शुक्रबार, १२ वैशाख २०८२
ताजा लोकप्रिय

ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन

बिहीबार, ११ वैशाख २०८२, २२ : २२
बिहीबार, ११ वैशाख २०८२

सिन्धुपाल्चोक । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वर्तमान केपी ओली नेतृत्वको सरकार असफल भइसकेको बताएका छन् । असफल भइसकेको सरकार अब ढल्न मात्रै बाँकी रहेको उनको सङ्केत थियो । 

सिन्धुपाल्चोकको चौतारामा बिहीबार भएको वाइसिएल नेपालको पाँचौँ जिल्ला सम्मेलनलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै उनले संविधान कार्यान्वयन र व्यवस्था बचाउने सवाल, सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि, अन्तर्राष्ट्रिय सम्बन्ध र घरेलु समस्या जस्ता सबै विषयमा सरकार असफल भएको उनले टिप्पणी गरे । 

ओली सरकारकै कारण व्यवस्थामाथि प्रश्न उठाउँदै प्रतिगमनकारीहरू सतहमा आएको उनको ठहर थियो । माओवादी केन्द्रले २०८४ सालको चुनावसम्म सरकारमा नजाने भनेको स्मरण गर्दै उनले व्यवस्था माथि नै प्रश्न उठ्न थालेको सन्दर्भमा त्यसलाई बचाउन माओवादी सरकारमा जानुपर्ने अवस्था पनि आउन सक्ने उनले सङ्केत गरे । 

माओवादी केन्द्रका प्रभावशाली नेता पूर्व अर्थमन्त्री पुनले भने- ‘एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार बिचौलियाहरूले बनाएको पुष्टि भइसकेको छ। बिचौलियाहरू अहिले राष्ट्र बैक कब्जा गर्न अर्बको डिल गरिरहेका छन्, अहिलेसम्म गभर्नर नबन्नुको कारण यही हो। हामीले ८४ सालसम्म सरकारमा नजाने भनेको हो, तर ओली सरकारले व्यवस्था बचाउन सकेन भने हामी सरकारमा जानुपर्ने हुनसक्छ। त्यतिबेला ८४ पर्खेर बस्नु हुँदैन, सरकारमा गए पनि जनताको काम गर्ने, जनपक्षीय माओवादी धार बनाउने र ८४ को चुनावको तयारी गर्ने काम नै हुन्छ।’

नेता पुनले  केपी ओली प्रवृत्ति कायम रहुन्जेल कम्युनिस्ट धुर्विकरण सम्भव नरहेको बताए । तर पनि एमाले भित्रका राम्रा कम्युनिस्ट नेताहरू रहेको र अन्य कम्युनिस्ट घटकहरूसँग सहकार्य गर्नुपर्ने उनले बताएका छन् ।

अध्यक्ष प्रचण्डको नेतृत्वमा माओवादीले अघि सारेको सामन्तवाद विरुद्धको विचारले जितेको र देश त्यही बाटोमा हिँडेको उनले बताएका छन् । ‘यथास्थितिमा रमाउने, पुरानो व्यवस्थामा फर्कन खोज्ने प्रतिगामी शक्तिले युवाहरूलाई पनि पछि तान्न खोज्ने तर युवाहरूले प्रतिगामी र यथास्थितिवादी शक्तिसँग लडिरहनुपर्ने बताउँदै उनले भने- ‘२०८४ मा माओवादी देशभर एक्लै चुनाव लड्छौँ र जित्दैछौँ । कांग्रेस–एमालेसँग मिल्दा कमजोर भएका थियौँ, अब त्यो गल्ती हुँदैन । कार्यनीतिक रूपले सहकार्य होला तर रणनीतिक रूपले हामी छुट्टै धारसहितको दल हौँ। वर्गप्रति इमानदार, धारमा प्रस्ट हुँदै जानेछौँ।’

उनले वाईसिएललाई आफ्नो जुझारुपना कायम राख्न निर्देशन पनि दिए । ‘प्रचण्डको नेतृत्वको वरिपरि गोलबन्द हुँदै समाजवादी क्रान्तिका लागि तयार हुने हो। अहिलेको जागरण प्रचण्डको नेतृत्वमा आएको हो, आज फेरि देशलाई समाजवादतिर लैजान पनि प्रचण्डको वरिपरि गोलबन्द हुनु पर्दछ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप