यतिबिघ्न ‘भ्यू टावर’ किन ठडिए ?

बुटवल । देशका विभिन्न स्थानमा ‘भ्यू टावर’ निर्माणले केही वर्ष यता निकै प्राथमिकता पाएको छ । खासगरी २०७४ को निर्वाचनपछि स्थानीय तहमा ‘भ्यू टावर’ निर्माणको लहर नै चल्यो ।
‘भ्यू टावर’ निर्माणमा सङ्घीय सरकारको पर्यटन मन्त्रालयका साथै प्रदेश सरकारले पनि आर्थिक सहयोग गर्दै आएका छन् । लुम्बिनी प्रदेशमा कम्तीमा १७ वटा ‘भ्यू टावर’ निर्माण भइसकेका छन् । दाङ जिल्लामा मात्र ६ वटा ‘भ्यू टावर’ छन् ।
यस्तै, रोल्पामा जिल्लामा ४, पाल्पा जिल्लामा २, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, रुपन्देही र बर्दिया जिल्लामा एक– एक ‘भ्यू टावर’ निर्माण भएका छन् ।
यीमध्ये अहिले ६ वटा ‘भ्यू टावर’ व्यावसायिक रूपमा सञ्चालित छन् । ७ वटा ‘भ्यू टावर’ सामान्य रूपमा सञ्चालित हुँदा ४ वटा अझै सञ्चालन हुन सकेका छैनन् ।
‘भ्यू टावर’ निर्माणका लागि तीनै तहको सरकारले लगानी गर्दै आएका छन् । यद्यपि करोडौँ रुपैयाँ लगानी गरी निर्माण भएका यस्ता संरचना सञ्चालनमा भने खासै ध्यान नदिइएको बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक वलवन्द कुर्मीले बताए ।
‘एक पटक जताततै भ्यू टावर निर्माणको लहर नै चल्यो,’ उनले भने, ‘निर्माण गर्न आवश्यक थियो कि थिएन भन्ने कुरालाई छाड्ने हो भने पनि करोडौँ खर्च भइसकेका संरचनालाई व्यावसायिक हितका लागि सञ्चालन गर्ने र केही आम्दानी गर्ने सवालमा कुनै पनि सरकारले ध्यान नदिँदा अहिले भ्यू टावरको लगानी बालुवाको पानीजस्तै भएको छ ।’
- कहाँ कस्तो अवस्था ?
दाङका ३ स्थानीय तहमा ६ वटा भ्यू टावर निर्माण भएका छन् । लुम्बिनीमै सबैभन्दा धेरै ‘भ्यू टावर’ निर्माण भएको जिल्ला हो दाङ ।
दाङको बंगलाचुली गाउँपालिकामा मात्र तीन वटा ‘भ्यू टावर’ छन् । बंगलाचुली गाउँपालिकाको वडा नम्बर ८ को हाँसीपुर, वडा नम्बर २ को धिमधिमे लेक र वडा नम्बर ५ को बंगलाचुलीमा भ्यू टावर बनाइएका छन् ।
ती टावर बनाउन गाउँपालिकाले दुई करोड रुपैयाँभन्दा बढी खर्च गरेको थियो । यहाँ पर्यटन बोर्ड, डिभिजन वन कार्यालयले पनि भ्यू टावर निर्माण गरेका छन् ।
वडा नम्बर ५ मा रहेको बंगलाचुली भ्यू टावरमा सबैभन्दा धेरै लगानी भएको छ । गाउँपालिका अध्यक्ष तुलसीराम पुन मगरका अनुसार स्थानीय व्यवस्थापन समिति गठन गरेर रेखदेख तथा संरक्षणको काम भइरहेको छ ।
बंगालाचुली भ्यू टावरको स्थानीय सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षलाई व्यवस्थापक तथा संरक्षक बनाएको छ ।
हाँसीपुर र धिमधिमे लेकमा रहेका भ्यू टावर सञ्चालनमा आए पनि शुल्क निर्धारण नगरिएका कारण तिनले आम्दानी दिन सकेका छैनन् । बंगालचुली भ्यू टावर समितिका अध्यक्ष कुलबहादुर ओलीले पर्यटन बोर्ड, वन डिभिजन कार्यालय लगायतका सरकारी लगानीमा निर्माण भएको भ्यू टावर सञ्चालनमा आएको रातोपाटीलाई बताए ।
दाङ जिल्ला कै तुलसीपुर उपमहानगरपालिका–१९, छिल्लीकोट र वडा नम्बर ११, सुकौरामा पनि भ्यू टावर निर्माण भएका छन् । छिल्लीकोटको पहाडमा २५ लाख रुपैयाँ लागतमा भ्यू टावर निर्माण गरिएको हो । यहाँ केही पर्यटक आउने गरेका छन् ।
उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले छिल्लीकोटको भ्यू टावर सञ्चालन तथा रेखदेखको जिम्मा स्थानीयवासीलाई दिने तयारी भइरहेको जानकारी दिए । जिल्लाको अन्तरपालिका बैठक पनि भ्यू टावरमै बसेको उनको भनाइ छ ।
व्यवस्थित रूपमा सञ्चालनका लागि स्थानीयलाई जिम्मा दिने योजना रहेको खड्काले बताए ।
दाङकै तुलसीपुर उपमहानगरपालिका–११, सुकौरास्थित प्राचिन थारु राजा दंगीशरणको दरबारक्षेत्रमा झन्डै २३ लाख रुपैयाँ खर्च गरी बनाइएको भ्यू टावर सञ्चालनमा आएको छैन ।
दंगीशरण राजाको दरबारक्षेत्र रहेको ऐतिहासिक ठाउँलाई संरक्षण गर्दै भ्यू टावर सञ्चालन गर्ने योजना अन्तर्गत काम भइरहेको पालिका प्रमुख खड्काले बताए ।
यही जिल्लाको लमही नगरपालिका–५ को अजम्बरी सामुदायिक वन हाताभित्र झन्डै साढे दुई करोड रुपैयाँ खर्च गरेर पाँच तले भ्यू टावर बनाइएको छ ।
लमही नगरपालिकाका मेयर जोगराज चौधरीका अनुसार उक्त भ्यू टावर सञ्चालनमा आउन सकेको छैन । आफूभन्दा अघिल्लो कार्यकालका जनप्रतिनिधिकै पालामा भ्यू टावर निर्माण भएको तर सो क्षेत्रमा त्यति पर्यटक नजाने भएकाले सञ्चालनमा चासो नदेखाइएको उनको भनाइ छ ।
लुम्बिनी प्रदेशको पहाडी जिल्ला रोल्पामा पनि विभिन्न स्थानीय तहमा भ्यू टावर निर्माण भएका छन् । रोल्पा नगरपालिका–३, सात दोबाटोमा नगरपालिकाले भ्यू टावर निर्माण गरेको छ । यो टावरको लागत चार करोड ७६ लाख ८७ हजार ६६५ रुपैयाँ छ ।
थवाङ गाउँपालिकाले पनि जलजलामा २५ लाख रुपैयाँ लागतमा भ्यू टावर निर्माण गरेको छ । त्रिवेणी गाउँपालिकाको टिलामा लुम्बिनी प्रदेश सरकारको २५ लाख रुपैयाँमा भ्यू टावर निर्माण भएको छ । होलेरी एकीकृत पर्यटन विकास अन्तर्गत रुन्टीगढी गाउँपालिकाको गढीलेकमा भ्यू टावर निर्माण भएको छ । यी भ्यू टावर सामान्य रूपमा चले पनि आम्दानीका दृष्टिले चल्न नसकेको स्थानीय बताउँछन् ।
रोल्पा नगरपालिकाले निर्माण गरेको भ्यू टावर र रुन्टीगढीको गढी लेकमा सामान्य शुल्कमा पर्यटकका लागि भ्यू टावर खुला गरिएको छ । यद्यपि लगानी अनुसार ती भ्यू टावरले पर्यटक पाउन नसकेको स्थानीय बताउँछन् ।
यस्तै, पाल्पामा दुई वटा भ्यू टावर रहेको र दुवै राम्रोसँग सञ्चालन भइरहेको स्थानीयको भनाइ छ । तानसेन नगरपालिकाले २०७९ सालमा श्रीनगर डाँडामा १ करोड १२ लाखको लागतमा करुवा आकारको भ्यू टावर निर्माण गरेको हो । नगरपालिकाले नै श्रीनगर पार्क संरक्षण गर्ने क्रममा भ्यू टावर निर्माण गरेको हो ।
तानसेन नगरपालिकाका प्रवक्ता यादव सिंह कार्कीका अनुसार श्रीनगर आफैँमा राम्रो पर्यटकीय क्षेत्र भएकाले वनभोज खान, प्राकृतिक सौन्दर्य अवलोकन गर्न पर्यटकहरू आउने गरेका छन् । तिनै पर्यटकलाई लक्षित गरी भ्यू टावर निर्माण गरिएको उनले बताए ।
पार्कमा २० रुपैयाँ प्रवेश शुल्क छ भने भ्यू टावर चढेको २५ रुपैयाँ शुल्क राखिएको छ ।
तानसेन नगरपालिकाका प्रवक्ता कार्कीले पार्कबाट खर्च कटाएर आर्थिक वर्ष २०७९/०८० मा २७ लाख र आर्थिक २०८०/०८१ मा १८ लाख रुपैयाँ आम्दानी भएको छ । पाल्पाको अर्को भ्यू टावर पनि सञ्चालित छ तर उक्त टावर स्थानीय तहको लगानीमा निर्माण भएको भने होइन । रामपुर नगरपालिकामा बनेको पाँच तलाको टावर राम्चे सामुदायिक वन उपभोक्ता समूहको सक्रियतामा निर्माण भएको हो ।
बाँके जिल्लाको कोहलपुर नगर क्षेत्रमा पनि पर्यटन प्रवर्द्धनका लागि भ्यू टावर निर्माण गरिएको छ ।
तत्कालीन नगरप्रमुख लुटबहादुर रावतको पालामा ५ करोड ५३ लाख लागतमा निर्माण भएको भ्यू टावर गत वर्ष माघदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो । यद्यपि, व्यावसायिक प्रयोजनका लागि यो भ्यू टावर निजी क्षेत्रलाई सञ्चालनमा दिने तयारी भइरहेको नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले बताए ।
यस अघि मासिक २ लाख रुपैयाँको दरले ठेक्का दिन दुई पटक टेन्डर आह्वान गरे पनि कसैले नसकारेका कारण फेरि अर्को सूचना निकाल्ने तयारी भइरहेको नगर प्रमुख आचार्यको भनाइ छ । तत्कालका लागि भ्यू टावरमा नगर प्रहरी खटाएर प्रतिव्यक्ति ७० रुपैयाँका दरले शुल्क लिने गरिएको उनले जानकारी दिए ।
पहाडी जिल्ला गुल्मीमा पनि भ्यू टावर निर्माण भएको छ । धार्मिक स्थल रेसुङ्गामा २०६१ सालमा भ्यू टावर निर्माण गर्न तत्कालीन जिविसले नै बजेट छुट्ट्याएको थियो । हाल रेसुङ्गा संरक्षण समितिले भ्यू टावरको रेखदेख गर्दै आएको छ । यहाँबाट गुल्मी, अर्घाखाँची, पाल्पा जिल्लाका विभिन्न ठाउँ हेर्न सकिन्छ ।
रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालका अनुसार टावर रहेको स्थान समुद्र सतहबाट ४७ सय मिटर उचाइमा रहेकाले मनोरम दृश्य देख्न सकिन्छ । यहाँ भ्यू टावरमा चढ्न २५ रुपैयाँ शुल्क लिने गरिएको छ । सरदर दैनिक ५० जनाले भ्यू टावर चढ्ने गरेको भुसालको भनाइ छ ।
- सञ्चालन गर्न सकस
कपिलवस्तुको जगदीशपुर तालमा प्रदेश सरकारले २०७७ सालमा तीन तले भ्यू टावर निर्माण गरे सञ्चालन कार्यविधि बनाउन नसक्दा व्यावसायिक लाभ प्राप्त हुन सकेको छैन । यो भ्यू टावर सर्वसाधारणका लागि औपचारिक रूपमा अझै खुला गरिएको छैन ।
जगदीशपुर ताल संरक्षण उपभोक्ता समितिका संयोजक ललित गुरुङले भ्यू टावर अझै औपचारिक रूपमा हस्तान्तरण नभएको जानकारी दिए । खासगरी जगदीशपुर तालमा चरा हेर्नका लागि पर्यटक आउने गर्दछन् ।
कहिलेकाहीँ विदेशी पाहुना आएको बेलामा भ्यू टावर खोलेर अवलोकन गर्न दिने गरिए पनि सर्वसाधारणका लागि खुला नगरिएकाले यसबाट हुने आम्दानी शून्य छ ।
रोल्पा नगरपालिकामा सञ्चालित भ्यू टावर हेर्न प्रतिव्यक्ति ५० रुपैयाँ टिकट दर कायम गरिएको छ । यहाँ टिकट तथा रेखदेखका लागि २ जना कर्मचारी खटाइएको छ ।
रोल्पा नगरपालिकाका मेयर सुरेन्द्र थापा घर्तीले निजी क्षेत्रलाई भ्यू टावर लिजमा दिने प्रयास गरे पनि असफल भएकाले हालका लागि नगरपालिकाले नै हेर्दै आएको रातोपाटीलाई बताए ।
उनले भौगोलिक रूपमा अग्लो ठाउँमा टावर रहेका कारण यहाँ बाह्रै महिना पर्यटक जान नसक्ने प्रस्ट पारे । यहाँ खासगरी आन्तरिक पर्यटक नै आउने गर्दछन् । गर्मी महिना यहाँका लागि अनुकूल सिजन हो । जाडो सिजनमा पर्यटकीय गतिविधि ठप्प प्रायः हुन्छ । त्यसैले गर्मीका ३/४ महिनाको आम्दानीले बाह्रै महिना रेखदेख तथा सुरक्षाका लागि कर्मचारी खटाउनु पर्दा यहाँको भ्यू टावरले व्यावसायिक रूपमा आम्दानी दिन नसक्ने मेयर घर्ती बताउँछन् ।
रुपन्देहीको तिलोत्तमा–२ शङ्करनगर वन विहार तथा अनुसन्धान केन्द्रमा साढे ११ करोड ५४ लाख रुपैयाँ खर्चिएर १० तले टावर निर्माण भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले निर्माण गरेको ‘तिलोत्तमा बहुउद्देश्यीय टावर दुई वर्ष अघि उदघाटन भएको हो ।
शङ्करनगर वन विहारका अध्यक्ष खिमलाल पाण्डेका अनुसार भ्यू टावर अझै सञ्चालनमा आउन सकेको छैन । नगरपालिकाले आगामी आर्थिक वर्षबाट भ्यू टावर निर्माण गर्ने योजना सुनाएको पाण्डेले जानकारी दिए ।
सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमानन्द भुसालले आर्थिक वर्ष २०७५/०७६ को ४५ लाख बजेटबाट भ्यू टावर निर्माण भएको बताए । उनले उक्त भ्यू टावर अहिले खुला गरे पनि प्रवेश शुल्क नलिइएको प्रस्ट पारे । यसलाई थप व्यवस्थित गर्ने वा तत्काल शुल्क लिएर सञ्चालन गर्ने कुनै योजना नरहेको उनको भनाइ छ ।
लुम्बिनी प्रदेश सरकारको पर्यटन मन्त्रालय आफ्नो प्रदेशभित्रका भ्यू टावर सञ्चालनको विषयमा बेखबरजस्तै छ । मन्त्रालयका उपसचिव एवं प्रवक्ता रमेश गौतमले पर्यटन मन्त्रालय नै कहिले वन मन्त्रालयमा गाभिने, कहिले उद्योग मन्त्रालयमा गाभिने भएकाले भ्यू टावरमा प्रदेशको लगानी तथा सञ्चालन आदिको विषय अस्पष्ट रहेको रातोपाटीलाई बताए ।
पछिल्ला वर्ष भने पर्यटन मन्त्रालयले कतै पनि भ्यू टावरमा लगानी नगरेको गौतमले बताए ।
लुम्बिनी प्रदेश पर्यटन परिषद्का कार्यकारी निर्देशक रामु जोशीले भ्यू टावरसँगै सञ्चालन गर्न आवश्यक अन्य पूर्वाधार निर्माण गरेर थप पर्यटक भित्र्याउन सकिने बताए
उनले भ्यू टावरका अलावा पर्यटनमैत्री अन्य वातावरण पनि निर्माण गर्नुपर्नेमा जोड दिए । उदाहरण दिँदै उनले बुटवलको नुवाकोट डाँडामा भ्यू टावर निर्माण भए पनि त्यहाँ कुनै ऐतिहासिक सामग्री, अन्य मनोरञ्जनात्मक विषय पनि राख्नुपर्नेमा जोड दिए ।
- आर्थिक रूपमा अनुत्पादक तर धमाधम लगानी
तुलसीपुरका मेयर टीकाराम खड्काले लगानीको हिसाबमा भ्यू टावरबाट नगरपालिकालाई कुनै आम्दानी नै नभएको बताए ।
बुटवल बहुमुखी क्यापसका प्राध्यापक वलवन्द कुर्मीले तीनै तहका सरकारले यस्ता अनुत्पादक क्षेत्रमा खर्च गर्नुको साटो आपसी समन्वयका आधारमा उत्पादनमूलक क्षेत्रमा ध्यान दिनुपर्ने बताए ।
लुम्बिनी प्रदेशमा भ्यू टावर निर्माणमै कति रकम खर्च भएको छ भन्नेबारे अहिलेसम्म कुनै पनि निकायमा एकीकृत तथ्याङ्क छैन । यद्यपि, निर्माण भइसकेका भ्यू टावरको सङ्ख्याकै आधारमा अहिलेसम्म ३० करोडभन्दा बढी खर्च भइसकेको आकलन गरिएको छ ।
स्थानीय तह, प्रदेश र सङ्घीय सरकारको बजेटमा भ्यू टावर बनाउने प्रतिस्पर्धा चलिरहँदा विद्यालय, अस्पताल, खानेपानी र सडक पूर्वाधारका क्षेत्र भने उपेक्षामा परेका छन् ।
लुम्बिनी प्रदेश योजना आयोगका पूर्वसदस्य डा दामोदर भुसालले ती भ्यू टावरलाई पर्यटनमैत्री बनाएर राज्यको लगानी उठाउनेतिर ध्यान दिनुपर्नेमा कुनै पनि तहको सरकारले त्यस्तो योजना नबनाएको बताए । हुचुवाको भरमा लगानी गर्दा यस्तो अवस्था आएको उनको भनाइ छ ।
आर्थिक अनुसन्धान केन्द्र लुम्बिनीका संयोजक होमराज भुसालले भ्यू टावर निर्माण गर्दा त्यसबाट लिने प्रतिफलको विषयमा अनुसन्धान नै नहुने गरेको प्रस्ट पारे । कुनै स्थानीय तहले भ्यू टावर निर्माण गर्नासाथ अर्को स्थानीय तहले पनि आफ्नो पालिकामा त्यस्ता टावर बनाउने निर्णय गर्दा एकपछि अर्को भ्यू टावर ठडिए पनि तिनले प्रतिफल दिन नसकेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनमा सहभागी शिक्षकहरू चढेको रात्रिबस दुर्घटना, १६ जना घाइते
-
तस्बिरमा हेर्नुहोस् कास्कीको पर्यटकीय गाउँ घान्द्रुक
-
सुदीपको न्यायको लागि आज पाकिस्तानी दूतावास अगाडि प्रदर्शन गरिँदै
-
भारत भ्रमणको तयारीमा सुदूरपश्चिम प्रदेश सरकार, सर्वदलीय बैठक माओवादीको बहिष्कार
-
पहिरोले घरबारविहीन बनेका छितिजको परिवारलाई नयाँ घर
-
अछामको साँफेहाट बजारमा भीषण आगलागी, १० वटा पसल पूर्ण रूपमा नष्ट