझै हुइँकिँदा उल्टोतर्फ पञ्चदेवल विनायक पुगेछौँ । पञ्चदेवल विनायक अछामका लागि होइन सुदूरपश्चिम प्रदेशकै एक महत्त्वपूर्ण ऐतिहासिक धार्मिक पर्यटकीय गन्तव्य हो । यहाँ केही कलात्मक मन्दिर छन् । यिनको सम्बन्ध इतिहाससँग छ । यो क्षेत्र कुनै वेलाको शक्तिशाली सिञ्जा साम्राज्य र पछि अछाम राज्यको महत्त्वपूर्ण देवस्थलका रूपमा रहेको मानिन्छ । 

यो क्षेत्र हुँदै अगाडि बढेपछि र विष्टवाडासम्म पुगेपछि अछाम कट्छ । त्यसपछि पुलबाट कर्णाली तरेर पारी दैलेख पुगेपछि कर्णाली लोकमार्ग पुगिन्छ । हामीले पञ्चदेवल विनायक आउनुपर्ने पूर्वनिर्धारित कार्यक्रम थिएन । हामीले त कमलबजार पुग्नुपर्ने थियो, तर पक्की सडकले झुक्याएर हामीलाई यहाँ पुर्‍याएको थियो तर कहिलेकाहीँ जे हुन्छ रामै्र हुन्छ भनिन्छ । झुक्किएरै सही पञ्चदेवल विनायक यात्रा स्मरणीय रह्यो । पछि स्थानीयसँग कमलबजार जाने बाटो सोधेर हामी अगाडि बढ्यौँ ।


अछाममा तमाखुलाई तम्मु र पहाडमाथिको स्थानलाई खाँद भन्ने गरिन्छ । यी दुई शब्दको योगले तुर्माखाँद नामकरण भएको जनश्रुति छ ।


 

  • विमानस्थल र हावा बिजुली

कमलबजार पूर्वी अछामको प्रसिद्धमध्येको एक हो । पुरानो अछाममा मूलतः पाँचवटा व्यापारिक केन्द्र थिए— मङ्गलसेन, बयलपाटा, साँफे, विनायक र कमलबजार । यी पाँच बजारले कुनै वेला स्थानीयलाई मात्रै दैनिक उपभोग्य माल–सामानको आपूर्ति गर्दैनथे । बरु छिमेकी बाजुरा, डोटी, हुम्ला, दैलेख, सुर्खेत, जुम्ला र कालिकोट जिल्लाका लागि पनि आपूर्ति गर्दथे । कमलबजारले अछामको पूर्वी क्षेत्रका साथै दैलेख, सुर्खेत, कालिकोटको बजारको अभाव पूरा गर्ने गरेको इतिहास साक्षी छ । आजपर्यन्त यो सानो बजार आफ्नो यो महत्त्व कायम गर्न सक्षम छ । कमलबजार हालको कमलबजार नगरपालिकाको केन्द्र पनि हो । यो नगरपालिकालाई पञ्चदेवल विनायक नगरपालिका, मङ्गलसेन नगरपालिका र तुर्माखाँद गाउँपालिकाले घेरेको छ । 

हिजो मङ्गलसेनमा रात बिताउने क्रममा राजनीतिमा रुचि राख्ने पत्रकार यज्ञ ढुङ्गानासँग एक प्रकारको सहमति भएको थियो— कमलबजारमा एकछिन भए पनि  सन्ध्याकालीन बसाइ बस्ने । सहमति भङ्ग गर्ने कुनै कारण थिएन, नमान्ने विकल्प पनि थिएन । कमलबजारमा यज्ञ हामीभन्दा पहिले नै पुगेर एक किसिमले बाटो छेक्ने स्टाइलमा बसेका थिए । हामीलाई भने समयले च्याप्दै लगेको थियो । एक त विनायक जाँदा–आउँदा समय व्यय भयो । अब एकछिन यहाँको विश्राम । यज्ञको कुरा काट्न सक्ने हिम्मत हामीसँग थिएन । यज्ञले नै भनेको ठाउँमा हामी बस्यौँ र एकछिन रङ्गीन समय बितायौँ । सायद उनले यो व्यवस्थापन यहाँ दिउँसै आएर गरेका थिए । साँझको करिब ५ बजिसकेको थियो । हामीलाई अगाडि बढ्ने हतार त थियो तर यहाँसम्म आइसकेपछि विमानस्थल र बिजुली पङ्खा (हावाबाट विद्युत् उत्पादन गर्ने प्रविधि) को हतारमै भए पनि एकपटक अवलोकन गर्नैपर्ने थियो । 

WhatsApp Image 2025-04-26 at 09.35.36 (1)

पहाडबिच अवस्थित कमलबजार सानो समथर भूभाग रहेको भूमि हो । त्यहाँ एउटा सानो विमानस्थल छ । नेपाली काङ्ग्रेसका नेता तथा सांसद रामबहादुर विष्टका अनुसार २०४९ सालमा उनैले यो विमानस्थलको शिलान्यास गरेका थिए । धेरैपछि (२०८१ सालमा) एउटा परीक्षण उडान भयो । कमलबजार नगरपालिकाको सक्रियतामा यही वैशाख ७ गतेदेखि साताको एकपटक उडान हुने निश्चित भएको छ । यस अनुसार उक्त दिन नेपालगन्ज–कमलबजार–काठमाडौँ उडान भएको छ । परीक्षण उडानको कुरा नगर्ने हो भने यो विमानस्थलका लागि यो नै अहिलेसम्मको एक मात्र उडान हो ।  वास्तवमा जुनवेला यो विमानस्थलको अवधारणा अघि सारियो, त्यसवेला अत्यन्त सान्दर्भिक थियो । साँफेको विमानस्थलले सम्पूर्ण जिल्लाको आवश्यकता पूरा गर्न सक्ने अवस्था थिएन । यस्तोमा कमलबजारको विमानस्थलले अछामको आधाभन्दा बढी भूगोलका साथै छिमेकी जिल्ला दैलेख, सुर्खेत र कोटबाडामा विमानस्थल नबनिसकेको कालिकोटसम्मका जनताको आवागमनको आवश्यकतालाई सम्बोधन गर्न सक्ने सम्भावना थियो र अहिले पनि छ । हेर्नु छ, उडानको यो क्रमले कतिको निरन्तरता पाउँछ । एउटा कुरा भने पक्का हो, यो उडानसँगै लामो पर्खाइपछि यहाँका जनताको सपना अन्ततः साकार भएको छ । यहाँ विमान उडेपछि पत्रकार यज्ञले फोन सम्पर्क गरी मलाई हर्ष साटेका थिए— दाजु, यहाँ हवैजहाज त उड्यो तर त्यो बिजुली पङ्खा भने चलेको छैन ।  

कमलबजारको अर्को महत्त्वपूर्ण चिनारी हो, बिजुली पङ्खा (वायु विद्युत्) । कमलबजारमा प्रायः चौबिसै घन्टा बतास चल्ने गर्छ । विगतमा यो बतासबाट बिजुली उत्पादन गर्ने योजना कार्यान्वयनमा ल्याइएको रहेछ । दुईवटा पङ्खा जडान गरेर हावाबाट बिजुली उत्पादन गर्ने प्रविधि यहाँ विकास गरियो र उत्पादित बिजुली स्थानीयलाई वितरण गर्ने गरिएको स्थानीयको अनुभव छ । सम्भवतः नेपालकै पहिलो बिजुली पङ्खा परियोजनाका रूपमा स्थापित यो योजना धेरै वर्षसम्म चल्न सकेन । स्थानीय एकजना होटल सञ्चालकका अनुसार जुनबेला यो सञ्चालनमा आयो, त्यसवेला यो निकै उपयोगी साबित भएको थियो रे । तर अब त सबैतिर बिजुली पुगिसकेपछि यो परियोजनाको सान्दर्भिकता एक किसिमले सकिएको छ । अहिले यो परियोजना बन्द छ । 

WhatsApp Image 2025-04-26 at 09.35.37 (1)

मनमोहनजीको आवागमन यो क्षेत्रमा कमकमै भए पनि यहाँका थुप्रै विषयवस्तुका बारेमा उनलाई जानकारी रहेछ । कमलबजार, विमानस्थल र बिजुली पङ्खाका बारेमा मनमोहनजी र यज्ञजीले मलाई प्रशस्त जानकारी दिए । यसबारेमा पछि मैले स्थानीय पत्रकार सुशील भण्डारीसँग पनि केही जानकारी सङ्कलनको प्रयास गरेको थिएँ ।

साँच्चै मैले जीवनमा पहिलोपटक यो क्षेत्र टेकिरहेको थिएँ, घुमिरहेको थिएँ । म घुम्न न आएको हो । जीवन बिताउँदाका व्यवहार त फरक हुन्छन् । मैले वर्तमानको चिल्लो सडकमा गाडीको आरामदायी यात्रा भोगिरहेको थिएँ, यहाँको सत्य मनमोहनजीहरूलाई नै थाहा हुने कुरा हो ।

छिटो गर्ने भन्दाभन्दै ढिलो भइरहेको थियो । चट्याङका कारण पनि चर्चित कमलबजारमै साँझको करिब ७ बजिसकेको थियो । जेठ महिनाको लामो दिन भएका कारणले मात्रै हो झमक्क साँझ नपरेको । अरु महिना हुँदो हो त छपक्कै रातै हुनेबेला भइसकेको थियो । यज्ञले हामीसँग अगाडि नगएर यहीँ बस्न आग्रह गरे, हामी भने तुर्माखाँदतर्फ लाग्यौँ । 

  • पुनेपाटा हुँदै राति तुर्माखाँद 

कमलबजारबाट अगाडि लागेपछि पुनेपाटा बजार आउँछ । त्यहाँबाट तुर्माखाँद गाउँपालिका र ढकारी गाउँपालिका जाने बाटो छुट्टिन्छ । पुनेपाटाबाट केहीपर बासकाँडा बजार आउँछ । लगत्तै केही समयमा तुर्माखाँद बजार आउँछ ।       

अब हामी मङ्गलसेनबाट लगभग ५० किलोमिटर टाढाको तुर्माखाँद गाउँपालिका पुग्यौँ । गाउँपालिकाको केन्द्र पुग्दा रात छिप्पिइसकेको थियो । सोधखोज गरेर कसै गरी हामी आफ्नो वासस्थान आइपुग्यौँ । हामी यहाँ प्रत्यक्षतः तुर्माखाँद गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्माका पाहुना थियौँ । रात अलि धेरै नै भइसकेकाले हामीले अध्यक्ष शर्मालाई आजै नभेटी भोलि बिहान भेट्ने निर्णय गर्‍यौँ ।  विश्वास छ, त्यसवेला त्यहाँ उपलब्ध सेवाका बिच सायद हामीलाई उत्कृष्ट सेवा उपलब्ध गराइएको थियो— काठको घर । माथिल्लो तलाको कोठा । म र मनमोहनजी एउटै खाट एउटै बिच्छौना । घरबाहिर अलि पर शौचालय ।

WhatsApp Image 2025-04-26 at 09.34.52

वर्तमानको अनुभव भावी जीवनका लागि निकै महत्त्वपूर्ण हुने गर्छ । मेरा लागि पनि यही सत्य थियो । 

भोलिपल्ट बिहान (जेठ ११ गते) उठेर नित्यकर्मपछि हामी बसेकै होटलको अगेनाछेउ चिया खाँदै थियौँ, पुष्पजी आइपुगे । पुष्पजी नेपालगन्जमा रहँदा नेपाल विद्यार्थी संघको नेतृत्व गर्थे । नेपालगन्ज क्याम्पसको स्ववियु सभापति पनि रहिसकेका हुन् उनी । कुरैकुराबिच थाहा भयो— यो गाउँ नेपालगन्जका अग्रज पत्रकार मेरा प्रिय मित्र जयनारायण र नमस्कार शाहको पैतृक भूमि पनि हो । यो जानकारीपछि यो ठाउँसँग भावनात्मक निकटताको अनुभूतिमा सामान्य अभिवृद्धि भएको अनुभव भयो मलाई । 

पुष्पजी र मनमोहनजीबिच आजको कार्यक्रमका बारेमा सामान्य छलफल भयो । आजदेखि पाँच दिनसम्मका लागि यहाँ आधारभूत पत्रकारिता प्रशिक्षण कार्यक्रम प्रारम्भ हुँदै थियो । आयोजक थियो— तुर्माखाँद गाउँपालिका र संयोजन गरेका थिए यही जन्मी–हुर्की हाल कैलालीमा पत्रकारिता गर्ने लक्ष्मी जैशीले । म र मनमोहनजी प्रशिक्षण कार्यक्रमको उद्घाट्न सत्रमा सहभागी हुने र त्यसपछि बाँकी अवधि गणेशजी र डिलबहादुरजीले प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने सहमति थियो । 

  • कर्णालीले घेरेको पालिकामा पानी

हामीले आजै अपराह्नसम्म यहाँबाट प्रस्थान गरिसक्नुपर्ने थियो । हामीले चाहेर पनि यहाँ बढी समय बिताउन सक्ने सम्भावना थिएन । यस बाध्यात्मक अवस्थालाई दृष्टिगत गरी मैले बिहानको समय एक्लै बरालिने निर्णय गरेँ । यहाँ घुम्दा विकासका केही छापका साथै सडकमा मानिसको पदचापको अनुभव सँगाल्ने अवसर पाएँ । 

पहाडको भूगोल । सल्लाका रुखको बाक्लो उपस्थिति । यहाँका सातवटै वडा सडक सञ्जालबाट जोडिइसकेका रहेछन् । सबै वडालाई इन्टरनेट सञ्जालमा पनि आबद्ध गर्ने योजना रहेछ । कर्णाली नदीले करिब एक सय ५० किलोमिटर तीनतिरबाट घेरेको तुर्माखाँद गाउँपालिकामा अपर (माथिल्लो) कर्णाली र बेतन कर्णाली जलविद्युत् आयोजनाको केन्द्र त छ तर यो पालिका स्वयंलाई भने कर्णालीको जलको प्रत्यक्ष लाभ कति प्राप्त भएको छ । भविष्यमा कति लाभ प्राप्त हुन्छ ? अध्ययन र मूल्याङ्कनकै विषय हो । अध्यक्ष शर्मासँग त्यसवेला भएको वार्तालाप म अहिले पनि सम्झन्छु । 

WhatsApp Image 2025-04-26 at 09.36.37

मैले उनलाई सोधेको थिएँ– आगामी निर्वाचनमा तपाईं र तपाईं आबद्ध दलको मुद्दा के ? 

उनले भनेका थिए— विपक्षीका लागि कुनै पनि मुद्दा नछोड्नु नै हाम्रो मुद्दा हुनेछ । 

उनी आफ्नो कुरामा कति अडिन सके ? कति सफल वा असफल भए ? मैले त्यसको निरन्तर लेखाजोखा भने गरिनँ । अध्यक्ष शर्माले गाडी चढ्दा रहेनछन् । यसबारे मैले सोधेपछि उनले भनेका थिए— जबसम्म तुर्माखाँदका प्रत्येक वडामा गाडी गुड्ने अवस्था बन्दैन तबसम्म म गाडी चढ्दिनँ । 

उनको उत्तर सुन्दा म बडो भावुक भएको थिएँ । यस्तै सोच सबै तहका सरकारको भइदिए नेपालमा विकास हुन कति नै बेर लाग्थ्यो र ? 

खाना खाइसकेपछि हामी एकछिन प्रशिक्षण कार्यक्रममा सहभागी भयौँ । आफ्नो कुरा राख्यौँ र पुष्पजीसँगको एकछिनको भलाकुसारीपछि हामी अगाडि बढ्यौँ । 

तुर्माखाँद पछिल्ला दिनमा स्तरीय स्वादिलो सुन्तला र जङ्गलघाटमा सहजै उपलब्ध हुने कर्णालीका माछाका कारण पनि चर्चित छ । दैलेख, सुर्खेत हुँदै नेपालगन्जसम्म पुग्ने सुन्तलालाई अन्य जिल्ला र विदेशमा पनि बजार प्रवर्द्धन गर्न सके र ब्रान्डिङ गरी कर्णालीका माछालाई बजारसम्म पुर्‍याउन सके तुर्माखाँदको आर्थिक जीवनमा सकारात्मक प्रभाव पर्ने निश्चित छ । म यस्तै–यस्तै सोचिरहेको थिएँ । गाडी गुडिरहेको थियो । गाडीको झ्यालबाट हेर्दा कमलबजार आइसकेको रहेछ । देखेँ— रित्तो विमानस्थलको छेवैमा रहेको बिजुली पङ्खा हावाको वेगले घुमिरहेको थियो । अहिले यो चल्दैन अर्थात् यसबाट विद्युत् उत्पादन हुँदैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

धर्मेन्द्र विह्वल
धर्मेन्द्र विह्वल
लेखकबाट थप