रातारात विकासको लहर चल्छ भन्ने सोच्नुभएको थियो, त्यो अनुसार गर्न सकिएन : प्रचण्ड

पोखरा । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनअपेक्षा अनुसार काम गर्न नसकेको स्विकारेका छन् । शुक्रबार बारपाकमा भूकम्प स्मृति दिवसलाई सम्बोधन गर्ने क्रममा उनले जनताको मतबाट निर्वाचित व्यक्ति प्रधानमन्त्री र मुख्यमन्त्री हुँदा पनि विकास सोचे जति नभएको बताएका हुन् ।
‘हाम्रै मतबाट गएको मान्छे प्रधानमन्त्री, हाम्रै मतबाट गएको मान्छे मुख्यमन्त्री भएपछि तुरुन्तै रातारात विकासको लहर चल्छ भन्ने सोच्नुभएको थियो,’ उनले भने, ‘त्यो अनुसार गर्न सकिएन भन्ने कुरा मैले महसुस गर्न चाहन्छु । तर केही पनि भएन, केही पनि गरिएन भन्ने भाष्य बनाइयो भने त्यो चाहिँ सत्य होइन ।’
प्रचण्डले राष्ट्रिय राजनीतिको जटिल परिस्थितिमा पनि यस क्षेत्रको विकास निर्माणका कामलाई सक्दो सहयोग गरेको दाबी गरे । उनले बारपाक ढल निकास आयोजना २८ करोडको ठेक्का लगाएर काम अघि बढेको, १० करोडको खानेपानी आयोजना, बारपाक बहुप्राविधिक शिक्षालयको छात्रावास तथा प्रशिक्षण भवन, सहिद आशाकाजी श्रेष्ठ स्मृति रङ्गशाला, निर्वाचन क्षेत्रीय रणनीतिक सडकमा ३ करोड विनियोजन गरिएको, ताक्लुङको हुँडीखोला पुल निर्माणको पहल गरेको लगायत काम गरिएको उनले बताए ।
प्रचण्डले बारपाक भूकम्पकै कारण तत्कालीन समयमा राजनीतिक दलहरू एक ठाउँमा आएर संविधान निर्माण गरिएको र विपद्का बेला राहत र उद्धारमा काम गरेको बताए ।
‘दोस्रो संविधान सभाको निर्वाचनबाट पनि संविधान नबन्ने त होइन भन्ने प्रश्न थियो । देशको भविष्यबारे निकै ठुलो चिन्ता जनतामा थियो । त्यही बेलामा बारपाक केन्द्र बिन्दु भएको भूकम्प गयो,’ उनले भने, ‘सम्पूर्ण देशको मनोविज्ञान अर्को ठाउँमा पुग्यो । म नै सायद त्यस्तो पहिलो प्रतिपक्षी दलको नेता हो, जसले सदनको रोष्ट्रममा उभिएर अब म प्रतिपक्षी दलको नेता रहिनँ भनेँ । संविधान घोषणाको प्रस्तावक पनि म थिएँ ।’
बारपाक विरताको लागि विश्वमै परिचित भएको भन्दै उनले भूकम्पपछिको पुनः निर्माणमा गरेको साहसले झनै उचाइ थपिएको बताए ।
‘गजे घलेले भिक्टोरिया क्रस पदक पाएपछि साहसिक गाउँको रूपमा बारपाकको परिचय बन्यो । विनाशकारी भूकम्पको त्रासदी भोगेर फेरि यसलाई पुनः निर्माण गर्ने साहस देखाउनुभयो, त्यो अद्धितीय छ,’ उनले अघि भने, ‘भूकम्पबाट भएको धनजनको क्षति निकै ठुलो थियो र नेपालकै लागि त्रासदी थियो । त्यसबाट पार पाउनका लागि आँसु पिएर, पिडालाई पचाएर फेरि साहसको साथ पुनः निर्माणको काममा लाग्यौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी राष्ट्रपति पुटिन र ट्रम्पका दूतबीच मस्कोमा ३ घण्टा कुराकानी, रचनात्मक बैठक भएको रुसी प्रतिक्रिया
-
महाकालीको बार आज कुन राशिलाई कस्तो फल ?
-
मुग्लिन पोखरा सडक : दमौली बजार खण्डमा दोस्रो चरणको कालोपत्रे सुरु
-
आज यस्तो छ अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन डलर, क्यानेडियन डलर र चिनियाँ युआनको मूल्य
-
जर्मन बुण्डेस लिगामा हिडेनहाइम विजयी
-
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम