१० बजे १० समाचार : सरकारबारे गठबन्धनभित्र आशंका, के भन्छन् प्रधानमन्त्री ओली ?

आज मिति २०८२ साल वैशाख महिनाको १२ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङ लिएर उपस्थित भएका छौँ–
१. गठबन्धनमा आशंका
नेपालको राजनीतिमा केही दिन यता विभिन्न आशङ्का देखापर्दै आएका छन् । एमाले–कांग्रेस गठबन्धन धरापमा पर्ने हो कि, नयाँ गठबन्धनसँगै सरकार परिवर्तन हुने हो कि भन्ने खालका आशङ्कालाई बल पुग्ने गरी विभिन्न परिस्थिति र घटनाक्रमलाई जोडेर व्याख्या हुँदै आएको छ ।
जिम्मेवार नेताहरूका तर्क र अभिव्यक्तिका कारण पनि ‘केही त हुँदै छैन ?’ भन्ने आशङ्का सर्वसाधारणले गरेका छन् । आशङ्का निमिट्यान्न हुनेगरी नेताहरूको अभिव्यक्ति नआउँदासम्म र सरकारको कार्यशैलीमा परिवर्तन नभएसम्म यो अवस्था अझै केही दिन लम्बिने देखिन्छ । सरकारबारे गठबन्धनभित्रै आशंका बढेको छ ।
२. डाबरको रजाइँ
बारा–पर्सा औद्योगिक करिडोरमा रहेको बहुराष्ट्रिय कम्पनी ‘डाबर नेपाल प्रालि’ ले राज्यको अर्बौँको सार्वजनिक सम्पत्ति वर्षौँदेखि दोहन गरेको भेटिएको छ ।
साबिक रामपुर टोकनी गाविस वडा नं ३, हाल वीरगन्ज महानगरपालिका–३२ मा रहेको डाबर नेपालले ३ बिघा १७ कट्ठा ऐलानी, कैसुद खोला र ३ वटा कुलोको जग्गा ३४ वर्षदेखि भोगचलन गर्दै आएको हो ।
३. बारम्बार सरकार ढल्ने अभिव्यक्ति
प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने अभिव्यक्ति बारम्बार दिँदै आएका छन् । पछिल्लो समय कांग्रेस सभापति शेरबहादुर देउवाको थाइल्याण्ड भ्रमणसँग जोडेर सरकार ढल्ने अभिव्यक्ति आए पनि देउवा स्वयंले त्यसको खण्डन गरिसकेका छन् ।
४. के भन्छन् ओली ?
प्रधानमन्त्री केपी शर्मा ओलीले १४ महिनापछि आफूले प्रधानमन्त्रीबाट राजीनामा दिने बताएका छन् । शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
सरकार परिवर्तनको हल्ला चलिरहेको बेलामा सरकार सञ्चारकर्मीहरुले जिज्ञासा राखेका थिए । सोही प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले अब १४ महिनापछि आफूले राजीनामा दिने र नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताए ।
उनले भने,‘अब १४ महनिापछि मैले राजीनामा गर्छु, शेरबहादुरजी प्रधानमन्त्री हुनुहुन्छ ।’ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संसदीय दलको बैठकमा काँग्रेस सभापति देउवा थाइल्याण्डबाट आएसँगै गठबन्धनबारे छलफल गर्ने ब्रिफिङ गरेका थिए ।
यस्तै कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रपति आरजुृ राणाले पनि सरकार ढल्ने हल्लामात्रै भएको बताएका छन् ।
५. शिक्षक आन्दोलन
नेपाल शिक्षक महासंघका अधिकारीहरू सरकारसँग वार्ता गर्न गएको भनिएपनि मन्त्रालय प्रवेश नगरी फर्किएका छन् । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले विशेष कारणवश आज आफूहरू मन्त्रालय प्रवेश नगरी फर्किएको जानकारी दिए ।
६. प्रतिनिधिसभा बैठक
प्रतिनिधिसभा बैठक आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । आजबाट सुरु भएको बजेट अधिवेशनमा दलीय आधारमा नेताहरूले धारणा राखेका थिए ।
आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैकल्पिक विकास वृत्त परिचालन विधेयक २०८१ लाई प्रस्तुत गर्त अनुमति मागेका थिए । त्यसपछि अर्थमन्त्री पौडेलले विधेयक प्रस्तुत गरेका थिए ।
७. नेपालमा एमसीसी
नेपालसहित चार देशका एमसीसी अन्तर्गतका परियोजनाले निरन्तरता पाउने भएका छन् । अमेरिकाको डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी (डज) को सिफारिस अनुसार विश्वभर सञ्चालित परियोजना बन्द गर्ने निर्णय गरेको अमेरिकी सरकारले चार देशका परियोजनालाई भने अघि बढाउने गरी निर्णय गरेको डजका उच्च अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
८. राणा क्यान्सरमुक्त
चिकित्सकहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रप)का महामन्त्री डा धवल शमशेर राणाको स्वास्थ्यमा कुनै समस्या नरहेको रिपोर्ट दिएका छन् ।
मुम्बइस्थित ‘हेड एन्ड नेक क्यान्सर इन्स्टिच्युट अफ इन्डिया’ मा फलोअपका लागि पुगेका राणालाई चिकित्सकले ‘अल क्लियर’ भनेर रिपोर्ट दिएको राणाको भनाइ उद्धृत गर्दै राप्रपाका सहायक महामन्त्री ऋषि राज देवकोटाले जानकारी दिए ।
९. साताको सेयर
पछिल्लो एक साता सेयर बजार मापक नेप्से परिसूचक निरन्तर रूपमा ओरालो लागेको छ । अघिल्लो साताभर उत्साह देखिएको पुँजीबजार यो साता लगानीकर्तालाई निराश बनाएको छ ।
गत साता नयाँ वर्षसँगै नेपाली पुँजीबजारमा उत्साह थपिएको थियो तर यो साता नेपाल राष्ट्र बैङ्कमा नयाँ गभर्नर नियुक्तिका विषयमा देखिएको अन्योलतासँगै बजारमा नकारात्मक भएको देखिन्छ ।
यो साता नेप्से परिसूचक ६४.७१ अङ्कले गिरावट आएको छ ।
१०. प्रशिक्षक नेपालमा
नेपाली क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक स्टुअर्ट ल नेपाल आइपुगेका छन् । गत चैत १५ गते टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका उनी शुक्रबार साँझ नेपाल आइपुगेका हुन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीले स्वागत गरेका छन् ।
५६ वर्षीय लको पदावधि अप्रिलदेखि दुई वर्षको लागि हुनेछ । गत जनवरीमा यसअघिका प्रशिक्षक मोन्टी देशाईसँगको सम्झौता सकिएपछि उनको ठाउँमा स्टुअर्ट प्रशिक्षक नियुक्त भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक
-
हिउँ चितुवा संरक्षणका लागि अन्तरदेशीय सहकार्य आवश्यक : मन्त्री शाही
-
पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन