खोटाङमा अन्तरजातीय विवाह गर्ने पाँच दम्पती सम्मानित

खोटाङ । यहाँको खोटेहाङ गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने दुई वडाका पाँच दम्पतीलाई सम्मान गरेको छ ।
वडा नम्बर १ लिकुवापोखरीका सुदेश राई र रिता खड्का, शम्भुजित कटवाल र अम्बिका राई, विजय सार्की र मुना श्रेष्ठ तथा विनोद राई र ममता तामाङ तथा वडा नम्बर २ वाप्लुखाका आस्मिन राई र सुष्मा विश्वकर्मा दम्पतीलाई गाउँपालिकाले बिहीबार सम्मान गरेको हो ।
फरक–फरक समुदायका भए पनि विवाह गरेर राम्ररी घरजम बसाएका जोडीलाई प्रोत्साहनका लागि सम्मान गरिएको गाउँपालिकाका उपप्रमुख रुपेश राईले जानकारी दिए ।
गाउँपालिकाको दलित लक्षित कार्यक्रमअन्तर्गत गाउँपालिकाबाट विनियोजित रकमबाट नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ, खोटेहाङ गाउँपालिका कार्यसमितिको अगुवाइमा अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान कार्यक्रम गरिएको जनाइएको छ ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घले आयोजना गरेको वडास्तरीय जनचेतनामूलक कार्यक्रमको अवसरमा गाउँपालिका उपप्रमुख राईले अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रमाणपत्रसहित सम्मान प्रदान गरे ।
जातीय विभेदको पर्खाललाई भत्काउँदै विवाह गरेका अन्तरजातीय दम्पतीलाई प्रोत्साहन स्वरूप नगदसहित सम्मान गरिएको नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ खोटेहाङ गाउँपालिका कार्यसमितिका सचिव युवराज विश्वकर्माले बताए ।
प्रत्येक दम्पतीलाई नगद रु दुई हजारका दरले यातायात खर्च प्रदान गरिएको जनाएको छ । सम्मान कार्यक्रममा प्रशिक्षक मिलन चाहारले जातीय विभेदसम्बन्धी विद्यमान कानुन, दलितले भोगिरहेको विभेद र छुवाछूतका विषयमा प्रस्तुतीकरण गरेका थिए ।
अन्तरजातीय विवाह गर्ने गाउँपालिकाको नौ वटै वडाका दम्पतीलाई सम्मान गर्ने कार्यक्रम रहेको जनाएको छ । सम्मानका लागि सबै वडामा विवरण सङ्कलन भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
-
आईपीएल : पुछारमै थन्कियो चेन्नई, हैदरावाद उक्लियोआठौं नम्बरमा
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक