बजेट अधिवेशन आजबाट सुरु हुँदै, प्रधानमन्त्रीले सम्बोधन गर्ने, के के छन् कार्यसूचीमा ?

काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेशन आजबाट सुरु हुँदै छ । बैठक दिउँसो १ बजेको लागि बोलाइएको छ ।
बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची छ । राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभार र मन्त्रिपरिषद् गठन र कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा सभामुखले पढेर सुनाउने छन् ।
सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्ने कार्यसूची छ । बैठकमा अधिवेशन सुरु भएको अवसरमा दलीय आधारमा सदस्यहरूले आ–आफ्नो मन्तव्य राख्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आजको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् । बजेट अधिवेशनको पहिलो दिन प्रधानमन्त्री ओलीले समसामयिक विषयमा सम्बोधन गर्न लागेका हुन् ।
आजकै बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।
संसद्को हिउँदे अधिवेशन गत चैत १८ गते अन्त्य भएको थियो । राष्ट्रपतिले प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न सक्ने व्यवस्था छ । राष्ट्रपतिबाट नीति तथा कार्यक्रममार्फत संसद्लाई सम्बोधन हुने छ ।
संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते आगामी आर्थिक वर्षका लागि अर्थमन्त्रीले बजेट प्रस्तुत गर्नेछन्। संघीय संसद्को यस अधिवेशनलाई बजेट अधिवेशनका रूपमा पनि लिइन्छ । यही वैशाख १९ गते नीति तथा कार्यक्रम प्रस्तुत हुने र ‘प्रि बजेट’ छलफल वैशाख २८ देखि हुने सम्भावना रहेको संसद् सचिवालयका एक अधिकारीले बताए । बजेट प्रस्तुत हुने १५ दिनअगावै प्रि बजेट छलफल गर्नुपर्ने कानुनी प्रावधान छ ।
त्यसपूर्व सदनमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा प्रि बजेट छलफल हुने छ । यो अधिवेशनमा सङ्घीय निजामती सेवा ऐन र विद्यालय शिक्षासम्बन्धी विधेयक पारित गर्ने प्रयत्न हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शारीरिकसरह मानसिक स्वास्थ्यका संरचना निर्माण गर्नू, लान्छना लगाउनेलाई दण्डित गर्नू : सर्वोच्च अदालत (पूर्णपाठ)
-
न्यायिक समितिको सशक्तिकरणमा सहयोग गर्ने मुख्यमन्त्री कँडेलकाे प्रतिबद्धता
-
सरकारले आन्दोलनरत शिक्षकरूलाई वार्तामा बोलायो
-
आइसिसी महिला विश्वकप एसिया छनोटका लागि नेपाली टोलीको घोषणा
-
१० वर्ष अघि भूकम्पमा मृत्यु भएकाको सम्झनामा दीप प्रज्वलन
-
प्रचण्ड के आधारमा सरकार ढल्ने अभिव्यक्ति बारम्बार दिन्छन् ?