शनिबार, १३ वैशाख २०८२
ताजा लोकप्रिय

भूराजनीतिक संवेदनशीलतालाई ख्याल गर्नुपर्ने आवश्यकता छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

शनिबार, १३ वैशाख २०८२, ११ : ०१
शनिबार, १३ वैशाख २०८२

ललितपुर ।  नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भूराजनीतिक संवेदनशीलतालाई ख्याल गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । शनिबार ललितपुरमा मनमोहन अधिकारीको २६ औं स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले एकातिर दक्षिण-पूर्व-पश्चिम १८ सय किलोमिटर सीमा जोडिएको छिमेकी भारत र अर्कोतिर उत्तरमा १४ सय किलोमिटर सीमाना जोडिएको चीन रहेको बताए । चीनसँगको सीमाना हिमालले पर्खाल सरह काम गरेको भएपनि भारतसँग खुला सीमाना रहेको उनले बताए । भारतसँग विगतमा भएका सन्धी, सम्झौतहरु अद्यावधि हुन नसकेको बताउँदै वरिष्ठ उपाध्यक्ष पोखरेलले नेपालले आफूलाई राष्ट्रिय स्वाधिनता, स्वाभिमानका लागि, अखण्डताको लागि कतिपय कुरामा गम्भीरताका साथ सोच्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।

एमालेले आफ्ना अठोट, संकल्प, उद्देश्यमा समर्पित भएर लागि रहनुपर्ने जरुरी रहेको बताउँदै उनले नेपालको राजनीतिमा अनेक ढंगले समस्याहरु छन् भन्ने हिसावले चित्रण गर्ने र नेकपा एमालेलाई कमजोर देखाउने कोशिस भइरहेको बताए । उनले एमाले जहिले पनि प्रतिकूलतासँग जुध्दै अघि बढेको पार्टी भएको जिकिर गरे । एमालेलाई आफ्नो भूमिकाबाट च्युत गराउनका लागि चौतर्फी कोशिस भइरहेको समेत उनले बताए ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘नेपालको पोलिटिक्समा अनेक ढंगले समस्या छन् भन्ने हिसावले चित्रण गर्ने, नेकपा एमालेलाई कमजोर देखाउने यस हिसाबले एउटा कोशिस भइरहेको छ । तर नेकपा एमाले जहिले पनि प्रतिकूलतासँग जुध्दै, अफ्ठ्याराहरुसँग जुध्दै, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको पक्षमा, स्वाधिनताको पक्षमा, मुलुकलाई समृद्ध बनाउने कुराको पक्षमा, जनताको हक हितको पक्षमा दृढतापूर्वक उभिँदै आयो । हिजो सत्तामा नभएको बेलामा, प्रतिकूल अवस्थामा होस् वा सत्तामा पुगेको बेलामा होस् । उसले यो मान्यताबाट आफूलाई कहिल्यै विचलित गराएन ।’ 

नेकपा एमाले मनमोहन अधिकारीले देखेका सपनाहरुलाई पच्छ्याइरहेको समेत उनले बताए । उनले भने, ‘मनमोहन अधिकारीले जुन सपना देख्नुभएको थियो, जुन विचार अघि सार्नुभएको थियो, जुन कार्यक्रमहरुलाई अगाडि सार्न खोज्नुभएको थियो, तिनै चिजलाई निरन्तरता दिने कोशिस एमालेले गर्दै आएको छ ।

एमालेलाई उसको भुमिकाबाट च्युत गराउनको लागि चौतर्फी कोशिस भइरहेको छ । यस्तो बेलामा मनमोहन अधिकारी हाम्रो अगाडि अभिभावक बनेर, प्रेरणाको श्रोत र शितल छहारी बनेर हाम्रो अगाडि उभिनुभएको छ । हामी हाम्रा अठोट, संकल्प, उद्देश्यमा समर्पित भएर लागि रहनुपर्ने जरुरी छ ।’ 

वरिष्ठ उपाध्यक्ष पोखरेलले मनमोहन अधिकारी नेपालका कम्युनिष्ट पार्टीहरु भन्दा पनि ज्येष्ठ कम्युनिष्ट भएको बताए । मनमोहन अधिकारी कम्युनिष्ट पार्टीहरुको अभिभावक भएको जिकिर समेत उनले गरे । -न्युज एजेन्सी नेपाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप