शुक्रबार, १२ वैशाख २०८२
ताजा लोकप्रिय

ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का

बिहीबार, ११ वैशाख २०८२, २२ : ११
बिहीबार, ११ वैशाख २०८२

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ग्रीन हाइड्रोजनको सम्भावना नेपालका लागि महत्वपूर्ण भएको भन्दै यसलाई कार्यविधिमार्फत अघि बढाइने बताएका छन् ।  काठमाडौँ विश्वविद्यालयका प्राध्यापकहरुसँग आज ऊर्जा मन्त्रालयमा छलफल गर्दै मन्त्री खड्काले कार्बन उत्सर्जन न्यूनीकरणमा ग्रीन हाइड्रोजनको महत्वपूर्ण भूमिका भएकाले यसलाई कार्यविधि बनाएर अगाडि बढाउने बताए ।

‘ग्रीन हाइड्रोजन नेपालको ऊर्जा क्षेत्रमा क्रान्तिकारी अवसर हो, यसलाई व्यवस्थित ढङ्गले अघि बढाउन कार्यविधि निर्माणका लागि सरकारले आवश्यक अध्ययन अनुसन्धान थालिसकेको छ’ उनले भने ।

मन्त्री खड्काले वातावरण संरक्षण तथा शून्य कार्बन उत्सर्जनको राष्ट्रिय लक्ष्य हासिल गर्न ग्रीन हाइड्रोजनको उपयोग अपरिहार्य रहेको उल्लेख गरे । छलफलमा ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्यले मन्त्रालयले ग्रीन हाइड्रोजनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन गरी अनुसन्धान अगाडि बढाइरहेको बताए । उनले वातावरणमैत्री प्रविधिको प्रयोगले इँटाभट्टा र केमिकलजन्य उद्योगबाट हुने प्रदूषण कम गर्न सकिनेमा जोड दिए ।

सिँचाइ सचिव सरिता दवाडीले नीति निर्माण भइसकेको र अब कानुनी तथा संस्थागत संरचना तयार पार्दै कार्यान्वयनमा लैजाने बताइन् । उनले अन्तरमन्त्रालय समन्वयमा सरकार आवश्यक कानुनी प्रबन्ध गर्न तत्पर रहेको स्पष्ट पारिन् ।
कार्यदलका संयोजक एवं मन्त्रालयका सहसचिव जीवछ मण्डलले ग्रीन हाइड्रोजन विश्वका धेरै देशले सफलतापूर्वक उपयोग गरिरहेको उल्लेख गर्दै नेपालमा पनि यसको ठूलो सम्भावना रहेको बताए ।

काठमाडौँ विश्वविद्यालयका ग्रीन हाइड्रोजन ल्याबका प्राडा विराजसिंह थापाले नेपालमा ग्रीन हाइड्रोजन उत्पादन अन्तरराष्ट्रिय तुलनामा सस्तो पर्ने भएकाले यसलाई शीघ्र प्रवद्र्धन गर्नुपर्ने बताए ।

उनका अनुसार भारत, जापान, कोरिया र युएईजस्ता देशले यस प्रविधिलाई व्यवहारमा ल्याइसकेका छन् । छलफलमा मन्त्रालयका सहसचिवद्वय सुशीलचन्द्र आचार्य र सुरेन्द्र घिमिरे, अर्थविज्ञ अमित श्रेष्ठ, काठमाडौँ विश्वविद्यालयका डा राम लामा, डा लक्ष्मण लामालगायतको उपस्थिति रहेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप