शनिबार, १३ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विषादी सेवन गरेका पुरुषको मृत्युपछि नोबेल अस्पतालमा तोडफोड, एक प्रहरी निरीक्षक घाइते

घटनामा संलग्न ७ जना पक्राउ
शुक्रबार, १२ वैशाख २०८२, १५ : १३
शुक्रबार, १२ वैशाख २०८२

विराटनगर ।  मोरङको कटहरी गाउँपालिका–१ चौधरी चोकका ४५ वर्षीय प्रमोद महतोको विषादी सेवनपछि मृत्यु भएपछि विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा तोडफोड र हुलदङ्गा भएको छ। घटनामा एक प्रहरी निरीक्षक घाइते भएका छन् ।

महतोले झार मार्न प्रयोग गरिने विषादी सेवन गरेका थिए। गम्भीर अवस्थामा रहेका उनलाई बिहीबार साँझ ५ः३० बजे कोशी अस्पतालमा भर्ना गरिएको थियो। कोशीमा उपचार सम्भव नभएपछि उनलाई नोबेल अस्पताल रेफर गरिएको थियो। उपचारको क्रममा राति ११ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

महतोको मृत्युपछि शुक्रबार बिहान करिब १ः३० बजे आफन्त र छिमेकीहरू अस्पतालमा भेला भई हुलदङ्गा सुरु गरेका थिए । उनीहरूले चिकित्सकको लापरबाहीका कारण महतोको मृत्यु भएको आरोप लगाउँदै आकस्मिक कक्ष अगाडि नाराबाजी गर्दै तोडफोड गरेका थिए ।

उत्तेजित भिडले ढुंगामुढा गर्दा ओपिडी प्रवेशद्वारको माथिल्लो भागको सिसा फुटेको थियो भने अस्पतालको निर्माणाधीन भवनका ५–६ वटा झ्यालका सिसा समेत क्षतिग्रस्त भएका छन् । 

ढुंगामुढाबाट वडा प्रहरी कार्यालय विराटनगरका इन्स्पेक्टर राजेश दत्त घाइते भएका छन्। उनको दाहिने खुट्टाको घुँडामा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। उनको उपचार नोबेल अस्पतालमै गरिएको छ । 

स्थिति नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय विराटनगरबाट डिएसपी मदन केसी र डिएसपी बुद्ध श्रेष्ठको नेतृत्वमा प्रहरी टोली परिचालित गरिएको थियो। प्रहरीले सामान्य बल प्रयोग गरी भिडलाई तितरबितर पारेको थियो ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। उनीहरूको नाम सार्वजनिक गरिएको छैन भने अन्य संलग्न व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको छ । 

घटनासम्बन्धी अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नारायणप्रसाद चिमरियाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप