आधुनिक नेपाल एकीकरण अभियानका बडाकाजी अमरसिंह थापा

आधुनिक नेपाल एकीकरण अभियानमा हजारौँ वीर–वीराङ्गनाले रगत–पसिना बगाउनुभएको थियो । नेपाली सेनाका धेरै कमान्डर र जवानले वीरगति प्राप्त गर्नुभएको थियो । यस आलेखमा उहाँहरू सबैको विस्तृत उल्लेख गर्न नसकिएकाले एकीकरणका बाघ भीमसिंह थापा क्षेत्री र उहाँका छोरा बडाकाजी अमरसिंह थापा क्षेत्रीको सन्दर्भलाई प्रकाश पार्ने प्रयत्न गरिएको छ ।
- पृथ्वी–बाघ भीमसिंह अभियान
आधुनिक नेपाल एकीकरणका बडामहाराजाधिराज पृथ्वीनारायण शाहले आफ्ना विश्वासी गोरखा सिरानचोकका सैनिक उमराव भीमसिंह थापाको साथ–सहयोगमा वि.सं. १८०१ मा नुवाकोटमाथि आक्रमण गरी एकीकरण अभियानको बीजारोपण गर्नुभयो । गोरखाली फौजले वि.सं. १८१४ मा कीर्तिपुरमाथि आक्रमण गर्दा भीमसिंह थापाले विपक्षी सेनामाथि बाघले झम्टेजस्तो वीरतापूर्वक लड्नुभएको हुँदा पृथ्वीनारायण शाहले वहाँलाई ‘बाघ’ उपाधि दिनुभयो । पछि १८१६ पुसमा पृथ्वीनारायण शाहले बाघ भीमसिंह थापालाई ‘सरदार’ पद दिएर गोरखाली सेनाको एक टोली सुम्पिई तत्कालीन भादगाउँ राज्य अन्तर्गतको काभ्रेपलाञ्चोक गढीमा आक्रमण गर्न पठाउनुभयो । गोरखाली सेनाले वि.सं. १८१६ मा गरेको विजयस्थल पलाञ्चोकगढीमा विपक्षतर्फको सैनिकद्वारा सरदार भीमसिंह थापालाई पछाडिबाट झुक्याएर गोली हान्दा उहाँ वीर गति हुनुभयो । यसरी पृथ्वी–बाघ भीमसिंह आधुनिक नेपाल एकीकरण अभियानको पहिलो चरण पूरा भयो ।
- पृथ्वी–अमर अभियान
बाघ भीमसिंह थापा क्षेत्रीका छोरा अमरसिंह थापा क्षेत्री हुनुहुन्छ । उहाँ ११ वर्षको उमेरमा वि.सं. १८१९ को गोरखाली–मकवानपुरे युद्धका जेठा बुढाको पूर्वावस्थाका रूपमा रही प्रत्यक्ष युद्धदर्शी हुनुभयो । १८२५ आश्विन १३ मा कान्तिपुर राज्यलाई विजय गरेपछि भोलिपल्ट १४ गते पृथ्वीनारायण शाहले अमरसिंह थापालाई ‘सरदार’ पदवी प्रदान गर्नुभयो । त्यसपछि पृथ्वी–अमर एकीकरण अभियान कान्तिपुरदेखि पूर्वी नेपालतर्फ अगाडि बढ्यो ।
सरदार अमरसिंह थापा लगायत नेतृत्वको नेपाली सेनाको फौजले १८२५ कात्र्तिक २९ मा भक्तपुरमाथि आक्रमण गरी विजय गर्यो । पृथ्वीनारायण शाहले वि.सं. १८२८ मा सरदार रामकृष्ण कुँवरको मातहतमा सरदार अमरसिंह थापालाई नायब गराई पूर्व चौदण्डी र विजयपुरतर्फ पठाउनुभयो । सरदार अमरसिंह थापा लगायत नेतृत्वको नेपाली (गोरखाली) सेनाको फौजले वि.सं. १८३० को सुरुमै पूर्वतर्फ ओखलढुङ्गा चिसङ्खु हिलेछाप क्षेत्र, मझुवा, कुलुन, रिगलमाथि आक्रमण गरी आधुनिक नेपाल निर्माणका लागि एकीकरण सम्पन्न गर्यो । पृथ्वीनारायण शाहको मृत्यु वि.सं. १८३१ को माघे संक्रान्तिमा भएलगत्तै पृथ्वी–अमर आधुनिक नेपाल एकीकरण अभियान पूरा भयो ।
कीर्तिपुरमाथि आक्रमण गर्दा भीमसिंह थापाले विपक्षी सेनामाथि बाघले झम्टेजस्तो वीरतापूर्वक लड्नुभएको हुँदा पृथ्वीनारायण शाहले वहाँलाई ‘बाघ’ उपाधि दिनुभयो । पछि १८१६ पुसमा पृथ्वीनारायण शाहले बाघ भीमसिंह थापालाई ‘सरदार’ पद दिएर गोरखाली सेनाको एक टोली सुम्पिई तत्कालीन भादगाउँ राज्य अन्तर्गतको काभ्रेपलाञ्चोक गढीमा आक्रमण गर्न पठाउनुभयो ।
- प्रताप–अमर अभियान
अमरसिंह थापा लगायत नेतृत्वको नेपाली सेनाको फौजले १८३४ साउनमा तनहुँमाथि आक्रमण गर्यो । सरदार अमरसिंह थापाले १८३४ साउनमा शार्दूल र रणशार्दूल गरी दुई कम्पनीहरूको साथ लिई तनहुँ राज्यको उपरदाङगढीमाथि विजय गर्नुभयो । त्यसै गरी अमरसिंह थापा नेतृत्वको नेपाली सेनाको फौजले चितवनमाथि आक्रमण गरी विजय गर्यो । प्रतापसिंह शाहको मृत्यु १८३४ मंसिरमा भएलगत्तै प्रताप–अमर आधुनिक नेपाल एकीकरण अभियानलाई तेस्रो चरण मान्न सकिन्छ ।
- राजेन्द्रलक्ष्मी–अमर अभियान
अमरसिंह थापा नेतृत्वको नेपाली सेनाको फौजले क्रमशः १७८२ फेब्रुअरी ४ मा सिरानचोक, १७८४/८५ मा पर्वतजस्ता शक्तिशाली राज्यहरू नवनिर्मित नेपालमा समाहित गर्यो । अमरसिंह थापाले आफ्नो शक्तिशाली पुख्र्यौली थलो सिरानचोक विजय गर्न सफल भएकै कारण प्रारम्भिक आधुनिक नेपालको एकीकरण कार्य पुनः अगाडि बढ्न सम्भव भएको कतिपय इतिहासकारले मानेका छन् । पृथ्वीनारायण शाह र प्रतापसिंह शाहको अनुपस्थितिमा समेत एउटी नायबी महारानीको शासनकालमा अमरसिंह थापाले शक्तिशाली गोरखाको सिरानचोक विजय गर्न नसकेको भए त्यहाँबाट पश्चिमतर्फको नेपाल एकीकरण अभियानले निरन्तरता पाउन सक्थ्यो कि सक्दैनथ्यो भन्न कठिन रहेको सैनिक इतिहासकारहरूको बुझाइ छ ।
अमरसिंह थापा लगायत नेतृत्वको नेपाली सेनाको फौजले चेपेपारिका भू–भाग फिर्ता गराउन सफल हुनुका साथै ज्यामरुक, तार्कुघाट, कास्की, लम्जुङ, पल्लो नुवाकोट, पैँयु, तनहुँ जित्न सफल भयो ।
अमरसिंह थापाले वि.सं. १८४१ (१७८४ अप्रिल ४) मा पाल्पामाथि आक्रमण गरी विजय गर्नुभयो । यसरी पाल्पाको सेन राज्य नवनिर्मित नेपालभित्र समाहित भइसकेपछि नेपालको सिमाना पूर्वमा टिस्टा, पश्चिममा चम्बासम्म पुग्न सफल भएको थियो । उहाँले वि.सं. १८४२ ताका सतहुँ, गरहुँ, रिसिङ, ढोर, चरिकोट आदि राज्यहरू एकीकरण गर्नुभयो; वि.सं. १८४२ मा कास्कीमाथि आक्रमण गरी विजय गर्नुभयो । यसलगत्तै वि.सं. १८४२ श्रावणमा महारानी राजेन्द्रलक्ष्मी देवीको मृत्यु भयो । यो अवधिलाई राजेन्द्रलक्ष्मी–अमर अभियानका रूपमा मान्न सकिन्छ । यसपछि बहादुर शाह नायब बन्नुभयो ।
- बहादुर शाह–अमर अभियान
अमरसिंह थापा लगायत नेतृत्वको नेपाली सेनाको फौजले गुल्मी, सन् १७८६ मा चन्द्रकोट, बाग्लुङ, पर्वत, पल्लो मुसिकोट, जाजरकोटमाथि आक्रमण गरी विजय गर्यो । वि.सं. १८४५ (सन् १७८८) मा नेपाल–भोट युद्ध भएकाले नेपाल दरबारले
अमरसिंह थापालाई पश्चिम नेपाल एकीकरण अभियानबाट फिर्ता बोलायो र उहाँलाई अन्तर्राष्ट्रिय युद्धमा खटायो । उहाँ नेतृत्वको नेपाली सेनाको फौजले केरुङ, झुँगा, सिखरजोङ आदि स्थान कब्जा गर्न सफल भएको तथ्यलाई इतिहासकार विनोद थापाले आफ्नो पुस्तक ‘राष्ट्रिय विभूति अमरसिंह थापा’ (वि.सं. २०७०) को पृष्ठ ४५ मा उल्लेख गर्नुभएको छ ।
अमरसिंह थापाले पहिलो नेपाल–भोट अन्तर्राष्ट्रिय युद्ध जितेर काठमाडौँ आई वि.सं. १८४६ मा गुहेश्वरीलाई प्रशन्न पार्न मन्दिरभित्र तामा भएको सुनको मन्दिर चढाउँदा राखिएका ताम्रपत्रहरू सुरक्षित छन् । नेपाल–भोटबिचको सन्धि केरुङमा जुन २, १७८९ मा सम्पन्न भई युद्ध रोकिनासाथ अमरसिंह थापालाई दरबारबाट एउटा पत्र पठाइ सन्धि भइसकेकाले हातहतियार लिएर फर्कन आदेश दिइएको तथ्य नरहरिनाथलाई उद्धृत् गर्दै विनोद थापाले आफ्नो माथि उल्लिखित पुस्तकमा प्रस्तुत गर्नुभएको छ । यसपछि काठमाडौँ केन्द्रमा पजनी गर्ने समय आएकाले अमरसिंह थापालाई समग्र एकीकरण अभियानको कार्यमा सर्वोच्च कमान्डर (प्रधानसेनापति) भई अघि बढ्नुपर्ने गहन जिम्मेवारी प्रदान गर्यो । अमरसिंह थापा पुनः पश्चिमतर्फ प्रस्थान गर्नुभयो । त्यसलगत्तै अमरसिंह थापा लगायतका नेतृत्वको नेपाली सेनाको फौजले भेरी नदी तरी युद्ध नै नगरी शान्तिपूर्ण तरिकाले सन् १७८९ नोभेम्बरमा दैलेख, दुल्लु विजय गर्यो । सन् १७९० मा कर्णाली नदी तरी अछाममाथि आक्रमण गरी विजय गर्नुभयो । अमरसिंह थापा नेतृत्वको फौज र उहाँका सहयोगी भक्ति थापा नेतृत्वको अर्को फौज मिलेर डोटी विजय गरे । अब नेपालको सिमाना महाकाली नदी र यसको शिर लिम्पियाधुरासम्म पुग्यो ।
महाकाली नदीपारि भारतीय राज्यहरू थिए । अमरसिंह थापाले नेपालको सिमाना महाकालीबाट अरु पश्चिम बढाउन चाहनु स्वाभाविक थियो । यस क्रममा सर्वोच्च कमान्डर अमरसिंह थापा र अर्का कमान्डर जगजित पाँडेसँग मिलेर सन् १७९१ मा अलमोडामाथि आक्रमण गरी विजय गरे । केही प्रदेशबाहेक बाँकी कुमाउमा नेपालको अधिनमा ल्याउन सफल हुनुभयो । अब नवनिर्मित नेपालको सिमाना अलखनन्दासम्म पुग्यो । यस्तो मुकाम रणमैदानको यस अवधिमा दोस्रो नेपाल–भोट युद्ध चलिरहेको प्रधानसेनापति अमरसिंह थापालाई राम्रो जानकारी थियो । यो युद्ध १८४९ आश्विनमा सम्पन्न बेत्रावती सन्धिले अन्त्य गर्यो । त्यसकारण शीघ्रातीशीघ्र अमरसिंह थापाले सिरमोरका राजा जगतप्रकाश सिंहसँग संवत् १८४९ श्रावण १२ मा रणचातुर्यतापूर्वक नेपाल र सिरमोरबिचको सिमाना गङ्गा नदी हुने, एकको शत्रु र मित्र अर्कोको पनि शत्रु र मित्र हुने र एकअर्कालाई सहयोग गर्ने बुँदाहरूमा सन्धि गरी अमरसिंह थापा काठमाडौँ आउने तयारी गरे पनि आएको प्रमाण अपुष्ट छ र त्यसलाई सिद्ध गर्ने ऐतिहासिक घटनाक्रमहरू पनि मिलेको देखिँदैन । त्यसकारण यो थप अनुसन्धानको विषय छ । तथापि काठमाडौँ दरबारले अमरसिंह थापालाई दोस्रो नेपाल–भोट (चीन) युद्धमा तुरुन्त सहभागी हुन आउनु भन्ने बेहोरा पठाएको आदेश पत्र यस्तो थियो ः
वि.सं. १८४९ मा अमरसिंह थापालाई नेपाल–चीन युद्ध हुँदा बोलाइएको पत्र
श्री दुर्गासहाय
“स्वस्तिश्री मन्महाराजधिराज कस्य रुक्का.............................
आगे अमर सिंह थापा दसरथ षत्री सुबेदार प्रति चिनियाँ भोटया घैवंगसम्म आयो तसअर्थ २ जनाले कुम्पनी सामेल गरी बहुतै तद्घिरि संग रातदिन गरि चांडै हजूरमा आइ पुग सर्वथा इति सम्बत् १८४९ साल श्रावण सुदि १३ रोज २ मुकाम कान्तिपुर शुभम –”
वि.सं. १८४९ भदौमा अर्को यस्तै सन्धि पनि भयो । जसअनुसार अलखनन्दादेखि पूर्वपट्टिका नेपाली सेनाले विजय गरेका इलाकाहरू नेपालमा मिलाउने, प्रद्युम्न शाहले नेपाललाई वार्षिक नौ हजार रुपैयाँ बुझाउने, अलखनन्दा पश्चिमपट्टिको भागमा प्रद्युम्न शाह स्वतन्त्र राजा रहने बुँदाहरूमा सन्धि भयो । नेपाल दरबारबाट लालमोहर अङ्कित एक पत्र गढवाल पठाई भोट (चीन) सँगको नेपालको दोस्रो युद्ध समाप्त भई सन्धि भइसकेकाले अहिलेसम्म काली नदीदेखि पश्चिमका विजित प्रदेशहरू कसैलाई दिइएको छैन भने नदिनका लागि आदेश दिइएको थियो । यसबाट पनि सर्वोच्च कमान्डर अमरसिंह थापा दोस्रो नेपाल–भोट (चीन) युद्धमा सहभागी हुन काठमाडौँ नआई फिल्डमै रहेर सन्धि गर्नुभएको हुन सक्छ । यसलाई बहादुर शाह–अमर अभियानको चरणका रूपमा मान्न सकिन्छ ।
- गीर्वाणयुद्ध विक्रम–अमर–भीमसेन अभियान
गोरखा सिरानचोकका रन्जाई (रञ्जै) थापाका नाति, बाघ भीमसिंह थापाका छोरा सरदार अमरसिंह थापालाई रानी सुवर्णप्रभाले वि.सं. १८५७ जेष्ठ ८ मा ‘काजी’ पदमा पदोन्नति गर्नुभयो । त्यसैगरी रणबहादुर शाहले गोरखा पिपलथोकका वीरभद्र थापाका नाति, मुख्तियार जनरल भीमसेन थापाका बुबा सानाकाजी अमरसिंह थापालाई वि.सं. १८६३ मा काजी पदमा पदोन्ननति गर्नुभयो । अब नेपाल दरबारमा एकै नामका ‘अमरसिंह थापा’ दुईजना हुनुभएका र दुवै ‘काजी’ पदले विभूषित हुनुभएको हुँदा उमेरमा जेठा अनि काजी पद अगाडि पाइसक्नुभएका अमरसिंह थापालाई ‘बडाकाजी’ र मुख्तियार जनरल भीमसेन थापाका पिता अमरसिंह थापा उमेरले कान्छा अनि काजी पद पछाडि पाउनुभएकाले अमरसिंह थापालाई ‘सानाकाजी’बाट सम्बोधन गर्न थालिएको हो । त्यसै गरी वि.सं. १८६३ मा जनरल भीमसेन थापा मुख्तियार भई तत्कालीन नेपाल सरकार प्रमुख हुनुभएकै वर्ष वि.सं. १८६३ मा उहाँका बडाबुबा हजुर नाता पर्नुहुने नेपाल सरकार नेपाली सेना नन्दाबक्स कम्पनीका प्रथम कमान्डर (गुल्मपति) अमरसिंह थापाको दर्जाको महलमा ‘बडाकाजी’ शब्द परेको देखिन्छ । यद्यपि, नेपाल सरकारले सन् १९७७ सालमा प्रकाशन गरेको १० पैसा अंकित हुलाक टिकटमा पनि ‘काजी अमर सिंह थापा’ लेखिएको देख्न सकिन्छ । साथै नेपाल सरकारबाट अमरसिंह थापालाई बडाकाजी पद प्रदान गरेको हालसम्म कुनै पनि प्रमाण प्राप्त हुन नसके पनि माथिका तथ्यहरूलाई आधार मान्दा अमरसिंह थापा आधुनिक नेपाल एकीकरणका काजीहरूमध्येका बडाकाजी हुनुभएको तत्कालीन नेपाली जनमानसको जिब्रोमा झुन्डिएकाले पुराना र उहाँका समकालीन इतिहासकारहरूको पालादेखि नै अमरसिंह थापा बडाकाजी कहलिँदै आउनुभएको तथ्य इतिहास जगजाहेर छ । साथै उहाँ समग्र आधुनिक नेपाल एकीकरण अभियानका काजीहरूमध्ये पनि बडाकाजीकै भूमिकामा रहेर काम गर्नुभएको इतिहास साक्षी छ । त्यसकारण अब तलको अनुच्छेददेखि बडाकाजी कहिन्छ ः
बडाकाजी अमरसिंह थापाले गढवाल कब्जा गर्नुभयो । वि.सं. १८६३ मा देहरादुन विजय गर्नुभयो । अमरसिंह थापा लगायतका नेतृत्वको नेपाली सेनाको फौजले सम्पूर्ण गढवाल क्षेत्र विजय गरी पश्चिममा यमुना नदीदेखि सतलजसम्म रहेका स–साना ‘बाह्र ठकुराई’ राज्य विजय गरी नेपालको सिमाना सतलज नदीसम्म पुग्यो । बडाकाजी अमरसिंह थापा क्षेत्रीका भतिज भीमसेन थापा क्षेत्री वि.सं. १८६३ देखि नेपालको मुख्तियार पदमा आसीन हुनुभयो । यो अवधिमा नेपाल दरबारमा भतिज भीमसेन थापा र युद्ध मैदानमा काकाबुबा हजुर बडाकाजी अमरसिंह थापा भएर नेपालको शासन प्रशासन र एकीकरण अभियान चलिरहेको हुन्छ । अमर–भीमसेनको भित्री योजना कस्मिरसम्म पुगेर ‘म्याजेस्टिक हिमालय’ राज्यलाई समुद्रसम्म छुने र एसियाली महासंघको एकताका लागि बाँकी राजनीतिक कार्यभार पूरा गर्नेसम्मको बृहद् योजना थियो । फलस्वरूप अमरसिंह थापाले काँगडाका तत्कालीन राजा संसार चन्दसँग नेपाल र काँगडाको सिमाना सतलज नदीलाई निर्धारण गरिएको सन्धि सम्पन्न गर्नुभयो । अमरसिंह थापा लगायत नेतृत्वको नेपाली सेनाको फौजले सन् १८०५ मा सतलज नदी पार गरी सन् १८०६ मा काँगडा हान्न जाँदा काँगडाली सेनासँग भीषण युद्ध भयो । संसार चन्द पराजित भई भागे र काँगडा किल्ला जित्न नदिन अमरसिंह थापा नेतृत्वको नेपाली सेनाको फौजविरुद्ध भित्रभित्रै षड्यन्त्र गर्न लागे । यसरी पाल्पाको सेनराज्य नेपालभित्र समाहित भइसकेपछि नेपालको सिमाना पूर्वमा टिस्टा, पश्चिममा चम्बासम्म पुगेको थियो । त्यो बेला नेपाली सेनाको सर्वत्र विजय भएको देखेर अंग्रेज सरकार भयभीत भइसकेको थियो । ‘रणबहादुरचन्द्रिका’ मा यस प्रकार लेखिएको छ ः
‘चारैतिर हाहाकार मच्चियो । फिरङ्गीहरू (अंग्रेज) पनि तर्सिए । होहल्ला यस्तो भयो कि महाराज गीर्वाणयुद्धविक्रम शाहको सेना आउँदै छ, जसको सेनापति महावीर अमरसिंह थापा हुन्, जो जहाँ पयर राख्दछन् विजयपताका त्यही फरफराउँछ, गोर्खाली सेनाको सर्वत्र विजय–विजय छ र चाँडै नै सारा उत्तरी भारत–दिल्लीसम्म नै गोर्खा महाराजको राज्य स्थापना अवश्यम्भावी छ ।’
तर एकीकरणको पछिल्लो कालखण्डमा युद्धले बिस्तारै बिस्तारै अंग्रेजतर्फ कोल्टे फेर्न थालिसकेको थियो । मुख्तियार भीमसेन थापाका भाइ नयनसिंह थापा पनि काँगडाको युद्धमा गोली लागी वीरगति हुनुभयो । अमरसिंह थापा नेतृत्वको नेपाली सेनाको फौजीहरूलाई महामारी लागी धेरैको मृत्यु भयो । अंग्रेज गर्भनर जनरल, सैनिक जनरलहरू र पन्जाब रणकेशरी रणजित सिंहसँग संसार चन्द मिलेर बडाकाजी अमरसिंह थापाविरुद्ध षड्यन्त्रमा लागे । यता काठमाडौँ केन्द्रमा पनि मुख्तियार भीमसेन थापाविरुद्ध विभिन्न खाले दरबारिया भारदारहरू र ब्रिटिस रेजिडेन्सी हग्ड्जन लगायतका मिसनेरीहरू आ–आफ्नो स्वार्थसिद्धिका लागि षड्यन्त्रमा उत्रिन थाले । उता, अंग्रेज जनरल हेस्टिङ्गसले बुटवल र सिवराज क्षेत्र कब्जा गर्न आफ्ना सैनिकहरूलाई तम्तयार रहनका लागि आदेश दिए ।
- नेपाल–अङ्ग्रेज युद्ध र अमरसिंह थापा
अंग्रेजले वि.सं. १८७१ कार्तिक १८ मा नेपालसँग एकतर्फी रूपमा युद्धको विधिवत घोषणा गर्यो । अंग्रेज सेनासँग बलभद्र कुँवर नेतृत्वका सेनाले केही सीप नलाग्ने देखी वि.सं. १८७१ मंसिर १७ मा मैदान छाडिदिएको तथ्यलाई ‘बडाकाजी अमरसिंह थापाको सैन्य जीवन र युद्ध सेवा ः एक सिंहावलोकन’ शीर्षक दिएर लेखक मोहन थापाले ‘सुरक्षा जर्नल’ (२०८१ जेठ) वर्ष ४, अंक १ मा उल्लेख गर्नुभएको छ । जैथकमा बडाकाजी अमरसिंह थापाका छोरा रणजोरसिंह थापा अन्तिमसम्म किल्लाको सुरक्षा गर्न सफल हुनुभएको थियो । अल्मोडामा रहेका बम शाहले हस्तिदल शाह युद्धमा घाइते भई मृत्युवरण गरेपछि अंग्रेज सेनासँग केही नलाग्ने देखेर युद्धविरामका लागि अनुरोध गर्नुभएको तथ्यलाई समेत बडाकाजी अमरसिंह थापाले मनन गरिसक्नुभएको थियो । मलाउँ किल्लामा नेतृत्व गरेका सरदार भक्ति थापाले लड्दालड्दै वि.सं. १८७२ वैशाखमा युद्ध मैदानमा वीरगति पाउनुभएको घटनाले बडाकाजीलाई थप चोटमाथि चोट थप्यो । मलाउँ किल्ला पनि अंग्रेज सेनाको कब्जामा गईसकेपछि १८१५ अप्रिल २६ मा नेपाली सेना कुमाउँ छाडेर महाकालीपूर्व फर्किन बाध्य भयो । यो यथार्थलाई फिल्डमा भोग्दै आउनुभएका एकीकरणका बडाकाजी अमरसिंह थापा पनि अंग्रेजसँग युद्धविरामको प्रस्ताव राख्नु स्वाभाविक हो । बडाकाजी अमरसिंह थापाले छोरा रामदास थापामार्फत अंग्रेज जनरल अक्टरलोनी समक्ष युद्धविरामको प्रस्ताव राख्नुभयो । अक्टरलोनीले गभर्नर जनरलसँग सल्लाह गरी नेपालसमक्ष सर्त राखेको बडाकाजी अमरसिंह थापाले सुरुमा स्वीकार गर्नुभएको थिएन तर बम शाहले पराजय स्वीकार गरेका कारण बडाकाजीले अंग्रेजको सर्त मान्न बाध्य भई वि.सं. १८७२ जेठ ४ (१५ मे १८१५) मा अक्टरलोनीसँग युद्धविराम गर्ने सम्झौतामा हस्ताक्षर गर्नुभयो । जसअनुसार सतलज नदीपूर्व महाकाली नदीसम्मको भूभाग छाड्न बाध्य हुनुपर्यो ।
पछि यो सम्झौताको विकसित रूप नै सुगौली सन्धिको मूल आधार स्तम्भ बन्न पुग्यो । बडाकाजी अमरसिंह थापाले अंग्रेजसँगको वार्तामा संवेदनशील भई चासो राखे पनि अंग्रेज गभर्नर जनरल हेस्टिङ्गसले अमरसिंह थापासँग वार्ता गर्न नचाहेका कारण नेपालतर्फका प्रतिनिधि गजराज मिश्र र अंग्रेजतर्फका ब्राड्सा वार्ताका लागि नियुक्त भए । यो वार्ता ६ महिनाभन्दा बढी लम्बियो । वार्तामा कुरा नमिलेपछि दोस्रोपटकको अंग्रेजसँगको युद्धमा बडाकाजी अमरसिंह थापालाई सिन्धुलीगढीमा खटाइएको थियो । तर वि.सं. १८७२ फाल्गुन २४ (४ मार्च १८१६) मा नेपाल र अंग्रेजबिच सुगौली भन्ने स्थानमा भएको सन्धिमा हस्ताक्षर भयो । सुगौली सन्धिपछि सिमानाको निक्र्योल गरी सीमाङ्कन गर्ने महत्त्वपूर्ण कार्यका लागि मुख्तियार जनरल भीमसेन थापाका भाइ एवं काँगडा युद्धमा वीरगति हुनुभएका काजी नयनसिंह थापाका छोरा कर्णेल काजी उजीरसिंह थापालाई जिम्मेवारी प्रदान गरियो । कर्णेल उजीरसिंह थापाको विद्वतापूर्ण सुझबुझले सीमाङ्कन गर्ने सिलसिलामा नेपालको भोगमा आइसकेका मौजाहरूको बासिन्दाहरूले नेपालको शासनलाई कडा भएको कारणले भूमिकरको रसिद लुकाएर इस्ट इन्डिया कम्पनीपट्टि लगिदिँदा सिमानाका मौजाहरू घटेर सर्लाहीतर्फ चुरेको डाँडानिर नेपालको सिमाना आइपुगेको थियो । तर बडाकाजी अमरसिंह थापाले वि.सं. १८३९ मा जनकपुरमा बनाउनुभएको ‘श्री सीता रामचन्द्र लक्ष्मीको मन्दिर’मा झिँगटीको छाना लगाइएको आधारमा नेपालको भागभोग निश्चित भई मध्य–दक्षिण मधेसको सिमाना महोत्तरी जिल्लाको चुरेदेखि निकै दक्षिणतिर पुग्न सफल भयो । यसबाट नेपालको थप सिमाना बढ्यो ।
- निष्कर्ष
एकीकरणका बडामहाराजाधिराज पृथ्वीनारायण शाहको राष्ट्रिय सपना पूरा गर्न बडाकाजी अमरसिंह थापा ११ वर्षको उमेरदेखि ६५ वर्षको उमेरसम्म ५४ वर्ष देशको पूर्व, पश्चिम, उत्तर, दक्षिण चारैतर्फ एकीकरण युद्ध कार्यस्थलमा प्रत्यक्ष होमिएका घटनाक्रमले यो पुष्टि गरेको छ कि उहाँ नेपालको ‘राष्ट्रिय विभूति’, ‘जिउँदो बाघ’, ‘बडाकाजी’, ‘हिमाल रणकेशरी’ आदिबाट सम्मानित, विभूषित हुनुहुन्छ । किनकि समग्र रूपमा बडाकाजी अमरसिंह थापाको अद्वितीय, अतुलनीय योगदान अवलोकन गर्दा आधुनिक नेपाल राष्ट्र निर्माता राष्ट्रिय विभूति बडामहाराजाधिराज पृथ्वीनारायण शाहपछिका महत्त्वपूर्ण राष्ट्रिय व्यक्तित्वको रूपमा मान्ने गरेको पाइन्छ ।
(लेखक बडाकाजी अमरसिंह थापाको लहरोपट्टिका लप्टन रणोद्दिमसिंह थापाचार्यका चारपुस्ते सन्तति हुनुहुन्छ) ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित
-
वर–पिपलको छायामा बसेर...
-
शिक्षक आन्दोलनमा शिक्षकहरूबिच कुटाकुट, एकजना घाइते
-
दुःखको घडीमा भारत सरकार र भारतीय जनताको पक्षमा नेपाल उभिएको छ : परराष्ट्रमन्त्री
-
सरकारलाई असफल बनाएर पठाउने छुट कसैलाई छैन : साउद
-
साँफेहाटबजार आगलागीबाट प्रभावितलाई प्रदेश सरकारद्वारा १० लाख सहयोग घोषणा