शनिबार, १३ वैशाख २०८२
ताजा लोकप्रिय
राजनीति

देउवाको अनभिज्ञता, गठबन्धनभित्रै बढ्यो आशङ्का !

ओलीलाई आफ्नै सरकारभन्दा ‘मिसन–०८४’ को चिन्ता
शुक्रबार, १२ वैशाख २०८२, १५ : ४५
शुक्रबार, १२ वैशाख २०८२

काठमाडौँ । नेपालको राजनीतिमा केही दिन यता विभिन्न आशङ्का देखापर्दै आएका छन् । एमाले–कांग्रेस गठबन्धन धरापमा पर्ने हो कि, नयाँ गठबन्धनसँगै सरकार परिवर्तन हुने हो कि भन्ने खालका आशङ्कालाई बल पुग्ने गरी विभिन्न परिस्थिति र घटनाक्रमलाई जोडेर व्याख्या हुँदै आएको छ ।

जिम्मेवार नेताहरूका तर्क र अभिव्यक्तिका कारण पनि ‘केही त हुँदै छैन ?’ भन्ने आशङ्का सर्वसाधारणले गरेका छन् । आशङ्का निमिट्यान्न हुनेगरी नेताहरूको अभिव्यक्ति नआउँदासम्म र सरकारको कार्यशैलीमा परिवर्तन नभएसम्म यो अवस्था अझै केही दिन लम्बिने देखिन्छ ।

‘केही दिन यताका घटनाक्रम र प्रमुख राजनीतिक दलका नेताहरूको अभिव्यक्तिलाई हेर्दा परिस्थिति सहज छैन भन्ने बुझिन्छ’, सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका एक शीर्ष नेताले शुक्रबार रातोपाटीसँग भने, ‘कांग्रेस सभापति शेरबहादुर देउवाको बैंकक भ्रमणले सरकारको भविष्यबारे विभिन्न शंका स्वाभाविक उत्पन्न भएका छन् ।’

प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले बिहीबार ‘युथ सेलिब्रेसन’मा दिएको अभिव्यक्ति, कांग्रेस महामन्त्री गगन थापाले बिहीबार नै सरकारबाट ‘बाहिरिन सक्ने’ भनेर दिएको अभिव्यक्ति र प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी संसदीय दलको बैठकमा गरेको ब्रिफिङलाई लिएर एमालेभित्रै पनि सरकारको भविष्यका बारेमा अन्योल उत्पन्न भएको ती नेताको बुझाई छ ।

आफ्नो नाम नखुलाउने सर्तमा एमालेका ती नेताले भने, ‘अन्योल छ, कतिबेला के हुन्छ भनेर यसै भन्न सकिँदैन ।’ कांग्रेस सभापति देउवा फर्किएर आइसकेका कारण अब एक–दुई दिनमै यसबारे केही प्रस्ट हुने उनको विश्वास छ ।

ती नेताका अनुसार देउवाले बैंककमा रहँदा विदेशी शक्तिसँग समेत कुराकानी गरेको हुनसक्ने एमालेभित्र आशङ्का छ । ‘प्रधानमन्त्रीलाई पनि त्यसबारेमा सूचना आएको बुझिएको छ’, ती नेताले भने । यद्यपि, कुन विदेशी शक्तिसँग देउवाले छलफल गरेको सूचना आयो भन्नेबारे उनले खुलाएनन् ।

प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बैंककबाट शुक्रबार स्वदेश फर्किसकेका छन् । स्वदेश फर्केलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीको जिज्ञासामा सभापति देउवाले सत्ता समीकरण परिवर्तन हुनेबारे आफूलाई केही थाहा नभएको प्रतिक्रिया दिए ।

‘समीकरण परिवर्तन हुने कुरा कसले भनेको हो, मलाई थाहा छैन,’ देउवाले भने, ‘सत्ता गठबन्धन जसरी पनि टिक्छ । केही भएको छैन ।’

देउवाको बैंकक भ्रमणलाई सत्ता परिवर्तनसँग जोडेर राजनीतिक वृत्तमा टिप्पणी भइरहे पनि उनले त्यसबारे अनभिज्ञता प्रकट गर्दै कूटनीतिक ढंगले जवाफ दिएका हुन् । जबकि आफ्नै पार्टीका नेताहरूले सरकारको कार्यशैलीलाई लिएर गरेको आलोचना र सरकार छाड्न सक्ने भनेर दिएको अभिव्यक्तिबाट देउवा बेखबर अवश्य छैनन् । त्यतिमात्र होइन, परराष्ट्रमन्त्री तथा देउवापत्नी आरजु राणा देउवाले आफूहरू बैंककमा रहेको बेला प्रधानमन्त्री ओलीले सभापति देउवासँग फोन वार्ता गरेको खुलाइन् । यसले पनि साझेदार दलहरूमा आशङ्का कायमै छ भन्ने बुझ्न सकिन्छ ।

सभापति देउवाले समीकरण परिवर्तनबारे अनभिज्ञता प्रकट गरे पनि कांग्रेसभित्र वर्तमान सरकारलाई हेर्ने दृष्टिकोण परिवर्तन नभए, नेताहरूमा बढ्दो असन्तुष्टि साम्य नभए परिस्थिति बदलिन सक्ने कांग्रेसका एक उच्च नेताको भनाइ छ ।

‘सरकार र प्रधानमन्त्रीको कार्यशैली सुध्रन जरुरी छ’, कांग्रेसका एक नेताले भने, ‘पटक–पटक भनिएको हो, अब भनिरहन पर्दैन, व्यवहारमा देखिन्छ कि देखिँदैन, त्यो महत्त्वपूर्ण हो ।’

यसअघि बिहीबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बैठकमा ओली नेतृत्वको सरकार धेरै नटिक्ने भन्दै देउवा फर्केपछि कांग्रेससँग सहकार्यबारे छलफल हुने ब्रिफिङ गरेका थिए ।

‘देउवाजी बैंकक जानुअघि उहाँले मलाई फोन गर्नुभएको थियो । फर्किएपछि फेरि भेट्ने कुरा भएको छ’, प्रचण्डले बैठकमा भनेका थिए ।

प्रचण्डको यस्तो ब्रिफिङ लगत्तै माओवादीका उपमहासचिव वर्षमान पुन बिहीबार नै सिन्धुपाल्चोक पुगेर माओवादी ०८४ अघि सरकारमा जाने मनसायमा नरेह पनि परिस्थिति बदलिनसक्ने सङ्केत गरेका थिए ।

‘माओवादीले २०८४ सालसम्म सरकारमा नजाने भनेको हो, तर व्यवस्था बच्ने अवस्था आएन भने हामी सरकारमा जानुपर्ने हुनसक्छ । त्यतिबेला २०८४ पर्खेर बस्ने भन्ने हुँदैन,’ नेता पुनको भनाइ थियो ।

वर्तमान सरकार असफल भइसकेको बताएका पुनले ‘अब ढल्नमात्रै बाँकी’ रहेको दाबी गरे । विपक्षी दलका नेताहरू प्रचण्ड र पुनमात्रै नभएर प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाको स्वर पनि प्रतिपक्षको भन्दा भिन्न आएन ।

काठमाडौँमा बिहीबार भएको एक कार्यक्रममा महामन्त्री थापाले भनेका थिए, ‘आधारभूत कुरामा हामी सम्झौता गर्दैनौँ भनेर हामीले भन्न सक्नुपर्छ । प¥यो भने हामी यस्तो सरकारबाट बाहिर जान्छौँ ।’

सत्ता साझेदार दलभित्रको मनमुटाव र असमझदारी बढेको उदाहरणस्वरुप थापाका यी अभिव्यक्तिलाई लिन सकिन्छ ।

उनले सरकारमा बस्ने वा नबस्ने तथा सरकारलाई नै ठुलो कुरा मानेको भए तत्कालीन राजा महेन्द्र, वीरेन्द्र वा ज्ञानेन्द्र शाहले सरकार बनाउँदै गर्दा ती सरकारमा कांग्रेस जान सक्ने अवस्था हुँदाहुँदै नगएकोतर्फ पनि स्मरण गराए ।

नेपाली समाजलाई कांग्रेसले सम्हाल्नुपर्ने अवस्था आएको भन्दै थापाले तर उत्तेजनामा आउन नहुने धारणा राखेका थिए । ‘उत्तेजनामा आएर हुँदैन, भड्काउवादी कुरा गरेर पनि हुँदैन, नैराश्यताको कथा भनेर पनि हुँदैन, भागेर पनि हुँदैन,’ थापाले आश्वस्त पार्दै भने, ‘सामना गर्नुपर्छ, संवाद गर्नुपर्छ, भरोसा दिलाउनुपर्छ र समाधान पनि दिनुपर्छ ।’

प्रधानमन्त्री ओलीको कार्यशैली र अभिव्यक्तिप्रति थापाको सङ्केत थियो । नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई कम बोल्न र धेरै काम गर्न पटक पटक सुझाव दिँदै आएको छ तर ओली धेरै बोल्नेमात्र होइन, सहयात्री दलहरूलाई पेल्न छाडेका छैनन् ।

सत्ता गठबन्धनबारे यति धेरै आशङ्का उब्जिन पुगे पनि शुक्रबारको प्रतिनिधि सभा बैठकमा कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले कांग्रेसले एमालेसँगको सहमति अक्षरशः पालना गर्ने औपचारिक अभिव्यक्तिमात्र दिए ।

‘एमालेसँग सरकार सञ्चालनमा भएको सहमति कांग्रेसले अक्षरशः पालना गर्छ,’ घिमिरेले भने । उनले देशमा अशान्ति मच्चाउने तत्वहरूले दैनिक सरकार परिवर्तनको हल्ला चलाएर अस्थिरता सिर्जना गर्ने प्रयत्न गरिरहेको भन्दै यस्ताप्रति सतर्क हुन जरुरी रहेको बताए ।

सरकारको फितलो प्रतिरक्षा गरेर सहमतिबारे सामान्य शव्द खर्चेबाट पनि गठबन्धनभित्र केही न केही समस्या छ भन्ने बुझ्न कठिन छैन ।

  • ओलीलाई ०८४ को चिन्ता !

परिवर्तित घटनाक्रमका कारण स्वयं सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली पनि सरकारबारे निश्चिन्त हुन नसकेको उनकै अभिव्यक्तिले पनि संकेत गरिरहेका छन् ।

आफ्नो सरकार जोगाउने भन्दा पनि ओलीलाई तीन वर्षपछि हुने २०८४ को चुनावको बढी चिन्ता देखिएको उनका पछिल्ला अभिव्यक्तिले नै प्रस्ट हुन्छ । लोकतन्त्र दिवसका अवसरमा काठमाडौँको भृकुटीमण्डपमा बिहीबार आयोजित ‘युथ सेलिब्रेसन’ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सरकारको चिन्ता नगर्न र २०८४ को निर्वाचन तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

२०७९ सालको निर्वाचनमा एमाले दोस्रो ठुलो दल बनेको थियो । निर्वाचन परिणाम आएलगत्तैबाट एमालेले २०८४ को निर्वाचनमा पहिलो दल बनाउने भन्दै विभिन्न गतिविधि गर्दै आएको छ ।

‘यतिबेला नेकपा एमाले र नेपाली कांग्रेसको सरकार एउटा सङ्कल्पका साथ बनेको हो । यो स्थिरता र स्थायित्वका लागि बनेको सरकार हो । सरकारबारे होइन, चुनावबारे चिन्ता गर्नुपर्छ’, ओलीको भनाइ छ । 

उनले एमालेले सधैँ सरकार बचाऔँ भनेर नहेर्ने पनि बताए । ‘एमालेले सरकार बनाऔँ, सरकार बचाऔँ भनेर हेरिरहेको हुँदैन । एमालेले सधैँ चुनाव हेरेको हुन्छ । हामीले पहिले २०७९ सालको चुनाव भन्यौँ र अहिले २०८४ को चुनाव भनिरहेका छौँ  । ढुक्कले मिसन ०८४ मा लाग्नुस्,’ ओलीले भने, ‘सरकार जान्छ–जान्छ भनेर भन्न थालेका छन्, लोकतन्त्रमा सरकार बन्दा लामो समय पाँच वर्षका लागि बन्छ ।’

तर एमाले सचिव गोकर्ण विष्ट सरकार गयो–गयो भनेर भइरहेको प्रचारमा कुनै सत्यता नभएको बताउँछन् ।

‘सहमतिका आधारमा यो सरकार अघि बढिरहेको छ । कहीँ कमजोरी छन् भने संयन्त्रले हल गर्छ’, उनले शुक्रबारको प्रतिनिधि सभा बैठकमा भने, ‘कहिलेकाहीँ त सत्तामा रहेका साथीहरू सरकारमा हो कि प्रतिपक्षमा हुनुहुन्छ भनेजस्तो लाग्छ ।’

उनले अबको १४÷१५ महिनापछि देउवालाई सरकार हस्तान्तरण हुने भन्दै सरकार गयो–गयो र सरकार रह्यो–रह्यो भन्नतिर लाग्न नहुने बताए । ‘सरकार जति दिन रहन्छ त्यतिन्जेल राष्ट्रको हितमा काम गर्ने कुरा महत्त्वपुर्ण हो’, विष्टको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप