शनिबार, १३ वैशाख २०८२
ताजा लोकप्रिय

टीआरसी अध्यक्षका लागि बारका निवर्तमान अध्यक्ष घिमिरे अनिच्छुक

शुक्रबार, १२ वैशाख २०८२, १६ : ००
शुक्रबार, १२ वैशाख २०८२

काठमाडौँ । संक्रमणकालिन न्याय टुंग्याउन सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष बन्न नेपाल बार एसोसिएसनका निवर्तमान अध्यक्ष गोपालकृष्ण घिमिरे अनिच्छुक देखिएका छन् । 

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका पदाधिकारीका लागि गरिएको दोस्रो आह्वानमा अध्यक्षका लागि व्यक्तिगत तथा संस्थागत तर्फबाट १११ आवेदन परेका थिए । 

आयोगको पदाधिकारीका लागि ८२ जनाले व्यक्तिगत आवेदन दिएकोमा २९ जनाको नाम संस्थागत रुपमा सिफारिस भएको थियो । जसमध्ये बारको तर्फबाट निवर्तमान अध्यक्ष गोपालकृष्ण घिमिरे, पूर्व अध्यक्ष शेरबहादुर केसीलगायतको नाम सिफारस गरेको थियो । 

आफ्नो नाम सिफारिस भए पनि आफू आयोगको अध्यक्षका लागि इच्छुक नरहेको निवर्तमान अध्यक्ष घिमिरेले बताएका हुन् ।

‘मलाई टीआरसीको लिड गर्नका लागि सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष बन्न सोधिएको हो । बारको नेतृत्वको हिसाबले विश्वास गरेर यसले टुंगो लगाउन सक्छ भनेर मलाई उक्त जिम्मेवारीका लागि उक्त प्रस्ताव आएको होला,’ उनले भने, ‘तर क्रियाशील कानुन व्यवसायीका हिसाबले अन्य जिम्मेवारी निर्वाह गर्नुपर्ने भएकाले म इच्छुक छैन ।’

यसबाहेक अन्य कुनै जिम्मेवारीमा जाने सम्भावना छ भनी सोधिएको प्रश्नमा उनले उक्त सम्भावना भने रहने बताए । उनले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन आफूले बाहिरबाट गर्न सक्ने सबै सहयोगका लागि आफू तयार भएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप