शनिबार, १३ वैशाख २०८२
ताजा लोकप्रिय
राजनीति

प्रचण्ड के आधारमा सरकार ढल्ने अभिव्यक्ति बारम्बार दिन्छन् ?

शुक्रबार, १२ वैशाख २०८२, २० : ००
शुक्रबार, १२ वैशाख २०८२

काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने अभिव्यक्ति बारम्बार दिँदै आएका छन् । पछिल्लो समय कांग्रेस सभापति शेरबहादुर देउवाको थाइल्याण्ड भ्रमणसँग जोडेर सरकार ढल्ने अभिव्यक्ति आए पनि देउवा स्वयंले त्यसको खण्डन गरिसकेका छन् ।

स्वास्थ्य उपचार तथा पारिवारिक भ्रमण सकेर थाइल्याण्डबाट शुक्रबार स्वदेश फर्किएका कांग्रेसका सभापति देउवा तथा उनकी पत्नी एवं परराष्ट्रमन्त्री आरजु राणाले सरकार ढल्ने हल्लामा कुनै सत्यता नभएको स्पष्ट पारे ।

बिहीबार सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकमा प्रचण्डले सत्ता समीकरण बदलिन सक्ने आशयका साथ ब्रिफिङ गरेका थिए । देउवा थाइल्याण्ड उड्नुअघि आफूलाई फोन गरेको भन्दै उनले सत्ता सहकार्यको विषयमा छलफल हुनसक्ने सङ्केत गरेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री राणाले सञ्चारकर्मीसँग कुरा गर्दै सरकार परिवर्तनको समाचारले आफूहरू छक्क परेको बताइन् । उनले मनोरञ्जनका लागि कसैले हल्ला चलाएको हुन सक्ने भन्दै यस विषयमा बिहीबार बेलुका सभापति देउवा र प्रधानमन्त्री ओलीबिच टेलिफोन वार्ता भएको जानकारी गराइन् । 

‘सरकार परिवर्तन नेपालभित्रै बसेर गर्नुपर्ने होला । विदेशमा बसेर यहाँको सकार परिवर्तन हुँदैन । यस्ता समाचारले हामी आफैँ पनि छक्क प¥यौँ । हिजो बेलुका सभापति र प्रधानमन्त्रीबिच कुराकानी भएको थियो । यस्तो केही पनि छैन । मनोरञ्जनका लागि समाचार आएको होला’, राणाले भनिन् ।

यसैगरी सत्ता गठबन्धनमा खटपट आएको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा पूर्वप्रधानमन्त्री देउवाले भने– ‘त्यस्तो केही भएको छैन । कसले भन्यो, थाहा छैन मलाई ।’

गत वर्ष असार ३१ गते प्रचण्ड नेतृत्वको सरकारलाई बिस्थापित गरी कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बनेका थिए । तर गठबन्धन सरकारलाई प्रचण्डले अप्राकृतिक, असंवैधानिक र अपारदर्शीको जगमा बनेको आरोप लगाउँदै आएका छन् । यद्यपि २०८४ सम्म आफू सत्तामा नजाने भन्दै आएका प्रचण्ड पछिल्लो समय भने सरकार ढल्ने भन्दै तरङ्गित देखिएका हुन् ।

जबकि फागुन १२ देखि सुरु भएको पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियानका क्रममा समेत उनले आफूहरूको ध्यान अब सत्तामा नभई वर्ग समुदायमा भएको प्रष्टिकरण पटक पटक दिएका थिए । शान्ति प्रक्रियामा आएको लामो समय कांग्रेस र एमालेसँग सत्ता सहकार्य गर्दा बिग्रिएको स्वीकार गर्दै उनले नेपाली विशेषताको समाजवादी क्रान्तिका लागि जनताको बिचमा रहने प्रतिबद्धता जनाएका थिए । अभियानका क्रममा वैशाख ४ गते रुपन्देही पुगेका प्रचण्डले २०८४ को निर्वाचनअघि सत्तामा नजाने दृढता देखाएका थिए ।

‘अब एकचोटी फेरि जनताको भरोसा माओवादीतिर प्रचण्डतिर छ, त्यसले हामीलाई थप जिम्मेवारी बोध भएको छ । सरकारमा २०८४ सम्म नजाने हाम्रो निर्णयमा एउटा नयाँ दृढता पैदा भएको छ । तपाईंहरूलाई लाग्छ– सरकारमा जान हतारो गरेको होला,’ उनले भनेका थिए, ‘हामी फेरि एकचोटी सरकारमा गएर त्यो त्रुटि गर्ने पक्षमा छैनौँ ।

वैशाख ११ गते संसदीय दलको बैठकमा आफ्ना पूर्वप्रतिबद्धताबाट पछि हट्दै उनले पार्टी फेरि सत्तामा जानुपर्ने अवस्था आउन सक्ने सङ्केत गरे । बैठकमा प्रचण्डले ओली सरकार ढल्न सक्ने आधारसमेत प्रस्तुत गरेका थिए ।

पहिलो आधारका रूपमा उनले प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति सत्ता गठबन्धन दलहरूभित्रै असन्तुष्टि बढिरहेको अवस्थालाई संकेत गरे । राजनीतिक नियुक्ति, सरुवा–बढुवामा ओलीको हस्तक्षेपकारी नीतिप्रति कांग्रेसका शीर्ष नेताहरू नै सन्तुष्ट नरहेको उनको बुझाइ छ । कांग्रेसका नेता डा. शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा लगायत नेताहरू सरकारको कार्यसम्पादनप्रति सन्तुष्ट देखिएका छैनन् । महामन्त्री थापाले यस्तै अवस्था रहिरहे सरकार नै छाड्न सक्ने चेतावनी दिएका छन् । गर्भनर नियुक्तिको विषयलाई लिएर प्रधानमन्त्री ओली र देउवाको स्वार्थ बाझिँदा पेचिलो बन्दै गएको छ ।

दोस्रो आधारमा सरकारविरुद्ध शिक्षक, कर्मचारी, चिकित्सकहरू सडकमा ओर्लिएको विषयलाई प्रस्तुत गरेका छन् । झण्डै तीन सातादेखि शिक्षकहरू सडकमा विरोध गरिरहँदा समेत सरकारले उनीहरूको मागबारे कुनै सुनुवाइ गरेको छैन । यहीबिचमा शिक्षमन्त्री विद्या भट्टराईले राजीनामा दिइन् । भट्टराईको राजीनामापछि ओलीले रघुजी पन्तलाई मन्त्रीमा नियुक्त गरे पनि शिक्षकहरू वार्तामा बसेका छैनन् । चिकित्सकहरूले आकस्मिक सेवाबाहेक सबै काम ठप्प पार्ने चेतावनी दिएका छन् । लघुवित्त पीडितहरूको समेत समस्या समाधान हुन सकेको छैन ।

तेस्रो आधार आम नागरिकबिच लोकप्रिय रहेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा.केशरजंग बराललाई राजीनामा दिन बाध्य पारिएकाले ओली सरकार अलोकप्रिय भएको प्रचण्डको विश्लेषण छ ।

चौथो आधारमा सरकारले सुशासन, सामाजिक न्याय तथा समृद्धिको विपक्षमा सरकार लागेकाले जनस्तरमा आक्रोश र निराशा बढ्दै गएकाले सरकार अप्ठ्यारोमा परेको उनको बुझाइ छ ।

पाँचौँ आधारमा छिमेकी मुलुकसँग ओली सरकारको सम्बन्ध बिग्रिएको प्रचण्डको बुझाइ छ । सरकार बनेको १० महिनासम्म भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमणको निम्तो नदिनु ओलीको कूटनीतिक असफलताको रूपमा उनले चित्रण गरेका छन् ।

यी लगायत संविधान संशोधनको मुद्दा, विपक्षी दलप्रति ओलीको दमन र अनुदारवादी नीतिका कारण गठबन्धन सरकार कमजोर हुँदै गएको माओवादीको निष्कर्ष छ । चैत १८ र १९ गते बसेको पदाधिकारी बैठकले सरकारका काम कारबाहीहरूमा बेथिति रहेको, भ्रष्टहरूको रक्षा गरिरहेको, गणतन्त्र र राष्ट्रिय स्वाधिनताको रक्षामा गम्भीरता नदेखिएको, प्रतिगामी षड्यन्त्रहरू बढदै गइरहेको ठहर गरेको छ ।

यद्यपि माओवादीको केन्द्रीय समिति तथा पदाधिकारी बैठकले अनुमोदन गरेको आधिकारिक दस्ताबेजमा सरकार परिवर्तनको विषय उल्लेख गरेको छैन । माओवादीको पछिल्लो पटक बसेको पदाधिकारी बैठकमा ओली सरकारको आलोचना गरिए पनि सरकार ढल्न सक्ने आधार वा सम्भावनाबारे केही बोलेको छैन ।

तर पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी दिन वैशाख १० गते माओवादीले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता अग्नि सापकोटाले ओली सरकार पूर्ण रूपमा असफल भएको निष्कर्ष निकाल्दै एक दिन पनि सत्तामा बस्ने नैतिकता गुमाएको बताएका थिए ।

यता उपमहासचिव हरिबोल गजुरेलले पार्टीको ध्यान अहिले सत्तामा नभएको जिकिर गरे । ओली सरकार आफ्नै कर्मको बोझले ढल्ने भएकाले प्रतिपक्षले बल गर्नु नपर्ने उनको भनाइ थियो ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले करिब १० महिना ओली सरकारको गतिविधि हेरेर अध्यक्ष प्रचण्डले सरकार ढल्न सक्ने संकेत गरेको स्वीकारे । यदि सरकार तलमाथि भएको खण्डमा प्रतिपक्षको भूमिका के हुने भन्ने सन्दर्भमा प्रचण्डले बैठकमा ब्रिफिङ गरेको यादवको भनाइ छ ।

‘ओली सरकार पूर्ण रूपमा असफल भइसक्यो । अहिलेको सरकारप्रति सत्ता गठबन्धनभित्रकै दलहरू सन्तुष्ट छैनन् । जनस्तरमा आक्रोश र निराशा बढ्दै गएको छ । छिमेकीसँगको सम्बन्धसमेत बिग्रिँदै गएको छ । यी सबै परिस्थितिलाई हेरेर प्रचण्डजीले सरकार धेरै समय नजाने बताउनुभएको हो,’ उनले भने ।

प्रचण्डले शुक्रबार पनि देशको राजनीति अर्कै हुन सक्ने संकेत गरे । १० औँ भूकम्प दिवसको अवसरमा गोरखाको बारपाकमा अयोजित कार्यक्रममा बोल्दै उनले राजनीतिमा सबै सम्भावना रहने स्पष्ट पारे ।

‘एक चोटी म प्रधानमन्त्री र उहाँ(सुरेन्द्रराज पाण्डे) मुख्यमन्त्री सँगै भयौँ । केही काम अगाडि बढाउँदा बढाउँदै दुई पार्टी दुईतिर बन्यो । त्यसको समीक्षा अहिले म गर्दिनँ । राजनीति हो, के–के हुन्छ, भन्न सकिँदैन । भोलि अर्कै हुन पनि सक्छ’, प्रचण्डले भने । 

बाहिर क्रान्तिका कुरा गरे पनि प्रचण्डको भित्री मुख्य उद्देश्य सत्ता नै रहेको सहयात्री दलकै आरोप छ । माओवादीका अधिकांश नेता तथा कार्यकर्ताको मत पनि २०८४ सम्म पार्टी सत्तामा जान नहुने भन्ने नै छ ।

नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी मधेसमा दगुरे पनि ध्यान काठमाडौँमा रहेको आरोप लगाए । नेकपा स्थापनाको ७६ औं वर्ष पूरा भएको अवसरमा वैशाख ९ गते काठमाडौँमा भएको कार्यक्रममा भुसालले आरोप लगाएका हुन् । प्रचण्डको बोलीको कुनै ठेगान नभएको आशयका साथ उनले भनेका थिए– ‘हाम्रो क्रान्तिकारी सहयात्री पार्टी नेकपा माओवादी मधेस दगुर्दै छ, आँखा काठमाडौँमा छ । कुनै झ्यालमा बत्ती बल्छ कि भनेर त्यतैतिर हेरेको छ ।’

भुसालले माओवादीको चरित्र ‘एकातिर हेर्ने र अर्कोतिर बोल्ने’ खालको रहेको भन्दै मजाक गरेका थिए । कहिले कांग्रेस त कहिले एमालेको समर्थनमा लगातार सत्ताको सिँढी चढिरहेका प्रचण्डले सरकारमाथि दबाब बढाउने उद्देश्यले यस्ता अभिव्यक्ति दिएको हुन सक्ने राजनीतिक विश्लेषक झलक सुवेदीले बताए ।
‘सरकार ढल्ने स्थितिमा पुगेको भनेर अहिले नै भन्ने स्थिति छैन । शेरबहादुर देउवाले पनि गठबन्धन धरापमा परेको कुरा अस्वीकार गरेका छन् । प्रतिपक्ष दलको हिसाबले सरकारमाथि दबाब बढाउन प्रचण्डले यस्ता अभिव्यक्ति दिएका हुन सक्छन्’, उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप