शुक्रबार, १२ वैशाख २०८२
ताजा लोकप्रिय

‘भ्यू टावरमा भएको लगानी उठाउन गाह्रै छ’

शुक्रबार, १२ वैशाख २०८२, १० : ३३
शुक्रबार, १२ वैशाख २०८२

बुटवल । लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै भ्यू टावर निर्माण भएको जिल्ला दाङ हो । त्यसमा पनि दाङ जिल्लाको बंगलाचुली गाउँपालिकामै ३ वटा भ्यू टावर छन् ।

ती भ्यू टावर किन बनाइए र त्यसको उपलब्धि कस्तो भइरहेको छ भन्नेबारे रातोपाटीका लागि तेजेन्द्र केसीले सो गाउँपालिका अध्यक्ष तुलसीराम पुन मगरसँग कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश–

  • बंगलाचुली गाउँपालिकामा ३ वटा भ्यू टावर निर्माण भएका रहेछन् । एउटा गाउँपालिकाभित्र यति धेरै भ्यू टावर बनाउनु कति उचित हो ?

कुनै बेला नेपालमा भ्यू टावर बनाउने लहर नै चल्यो । त्यो बेला पर्यटकीय सम्भावना रहेका ठाउँहरूमा भ्यू टावर निर्माण गर्ने काम धमाधम चल्यो । साविकको गाउँ विकास समिति रहँदै यहाँ भ्यू टावर बनाउने सुरुवात भएको हो । त्यो बेला त्यहाँ सडक थिएन । अन्य धेरै पूर्वाधार थिएन । पछि सामुदायिक वन, प्रदेश सरकार, पर्यटन बोर्ड आदि क्षेत्रबाट बिस्तारै लगानी  हुँदै जाँदा अहिलेको अवस्था आएको हो ।

बंगलाचुलीको टावर निर्माणमा हालसम्म २ करोड रुपैयाँ खर्च भएको छ । अन्य दुई वटा टावर पनि म आउनुभन्दा पहिला नै निर्माण भएका हुन् । यहाँ केही न केही सम्भावना देखेर नै यस्ता टावरमा लगानी भएको होला । आन्तरिक पर्यटक भित्र्याउने उद्देश्यले नै भ्यू टावर निर्माण भएको हो । पर्यटक भित्रिएपछि अन्य क्षेत्रमा पनि विकास हुन्छ भन्ने मान्यता पनि छ ।

  • अहिले भ्यू टावर कसरी सञ्चालन गर्नु भएको छ ?

हाम्रो गाउँपालिका अलि बढी चलायमान भएको भनेकै वडा नम्बर ५मा रहेको बंगलाचुली भ्यू टावर हो । यो भ्यू टावरमा विभिन्न निकायबाट गरी करिब दुई करोड रुपैयाँ खर्च भएको छ । यहाँ पर्यटन बोर्ड, डिभिजन वन कार्यालयले भ्यू टावरमा लगानी गरेका छन् । सामुदायिक वनका अध्यक्ष संरक्षक रहेर भ्यू टावरको व्यवस्थापन गरिएको छ । भ्यू टावर चढ्ने पर्यटकसँग थोरै भए पनि शुल्क लिइन्छ । त्यसले केही हदसम्म यसको रेखदेखका लागि लाग्ने खर्च असुल हुन्छ ।

गाउँपालिका हाँसीपुर र धिमधिमे लेकमा गरी अन्य दुई वटा भ्यू टावर छन् । त्यहाँ धेरै पर्यटक जाने गरेका छैनन् । अलि बढी पर्यटक जाने भनेको बंगलाचुलीमै हो । हाँसीपुर र धिमधिमेमा भने निःशुल्क रूपमै भ्यू टावरबाट अकलोकन गर्न सकिन्छ । ती दुई टावरको व्यवस्थापन वडा कार्यालयमार्फत भइरहेको छ । त्यहाँ भ्यू टावरसँगै पार्कलाई अझै व्यवस्थित गरेर थप पर्यटक भित्र्याउन पहल गर्नुपर्छ । निर्माण भएको संरचनालाई अधिकतम प्रयोग गर्ने हाम्रो योजना छ ।

  • यत्रो खर्च गरेर निर्माण गरिएका भ्यू टावर किन राम्ररी चल्न सकेका छैनन् ?

हाम्रो तीन वटै भ्यू टावर राम्रोसँग चल्न नसक्नुको मुख्य कारण भनेकै सडकको समस्या हो । बंगलाचुलीमा सडक निर्माण भएपछि अलि सहज भएको हो । घोराहीदेखि बंगलाचुली पुग्ने सडक पछिल्लो समय टिपरले ध्वस्त बनाएका छन् । सडक पिच भए पनि टिपरको कारणले यहाँ खाल्टाखुल्टी छन् । धुलो छ । त्यसकारण बाहिरबाट आउने पर्यटकहरू भ्यू टावर भएको ठाउँमा पुग्न अप्ठ्यारो मान्ने गर्दछन् ।

अन्य दुई वटा भ्यु टावर भएको ठाउँमा पुग्न पनि पिच सडक छैन । भ्यु टावरसँगै अन्य मनोरञ्जनका माध्यम जोड्ने गरी पर्यटकीय स्थलको विकास गर्नुपर्छ । ती भ्यू टावरलाई रङ रोगन गरी आकर्षक बनाउने, सुविधाहरू वृद्धि गर्ने, अन्य पूर्वाधार निर्माण गर्ने काम गरेमा पर्यटक आकर्षित गर्न सकिन्छ ।

गाउँपालिकाको सीमित स्रोत–साधन हुने भएकाले पनि चाहेजति काम हुन सकेको छैन । हाम्रोमा तीन वटा भ्यू टावर त छन् तर तिनमा पर्यटक पुग्ने र दिनभरि रमाएर बस्न सक्ने अन्य पूर्वाधार बनाउन नसक्दा तिनले राम्रो प्रतिफल दिन सकिरहेका छैनन् ।

  • तपाईंका पालिकामा रहेका भ्यू टावरहरूले लगानी कहिले उठाउँछन् ?

पर्यटन क्षेत्रमा लगानी गर्ने तत्कालीन नीति अनुसार नै भ्यू टावर निर्माण भएका हुन् । यद्यपि, यिनमा भएको लगानी उठाउन त गाह्रै हुन्छ । नेपालका अन्य ठाउँका अनुभवले पनि त्यो भन्छ ।

बंगलाचुली सुरुमा एउटा सामान्य लेक थियो । मोटर बाटो निर्माण गरेपछि दाङ, प्युठान र रोल्पा जिल्लाबाट समेत पिकनिक खान आउने एउटा राम्रो गन्तव्य बन्न सफल भयो बंगलाचुली । अन्य दुई वटा भ्यू टावरबाट पनि मनोरम दृश्य देखिन्छ ।

हाम्रै पालिका र आसपासका क्षेत्रमा पर्यटन प्रवर्द्धन हुन सक्ने जनसंख्या छैन । त्यसैले यहाँको पर्यटन प्रवर्द्धन गर्न हामीले बाहिरका पर्यटकलाई आकर्षित गर्नैै पर्छ । त्यस खालको योजना चाहिन्छ । जहाँसम्म लगानीको हिसाब छ, भ्यू टावरको लगानी नै उठाउने गरी पर्यटक भित्र्याउन त समय लाग्छ । अहिलेकै अवस्थाबाट त्यो सम्भव हुँदैन ।

  • भ्यू टावर बनाउने होडबाजी ठिक हो ?

भ्यू टावर कस्तो ठाउँमा निर्माण भएको छ, त्यसमा निर्भर पर्छ । कतिपय सामुदायिक वनभित्र भ्यू टावर निर्माण भएका छन्, जहाँ वनभोज खान पनि मिल्ने हुन्छ । कतिपय ऐतिहासिक ठाउँमा निर्माण भएका छन् । त्यस्ता भ्यू टावरबाट कतिपय स्थानीय तहले आम्दानी गरिरहेका पनि छन् ।

प्रतिटिकट यति रुपैयाँ स्थानीय तहलाई, अन्य रकम व्यवस्थापन समितिलाई भनेर पनि व्यवस्थापन गर्न सकिन्छ । केही भ्यू टावर व्यावसायिक रूपमा अलि धेरै लगानी गरेर पनि निर्माण भएका छन् । ती स्थानीय तहले सञ्चालन गर्न अप्ठ्यारो हुने भएको लिजमा नै दिँदा उपयुक्त हुन्छ होला । तर ठाउँ, परिवेश हेरेर व्यवस्थापनका योजना बनाउनु पर्छ ।

भ्यू टावर निर्माण गर्ने ठाउँमा पर्यटकहरू आकर्षित गर्ने अन्य के–के कुरा छन् भन्ने पनि विचार गर्नुपर्छ । अरु कुनै महत्त्वपूर्ण सम्पदा नभएको ठाउँमा भ्यू टावर बनाएरमात्र पर्यटकलाई लैजान सकिँदैन । त्यहाँ गएर पर्यटक कतिबेर टिक्न सक्छन् भन्ने महत्त्वपूर्ण कुरा हो । मानिस भ्यू टावरमा गएर चारैतिर हेर्ने, ५÷१० मिनेट हेरिसकेपछि कहाँ जाने ? ५÷१० मिनेट यसो दृश्य हेर्नकै लागि टाढा–टाढाबाट कोही किन आउँछ ? त्यसैले पर्यटकलाई लोभ्याउने अरु कुरा पनि हुनुपर्छ, ताकि, ती पर्यटक सम्बन्धित ठाउँमा आएको मौकामा भ्यू टावर पनि चढ्न पाउन् ।

कुनै ऐतिहासिक ठाउँमा भ्यू टावर निर्माण भएको छ भने उक्त स्थलको विषय वर्णन गर्ने, हेर्न अन्य विभिन्न सामग्री पनि राख्नुपर्छ । ती सामग्री हेरेर, अध्ययन गरेर पर्यटकले केही ज्ञान लिन सकुन्, इतिहासको जानकारी पाउन सकुन् वा प्राकृतिक सम्पदाकै दृश्यावलोकन गर्न सकुन् । नजिकै वनभोज गर्ने ठाउँ, पार्क भए पनि त्यहाँबाट भ्यू टावर हेर्न आउन सक्छन् । त्यस कारण यस्ता संरचना एक अर्कोसँग जोडेर सञ्चालन गर्नुपर्छ । स्थानीय तहले अधिकार र आम्दानी भन्दा पर्यटनसँग जोडेर योजना बनाउनु पर्छ । भ्यू टावर सञ्चालन गरेर लगानी नउठे पनि त्यसले उक्त ठाउँमा दिने रोजगारी, अन्य क्षेत्र चलायमान गर्छ कि गर्दैन भन्ने कुरामा ध्यान दिनुपर्छ ।

  • यति धेरै भ्यू टावर आवश्यक हुन् कि होइनन् ?

कुनै बेला भ्यू टावर बने । जति बने–बने । अब नयाँ थप्नु हुँदैन । मेरो पालामा भ्यू टावर बनाइएको छैन । खासमा भ्यू टावरभन्दा पिउने पानी, स्वास्थ्य, शिक्षा क्षेत्रमा लगानीका लागि प्राथमिकता दिनुपर्छ ।

मेरो व्यक्तिगत विचारमा अब भ्यू टावर आवश्यक छैन । तर अहिले निर्माण भएकाहरूलाई जति सक्दो उपयोग गर्ने रणनीति बनाउनुपर्छ । किनकि राज्यले लगानी गरिसकेका संरचनाबाट कुनै न कुनै रूपमा लाभ लिनुपर्ने हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप