शनिबार, १३ वैशाख २०८२
ताजा लोकप्रिय

पोखरामा डेढ अर्ब खर्चेर साझेदारीमा खानेपानी आयोजना निर्माण हुने

शनिबार, १३ वैशाख २०८२, ०९ : २०
शनिबार, १३ वैशाख २०८२

पोखरा । पोखराका विभिन्न वडामा खानेपानी आपूर्तिका लागि लागत साझेदारीमा आयोजना निर्माण हुने भएको छ ।  वडा नम्बर ११ को काँहुडाडा, २१ को कृष्ति, निर्मलपोखरी र मट्टीखान तथा ३३ को भरतपोखरी क्षेत्रका बासिन्दाहरूलाई स्वच्छ पिउने पानी उपलब्ध गराउन आयोजना अघि बढाइएको हो । 

आयोजनाका लागि त्रिपक्षीय सम्झौता भएको छ । पोखरा २१ र ३३ लाई समेट्ने गरी नेपाल सरकारको केन्द्रीय खानेपानी आयोजना अन्तरगत वृहद भरतपोखरी, निर्मलपोखरी, कृस्ति खानेपानी आयोजना, मट्टीखान खानेपानी आयोजना पोखरा २१ र जलवायु अनुकूलित आयोजना अन्तरगत काँहुधरहरा खानेपानी आयोजना पोखरा ११ को निर्माण गर्न लागिएको महानगरले जनाएको छ । 

मेयर धनराज आचार्य र सिनियर डीभिजनल इन्जिनियर कुल प्रसाद पौडेल लगायतको रोहबरमा गरिएको समझदारी पत्रमा नेपाल सरकारको तर्फबाट संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना पोखराका कामु आयोजना प्रमुख पदम बहादुर कुँवर क्षेत्री, पोखरा महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई र खानेपानी उपभोक्ता समितिका तीनै जना अध्यक्षहरूले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार वृहद भरत पोखरी, निर्मलपोखरी, कृस्ति खानेपानी आयोजना निर्माणका लागि ५१ करोड ७७ लाख लागत लाग्नेछ ।

पहिलो चरणमा अर्थ मन्त्रालयबाट २८ करोड ४९ लाखको स्रोत सुनिश्चित भई कार्यान्वयनको चरणमा रहेको आचार्यले बताए । यस्तै, काँहुधरहरा खानेपानी आयोजनाका लागि कुल ४९ करोड १७ लाख लागत लाग्नेमा २१ करोड ६ लाख श्रोत सुनिश्चित भैसकेको छ भने  मट्टीखान खानेपानी आयोजनाको कुल २८ करोड ५४ लाख लागत मध्ये १९ करोड ७६ लाखको स्रोत सुनिश्चित भएको छ । 

समझदारी अनुसार स्रोत सुनिश्चित भई कार्यान्वयनमा गइसकेपछि चालु वर्षमा पोखरा महानगरपालिकाले त्यसको १० प्रतिशत रकम व्यहोर्ने छ । तीन वटै परियोजनाको कुल लागत १ अरब २९ करोड ४९ लाख ५८ हजार ९७८ रुपैयाँ लाग्ने अनुमान गरिएको छ । परियोजनाको कुल लागतको ९० प्रतिशत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले व्यहोर्ने मेयर आचार्यले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप