झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना

झापा । मेचीनगर नगरपालिकाले स्थानीय बजार र सहकारीको अनुगमन तीव्र बनाएको छ । अनुगमनका क्रममा त्रुटी भेटिएका व्यवसायीलाई जरिवाना र सहकारीलाई सचेत गराइएको छ । नगरकी उपप्रमुख मीना उप्रेतीको नेतृत्वमा गरिएको बजार अनुगमनको क्रममा मेचीनगर–९ को पूजा फुड प्रोडक्सन उद्योगमा उपभोग्य मिति गुज्रिएको पास्ता, सुजी र मैदा भेटिएको थियो ।
उद्योगका सञ्चालक पुष्पा जैसवाल चौधरीलाई उपभोक्ताको हितमाथि खेलवाड गरेको अभियोगमा ५० हजार जरिवाना गरिएको मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले बताए । जरिवाना तिरेपछि अबोप्रान्त लापर्वाही नगर्ने शर्तमा नगरपालिकाले अनुगमनको क्रममा उद्योगमा लगाएको ताला खोलिदिएको छ ।
नगरपालिकाका खाद्य विश्लेषक दिपेन्द्र कार्कीले मेचीनगर–१० स्थित नन्दा फुड इन्डस्ट्रिज र मेचीनगर–१४ स्थित सिङ्गापुर बेभरेज नेपाल प्रालिसमेतमा अनुगमन गरिएको बताए । सरसफाइमा ध्यान नदिइएको पाइएका कारण नन्दा फुड इन्डस्ट्रिजका सञ्चालकलाई सचेत गराएर उद्योगमा सरसफाइको व्यवस्था मिलाउन निर्देशन दिइएको खाद्य विश्लेषक कार्कीले जानकारी दिए ।
यसैबीच, नगरपालिकाद्वारा गठित सहकारी समन्वय समितिले मेचीनगरको १५ वटा सहकारी संस्थामा स्थलगत अनुमगन गरेको छ । सहकारी समन्वय समितिको सचिवसमेत रहेका नगरपालिकाका अधिकृत कार्कीले १५ सहकारीमा अनुगमन गर्दा सहकारी मूल्य र मान्यता पालना नगरेका आठ वटालाई सुध्रिनका लागि सुझाव दिइएको बताए ।
समितिले मेचीनगर–१० को लङ्कासरी महिला संवृद्वि बहुउद्देश्यीय सहकारी संस्था, तारावारी शान्ति बचत तथा ऋण सहकारी संस्था, मेचीनगर–१४ को आपसी समाज बचत तथा ऋण सहकारी संस्था, विहानी बतच तथा ऋण सहकारी संस्था, मेचीनगर–१२ को सामूहिक अभियान बचत तथा ऋण सहकारी संस्था, सब्जीमण्डी कृषि सहकारी संस्था, चारआली बचत तथा ऋण सहकारी संस्था, मेचीनगर–१३ को आशावादी बहुउदेश्यीय सहकारी संस्थाको अनुगमन गरेको जनाएको छ ।
यसैगरी, मेचीनगर–१ को कृष्ण थुम्की सहकारी संस्था, मेचीनगर–२ को वौद्धमोड कृषि सहकारी संस्था, प्रेरणा कृषि सहकारी संस्था र ब्रमाण्ड अपाङ्ग तथा महिला बचत तथा ऋण सहकारी संस्था, मेचीनगर–४ को पानस कृषि सहकारी संस्था र साना किसान कृषि सहकारी संस्था र मेचीनगर–५ स्थित नकलबन्दा बचत तथा ऋण सहकारी संस्थाको अनुगमन गरिएको छ ।
अनुगमन गरिएकामध्ये आठ वटा सहकारीमा सञ्चालक समितिको वैठक नियमित नगरेको, विना धितो ऋण लगानी गरेको, कर्मचारीलाई नियुक्त पत्र नदिएको, तमसुकमा ऋण कार्यविधिको दफा उल्लेख नभएको, ऋण समितिले गरेको निर्णय ऋणिको फायलमा नराखेको, फायलमा स्वघोषणा अंशियारको सम्पति र ऋण स्वीकृति भएको पत्र नराखिएको, मासिक रिपोर्ट नबनाइएको, सूचना पार्टीनराखिएको, तोकिएको अवधिमा साधारणसभा नगरिएको, सदस्य शिक्षा कार्यक्रम नगरेको, कर्जा जोखिम कोषको व्यवस्था नगरिएको पाइएको थियो ।
सहकारी अनुगमन टोलीमा सहकारी समन्वय समितिका सदस्य दुर्गाप्रसाद सापकोटा, वीपी भट्टराई, जगन्नाथ भट्टराई र सदस्य सचिव कार्की रहेका थिए ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले स्थानीय सरकारलाई उपभोक्ताको अधिकार सुरक्षित गर्नका लागि अनुगमनको अधिकार दिइएको हुँदा बजार, सहकारी र अन्य क्षेत्रको अनुगमनलाई निरन्तर र प्रभावकारी बनाउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यस्तो छ अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन डलर, क्यानेडियन डलर र चिनियाँ युआनको मूल्य
-
जर्मन बुण्डेस लिगामा हिडेनहाइम विजयी
-
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
-
आईपीएल : पुछारमै थन्कियो चेन्नई, हैदरावाद उक्लियोआठौं नम्बरमा
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म