तपाईंले प्रयोग गरिरहनुभएको मेकअप कति सुरक्षित छ?

- नाजनीन मोटामेडी
इमानदारीपूर्वक भन्नुहोस्, तपाईंले आफ्नो मेकअप उत्पादनहरूको म्याद सकिने मिति अन्तिम पटक कहिले जाँच गर्नुभएको थियो ?
के म्याद सकिएका मेकअपका सामानहरूले तपाईंको छालालाई हानि पुर्याउन सक्छन् वा तपाईंको स्वास्थ्यलाई खतरामा पार्न सक्छन् ?
तपाईं आफ्नो मेकअप ब्रस कति पटक धुनुहुन्छ ? के तपाईंले कहिल्यै साथीको मस्कारा सापटी लिनुभएको छ वा पसलमा लिपस्टिक जाँच गर्नुभएको छ ? तपाईंको मेकअप ब्यागमा सबैभन्दा धेरै ब्याक्टेरिया के ले जम्मा गर्छ (मस्कारा, आइलाइनर, स्पन्ज वा ब्रस ?
म स्वीकार गर्छु, म मेरो मेकअप ब्रस सफा गर्न वा म्याद सकिएको मिति जाँच गर्न धेरै ध्यान दिँदिनँ । त्यसैले मैले लन्डनको मेट्रोपोलिटन युनिभर्सिटीका एक अनुसन्धानकर्ताको माइक्रोस्कोपबाट तिनीहरूलाई हेर्ने निर्णय गरेँ ।
यो अध्ययन स्कूल अफ ह्युमन साइन्सेन्समा बायोसाइन्सेसका वरिष्ठ व्याख्याता डा. मारिया पिलर बोतेई–सालोको निगरानीमा गरिएको थियो । उनीहरूले आफ्नो प्रयोगशालामा ७० भन्दा बढी म्याद सकिएका आइलाइनर, मस्कारा, लिप ग्लस, लिपस्टिक र फाउन्डेसनका साथै मेकअप ब्रस र स्पन्जहरू (मेरो आफ्नै सहित) परीक्षण गरे ।
नमुनाहरू निकालियो र एगर प्लेटहरूमा राखियो । त्यसपछि उनीहरूमा के लुकेको छ भनेर पत्ता लगाउन इन्क्युबेट गरियो ।
- मेरो मेकअपको अवस्था कस्तो थियो?
मेरो मेकअपबाट एगर प्लेटहरूमा आश्चर्यजनक रूपमा उच्च मात्रामा ब्याक्टेरिया थिए । डा. बोतेर्ई सालोले भनिन्, ‘तपाईंको आई पेन्सिल सबैभन्दा फोहोर थियो, जसमा तपाईंका अन्य मेकअप वस्तुहरूको तुलनामा उल्लेखनीय रूपमा बढी ब्याक्टेरिया देखिन्थ्यो ।’
उनका अनुसार पेन्सिलले छालाबाट ब्याक्टेरिया उठाएको हुनसक्छ, जसमा स्टेफिलोकोकस (एक प्रकारको ब्याक्टेरिया) पनि समावेश थियो । यसको पछाडिको कारण पेन्सिल आँखाको परेलाको सम्पर्कमा आउनु हो ।
मैले पनि म प्रायः मेरो मेकअप बाथरूममा राख्छु र प्रयोग पछि केही मिनेटको लागि मेरो आइलाइनरको बिर्को नलगाई राख्नु भनेर स्वीकार गरेँ ।
‘त्यसो भए हो, यो कारण हुन सक्छ । यदि यसले हावाबाट ओसिलोपन प्राप्त गर्छ भने, यसले सूक्ष्मजीव वृद्धि निम्त्याउन सक्छ । हामीले ब्रस, स्पन्ज र मस्काराजस्ता अन्य अध्ययन नमूनाहरूमा पनि स्टेफिलोकोकस फेला पार्यौँ,’ डा. बोतेई सालोले भनिन् ।
स्टेफिलोकोकस धेरै रोगहरूको लागि जिम्मेवार हुन सक्छ, जस्तै, हल्का जलनदेखि कन्जंक्टिवाइटिस, एरिसिपेलस (छालाको संक्रमण) र इम्पेटिगो (छालाको संक्रमण) जस्ता गम्भीर संक्रमणहरूसम्म ।
त्यसो भए मैले धेरै पटक आइलाइनर प्रयोग गरिसकेपछि पनि किन यी समस्याहरू अनुभव गरिनँ ?
डा. बोतेई सालोले व्याख्या गरिन्, ‘यदि तपाईंको छाला अक्षुण्ण छ भने, यो एकदम राम्रो हो । यद्यपि, यदि तपाईंलाई घाउ वा चोट लागेको छ भने ब्याक्टेरिया त्यहाँबाट प्रवेश गर्न सक्छ र हानि पुर्याउन सक्छ । यदि कसैको प्रतिरक्षा प्रणाली कमजोर छ भने, यो पनि चिन्ताको विषय हुन सक्छ ।’
- के तपाईं मेकअप गर्नुअघि हात धुनुहुन्छ?
के तपाईं मेकअप गर्नुअघि हात धुनुहुन्छ? हातहरू विभिन्न प्रकारका कीटाणुहरूले दूषित हुन सक्छन्, र उचित सफाइ बिना, यी कीटाणुहरू सौन्दर्य उत्पादनहरूमा सर्ने जोखिम हुन्छ । यो विशेष गरी तब हुन्छ जब हामी आफ्नो हातले सिधै आईस्याडो, लिप बाम र फाउन्डेसन लगाउँछौँ । डा. बोतेई सालोले आश्चर्यजनक नतिजा निकालिन् । उनले भनिन्, ‘केही उत्पादनहरूमा हामीले एन्टेरोब्याक्टर क्लोएक फेला पार्यौँ, जुन सामान्यतया आन्द्राामा पाइने ब्याक्टेरिया हो ।’
यसको अर्थ हात राम्ररी नधोएको कारणले वा शौचालयको छिटाका कारणले गर्दा यसमा दिसाका अंश भेटिएको छ।
अनुसन्धानले शौचालय फ्लश गर्दा एरोसोलाइज्ड छिटाहरू निस्कन सक्छन् जुन केही सेकेन्डमा दुई मिटरसम्मको उचाइमा पुग्न सक्छन् भनेर देखाएको छ । एरोसोलाइज्ड ड्रपलेटहरूमा प्रायः संक्रामक भाइरसहरू हुन्छन् । यी थोपाहरू मार्फत एन्टेरोब्याक्टर (एक प्रकारको ब्याक्टेरिया) को सम्पर्कमा आउने जोखिम हुन्छ । त्यसैले, यदि तपाईंको मेकअप उत्पादनहरू यो दुई(मिटर दायरा भित्र छन् भने तिनीहरू ब्याक्टेरियाको सम्पर्कमा आउन सक्छन् ।
एन्टेरोब्याक्टरका केही प्रजातिहरू चिन्ताको विषय हुन किनभने तिनीहरूले पिसाबसम्बन्धी संक्रमण, श्वासप्रश्वासको संक्रमण, अस्टियोमाइलाइटिस (हड्डीसम्बन्धी संक्रमण) र एन्डोकार्डिटिस (मुटुको संक्रमण) निम्त्याउन सक्छन् ।
अघिल्ला अध्ययनहरूले ई. कोलाई (एसेरिसिया कोलाई – दिसामा हुने एक प्रकारको ब्याक्टेरिया) मेकअप उत्पादनहरूमा बाँच्न सक्ने पत्ता लगाएका छन् । यो चिन्ताजनक छ किनकि यी उत्पादनहरू अनुहार र आँखा नजिकै प्रयोग गरिन्छ ।
मेट्रोपोलिटन युनिभर्सिटीको अनुसन्धान टोलीले कस्मेटिक उत्पादनहरूमा क्यान्डिडा नामक फंगस पनि फेला पारेको छ । यदि फंगस छालामा प्रवेश गर्छ भने, यसले क्यान्डिडियासिस (योनिमा फंगल संक्रमण) वा थ्रस (मुखमा फंगल संक्रमण) निम्त्याउन सक्छ।
बेलायतको बर्मिंघमस्थित एस्टन विश्वविद्यालयमा लगभग ५०० कस्मेटिक उत्पादनहरूमा थप अनुसन्धान गरिएको थियो । यस अध्ययनले प्रयोग हुने ७९–९०% कस्मेटिक उत्पादनहरूमा कुनै न कुनै प्रकारको परजीवी, ब्याक्टेरिया वा फंगस हुन्छ भन्ने देखायो । यी कम जोखिम भएका ब्याक्टेरियादेखि सम्भावित घातक ई. कोलाईसम्मका थिए ।
अध्ययनका प्रमुख अनुसन्धानकर्ता डा. अमरीन बशीरले भनिन्, ‘प्रयोग गरिएका कस्मेटिक उत्पादनहरू र उपकरणहरू (ब्रस आदि) ले ब्याक्टेरियाको उपस्थितिलाई संकेत गरेपनि, तिनीहरूले संक्रमणको महत्त्वपूर्ण जोखिम निम्त्याउँदैनन् । संक्रमणको लागि प्रवेशको मार्ग पनि आवश्यक पर्दछ, जस्तै घाउ वा खानाबाट । सरसफाइ, वस्तुहरू धुने र कीटाणुरहित गर्ने र तिनीहरूको म्याद सकिने मितिपछि वस्तुहरू प्रयोग नगर्ने लगायतले कुनै पनि सम्भावित जोखिमलाई कम गर्न सकिन्छ ।’
- म्याद सकिने मितिलाई किन ध्यानमा राख्नु महत्त्वपूर्ण छ?
म्याद सकिने मिति महत्त्वपूर्ण छ किनभने यसले उत्पादनमा रहेका संरक्षकहरूले सूक्ष्मजीवहरूको वृद्धि रोक्न कति समयसम्म प्रभावकारी रहनेछन् भन्ने संकेत गर्छ । पानीको मात्रा बढी हुने उत्पादनहरू चाँडै बिग्रने सम्भावना हुन्छ किनभने यस्ता उत्पादनहरूले ब्याक्टेरिया र फंगस बढ्नको लागि अनुकूल वातावरण प्रदान गर्दछ ।
उत्पादन खोलिएपछि वस्तुको आधारमा म्याद सकिने मिति ३ देखि १२ महिनासम्म हुन्छ । ‘यदि कुनै कस्मेटिक उत्पादनमा म्याद सकिने मिति छैन भने, संक्रमण फैलिने जोखिम कम गर्न तीन महिना पछि वा बिग्रिएको महसुस हुने बित्तिकै फ्याँक्नु उचित हुन्छ,’ डा. बशीर भन्छिन् ।
यदि कुनै प्रयोगकर्तालाई मेकअप उत्पादनको म्याद सकिने मितिको बारेमा अनिश्चितता छ भने, त्यसलाई नयाँ उत्पादनले बदल्नु नै उत्तम विकल्प हो ।
- कसरी आफ्नो सुरक्षा गर्ने?
लन्डन मेट्रोपोलिटन युनिभर्सिटीको अनुसन्धान अनुसार, हानिकारक सूक्ष्मजीवहरूको उच्चतम स्तर भएका उत्पादनहरू मस्कारा र तरल फाउन्डेसन हुन् । जबकि तरल फाउन्डेसन लगाउन प्रयोग गरिने ब्रस र स्पन्जहरूमा सबैभन्दा हानिकारक ब्याक्टेरियाहरू हुन्छन् ।
‘स्पन्ज र ब्रसजस्ता पानीको मात्रा बढी हुने उत्पादनहरूमा सूक्ष्मजीवहरू हुने सम्भावना बढी हुन्छ । हाम्रो अनुसन्धान म्याद सकिएका मेकअप उत्पादनहरू र प्रयोग गरिएका उपकरणहरूमा आधारित थियो,’ डा. बोतेर्ई सालोले भने ।
सम्भावित जोखिमहरूबाट बच्न डा. बोतेई सालोले यी सुझावहरू दिन्छिन् :
- मेकअप गर्नुअघि हात धुनुहोस् ।
- पसलहरूमा मेकअप टेस्टरहरू प्रयोग नगर्नुहोस् । यी उत्पादनहरू प्रयोग गर्ने मानिसहरूले पहिले आफ्नो हात धोए कि भनेर तपाईंलाई थाहा छैन ।
- स्पन्ज र ब्रस जस्ता वस्तुहरूलाई नियमित रूपमा मनतातो पानी र साबुनले सफा गर्नुहोस्, र तिनीहरूलाई राम्ररी सुकाउन नबिर्सनुहोस् । महँगो विधिहरूको आवश्यकता छैन । ब्याक्टेरिया र एरोसोलको सम्पर्कबाट बच्नको लागि छुट्टै सानो झोलामा राख्नु अघि तिनीहरूलाई पूर्ण रूपमा हावामा सुक्न दिनुहोस् ।
- मेकअप भण्डारण गर्ने सबैभन्दा खराब ठाउँ बाथरूम हो किनभने यो ओसिलो र अँध्यारो हुन्छ ।
- लिक्विड फाउन्डेसन, मस्कारा र आइलाइनरलाई ढक्कन लगाएर भण्डारण गर्नुपर्छ । यो हावामा रहेका कीटाणु र धुलोका कणहरूलाई चीजहरूमा बसोबास गर्नबाट रोक्नको लागि गरिन्छ ।
- म्याद सकिने मितिमा ध्यान दिनुहोस् । प्रत्येक मेकअप उत्पादनमा एउटा नोट टाँस्नुहोस् ताकि तपाईंले कहिले फ्याँक्नु पर्छ भनेर सम्झन सक्नुहुन्छ ।
- आफ्नो मेकअपका सामानहरू अरूसँग साझा नगर्नुहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बौद्धिक सम्पत्तिको दर्तालाई प्रोत्साहन गर्नुपर्छ : अध्यक्ष ढकाल
-
‘एक्सेलेरेट एक्सन’ : महिला कलाकारको उद्घोष
-
‘द ग्रेट ग्याट्सबाइ’ को सय वर्ष
-
कलैयाका एक दर्जन निजी अस्पताल तत्काल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन
-
नवराज सुवेदीलाई भेट्न निवास पुगे लिङ्देन
-
माओवादी विराटनगर कमिटीको निर्वाचन : देव राजवंशीको प्यानल विजयी