शुक्रबार, १२ वैशाख २०८२
ताजा लोकप्रिय

तामझामका साथ गठन भएको मोर्चा निष्क्रिय

शुक्रबार, १२ वैशाख २०८२, १५ : ३१
शुक्रबार, १२ वैशाख २०८२

काठमाडौँ । तराई मधेस केन्द्रित सात राजनीतिक दलले बनाएको सङ्घीय लोकतान्त्रिक मोर्चाको गतिविधि शून्य छ । 

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, डा.सिके राउत नेतृत्वको जनमत पार्टी, रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, ह्रदयश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टीले यो मोर्चा घोषणा गरेका हुन् । 

घोषणा भएपछि मोर्चाको कुनै पनि गतिविधि भएको छैन । मोर्चा सञ्चालनका लागि एउटा मूल समिति गठन गर्ने निर्णय भएको थियो तर हालसम्म त्यो समिति पनि गठन गरिएको छैन । मोर्चाको नियमित बैठक सञ्चालन तथा व्यवस्थापनका लागि एउटा सचिवालय गठन गर्ने कुरा थियो त्यो पनि भएको छैन । 

मूल समितिमा एउटा दलबाट कम्तीमा तीन जनासम्म सदस्य राख्न पाउने भनिएको छ । अर्थात २१ सदस्यीय मूल समिति बनाउनुपर्ने त्यो पनि बनेको छैन ।

एक–एक जना राखेर सचिवालय बनाउने कुरा थियो त्यो पनि बनेको छैन । मोर्चाका घटक दल राष्ट्रिय मुक्ति मोर्चाका नेता केशव झाले मोर्चामा आबद्ध रहेका दलहरू आआफ्नो सङ्गठनमा व्यस्त भएको कारण कामकाज अगाडि नबढेको बताउँदै काठमाडौँ फर्केपछि बैठक बसेर अरू प्रक्रियाहरू अगाडि बढाउने बताए । 

मूल समिति बनाउनका लागि हरेक पार्टीबाट तीन तीन जना र सचिवालय बनाउनका लागि हरेक पार्टीबाट एक–एक जना माग गरिएको छ, त्यो नाम आयो कि आएन त्यो आफूले थाह नपाएको उनले बताए । मोर्चा गठन गरेपछि सबै दलहरू आआफ्नो दलको कार्यक्रममा व्यस्त भएको कारण थप कार्यक्रमहरू बनाउन नसकिएको उनले बताए ।

जनता प्रगतिशील पार्टीका उपाध्यक्ष डा.शिवजी यादवले मूल समिति बनाउनका लागि मोर्चामा रहेका दलसँग माग गरिए अनुसार नामहरू आइरहेको बताए । लगभग सबै दलबाट आइसकेका छन्, शीर्ष नेताहरू उपत्यका बाहिर रहेका कारण मूल समिति बन्नमा थोरै ढिलाइ भएको बताए । 

शीर्ष नेताहरू काठमाडौँ आउने बित्तिकै बैठक बसेर सबै कुरा टुग्यांएर कार्यक्रमहरू तयारी गरेर अगाडि बढ्ने उनले बताए । लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर आफ्नो पार्टीको महाधिवेशनको तयारीमा लागेका छन् भने जसपास नेपालका अध्यक्ष उपेन्द्र यादव अधिवेशनमा गराउनमा व्यस्त छन् । 

राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले पनि पार्टीले सञ्चालन गरेको सङ्गठन निर्माणको अभियानमा लागेका छन् । जनमत पार्टीका अध्यक्ष राउत र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पार्टी एकताका लागि व्यस्त छन् । 

शीर्ष दलका शीर्ष नेताहरू आआफ्नो पार्टीको सङ्गठनका काम व्यस्त भएको कारण मोर्चा निष्क्रिय भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप