‘गर या मर’ को स्थितिमा चेन्नई र हैदराबाद, हार्ने टोली उपाधि होडबाट बाहिरिने

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करणमा शुक्रबार चेन्नई सुपर किङ्सले सनराइजर्स हैदराबादको सामना गर्दैछ । खेल चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा नेपाली समय अनुसार, राति १९ः४५ बजे सुरु हुनेछ ।
आईपीएलको जारी संस्करणमा यी दुवै टोलीको प्रदर्शन अत्यन्तै निराशाजनक छ । यी दुवै टोली आफ्नो अघिल्लो खेलमा पनि पराजित भएका थिए । चेन्नई र हैदराबाद दुबैको प्ले–अफ चरणमा पुग्ने सम्भावना पनि प्राविधिक रुपमा मात्र बाँकी छ ।
त्यसैले शुक्रबारको खेल यी दुवै टोलीका लागि निकै महत्त्वपूर्ण छ । यो खेलमा पराजित हुने टोलीको प्ले–अफ चरणमा पुग्ने सम्भावना समाप्त हुनेछ । जारी आईपीएलमा यी दुवै टोलीले आफ्नो नवौँ खेल खेल्न लागेका हुन् ।
आईपीएलको इतिहासमा चेन्नई सबैभन्दा बढी उपाधि जित्ने टोलीमध्ये एक हो । चेन्नईले हालसम्म पाँच पटक आईपीएलको उपाधि जितेको छ । चेन्नईका अतिरिक्त मुम्बई इन्डियन्सले मात्र पाँच पटक उपाधि कुम्ल्याउन सकेको छ ।
चेन्नईले सन् २०१० मा पहिलो उपाधि जितेको थियो । त्यतिबेला चेन्नईले फाइनलमा मुम्बई इन्डियन्सलाई २२ रनले हराएको थियो । दोस्रो पटक चेन्नईले सन् २०११ को फाइनलमा रोयल च्यालेन्जर्स बेंगलुरुलाई ५८ रनले हराउँदै उपाधि चुमेको थियो ।
सन् २०१८ को फाइनलमा चेन्नईले सनराइजर्स हैदराबादलाई आठ विकेटले हराउँदै उपाधि हात पारेको थियो । सन् २०२१ को फाइनलमा चेन्नईले कोलकाता नाइट राइडर्सलाई २७ रनले हराएको थियो । सन् २०२३ को फाइनलमा चेन्नईले गुजरात टाइटन्सलाई पाँच विकेट हराएको थियो ।
सनराइजर्स हैदराबादले भने हालसम्म एकपटक आईपीएलको उपाधि जितेको छ । हैदराबादले सन् २०१६ मा आईपीएलको उपाधि चुमेको थियो । त्यतिबेला हैदराबादले फाइनलमा रोयल च्यालेन्जर्स बेंगलुरुलाई हराएको थियो ।
हैदराबाद सन् २०१८ मा पनि आईपीएलको फाइनलमा पुगेको थियो । त्यतिबेला हैदराबादलाई फाइनलमा चेन्नई सुपर किङ्सले हराएको थियो । हैदराबाद साविक उपविजेता पनि हो । अघिल्लो संस्करणको फाइनलमा हैदराबादको टोली कोलकाता नाइट राइडर्ससँग हारेको थियो ।
दुवै टोलीको अवस्था उस्तै
सनराइजसं हैदराबाद र चेन्नई सुपर किङ्ले जारी आईपीएलमा हालसम्म आठ–आठ खेल खेलिसकेका छन् । यी दुवै टोलीले अत्यन्तै निराशाजनक प्रदर्शन गरेका छन् । आठमध्ये केवल दुई खेलमा जित र ६ खेलमा हारको नतिजा निकालेको चेन्नई चार अंकसहित तालिकाको अन्तिम स्थानमा छ ।
हैदराबादले पनि अघिल्ला आठमध्ये दुई खेलमा जित र ६ खेलमा हारको नतिजा निकालेको छ । हैदराबाद पनि चार अंकसहित तालिकाको नवौँ स्थानमा आसीन छ । त्यसैले शुक्रबारको खेलमा यी दुवै टोली ‘गर या मर’ को स्थितिमा रहनेछन् ।
हेड टु हेडमा चेन्नई अगाडि
चेन्नई सुपर किङ्स र सनराइजर्स हैदराबादबिच हालसम्म आईपीएलमा कुल २२ खेल खेलिएको छ । त्यसमा चेन्नई निकै बलियो देखिन्छ । चेन्नईले १६ खेलमा हैदराबादलाई हराएको छ । हैदराबादले भने ६ खेलमा मात्र चेन्नईलाई हराउन सकेको छ । यी दुई टोलीबिच चेन्नईको घरेलु मैदानमा हालसम्म पाँच खेल खेलिएको ती सबै खेलमा चेन्नई विजयी भएको छ ।
चेन्नईको सर्वाधिक रन शिवमको नाममा
आईपीएलको जारी संस्करणमा चेन्नई सुपर किङ्सका कुनै पनि ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेका छैनन् । आठ खेल खेलिसकेको चेन्नईका लागि कुनै पनि ब्याट्सम्यानले कुल दुई सय ५० रनसम्म बनाउन सकेका छैनन् ।
चेन्नईका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान शिवम दुबे हुन् । उनले आठ खेलमा कुल दुई सय ३० रन बनाएका छन् । यो सूचिमा दोस्रो स्थानमा रहेका रचिन रवीन्द्रले आठ खेलमा कुल एक सय ९१ रन बनाएका छन् । सर्वाधिक विकेट लिने बलर स्पिनर नुर अहमद हुन् । उनले आठ खेलमा १२ विकेट लिइसकेका छन् । यो सूचिमा दोस्रो स्थानमा रहेका खलिल अहमदले ११ विकेट हात पारेका छन् ।
हैदराबादको सर्वाधिक विकेट हर्षलको नाममा
जारी आईपीएलमा सनराइजर्स हैदराबादका लागि सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यान हेनरिक क्लासन हुन् । उनले हालसम्म आठ खेलमा कुल दुई सय ८१ रन बनाएका छन् । टोलीका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा दोस्रो स्थानमा ट्राभिस हेड छन् ।
ट्राभिस हेडले हालसम्म आठ खेलमा कुल दुई सय ४२ रन बनाएका छन् । यो सूचिमा तेस्रो स्थानमा रहेका अभिषेक शर्माले पनि आठ खेलमा कुल दुई सय ४० रन बनाएका छन् । ईशान किशनको निरन्तरको खराब प्रदर्शन हैदराबादका लागि चिन्ताको विषय हो । सर्वाधिक विकेट लिने बलर हर्षल पटेल हुन् । उनले सात खेलमा कुल नौ विकेट लिएका छन् ।
स्पिन बलरलाई साथ दिने पिच
सनराइजर्स हैदराबाद र चेन्नई सुपर किङ्सबिच शुक्रबारको खेल हुने एमए चिदम्बरम स्टेडियमको पिच खासगरी स्पिन बलरलाई साथ दिने प्रकृतिको छ । यो स्टेडियममा रन बनाउन ब्याट्सम्यानले निकै सँघर्ष गर्नुपर्ने देखिन्छ ।
यो स्टेडियममा हालसम्म आईपीएलको कुल ८९ खेल खेलिएको छ । त्यसमध्ये ५१ खेलमा पहिले ब्याटिङ गर्ने टोली विजयी भएका छन् । ३८ खेलमा भने जवाफी ब्याटिङ गर्ने टोलीले सफलता हात पारेका छन् । यो स्टेडियममा बनेको उच्च स्कोर पाँच विकेट गुमाएर दुई सय ४६ रन हो । यो स्कोर चेन्नईले सन् २०१० मा राजस्थान रोयल्सविरुद्ध बनाएको थियो ।
छैन वर्षाको सम्भावना
चेन्नई सुपर किङ्स र सनराइजर्स हैदराबादबिच खेल हुने दिन शुक्रबार चेन्नईमा चर्को गर्मी हुने बताइएको छ । त्यहाँको जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार, शुक्रबार वर्षाको कुनै सम्भावना छैन । तापक्रम २८ देखि ३७ डिग्री सेल्सियसको बिचमा रहनेछ ।
सम्भावित टोली
चेन्नई सुपर किङ्स : महेन्द्रसिंह धोनी (कप्तान), शेख रशीद, रचिन रवीन्द्र, आयुष म्हात्रे, विजय शंकर, रवीन्द्र जडेजा, जामी ओभर्टन, खलिल अहमद, नुर अहमद, मथिशा पाथिराना, शिवम दुबे र रवीचन्द्रन आश्विन ।
सनराइजर्स हैदराबाद : प्याट कमिन्स (कप्तान), ट्राभिस हेड, अभिषेक शर्मा, ईशान किशन, नितिश कुमार रेड्डी, हेनरिक क्लासन (विकेटकिपर), अनिकेत बर्मा, हर्षल पटेल, जयदेव उनादकट, जिशन अन्सारी, एसान मालिंगा र मोहम्मद शामी ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नेताका छोरा भाटभटेनीको रक्सी लुटेको आरोपमा पक्राउ परेको राजेन्द्र लिङ्देनको दाबी
-
काठमाडौँ उपत्यकाका सांस्कृतिक सम्पदाहरुलाई जोडेर पदमार्ग बनाऔँ : पर्यटनमन्त्री
-
प्रतिगामी झन्डा उठाउने प्रधानमन्त्रीको निकटका हुन् : माओवादी केन्द्र
-
सम्पदामा राजनीति नगरौँ : उपप्रमुख डंगोल
-
शिक्षकहरूलाई लचिलो बन्न शिक्षामन्त्रीको आग्रह
-
शुक्लागण्डकीमा फोहोर व्यवस्थापन गर्न त्रिपक्षीय सम्झौता