शनिबार, १३ वैशाख २०८२
ताजा लोकप्रिय
फोटो कथा

भूकम्पको १० वर्ष पहिले र अहिले : तस्बिरमा जे देखियो

शुक्रबार, १२ वैशाख २०८२, ११ : ५७
शुक्रबार, १२ वैशाख २०८२

काठमाडौँ । वैशाख १२, २०७२ को मध्याह्न हुनै लाग्दा गएको विनाशकारी महाभूकम्प  विसं १९९० पछिको सबैभन्दा विनाशकारी थियो । १० वर्षअघि अर्थात आजकै दिन गएको उक्त विनाशकारी भूकम्पबाट करिब ९ हजार मानिसको मृत्यु र हजारौँ घाइते भएका थिए । उक्त भूकम्पको त्रास अझै पनि मानसपटलमा रहिरहेको छ ।

लाखौं मानिसलाई आफ्नो घरबाट बाहिर निकालेको तथा सयौँलाई त्यही घर र संरचनामा समाहित गरेको भूकम्पले यस पङ्क्तिकारलाई पनि खुला चौरको खोजीमा दौडाएको थियो । 

ResizedImage_2025-04-25_11-34-47_2011

यस पङ्क्तिकार बस्ने रिङरोड बाहिर रहेको सीतापाइला क्षेत्रमा पनि भूकम्पले आफ्नो ताण्डव देखाएको थियो । भूकम्प जाँदै गर्दाको समयमा सीतापाइला हाइटबाट देखिएको धुलोको मुस्लोले ठुलै क्षति भएको सजिलै अनुमान गर्न सकिन्थ्यो । १२ कक्षमा पढ्दै गरेको र फोटोग्राफीमा रुचि भएको म भूकम्प पछिको केही समय त सम्हालिन सकेँ ।  तर, भूकम्प गएको २४ घण्टा नपुग्दै मेरो धैर्यताको बाँध टुट्यो र भूकम्प जाँदाको समयमा देखेको त्यो धुलोको मुस्लोले गरेको क्षति बुझ्नका लागि म काठमाडौँ ओर्लिएको थिएँ ।

ResizedImage_2025-04-25_11-34-47_1462

सीतापाइला चोकबाट अलिकति माथि उकालो (ठाडो भर्‍याङ) नजिकै लस्करै घरहरू कोल्टिएको त केही थचक्कै बसेका थिए । सडकभरि मानिसहरू अझै त्रासमा थिए भने परकम्प आइरहँदा मानिसहरू त्राहि त्राहि भएका थिए ।

सीतापाइला क्षेत्रमा पनि मानिसहरू हताहत हुनुका साथै संरचना पनि ध्वस्त भएका थिए । त्यस समयमा देखिएको दृश्यले मन साह्रै चिरिएको थियो । 

ResizedImage_2025-04-25_11-34-50_1567

अहिले १० वर्षपछि त्यही ठाउँमा जाँदा भूकम्पमा भत्किएका संरचनाहरू पुनर्निर्माण भइसकेका छन् । यो १० वर्षमा सीतापाइला क्षेत्रमा थप संरचनाहरू निर्माण भइसकेका कारण त्यस समयमा प्रत्यक्ष रूपमा क्षति व्यहोरेका मानिसहरूको मनका चिरा बाहेक भूकम्पका कारण परेको क्षति देखिँदैन ।

ResizedImage_2025-04-25_11-34-46_2357

महाभूकम्पको केही दिनपछि मात्रै म वसन्तपुर क्षेत्र पुगेको थिएँ। सधैँ मानिसहरूको भीड हुने गरेको वसन्तपुर दरबार क्षेत्र क्षतविक्षत अवस्थामा थियो । 

घरको छेवैमा रहेको मण्डलामा मानिसहरू पाल गाडेर बसेका थिए । गद्दी बैठकदेखि नौ तले दरबार सबै क्षतविक्षत भएका थिए । बाटोभरि बाक्लो धुलोको पत्र थियो भने डोजर प्रयोग गरेर भग्नावशेष पन्छाउने काम भूकम्प गएको झन्डै एक हप्तासम्म पनि चलिरहेको थियो ।

ResizedImage_2025-04-25_11-34-45_7989

अहिले एक दशकपछि सोही क्षेत्रमा जाँदा केही अवशेष मात्रै बाँकी छन्, जसले त्यो त्रासदीको झल्को दिन्छ । भूकम्प जाँदाको समयमा काष्ठमण्डपमा रक्तदान कार्यक्रम चलिरहेको र मानिसहरू त्यहाँ चेपिएको खबर आए पनि म पुग्दाको समयमा त्यहाँ काष्ठमण्डपको भग्नावशेष मात्रै थियो । काष्ठमण्डपबाट मरु: गणेश मन्दिर जाने बाटो नै बन्द भएको थियो ।

ResizedImage_2025-04-25_11-34-46_2227

१० वर्षअघिको वसन्तपुर र अहिलेको वसन्तपुरमा धेरै फरक आइसकेको छ । लामो रस्साकस्सी पछि काष्ठमण्डपको पुनर्निर्माण भएको छ भने गद्दी बैठकले पनि आफ्नो पुरानो मुहार फिर्ता पाएको छ । वसन्तपुरका केही मन्दिर पुनर्निर्माण हुनै बाँकी छन् भने केही प्रक्रियामा छन् ।

भूकम्पको कारण निकै ठुलो क्षति व्यहोरेको वसन्तपुर पूर्ववत् स्वरूपमा फर्किने प्रयास गर्दै छ । १० वर्षसम्म यहाँ पूर्ण पुनर्निर्माण हुन सकेको छैन ।

ResizedImage_2025-04-25_11-34-48_1292ResizedImage_2025-04-25_11-34-48_1679ResizedImage_2025-04-25_11-34-49_1127ResizedImage_2025-04-25_11-34-49_2343ResizedImage_2025-04-25_11-34-50_2097

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप