हिमालयन रि–इन्स्योरेन्सलाई वैदेशिक रोजगार म्यादी जीवनबीमा पुल सञ्चालनको अधिकार

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीले बीमा पुलको अधिकार पाएको छ । नेपाल बीमा प्राधिकरणले आगामी ४ वर्षका लागि रिइन्स्योरेन्सलाई पुल सञ्चालनको अधिकार दिएको हो ।
प्राधिकरणले बिहीबार बीमा कम्पनीहरूलाई परिपत्र जारी गर्दै वैदेशिक रोजगार म्यादी जीवन बीमा सामूहिक बीमा कोष (पुल) सञचालन सम्बन्धी निर्देशन बमोजिम छलफल गरी हिमालयनलाई उक्त अधिकार दिएको जनाएको छ । उक्त निर्देशनको दाफा ५ मा पुनर्बीमा कम्पनीहरुले पालैपालो ४ वर्षका लागि पुल सञ्चालन गर्न पाउने व्यवस्था गरिएको छ ।
अहिले नेपालमा दुई पुनर्बीमा कम्पनी सञ्चालनमा छन् । प्राधिकरणले गत फागुन ४ गते प्राधिकरणले दुवै कम्पनीलाई बोलाएर छलफल गरेको थियो । उक्त छलफलमा दुवै कम्पनीले पहिलोपटक हिमालयनलाई पुल सञ्चालनको लागि सहमति गरे अनुसार यो अधिकार दिइएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले म्यादी जीवन बीमा सेवा प्रदान गर्ने सबै कम्पनीलाई उक्त निर्णय कार्यान्वयनको लागि निर्देशन दिएको छ ।
प्राधिकरणले चार वर्षका लागि प्रत्येक म्यादी बीमा सेवा प्रदान गर्ने कम्पनीलाई बजारहिस्सा अनुसार नाफाको हिस्सा समेत विभाजन गरेको छ । यस अनुसार सन नेपाल लाइफले सर्वाधिक १६ प्रतिशत, नेपाल लाइफ इन्स्योरेन्सले १०.९१ प्रतिशत हिस्सा प्राप्त गर्नेछन् भने यसै वर्ष सञ्चालित लघुबीमा कम्पनीहरुलाई ४ प्रतिशत हिस्सा दिइएको छ । चौथो वर्षमा भने सबै १८ वटा सेवा प्रदायकले ६.६६ प्रतिशत बराबरको हिस्सा प्राप्त गर्नेछन् ।