शनिबार, १३ वैशाख २०८२
ताजा लोकप्रिय
अर्थ

सिमरा सेजमा सञ्चालन भएको उद्योग ३ सातामै बन्द

शुक्रबार, १२ वैशाख २०८२, १९ : ००
शुक्रबार, १२ वैशाख २०८२

बारा । विशेष आर्थिक क्षेत्र प्राधिकरण ‘सिमरा सेज’ मा एउटा उद्योग सञ्चालनमा आएको ३ सातामै बन्द भएको छ । विश्व बैंकको २० करोड लगानीमा खुलेको ‘बायोकम नेपाल’ नामक उद्योग केही दिन सञ्चालन भएर बन्द भएको हो ।

‘बायोकम नेपाल’ ले कमसल स्तरका प्लास्टिक (सुर्ती, चाउचाउ, चकलेटका खोल)लाई पुनः प्रयोग गरेर प्लाइउड उत्पादन सुरु गरेको थियो ।

उद्योगका मुख्य प्रबन्धक राज महर्जनले कच्चा पदार्थको अभावमा उद्योग सञ्चालन गर्न समस्या भएको बताए । उनले विश्व बैंकको आर्थिक सहयोगमा रिभर प्लस परियोजना अन्तर्गत आधा दर्जन गैरसरकारी संस्थाको समन्वयमा उद्योग सञ्चालन गरिएको बताए ।

‘कच्चा पदार्थ अभाव र बजारको ठुलो समस्या भएकाले अहिले नै पूर्ण रूपमा उद्योग सञ्चालन गर्न सक्ने अवस्था छैन,’ मुख्य प्रबन्धक महर्जनले भने, ‘अब बजारको अनुसन्धान गरेर कच्चा पदार्थ कहाँ–कहाँ पाइन्छ भन्ने बुझेरमात्रै उद्योग सञ्चालन गर्छौं ।’

झट्ट हेर्दा काठजस्तै देखिने यो प्लाइउड निमार्णका लागि प्लाष्टिकलाई उच्च तापक्रममा गालेर ८ एमएमदेखि २२ एमएमसम्मको साइजमा  निर्माण गरिन्छ । यो प्लाइउड घरायसी तथा कार्यालय प्रयोजनमा (टेबल, कुर्सी बनाउन) प्रयोग गर्न सकिन्छ ।

चकलेट, चाउचाउको खोलबाट प्लाइउड उत्पादन गर्ने सम्भवतः यो नै नेपालमा पहिलो उद्योग हो । विशेष आर्थिक क्षेत्र प्राधिकरण सिमरा सेजका प्राविधिक अजय चौधरीले उद्योग सञ्चालनमा आए स्थानीयलाई रोजगारी र आयआर्जनसँग जोड्न सकिने बताउछन् ।

उनले विश्व बैंकको २० करोड लगानी भनिए पनि भौतिक संरचना निर्माणमा बढीमा ३ देखि ४ करोडमात्रै लगानी भएको बताए ।

खोला, नदी किनारमा फ्याँकिएका प्लाष्टिकका खोललाई पुनः प्रयोग गर्दा वातावरण सफा हुने र भविष्यमा यसले काठको प्रयोगलाई समेत  प्रतिस्थापन गर्न सक्दथ्यो ।

सो उद्योगका सिमरा शाखा प्रमुख अफताव अन्सारीले पटक–पटक विद्युत् लाइन कटौती हुँदा उद्योग सञ्चालनमा समस्या भएको बताए । उद्योगमा रिभर प्लससहित आधा दर्जन गैरसरकारी संस्थाले समन्वयका साथ काम गरेका छन्  ।

पिपुल इन निड नामक गैरसरकारी संस्थाकी कार्यक्रम प्रमुख आस्था प्रधानले चकलेट, चाउचाउका खोलबाट प्लाइ उड निर्माण गर्न सकिने र त्यसबाट कुर्सी–टेबल लगायतका घरायसी प्रयोजनमा फर्निचर बनाउन सकिने बताइन् ।

उद्योगले सेजभित्र एउटा प्लट (एक बिघा क्षेत्रफल भएको) जग्गा भाडामा लिएर संरचना निर्माण गरेको छ ।

यता विशेष आर्थिक क्षेत्र सिमरा सेजका कार्यकारी निर्देशक छत्र बहादुर कटुवालले सिमरा सेजभित्र उद्योगमैत्री वातावरण बनाउन सहयोग गर्ने बताए । उनले बायोकम नेपाल विद्युत्, कच्चा पदार्थ र बजारको समस्याका कारण बन्द हुने अवस्थामा पुगेको विषयमा आफूलाई कुनै सूचना नआएको प्रस्ट पारे ।

‘सहजीकरण गरिदिनुप¥यो भनेर आउनुभयो भने उहाँहरूले मागेको सहयोग गर्न हामी तयार छौँ,’ सेजका कार्यकारी निर्देशक कटुवालले भने ‘तर, समस्या नै थाहा नपाइ कसरी सहयोग गर्ने ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप