शनिबार, १३ वैशाख २०८२
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि  नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म

शनिबार, १३ वैशाख २०८२, ०० : ०९
शनिबार, १३ वैशाख २०८२

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– 

१. गठबन्धनमा आशंका
नेपालको राजनीतिमा केही दिन यता विभिन्न आशङ्का देखापर्दै आएका छन् । एमाले–कांग्रेस गठबन्धन धरापमा पर्ने हो कि, नयाँ गठबन्धनसँगै सरकार परिवर्तन हुने हो कि भन्ने खालका आशङ्कालाई बल पुग्ने गरी विभिन्न परिस्थिति र घटनाक्रमलाई जोडेर व्याख्या हुँदै आएको छ ।

२. डाबरको रजाइँ
बारा–पर्सा औद्योगिक करिडोरमा रहेको बहुराष्ट्रिय कम्पनी ‘डाबर नेपाल प्रालि’ ले राज्यको अर्बौँको सार्वजनिक सम्पत्ति वर्षौँदेखि दोहन गरेको भेटिएको छ । महानगरपालिका–३२ मा रहेको डाबर नेपालले ३ बिघा १७ कट्ठा ऐलानी, कैसुद खोला र ३ वटा कुलोको जग्गा ३४ वर्षदेखि भोगचलन गर्दै आएको हो ।

३. बारम्बार सरकार ढल्ने अभिव्यक्ति
प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने अभिव्यक्ति बारम्बार दिँदै आएका छन् । पछिल्लो समय कांग्रेस सभापति शेरबहादुर देउवाको थाइल्याण्ड भ्रमणसँग जोडेर सरकार ढल्ने अभिव्यक्ति आए पनि देउवा स्वयंले त्यसको खण्डन गरिसकेका छन् ।

४. के भन्छन् ओली ? 
प्रधानमन्त्री केपी शर्मा ओलीले १४ महिनापछि आफूले प्रधानमन्त्रीबाट राजीनामा दिने बताएका छन् । शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । सरकार परिवर्तनको हल्ला चलिरहेको बेलामा सरकार सञ्चारकर्मीहरुले जिज्ञासा राखेका थिए । सोही प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले अब १४ महिनापछि आफूले राजीनामा दिने र नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताए ।

५. शिक्षक आन्दोलन
नेपाल शिक्षक महासंघका अधिकारीहरू सरकारसँग वार्ता गर्न गएको भनिएपनि मन्त्रालय प्रवेश नगरी फर्किएका छन् । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले विशेष कारणवश आफूहरू मन्त्रालय प्रवेश नगरी फर्किएको जानकारी दिए ।

६. प्रतिनिधिसभा बैठक
प्रतिनिधिसभा बैठक आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । आजबाट सुरु भएको बजेट अधिवेशनमा दलीय आधारमा नेताहरूले धारणा राखेका थिए । आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैकल्पिक विकास वृत्त परिचालन विधेयक २०८१ लाई प्रस्तुत गर्त अनुमति मागेका थिए । त्यसपछि अर्थमन्त्री पौडेलले विधेयक प्रस्तुत गरेका थिए ।

७. नेपालमा एमसीसी
नेपालसहित चार देशका एमसीसी अन्तर्गतका परियोजनाले निरन्तरता पाउने भएका छन् । अमेरिकाको डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी ९डज० को सिफारिस अनुसार विश्वभर सञ्चालित परियोजना बन्द गर्ने निर्णय गरेको अमेरिकी सरकारले चार देशका परियोजनालाई भने अघि बढाउने गरी निर्णय गरेको डजका उच्च अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

८. राणा क्यान्सरमुक्त
चिकित्सकहरूले  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. धवल शमशेर राणाको स्वास्थ्यमा कुनै समस्या नरहेको रिपोर्ट दिएका छन् ।
मुम्बइस्थित  ‘हेड एन्ड नेक क्यान्सर इन्स्टिच्युट अफ इन्डिया’ मा फलोअपका लागि पुगेका राणालाई चिकित्सकले ‘अल क्लियर’ भनेर रिपोर्ट दिएको राणाको भनाइ उद्धृत गर्दै राप्रपाका सहायक महामन्त्री ऋषि राज देवकोटाले जानकारी दिए । 

९. नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले केन्द्रीय समितिको बैठक बोलाएकी छिन् । वैशाख १७ गते डा.सिके राउत अध्यक्ष रहेको जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबिच एकीकरण हुन गइरहेको छ । त्यसअघि वैशाख १५ गते केन्द्रीय समितिको बैठक बोलाइएको अध्यक्ष श्रेष्ठले बताइन् । 

१०. साताको सेयर
पछिल्लो एक साता सेयर बजार मापक नेप्से परिसूचक निरन्तर रूपमा ओरालो लागेको छ । अघिल्लो साताभर उत्साह देखिएको पुँजीबजार यो साता लगानीकर्तालाई निराश बनाएको छ । गत साता नयाँ वर्षसँगै नेपाली पुँजीबजारमा उत्साह थपिएको थियो तर यो साता नेपाल राष्ट्र बैङ्कमा नयाँ गभर्नर नियुक्तिका विषयमा देखिएको अन्योलतासँगै बजारमा नकारात्मक भएको देखिन्छ । यो साता नेप्से परिसूचक ६४।७१ अङ्कले गिरावट आएको छ ।

११. अमेरिकामा न्यायाधीश पक्राउ
अमेरिकी अधिकारीहरूले विस्कोन्सिन राज्यकी एक न्यायाधीशलाई पक्राउ गरेका छन् ।  आप्रवासन अधिकारीहरूबाट एक व्यक्तिलाई बचाउन सहयोग गरेको आरोपमा उनीलाई शुक्रबार पक्राउ गरिएको रोयटर्सले जनाएको छ । 

१२. प्रशिक्षक नेपालमा
नेपाली क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक स्टुअर्ट ल नेपाल आइपुगेका छन् । गत चैत १५ गते टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका उनी शुक्रबार साँझ नेपाल आइपुगेका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीले स्वागत गरेका छन् । ५६ वर्षीय लको पदावधि अप्रिलदेखि दुई वर्षको लागि हुनेछ । गत जनवरीमा यसअघिका प्रशिक्षक मोन्टी देशाईसँगको सम्झौता सकिएपछि उनको ठाउँमा स्टुअर्ट प्रशिक्षक नियुक्त भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप