रोचक बन्दै ला लिगाको उपाधि होड, ‘एल क्लासिको’ भिडन्त नै बाँकी

काठमाडौँ । स्पेसिन ला लिगाको सिजन अन्त्यतिर आइपुग्दा उपाधि होड निकै रोचक बनेको छ । जारी सिजनको ला लिगामा भिल्लारियल र स्पान्योलवाहेक अरू सबै टोलीले ३३–३३ खेल खेलिसकेका छन् । भिल्लारियल र स्पान्योलले भने एक खेल कम खेलेका छन् ।
अधिकांश टोलीले जारी सिजनमा अब पाँच–पाँच खेल मात्र खेल्न बाँकी छ । यस्तो स्थितिमा तीन वटा टोली उपाधि होडमा देखिएका छन् । अन्य १७ टोलीले भने उपाधि जित्ने सम्भावना यसअघि नै समाप्त भइसकेको छ ।
तालिकामा ७६ अङ्कसहित बार्सिलोना पहिलो, ७२ अङ्कसहित साविक विजेता रियल म्याड्रिड दोस्रो र ६६ अङ्कसहित एट्लेटिको म्याड्रिड तेस्रो स्थानमा आसिन छन् । पहिलो स्थानमा आसिन बार्सिलोना र दोस्रो स्थानमा आसिन रियल म्याड्रिडबिच उपाधिका लागि चर्को प्रतिस्पर्धा देखिएको छ ।
यद्यपि, प्राविधिक रूपमा एट्लेटिको म्याड्रिडले पनि उपाधि जित्न सक्ने सम्भावना कायमै छ । तर, यो सम्भावना अत्यन्तै कम छ । उपाधि जित्ने एट्लेटिकोको सपना साकार हुन बार्सिलोना र रियलले बाँकी खेलमा लगातार हार ब्यहोर्नु पर्ने हुन्छ भने आफूले बाँकी सबै खेल जित्नुपर्ने हुन्छ ।
रियल म्याड्रिडभन्दा बार्सिलोना चार अङ्कले अगाडि छ । त्यसैले बाँकी दुईमध्ये केवल दुई खेलको नकारात्मक नतिजाले बार्सिलोनालाई अप्ठ्यारोमा पार्न सक्छ । यद्यपि, हालको स्थितिमा उपाधिमाथि बार्सिलोनाको पकड बलियो देखिन्छ ।
यो सिजन बार्सिलोनाले ३३ मध्ये २४ खेलमा जित, चार खेलमा बराबरी र पाँच खेलमा हारको नतिजा निकालेको छ । बार्सिलोनाले विपक्षीको पोस्टमा ८९ गोल गरिसकेको छ भने आफूले केवल ३२ गोल खाएको छ ।
अर्कोतिर, रियल म्याड्रिडले ३३ मध्ये २२ खेलमा जित, ६ खेलमा बराबरी र पाँच खेलमा हारको नतिजा निकालेको छ । रियल म्याड्रिडले विपक्षीको पोस्टमा ६६ गोल गरेको छ भने आफूले केवल ३१ गोल खाएको छ ।
एट्लेटिको म्याड्रिले भने ३३ मध्ये १९ खेलमा जित, नौ खेलमा बराबरी र पाँच खेलमा हारको नतिजा निकालेको छ । एट्लेटिको म्याड्रिडले विपक्षीको पोस्टमा ५६ गोल गरेको छ भने प्रतिद्वन्द्वीहरूबाट आफूले २७ गोल खाएको छ ।
जारी सिजनको लिगमा अब बार्सिलोनाले क्रमशः भालाडोलिड, रियल म्याड्रिड, स्पान्योल, भिल्लारियल र एथलेटिक क्लबसँग खेल्न बाँकी छ । यसअर्थमा रियल म्याड्रिडविरुद्धको खेललाई छाड्ने हो भने बार्सिलोनाका अबका प्रतिद्वन्द्वीहरू तुलनात्मक रूपमा कमजोर देखिन्छन् ।
बार्सिलोना र रियल म्याड्रिडबिच सिजनको दोस्रो तथा अन्तिम ‘एल क्लासिको’ भिडन्त भने मे ११ तारिखमा हुनेछ । उक्त खेल बार्सिलोनाको घरेलु मैदानमा खेलिने छ । त्यसअघि, रियल म्याड्रिड र बार्सिलोना कोपा डेल रेको फाइनलमा पनि आपसमा भिड्दै छन् । कोपा डेल रेको फाइनल खेल अप्रिल २७ तारिखमा खेलिने छ ।
जारी सिजनको ला लिगामा बार्सिलोना र रियल म्याड्रिडबिच पहिलो भिडन्त भने सन् २०२४ को अक्टोबर २७ तारिखमा भएको थियो । रियलको घरेलु मैदानमा खेलिएको उक्त खेलमा बार्सिलोनाले रियल म्याड्रिडलाई ४–० गोलको फराकिलो अन्तरले हराएको थियो ।
अर्कोतिर, ला लिगामा रियल म्याड्रिडले अबको खेल क्रमशः सेल्टा भिगो, बार्सिलोना, मलोर्का, सेभिया र रियल सोसिएडाडसँग खेल्नेछ । यस आधारमा बार्सिलोनावाहेक रियल म्याड्रिडका अबका प्रतिद्वन्द्वीहरू पनि खासै बलियो छैनन् ।
जारी सिजनको लिगमा बार्सिलोना आसोसुनासँग २¬–४ गोलले, रियल सोसिएडाडसँग ०–१ गोलले, लस पाल्समसँग १–२ गोलले, लेगानेससँग ०–१ गोलले र एट्लेटिको म्याड्रिडसँग १–२ गोलले पराजित भएको छ । बार्सिलोनाका लागि यो चिन्ताको विषय हो ।
किनभने यो सिजन बार्सिलोनाको टोली एट्लेटिको म्याड्रिडवाहेक अन्य चार वटै खेलमा तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वीसँग हारेको छ ।
यसैगरी, जारी सिजन रियल म्याड्रिड भने चिरप्रतिद्वन्द्वी बार्सिलोनासँग ०–४ गोलले, एथलेटिक क्लबसँग १–२ गोलले, स्पान्योलसँग ०–१ गोलले, रियल बेटिससँग १–२ गोलले र भ्यालेन्सियासँग १–२ गोलले पराजित भएको छ । रियल म्याड्रिडले यो सिजनको लिगमा पहिलो हार नै बार्सिलोनासँग ब्यहोरेको थियो ।
ला लिगा तालिकामा हाल ६० अङ्कसहित एथलेटिक क्लब चौथो, ५४ अङ्कसहित रियल बेटिस पाँचौँ, ५२ अङ्कसहित भिल्लारियल छैटौँ, ४६ अङ्कसहित सेल्टा भिगो सातौँ, ४४ अङ्कसहित ओसासुना आठौँ, ४४ अङ्कसहित मलोर्का नवौँ र ४२ अङ्कसहित रियल सोसिएडाड १०औँ स्थानमा आसिन छन् ।
यसैगरी, ४१ अङ्कसहित रायो भालेकानो ११औँ, ३९ अङ्कसहित गेटाफे १२औँ, ३९ अङ्कसहित स्पान्योल १३औँ, समान अङ्क जोडेको भ्यालेन्सिया १४औँ, ३७ अङ्कसहित सेभिया १५औँ, ३५ अङ्कसहित गिरोना १६औँ, ३४ अङ्कसहित आल्भेस १७औँ, ३२ अङ्कसहित लस पाल्मस १८औँ, ३० अङ्कसहित लिगानेस १९औँ र १६ अङ्कसहित भालाडोलिड २०औँ स्थानमा छन् । भालाडोलिड रेलिगेसमा परिसकेको छ ।
अघिल्लो सिजनको ला लिगा रियल म्याड्रिडले जितेको थियो । उक्त सिजन पहिलो स्थानमा आसिन रियल म्याड्रिडको ९५ र दोस्रो स्थानमा आसिन बार्सिलोनाको ८५ अङ्क रहेको थियो । त्योभन्दा अघिल्लो सिजनको उपाधि भने बार्सिलोनाले जितेको थियो । त्यो सिजन विजेता बार्सिलोनाले ८८ र उपविजेता रियल म्याड्रिडले ७८ अङ्क जोडेका थिए ।
सबैभन्दा बढी पटक स्पेनिस ला लिगाको उपाधि जित्ने टोली भने रियल म्याड्रिड हो । रियल म्याड्रिड हालसम्म ३६ पटक विजेता र २५ पटक उपविजेता बनेको छ । यो सूचिमा दोस्रो स्थानमा बार्सिलोना रहेको छ । बार्सिलोनाले २७ पटक उपाधि चुमेको छ भने २८ पटक उपविजेता बनेको छ ।
सर्वाधिक ला लिगाको उपाधि जित्ने क्लबको सूचिमा एट्लेटिको म्याड्रिड तेस्रो स्थानमा आसिन छ । एट्लेटिको म्याड्रिडले हालसम्म ११ पटक उपाधि जितेको छ भने १० पटक उपविजेता बन्न सौभाग्य प्राप्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुग्लिन पोखरा सडक : दमौली बजार खण्डमा दोस्रो चरणको कालोपत्रे सुरु
-
आज यस्तो छ अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन डलर, क्यानेडियन डलर र चिनियाँ युआनको मूल्य
-
जर्मन बुण्डेस लिगामा हिडेनहाइम विजयी
-
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
-
आईपीएल : पुछारमै थन्कियो चेन्नई, हैदरावाद उक्लियोआठौं नम्बरमा
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना